भूमिका :
कविताका बृहद् रुप मध्यम रुप र लघु रुप हुन्छन् । बृहद् रुपमा बृहद् र बृहत्तर रुप हुन्छन् । ललित वा कलात्मक महाकाव्य बृहद रुप हो भने विकशनशील वा आर्ष महाकाव्य बृहत्तर रुप हो । मध्यम रुपमा खण्डकाव्य र लामो कविता पर्छ । त्यसरी नै कविताको लघु रुपमा लघु र लघुतम रुप हुन्छ । लघु रुपमा फुटकर कविता, गीत, गजल र फाँचल पर्छन् । लघुतम रुपमा हाइक,ू ताङ्का, सेदोका, छोक, एलाक, मुक्तक रुवाई, लोकपद्य, सायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पूरबी, केस्रा खिचडी, युग्मक, बाछिटा, सुसेली, साइनो, खोरिया, उदक, झर, शीत, छेस्का, टुक्का कोपिला आदि पर्छन् ।अहिले नेपालीय साहित्यमानयाँ नयाँ उपविधाहरु जन्मने प्रयोग हुने र हुर्कने क्रम छ ।नेपालीय साहित्यको विकास रोकिएको छैन, बरु अरु गतिशील र गुणात्मक रुप लिँदैछ ।
कवि हरि पोख्रेलको परिचय ः
आज मैले कविताको लघु रुप फुटकर कविताको संग्रह बन्धकी एक रातको कविताका रचयिता कवि हरि पोख्रेलको विषयमा सामान्य जानकारी दिदै यो कविता संग्रहको सामान्य समीक्षा गर्न चाहन्छु ।
हरि पोख्रेलको जन्म मदाने गाउपालिका भन्भने बडाचौरगुल्मी हो । उनका पिताको नाम दुर्गादत्त पोखरेल र आमाको नाम वेगमाता पोखरेल हो । हाल उनी गढवा गाउँपालिका ४ देउखुरी दाङ्गमा बस्छन् । उनको योग्यता साहित्याचार्य, एम.ए, बि.एड. हो । उनको प्रकाशित कृति बन्धकी एक रात हो । यस बाहेक गद्य कविता संग्रह ती निला धर्काहरु र चौध वर्षपछि सह लेखनको रुपमा कविता संग्रह प्रकाशित भएका छन् ।
उनका प्रकाशोन्मूख कृतिहरु बादल हाँसेपछि (गद्य कविता संग्रह) संरचना (खण्डकाव्य), हिंजो आज (गीत संग्रह) हुन् । ती कृतिहरु छिटो प्रकाशित होउन् । हाम्रो कामना छ ।
कवि हरि पोख्रेल विभिन्न संघ संस्थाहरुमा अबद्ध छन् । उनी देउखुरी साहित्य तथा साँस्कृतिक मन्च दाङ्ग, नेपाल साहित्य समाज केन्द्रीय सदस्य, छन्दवादी समाज, नेपाल, लेखक संघ दाङ्क आदि संस्थामा आबद्ध छन् । पछिल्लो समयमा उनी लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशको केन्द्रीय सदस्य रहेर निकै सक्रियपूर्वक लागेका छन् ।
उनले नेपाल साहित्य समाज, काठमाण्डौबाट २०५६ सालमा पुरस्कृत भएका थिए । त्यसरी नै उनी रेडियो सगरमाथाबाट, नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डौबाट, भावक समूह काठमाण्डौबाट,अजम्बरी साहित्य समाज काठमाण्डौबाट,आँकुरा साहित्य संगम दाङबाट, कतार देउखुरी सम्पर्क समाजबाट समय समयमा कदर, सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।
कृतिप्रति भूमिका लेख्नेहरुको दृष्टिकोण ः
प्रस्तुत कृति बन्धकी एक रातको कृतिको विषयमा राष्ट्रकवि माधव घिमिरे भूमिका लेख्दै भनेका छन्—“लेखनशैली र शब्द संयोजनको आधारमा उनलाई परिस्कृत रचनाका कवि भन्न कुनै हिचकिचावट छैन । राष्ट्रभित्रको हरेक पक्षलाई काव्यात्मक तरिकाबाट नियाल्न सक्ने पोख्रेलको अनौठो खुबी रहेछ ।”
