सन् १९९४ को अर्थशास्त्रको नोबल पुरस्कार पाउने महान् गणितज्ञ जोन एफ. नाश युवा अवस्थामा नै एक गम्भिर मानसिक रोग सिजोफ्रेनिया (आम भाषामा पागलपन)को शिकार भएका थिए । करीब ३५ वर्षसम्म उनी यो रोगसँग लडे, संघर्ष गरे र ६६ वर्षको उमेरमा उनी चमत्कारिक रुपमा ठीक भएका थिए । २१ वर्षको उमेरमा नै विद्यावारिधि (पीएचडी) गरेका जोन नाश एक गणितज्ञ भएपनि उनले उनको पीएचडीको शोधपत्र, गैम थेउरीमा अर्थशास्त्रको नोबल पुरस्कार पाएका थिए । जोन नाश नोबल पुरस्कार विजेता प्रतिभाशाली गणितज्ञ भएता पनि उनलाई संसारभरि चिनाउने काम ‘अ ब्युटिफुल माइण्ड’ नामक किताब र फिल्मले गरेका हो ।
‘अ ब्युटिफुल माइण्ड’ प्रसिद्ध गणितज्ञ जोन नाशको जीवनीमा आधारित एक चर्चित किताब हो । सन् १९९८ मा प्रकाशित यस किताबकी लेखिका हुन्, प्राध्यापक तथा आर्थिक पत्रकार सिल्भिया नासर । यो बेस्टसेलर किताब अहिलेसम्म ३० भाषाहरूमा प्रकाशित भएको छ । यसै किताबमा आधारित भएर यही नाममा अंग्रेजी फिल्म पनि बनेको हो । रोन होवार्डद्वारा निर्देशित यस चलचित्रले एकाडेमी अवार्ड लगायतका थुप्रै पुरस्कारहरू जितेको थियो । भनिन्छ, यो फिल्म नाशको जीवनकथामा आधारित भएता पनि यस फिल्ममा जोन नाशको जीवनको एक प्रेम प्रसंग उल्लेख गरिएको छैन । जोन नाशको यो प्रेमप्रसंग कस्तो थियो त ? यो चासो विषय हो ।
जोन एफ. नाशको जन्म सन् १९२८ मा अमेरिकाको ब्लुफिल्ड, वेस्ट भिर्जिनियामा भएको थियो । उनका बाबु एक इलेक्ट्रिकल इन्जिनियर थिए भने आमा शिक्षिका थिइन् । जोन एफ. नाशकि एक बहिनी पनि थिइन् । जोन सानैदेखि नै अद्भुुत प्रतिभाका धनी थिए । उनले सानैदेखि नै थुप्रै किताबहरू पढ्न थालेका थिए । ती मध्य ई. टी. बेलको किताब ‘मैन अफ म्याथमैटिक्स’ प्रमुख थियो । तीक्ष्ण बुद्धि र तेज स्मरणशक्तिका कारण उनले माध्यमिक विद्यालयको अध्ययनमा छात्रावृत्ति पाएका थिए । सानोमा उनलाई आफ्नो बाबुझैं इलेक्ट्रिकल इन्जिनियर बन्ने इच्छा थियो । अनि उनले त्यसैको तयारी गर्दै थिए । तर पछि उनी सन् १९४५ मा कार्नेगी इन्ष्टिच्युट अफ टेक्निोलोजीमा पढ्न गए । तर, उनले त्यहाँ केमिकल इन्जिनियरिङ प्रमुख विषय लिएर पढ्न थाले । जर्ज वेस्टिङ हाउस छात्रवृत्ति पनि पाए । तर उनलाई केमिकल इन्जिनियरिङ पढ्न मन परेन र गणित प्रमुख विषय लिएर पढ्न थाले । अन्तर्राष्ट्रिय अर्थशास्त्र पनि उनको एच्छिक विषय थियो । उनलाई सानैदेखि नै थरीथरीका प्रयोग गर्न खुब रुचि हुन्थ्यो । उनी यस्तै प्रयोगहरूमा डुबिरहन्थे । कल्पनाको संसारमा हराउँथे । उनी पढाइलेखाइमा यति प्रतिभाशाली थिए कि परिणामस्वरुप उनले एकैचोटिमा बीएस र एमएसको डिग्री प्राप्त गर्न सफल भए । त्यसपछि उनलाई विश्वप्रसिद्ध हार्वर्ड विश्वविद्यालय र प्रिन्सटोन विश्वविद्यालयबाट फेलोसिपको प्रस्ताव आयो । तर, उनी प्रिन्सटोनका एक गणितज्ञको सल्लाहमा प्रिन्सटोन गणित विभागमा भर्ना भए । उनले विश्वकै प्रसिद्ध प्रिन्सटोन गणीत विभागबाट विद्यावारिधि गरे । त्यसबेला नाशको उमेर केवल २१ वर्ष थियो ।
प्रिन्सटोनमा पढ्दा उनी सायदै पढ्न कक्षा कोठामा गएका थिए । उनको घमण्ड, शेखी तथा सन्क्याहापनाले गर्दा उनको साथीहरूसँग खासै मेल थिएन । यद्यपि उनको यस्तो व्यवहारलाई अहिले सिजोफ्रेनियाको प्रारम्भिक लक्षणका रुपमा लिन सकिन्छ । तर उनी त्यत्तिबेला सिजोफ्रेनियाबाट पीडित थिएनन् । तर उनले आफ्ना गुरु तथा साथीसंगीहरूलाई नयाँ बोर्ड गैम आविस्कार गरेर तथा इक्विलिब्रियम (समतोलन विन्दु) को सम्बन्धमा नयाँ विचारधारा विकास गरेर, जसलाई नाश इक्जिलिब्रियम पनि भनिन्छ, निकै प्रभावित पारेका थिए ।
नाशले प्रिन्सटोनको पढाइलेखाइ सकेपछि एम.आई. टी. मा नोकरी गर्न थाले । तर, त्यहाँ पनि उनले निर्लज्ज, अटेरी, फाइँफुट्टी, बकमफुस तथा आत्मकेन्द्रित व्यक्तिको उपनामहरू पाए । उनको व्यवहार सहकर्मीहरूलाई मन पर्दैन्थ्यो । तर पनि मानिसहरूले उनको प्रतिभा र तीक्ष्ण बुद्धिका कारणले उनको व्यवहारलाई सहन्थे । यसैबेलामा नै ब्युटिफुल माइण्डमा उल्लेख नभएको उनको एक प्रेमप्रसंग शुरु भएको थियो । उनको एक नर्स, एलियानोर स्टियरसँग सम्बन्ध थियो र उनीबाट जोन डेभिड नामको छोरा पनि जन्मिएको थियो । तर नाशको यो प्रेमप्रसंग गोप्य थियो । छोरा जन्मिएपछि अकस्मात् नाशले एलियानोर र छोरा डेभिडलाई छोडेर हिँडे । जसले गर्दा डेभिडलाई शिशुस्याहार केन्द्रमा राख्नु पर्यो । त्यसको केही समयपछि सन् १९५३ मा आफ्नै एक छात्रा एलिसिया लार्डे, जसले भौतिक शास्त्र प्रमुख विषय लिएर पढ्दै थिइन, उनैसँग नाशको प्रेम चल्यो । सन् १९५७ मा उनीहरू विवाहको बन्धनमा बाँधिए । त्यसबेलासम्म सबकुछ ठीकठाक थियो । विवाह भएको एक वर्षपछि एलिसिया गर्भवती भइन, नाशले अकस्मात् एलिसियालाई छोडेर हि“डे । उनी व्यामोह (भ्रान्ति)बाट पीडित भए । उनले