नियात्रा नि+यात्रा शब्द मिलेर बन्छ । कथात्मक शैलीमा लेखिएको निबन्ध नै यात्रा साहित्य या नियात्रा हो । यसलाई यात्रा वृत्तान्त, यात्रा विवरण, यात्रा संस्मरण पनि भनिन्छ ।
नेपालीय साहित्यको इतिहासमा यसलाई कुनै भूखण्डको स्थलगत रुप, लोक जीवन, रीति परम्परा, आदिसँग साक्षात्कार गराउने र तद्विषयक अनुभव र ज्ञान व्यक्त गर्ने अभिप्रायले मूलतः तथ्य र अंशतः भावनाको आनुपातिक संयोजन गरी चित्रात्मक शैलीमा लेखिएको अनुभूतिमूलक संस्मरणात्मक गद्य रचनालाई यात्रा साहित्य भनिन्छ भनिएको छ ।
यात्रा विवरणलाई निजात्मक अनुभूतिमा रंगाएर प्रस्तुत गर्ने विधा नै यात्रा साहित्य हो । यात्रा साहित्यमा भावना र वस्तुको समन्वय हुन्छ । प्रबन्ध वस्तुपरक हुन्छ भने निबन्ध आत्मपरक हुन्छ । यात्रा निबन्ध वस्तु र भावनाको समन्वय हुने भएको हुनाले वस्तुगत समीकरणमा आधारित हुन्छ । नियात्रालाई आत्मपरक अनुभूतिले रङ्गाउँदै वस्तुको प्रभावकारी प्रस्तुति गरिन्छ । कौतूहलता, प्रवाहशीलता यसका विशेषता हुन् ।
आज म नियात्राकार अर्जुन ज्ञवालीको सिर्जना ‘हिमाल पारिको कथा’का नियात्राको विषयमा केही कुरा लेख्छु । अर्जुन ज्ञवाली मूलतः पत्रकार हुन् । पत्रकारिता क्षेत्रमा उनलाई गर्वका साथ प्रेस सेनानीको रुपमा सम्मान गरिन्छ र उनको गहकिलो पहिचान छ । साहित्यमा उनी नियात्राकारको रुपमा चिनिन्छन् । यसभन्दा पहिला विश्वको वैभवशाली मुलुक अमेरिका पुग्दाको अनुभव र अनुभूतिलाई आत्मपरक शैलीमा ‘एका देशको कथा’ नामक नियात्रा पुस्तकमा प्रस्तुत गरेका छन् ।
नियात्रा पत्रात्मक, दैनिकी र संवादात्मक प्रकृतिका हुन्छन् । यो आठ दिनको विवरण हो । यसैले यसलाई दैनिकीमा आधारित नियात्रा भन्न सकिन्छ । यसमा लेखकले आठ दिनको यात्राको क्रममा देखेका, भोगेका र अनुभूत गरेका विषयहरु प्रभावकारी रुपमा पस्केका छन् ।
प्रस्तुत नियात्रा विवरण मित्रराष्ट्र चीनको सिचुवान र चोङछिङ भ्रमणसँग सम्बन्धित छ । नियात्राकार २०७६ साल पुष ४ गते प्रसिद्ध समालोचक बालकृष्ण भट्टराई, लेखक तथा समिक्षक ऋषि आजाद, तेस्रो पुस्ताका क्रियाशील र स्थापित पत्रकारहरु भरत केसी, विष्णु घिमिरे, प्रदीप आचार्य, अमृत गिरीसहितको ८ जनाको टोली मित्र राष्ट्र चीनको सिचुवान प्रान्तको राजधानी छेन्दु सहरमा पुगेको कुराबाट थालनी भएको छ ।
नियात्राकारले पहिलो दिन चिनियाँहरु निहाओ निहाओ भन्दै अभिवादन गरेको र छुट्टिदा से से भन्दै हात हल्लाएको बताएका छन् । यो चिनियाँहरुको विशिष्ठ प्रकृतिको अभिवादन संस्कृति हो । लेखक जोसँग पनि मुस्कुराएर बोल्ने चिनियाँहरुको आतिथ्य शैलीबाट प्रभावित भएका छन् ।