अर्का साहित्यकार राजीव कँडेलले भूमिकामा लेख्छन्— “मैले कवि पोख्रेलको साधनारत मूल्याङ्कन एक दशक अघि नै गरिसकेको हुँ । अहिले काव्य साधना मात्र हैन, नेपाली पद्य साहित्यको सशक्त र परिपक्व हस्ताक्षर कविका रुपमा लिनुपर्ने ठानेको छु ।”
यो महत्वपूर्ण कृतिको प्रकाशन देउखुरी साहित्य तथा साँस्कृतिक मन्चले गरेको हो । प्रकाशकले यो कृतिको विषयमा मानवीय संवेदना, सामाजिक समस्या, राष्ट्रिय स्वभिमान, गाँसिएका विभिन्न पक्षमा फरक शैली र कोणबाट पछ्याउने खोजेको छ भनेका छन् ।
नेपालीय साहित्यको अर्थ
माथि र तल ठान्ने विशेष र सामान्य मान्ने ठाडो दृष्टिकोण भर्टिकल दृष्टिकोण हो । यो भावनाले सहअस्तित्व र समानता मान्दैन । समान दृष्टिकोण भनेको होरिजेन्टल अर्थात समतलीय दृष्टिकोण हो । त्यसैले हामीले नेपालीय शब्द प्रयोग गर्छौं । नेपालमा बोलिने सबै भाषाभाषीको साहित्य समष्टिमा नेपालीय साहित्य हो । नेपाली साहित्य भन्दा एक भाषाको साहित्यलाई मात्र बुझ्ने हुँदा सहअस्तित्व र समानताको आधारमासमष्टिमा पक्रेर नेपालीय साहित्य भन्नु युक्ति संगत हो । नेपालीय भाषा भन्दा थारु, अवधी, भोजपुरी, गुरुङ्गी, मगरी उर्दूलगायतका भाषाका स्रष्टाहरुलाई समष्टिमा सम्बोधन हुन्छ । साहित्यमाएकात्मक चिन्तनलाई हटाएर संघात्मक चिन्तन आत्मसात गरी सम्बोधन गर्दा भाषिक मूल प्रवाहीकरणमा योगदान पुग्न सक्छ । सबै भाषिक समुदायले भाषिक अधीनता हैन, स्वाधीनताको महशुस गर्छन् । भाषिक पहिचान र सम्मान पाउँछन् । यही साहित्यिक उदात्तता नै हाम्रो लोकतन्त्रको विशेषता हो ।
कृति समीक्षा ः
बन्धकी एकरातको कृतिमा ३६ वटा काव्य कोपिलाहरु छन् । अलग अलग कोपिलमा अलग अलग सन्देश प्रवाहित भएको छ ।
ती कविताहरुमा म देश देख्न आउँछु, आ पैसा, त्यसैले बाँचिदिन्छु म, जीवन सार, बितेका वर्षका कुरा, अलिकति रहर, अलिकति सम्झना, म निराधार मान्छे, बाँसुरी र जीवन, आव्हान, देश दर्शन, कवि र कविताहरु, हामी र देश, कुरा उनै उमङ्गका, मनोकांक्षा, सहिद तिम्रो सम्झनामा, मान्छे कसरी बनूँ, प्रिय मन्दिरा, अव्यक्त परिचय, सम्झना, टुटेको मन, सन्देश बाटुलीको, शान्तिको कामना गरौं, हाम्ले शंख फुकेका छौं, आस्थाको चिन्तन, नयाँ नेपाल, अनुत्तरित प्रश्नहरु, जीवन र विश्वास, पैसाले मन साट्दिन, बन्धकी एक रातको, जीवन तरङग, ए दाङ्ग, फुटाल खुत्रुकेहरु, जल सुन्दरी, आचारसंहिता, म गाउँबस्तीभित्र छु, मैले देश निचोरेर, आशंका हुन् ।
उनको पहिलो कविता म देश देख्न आउँछु हो । यसमा उनले ल पर्ख पर्ख मित्र हो, म देश देख्न आउँछु भन्दै राप्तीबासीलाई सम्बोधन गरेका छन् । उनले उनले शिष्ट र मर्यादित खालको समतलीय समाज बनाउन चाहन्छन् । अबजालझेको बनावटी उदारताका परम्परागत सोंच छिनाल,अजङ्गका रवाफ, धाकधम्की छाड भन्दै सभ्य र समानताका आधारमा बनेको समाज देख्न चाहन्छन् । उनी लेख्छन् —