सुत्ने कोठाको भित्ताभरि कालो पोत्न थाले । नाशको यस्तो अवस्था देखेर फेबु्रअरी १९५८ मा उनलाई एमआईटी नजिकै रहेको म्याकलीन हस्पिटलमा भर्ना गरियो । चिकित्सकले उनी प्यारानायड सिजोफ्रेनियाबाट पीडित भएको डायग्नोज्ड गरे । उपचारका लागि उनलाई थोराजाइन दिइयो । हस्पिटलमा कर्मचारी तथा चिकित्सकहरूले उनलाई ‘प्रोफेसर’ भन्ने गर्थे ।
५० दिनसम्म म्याकलीन हस्पिटलमा उपचारपछि उनी डिस्चार्ज भए । उनले एमआईटीबाट राजिनामा दिए र सञ्चय कोषबाट पैसा झिकेर आफ्नो प्रतिष्ठाको खोजीमा उनी युरोपतिर हानिए । उनको स्वास्थ्य चिन्ताले गर्दा उनकी पत्नी एलिसा पनि छोरी जोनीलाई आफ्नी आमासँग छोडेर उनको पछि लागिन् । नाश पेरिसमा हराए । अनि ९ महिनासम्म शरणार्थीका रुपमा युरोपभरि घुमे । पछि उनी पुनः अमेरिका फर्किए ।
प्रिन्सटोनबाट उनलाई पुनः नोकरीको प्रस्ताव आयो । तर मनोभ्रान्तिका कारण उनले आवश्यक कागजपत्रमा हस्ताक्षर गर्न मानेनन् । अनि उनले प्रिन्सटोनमा प्राध्यापकको नियुक्ती पाएनन् । म्याकलीन हस्पिटलबाट डिसचार्ज भएको २ वर्षपछि पुनः उनलाई हस्पिटलमा भर्ना गरियो । यसपाली उनी ट्रेनटोन स्टेट हस्पिटलमा भर्ना भएका थिए । तर यो हस्पिटल म्याकलीन हस्पिटल जस्तो सुविधासम्पन्न थिएन । हस्पिटलमा विरामीहरूको ठÒलो चाप हुने गर्दथ्यो । फिल्ममा देखाएझैं उनलाई त्यहाँ इन्सुलिन कोमा थेरापी दिइयो । यो थेरापीको प्रयोग गर्न प्रायः सबै हस्पिटलहरू छोडिसकेका थिए । नाशलाई हप्ताको पाँच दिन, ६ हप्तासम्म यो सुई दिइयो । यस उपचारबाट उनको स्वास्थ्यमा केही सुधार भयो ।
३४ वर्षको उमेरमा उनी पुनः युरोपतिर हराए । तर त्यहाँबाट उनले साथी तथा परिवारका सदस्यहरूलाई बर्बर र डरलाग्दा पोस्टकार्डहरू नियमितरुपमा पठाइरहे । त्यही वर्षको अन्त्यतिर एलिसाले पारपाचुकेको निवेदन दर्ता गराइन् । केही वर्षसम्म उनी यत्रतत्र घुमिरहे । वोस्टनमा पनि बसे । उनकी पुरानो प्रेमिका एलियानोर र छोरा डेभिडसँग पनि बसे । पुनः अकस्मात् उनी त्यहाँबाट हिँडे ।
पछि उनले एन्टिसाइकोटिक औषधिहरू सेवन गर्न थाले । औषधिबाट केही सुधार पनि हुँदै गयो । तर उनले, अन्य रोगीहरूले झैं अकस्मात् औषधि सेवन गर्न बन्द गरे । उनको रोग पुनः बढ्यो । उनले पुनः थरीथरीका आवाजहरू सुन्न थाले । सन् १९७० ताका उनी निकै दीनहीन भएका थिए । नाशको यस्तो दनिय अवस्था देखेर एलिसालाई निक दया लाग्यो । उनले