दोस्रो दिन यात्रा तालिका अनुसार मन्जुश्रीको मन्दिर अवलोकन गर्ने कार्यक्रम भएको बताएका छन् । यस दिनको दैनिकीमा नियात्राकारले बडो सुन्दर लाग्ने मन्जुश्रीको मन्दिरको चित्रात्मक वर्णन गरेका छन् । मन्जुश्री स्वेत तारा, हरित तारा हाम्रा इतिहासका पात्र हुन् । उनलाई हामीले पनि इतिहासमा पढेका थियौं ।
त्यहाँ नियात्राकारले लुम्बिनीसँगको सम्बन्धको चर्चा गरेका छन् । हाम्रा पथ प्रदर्शक रेम र थुको चलाकीपूर्ण स्वभावको पनि प्रशंसा गरेका छन् । श्रद्धालुहरुको भीड, धूपको सुगन्ध र कलात्मक प्रतिमूर्तिको चर्चा छ ।
यो वर्णन गरिरहँदा पाठकहरु आफै त्यहाँ पुगेको अनुभूति गर्छन् । नियात्राको उद्देश्य पनि पाठकलाई उहीं पुगेको अनुभूति गराउनु हो । यहाँ भाषिक सम्प्रेषणमा भएको कठिनाईको चर्चा छ । त्यसपछि छेन्दु सहरको वर्णन छ । छेन्दुका चोक चोक चाहार्दा काठमाण्डौका वसन्तप्र, इन्द्रचोक, असन, ठमेलजस्तो भएको अनुभूति गर्छन् ।
त्यसै दिन उनी छेन्दु सहरको सिटी सेन्टर पुगेको बताएका छन् । त्यहाँ म्यूजियम हेरेको बताउँछन् । त्यहाँ सिङगो धर्ति हल्लाउने महान नेता माओत्सेतुङको भीमकाय मूर्ति देख्छन् । त्यसै शालिकसँगै माओको गहिरो स्मरण गर्दै साथीहरुका साथ फोटा खिचाउँछन् ।
तेस्रो दिन उनी संसारकै दुर्लभ प्राणी मानिने ठाउँ पाण्डा रसिर्च सेन्टरमा पुग्छन् । छेन्दु सहरको पृष्ठभागमा अवस्थित पहाडी पाखामा रहेको प्राकृतिक शैलीमा बनाइएको पाण्डा भिलेज देखेर बुटवल माथिको पहाडी भूभागमा यसरी नै व्यवस्थापन गर्न सकिने ठान्छन् । त्यहाँबाट हामीले सहरी वनको अवधारणा पनि सिकेको बताएका छन् । सहरभित्रको वन सहरी वन हो।
सहरको किनारी भागमा भएको वन पनि सहरी वन हो । सहरी वनले सहरीयालाई रञ्जन, वहार र आमोद दिन सक्नु पर्छ भनेका छन् ।
यही दिन नियात्राकार जुड्याङयाङ पुगेको बताएका छन् । उनले याङसी नदीको सभ्यताको वर्णन गर्दै छेन्दु सहरमा पानी आपूर्तिको लागि विशाल ड्याम बनाएको र त्यो ड्यामबाट विशाल नहर बनाएर छेन्दु सहरभरि पानी लगिएको बताएका छन् ।
विशालता चीनको विशेषता हो । त्यहाँ नियात्राकारले नहर बनाएका श्रमशिल्पीहरुको शालिक देखेर श्रमिकहरुको सम्मान गरेकोमा तारिफ गर्न पुगेका छन् । ध्वनिरहित शान्त र सफा उद्यान देखेर पुलकित हुँदै उनले मानिस नै महान स्रष्टा हो भनेका छन् । त्यसपछि उनले थापुमा बास बसेको बताएका छन् ।
चौथो दिन नियात्राकार चोङछिङ सिटीतिर लागेको बताएका छन् । चोङछिङ सिटी चीनका पाँचवटा केन्द्र शासित सहरहरुमध्ये एक हो । त्यहाँ दुई करोड मानिस बस्छन् । त्यो अत्यन्त ठूलो आर्थिक केन्द्र रहेछ । भीमकाय गगनचुम्भी घरहरु, स्वच्छ पर्यावरण र ठेलमठेल मानिसहरुको भीड दखेर नियात्राकार आश्चर्यमा परेका छन् । सडक सन्जालको दृश्य देखेर आश्चर्य मान्छन् ।