चुँडाल जाल झेलको, बनावटी उदारता ।
छिनाल ती अजङ्गका , रवाफ धाक धृष्टता ।।
तयार पार धार है, म घात रेट्न आउँछु ।।।
ल, पर्ख पर्ख मित्र हो, म देश देख्न आउँछु ।।।।
त्यसैले बाँचिदिन्छु म शीर्षक कवितामा कविले गरीबी हुनुका विवशताको बयान गरेका छन् । उजाड घरबास, चुलिएको ऋण, आँसुका खहरे, आँशुको सागरका बिम्बहरु राखेर कविले कलात्मक रुपमा लेखेका छन् ।
कवि लेख्छन् —
हुरी बतास मैमाथि, घरबास उजाड छ ।
ऋण ऐश्वर्य सम्पत्ति, चुलिएर पहाड छ ।।
आँखा हुन् खहरे मेरा, मनभित्र समुद्र छ ।।।
म हुँ दरिद्र सम्पन्न, हाहाकार प्रशस्त छ ।।।।
बितेको वर्षका कुरा कवितामा कविले हिंजका लथालिङ्ग कुराहरु सम्झेर आजको दिनलाई चिन्तित गराउनु हुँदैन भन्ने सन्देश दिदैं हिँजका कुरा भुल आजको लागि सोंच भनेका छन् । उनले सामाजिक बिडम्बनाको विषयमा सरल तर अति कलात्मक रुपमा यसरी प्रस्तुत गरेका छन् —
बाढी अटेन बस्तीमा, अन्न फलेन बोटमा ।
बत्ति बलेन कोठामा, हाँसो उठेन ओंठमा ।।
उनले आव्हान कवितामा शासकरुलाई उदात्त बन्न सन्देश दिएका छन् । यसमा पर्खालभित्रका कुरा हैन, विश्वव्यापी भएर सोंच्नु पर्छ भन्दै उनी लेख्छन्—
के गर्छौं घरको लागि पर्खालभित्रका कुरा ।
विश्वव्यापी भई बाँच त्यही हो उच्च टाकुरा ।।
प्रिय मन्दिरा ! उनको महत्वपूर्ण कविता हो । यसमा उनले मन्दिरा पात्रलाई सम्बोधन गर्दै देवता भनेका शोषक वर्गको प्रतिनिधि पात्र हुन् भन्दै देउताका नाममा हुने सबै पाखण्डी खालका कर्महरुको उछितो काढेका छन् । उनी भौतिकवादी नहोलान् तर धर्म र देउताको नाममा हुने शोषण हुने र भाग्यमा लेखेको भन्ने चिन्तन विरुद्धप्रगतिशील चिन्तन भेटिन्छ । उनी कर्मवादी छन् । उनी कर्म गर्नुपर्छ देउताले दिंदैनन् भन्ने दृष्टिकोण राख्छन् ।
कवि लेख्छन्—
देवता नै छँदैछैन, छोडिद्यौ धर्मका कुरा ।
आस्थाको अलिनो प्रश्न नराख प्रिय मन्दिरा ।।
कविले नयाँ नेपाल कवितामा आँशु बगेर अत्यन्तै थाकी सक्यौं महाशय भन्दै अब हामी मुस्कुराउन चाहन्छौं, अब खुसीका दिन चाहियो । पापको सृष्टि विधान लत्याएर नयाँ ईश्वर चाहियो भनेका छन् ।
कवि लेख्छन् —
शान्तिको पारखी बन्छौं, एउटा मन्दिर चाहियो ।
पापको सृष्टि चाहिन्न, नयाँ ईश्वर चाहियो ।
बन्धकी एक रातको कविता उनको केन्द्रीय कविता हो । उनको कवित्व शक्तिभित्र विभिन्न अलङकार र बिम्बहरु स्वतस्फूर्त रुपमा नाँच्दै आएका छन् । यसमा कलात्मक निखारता छ । यस कवितामा हरेक गरिब व्यक्तिहरु सुनौले भविश्यको कामना गर्दै प्रत्येक रात बिताएका हुन्छन् । तर जीवनमा कामना कामनाकै रुपमा मात्र रहन्छ । ती रातहरुलाई उनलेबन्धकका रात भनेका छन् । शीर्षकमा लक्षार्थबोध छ ।
कवि लेख्छन्—
आत्म विश्वासमा चिन्ता, चिन्ता छ स्वभिमानमा ।
बन्दा भत्किदा चिन्ता, अभाव अपमानमा ।।
