दमक : साहित्यकला सङ्गम दमकका संस्थापक अध्यक्ष रुद्र निरौलाको स्मृतिमा ‘रुद्र निरौला स्मृतिग्रन्थ’ लोकापर्ण गरिएको छ । उनकी जीवन सङ्गिनी शारदा निरौलाद्वारा लिखित ‘पतिवियोग’ नामक शोक काव्यको दमक प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीले लोकार्पण गरे ।
स्वर्गीय निरौलाले २०५२ पुसमा सङ्गम स्थापनाकालदेखि २०७२ साल असोजसम्म सङ्गमको अध्यक्ष भएर काम गरेका थिए । लामो समयदेखि मिर्गौैैैला रोगबाट थलिएका उनकाे २०७७ साल असार २७ गते निधन भएको थियो ।
विभिन्न साहित्यिक, धार्मिक, राजनीतिक व्यक्ति तथा समकालीन र उनका परिवारजनको स्मृतिबारे अनुभूति सङ्कलन गरेर शोककाव्य प्रकाशित गरिएको साहित्यकला सङ्गमका अध्यक्ष नरपति पाण्डेले बताए ।
विमोचित पुस्तकमध्ये ‘पतिवियोग’ शोककाव्यको समीक्षा रघुनाथ भण्डारीले गरेका थिए भने हरि नेपाल स्मृति प्रतिष्ठानका अध्यक्ष नेत्रप्रसाद दाहाललगायतले स्वर्गीय निरौलाको बारेमा चर्चा गरेका थिए ।
मिगौली रोगी बालकलाई सहयोगको खाँचो
मिगौलामा समस्या देखिएपछि आर्थिक अवस्था कमजोर भएका झापा, कमला गाउँपालिका– वडा नं २ का भण्डारी परिवारले सहयोगको लागि अपिल गरेका छन् ।
ज्योति माध्यमिक विद्यालय कक्षा १ मा अध्ययनरत ६ वर्षीय बालक मानबहादुर भण्डारीको मिर्गौलामा समस्या आएपछि पीडित परिवारले उपचारका लागि याचना गरेका हुन् । बिरामीका पिता शारीरिक रुपमा अशक्त भएका र उपचारका लागि उनी अध्ययनरत विद्यालयका शिक्षकहरुले पहल थालेका हुन् ।
बिरामीको अहिले दमकस्थित आम्दा अस्पतालमा बेड नं ५४ मा उपचार भइरहेको छ । थप उपचारका लागि बिरामीलाई सुविधासम्पन्न अस्पतालमा लैजानुपर्ने र त्यसका लागि परिवारसँग आर्थिक स्थिति अत्यन्तै नाजुक भएपछि सहयोगी मनसँग याचना गरिआएको शिक्षक दुर्गावहादुर न्यौपानेले बताए ।
उनले बिरामी बालकलाई बचाउन आर्थिक सहयोगका लागि सबैसँग अनुरोध गरेको बताए ।
यसैबीच, बिरामीको उपचारका लागि अमेरिका बस्दै आएकी विष्णुमाया तामाङबाट रु २० हजार, अनिता पाण्डेमार्फत चितवन चाइल्ड डेभलपमेन्ट मन्टेश्वरी तथा चितवनका उन महिला समितिबाट रु १३ हजार, सुजता सुवेदीबाट पाँच हजार १३०, व्यवसायी रवीन थापाबाट रु ५,००० लगायत विभिन्न व्यक्तिमार्फत गरी हालसम्म ७५ हजार ३४० जम्मा भएको जनाइएको छ ।
यस्तै, दमकका सामाजिक अभियान्ता काजी राउतले बिरामी बालकको उपचारमा सहयोग जुटाउन सञ्चालित अभियानबाट रु ३५ हजार बढी रुपैया जम्मा भएको बताए । रासस