पुनः नाशलाई स्वीकारिन् । उनले नाशलाई हस्पिटलमा भर्ना नगरिकन नै घरमा नै उनको उचित रेखदेखको व्यावस्था मिलाइन् । बिस्तारै–बिस्तारै उनी कम तनावपूर्ण वातावरणमा रहन थाले । उनको स्वास्थ्यमा सुधार हुन थाल्यो । उनले आफुले स्वस्थ हुने संकल्प गरे, थरीथरीका आवाजहरू नसुन्ने, यसप्रति ध्यान नदिने निर्णय गरे । उनको रेखदेखमा एलिसियाको ठूलो भूमिका निभाइन । अनि ६६ वर्षको उमेरमा उनले एलिसियासँग पुनः विवाह गरे ।
सन् १९९४ मा उनले स्विडेनका नरेश अगाडि उभिएर अर्थशास्त्रको नोबल पुरस्कार थापे । लामो समयसम्म सिजोफ्रेनिया जस्तो जटिल मानसिक रोगस“ग संघर्ष गरेर उनले पुनः नयाँ जीवन पाए । तर दुःखको कुरा के भने उनको परिवारलाई भने सिजोफ्रेनियाले छोडेन । एलिसा र नाशको छोरा, जो पनि गणितज्ञ हुन्, उनी पनि सिजोफ्रेनियाबाट पीडित छन् । सिजोफ्रेनियाको एक प्रमुख कारण अनुवांशिक पनि हो भन्ने यो प्रमाण हो ।
सिजोफ्रेनियाबाट जोन नाश मात्र होइन थुप्रै हस्तिहरू पीडित भएको इतिहास छ । टोम हरेल (संगीतकार), मीरा पोपकीन(कलाकार), एंडी गोरेम (फुटबलर), पिटर ग्रीन (गिटारिष्ट), वैक्लव निजिंस्की (रुसकी प्रसिद्ध नृत्यांगना), चाल्र्स फास्ट (प्रसिद्ध फुटबलर) तथा हिन्दी फिल्मकी प्रसिद्ध अभिनेत्री परबीन बाबी आदि जस्ता थुप्रै व्यक्तित्वहरू पनि सिजोफ्रेनियाबाट पीडित थिए । लोकप्रिय संगीतकार टाम हरेलले त यस विरामीबाट पीडित भएरपनि निरन्तर स्तरीय संगीत सृजना गरिरहे ।
अन्तमा, सिजोफ्रेनियाबाट ग्रस्त मानिसले कस्तो अनुभव गर्छन् ? उनीहरूको व्यवहार कस्तो हुन्छ ? आदि कुरा जान्नका लागि अंग्रेजी फिल्म ‘अ ब्युटिफुल माइण्ड’ तथा हिन्दी फिल्म ‘मदहोशी’ हेर्न सकिन्छ । तर, हिन्दी फिल्म मदहोशीमा देखाइएका केही तथ्यहरू सही छन् भने केही तथ्यहरू गलत छन् । यस्तै अ ब्युटिफुल माइन्डमा नाशले दृश्य भ्रान्तिको अनुभव गरेको देखाइएको छैन । तर सिजोफ्रेनियाबाट ग्रस्त व्यक्तिले यस्ता अनुभव गर्छन्, समान्य व्यक्तिले यस्तो आनुभव साहेदै गर्छन् । त्यसो त रक्सी खाना नपाएका वा छोडेका व्यक्तिलाई समेत यस्तो अनुभव हुने गर्छ । निचोडमा ‘ब्युटिफुल माइण्ड’ नामक किताब तथा फिल्मले प्रसिद्ध गणितज्ञ जोन नाशको जीवन संर्घषका बारेमा मात्र जानकारी गराउ“दैन कि सिजोफ्रेनियाका बारेमा पनि ज्ञान दिलाउँछ । त्यो भन्दा पनि बढी प्रेरणा दिलाउँछ ।
(लेखक मनोविद् हुन् ।)