चिन्त प्युन हुँदो हो त, पिउँथ्यो बटुकाभरि ।।।
चिन्ता ज्युन हुँदो हो त, जिउँथ्यो जिन्दगी भरि ।।।।
अन्तिम कविता उनको आशंका हो । यसमा कविले सपना देख्नु पर्छ, ती सपनाहरु साकार हुनु पर्छ । दौडिने सपना देख्दा पूरा हुन नसकेर बिगार्छ कि भन्दै शंका गरेका छन् ।
कवि भन्छन् —
दौडिने सपना देख्दा, सपनाले बिगार्छ कि ।
त्यसैले सपना हाम्ले, अलि सपार्नुपर्छ कि ।।
कृतिमा कवित्व शक्ति ः
कविले कैयौं कविताहरुमा अनुप्रासको राम्रो प्रयोग गरेका छन् । उनी लेख्छन्—
या चञ्चला चालकी चुल्बुले हौ ।
जे हौ तिमी बैंसकी बुलबुले हौं ।।
कविता तप्प चुहिन्छन्, पानीका रङ्ग रङ्गमा
कविता लाजले झुक्छन् कसैको अङ्ग अङ्गमा ।
कवि हरि पोख्रेलको कवित्व क्षमता बेजोड छ । खासगरी कल्पना शक्तिको माध्यमबाट स्वतः स्फूर्त स्फुरण भएका बिम्ब र अलङकारहरु टिपेर छन्दमा टपाटप उन्न सक्ने कालीगढी सीप छ । कृतिमा सहजवृत्ति भेटिन्छ । शब्दाम्बर छैन । उनको कृतिमा मन्दाक्रान्ता, शिखरिणी, शार्दूलवीकृडित, उपजाति अनुष्टुप छन्दको प्रयोग भएको छ । नेपाली, अँग्रेजी र संस्कृतमा राम्रो दख्खल भएका कवि हरि पोख्रेलको काव्य क्षमतामा निकै निखार देखिन्छ । पूर्वीय पाश्चात्य काव्य सिद्धान्तका विषयमा राम्रो दख्खल राख्ने कवि विशेषतः पूर्वीय आदर्शलाई पछ्याएका छन् ।
कवितामा कविले शास्त्रीय शैलीको माध्यमबाट उनले आधुनिक भावनाको प्रकट गरेका छन् । छन्द शास्त्रीय भाव ओकल्ने माध्यम मात्र हैन, यो त सूत्र हो, यसको प्रकृति सार्वकालिक र सुदीर्घ हुन्छ भन्ने भावना उनमा छ । शास्त्रीय छन्द भनेको पुराना रुढि र बासी विचारको पदचिन्हमा टेकेर हिंड्ने र तदनुसारको साहित्यिकअभ्यास गर्ने हैन, शास्त्रीय सूत्रमा आधुनिक भाव सम्प्रेषण गर्न सकिन्छ भन्ने भन्ने उनको भनाई छ ।
उपसंहार
कृतिमा रहेका कविताहरु मध्यम कायका छन् । अर्थालङ्कारमा मात्र हैन, शब्दालङकारमा कवि निकै सफल देखिन्छन् । ती शब्दहरु ल्किष्ट नभई सहज छन् । कृतिमा अशुद्धि कम छ । उनका कविताहरु २०५८ सालदेखि २०६८ कालावधिभित्रका हुन् । त्यो समयमा मुलुकमा विद्रोह र संविधान निर्माणमा राजाको हातमा रहेको अधिकार र सम्प्रभूता खोस्ने र जनताको हातमा सुम्पने विषयमा माथापच्ची चलेको थियो । घात प्रतिघात, द्वन्द्व प्रतिद्वन्द्व, हिंसा प्रतिहिंसाको झरी सेलाएको थिएन । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरी एकात्मक संरचनालाई संघीय संरचनामा बदलिदै थियो । तर कविका कविताहरुमा ती सब कुराहरु अभिधाका रुपमा हैन, व्यन्जनामय भएर आएको देखिन्छ । कहीं कतै पनि नारावाद भेटिदैन । प्रगतिशील साहित्यमा यति कलात्मक कृति विरलै पाइन्छ । साहित्य जीवनको लागि हो साहित्यको लागि जीवन हैन भन्ने विषयमा कवि सचेत छन् । यसमा समसामयिक भावनाहरु मुखर भएका छन् । कविलाई बधाई तथा शुभकामना !