पाँचौं दिन मोनो रेल र मेट्रो बसबाट आधुनिक कृषि गाउँ, कृषि फारामहरु, गगनचुम्भी भवनहरु, चौडा सडक, मनोरम पार्कहरु हेर्दै नियात्राकार थापुबाट छेन्दुको सबैभन्दा पुरानो र प्राचीन गाउँ ह्वाङलोङतिर लाग्छन् । छैटौं दिन ह्वाङलोङको आदिम आकृतिलाई जस्ताको तस्तै राखेर बनाइएको सहरमा लाखौं पर्यटकहरु ओइरो लागेको देखेर नियात्राकार दङ्ग पर्छन् । उनी बुटवलको पुरानो सहर बटौलीको सम्झना गर्छन् ।
सातौ दिन छेन्दुको भीमकाय भवनमा सयौं व्यापारीहरुले रेडिमेट कपडा खरिद विक्री भएको देख्छन् । त्यो बजारमा किन्न भन्दा पनि चीनको चमत्कारिक बजार प्रणालीको जानकारी पाएको बताउँछन् । त्यहाँ मोलमोलाई गर्न पाइने रहेछ । सहभागीहरुले फाटफुट सामानहरु किनेको बताउँछन् । नियात्राकार चिनको चमत्कार देखेर आश्चर्य मान्छन् ।
अनुशासन, लगनशीलता देशभक्तिले चिनियाँहरु माथि उठेकोमा तारिफ गरेका छन् । माओको पालादेखि देङ्गसियाओ पिङ्ग हुँदै सिजिपिङसम्म आउँदाको ७१ वर्षको बीचमा देखिएको विकासले दङ्ग पर्छन् ।
उनले अमेरिका र चीनको विकास दाँजेर हेर्दा कतिपय विषयमा चीन अझ अघि रहेको चाल पाउँछन् । अमेरिकालाई उछिन्न चीनलाई अझ ३० वर्ष कुर्न पर्दैन भन्ने उनको ठम्याई छ ।
आठौं दिन उनी गम्भीर भएको बताउँछन् । भ्रमण दलका सबै साथीहरुको रेम र थुसँग हाम्रो माया बसिकेको थियो । उनीहरु सँगको हार्दिक सम्बन्धमा भौगोलिक सीमाका कारण ब्रेक लाग्ने भयो । हामी भौतिक रुपमा छुट्टिने भयौं भनेर दुःख मान्छन् । चिनियाँहरु पर्यटकहरुलाई कसरी व्यवहार गर्नुपर्छ भनेर राम्ररी जानेका छन् ।
त्यस व्यवहारले सिङ्गो चीनको प्रतिनिधित्व गर्दथ्यो । चीनको गौरव बढाउँथ्यो । थु छेन्दु अन्तर्राष्ट्रिय विमानास्थलबाट छुट्टिए । रेम भने काठमाण्डौंसम्म आए । उनलाई पनि त्रिभुवन विमानास्थलबाट सेसे भन्दै बिदाईका हात हल्लायौं भन्दै यात्रा वृतान्त समापन गरेका छन् । अन्त्यमा जाँदा पाठक आफै भावुक बनेर गम्भीर हुन्छ ।
नियात्राकार अर्जुन ज्ञवालीले लामो लेख्दैनन् । उनले संश्लेषणात्मक जादूगरी क्षमताका आधारमा सरल भाषामा शीर्षकीय केन्द्रमा रहेर सघन विचारका साथ छोटा निबन्ध लेख्छन् । जे लेख्नु पर्ने हो ट्वाक्क र छर्लङ्ग बुझिने गरी लेख्छन् ।
उनको लेखको विचार तथा भावना सफा तलाउमा विभिन्न रंगका माछाहरु तैरिरहेको झै छर्लङग देखिन्छ । छोटा छोटा वाक्यहरु हुने हुनाले पनि बुझ्न सजिलो हुन्छ । उनको आफ्नै विशिष्ठ शैली छ । यही वैशिष्ठ्यले उनलाई सबै बीच चिनाएको छ ।
अन्त्यमा यो कृतिको आवरण निकै सुन्दर छ । हिमाल पारिको कथा शीर्षकले कृतिको आकर्षण बढाएको छ । कृति २७ पृष्ठको छ । दुई घण्टामा पढेर भ्याइन्छ ।
भाषा सरल र सरस छ । आत्मपरकता भए पनि अलङकार, बिम्ब र प्रतीकहरुको प्रयोग कम छ । संस्कृतका तत्सम शब्दको प्रयोगले भाषामा लालित्य झल्कन्छ ।
प्रवाहशील भाषा पढ्दा पाठकलाई आनन्द आउँछ । साजसज्जा शुद्धाशुद्धि ठीकै छ । तस्बीरहरुले कृतिलाई सजीव र प्रभावकारी बनाएको छ । नियात्राकारलाई साधुवाद ।