रुपन्देही । जिल्लामा डेंगुको संक्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेंगु संक्रमणका बिरामी धेरै देखिएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
यो आर्थिक वर्ष ०७८।७९ मा २६९ जना डेंगु संक्रमणका विरामी छन् । गत वर्ष ४६ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरिक्षक केदारनाथ शाहले जानकारी दिनुभयो ।
जिल्लामा २०६७ सालदेखि डेंगुको समस्या देखिएको उहाँको भनाइ छ । ०६७।६८ मा २९० जनामा डेंगुको संक्रमण देखिएको थियो । त्यसपछिका वर्षमा संक्रमण कम भएपनि आव ०७६।७७ मा यो संख्या बढेर दुई हजार ९३० पुगेको थियो ।
यो संख्या गत वर्ष घटेर ४६ मा झरेको थियो । अहिले पुनः बढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक छ भन्नुहुन्छ, भेक्टर कन्ट्रोलर निरिक्षक शाह ।
डेंगुको रोकथामका लागि लार्भाको खोज र नष्ट गर अभियान सबैभन्दा उपयुक्त हुने भएकाले सबै मिलेर यो अभियान चलाउनुपर्ने उहाँको भनाइ छ । डेंगुको संक्रमण बढ्दै गएपनि फेयरमेट फाउन्डेसन नेपाल र ईन्द्रेणी सामुदायिक केन्द्रको सहयोगमा बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखिकरण कार्यक्रममा डेंगुको वस्थाबारे जानकारी गराउँदै भेक्टर कन्ट्रोलर निरिक्षक शाहले समयमै नियन्त्रण नगरे यसले महामारीको रुप लिनसक्ने बताउनुभयो ।
“खोप छैन त्यसैले जोखिम छ । त्यसैले घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ र लामखुट्टेको टोकाइबाट बच्नुपर्छ”, उहाँले भन्नुभयो ।
डेंगुको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकले अभियान सुरु गरेको छ । उपमहानगरका सबै वडाहरुमा डेंगु नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताउनुभयो ।
अभियान अन्तर्गत समुह समुहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ वितरणको काम हुने उहाँको भनाइ छ ।
विपद ब्यवस्थापन समितिको अगुवाईमा स्वस्थ्यकर्मिको साथ लिएर टोलटोलमा कार्यक्रम चलाउन थालिएको उपप्रमुख सावित्रादेबी अर्यालले बताउनुहुन्छ । यो एक सरुवा रोग भएकाले महामारीको रुप लिन नदिननन सबै सचेत हुनुपर्नेमा उहाँको जोड छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरिक्षक शाहका अनुसार एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो ।
यसको संक्रमणले ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी तथा मांसपेशी दुख्ने, आलस्य हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने जस्ता लक्षणहरु देखापर्छन ।
एक प्रकारको विषाणुबाट डेंगु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने रबिरामी अझै कमजोर हुने गर्दछन् ।
तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नुपर्ने भेक्टर कन्ट्रोलर निरिक्षक शाह बताउनुहुन्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुने शाहको भनाइ छ ।
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्ने हुन्छ । । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिन नहुने शाहको सुझाव छ ।
पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्नुका साथै कुलरमा रहेको पानी समेत फेरिरहनुपर्ने उहाँको भनाइ छ ।