तानसेन १ मेहलधारा पाल्पामा स्वर्गीय माता दीनकुमारी ज्ञवाली र पिता वेदराज उपाध्याय ज्ञवाली (राम गुरु)को कोखबाट २०१८ सालमा जन्मेका रोहितप्रसाद ज्ञवाली कल्ल्को नामले सुपरिचित नेपालीय साहित्य शृङखलामा विन्यस्त भएका छन् । उनले आशाका अंकुरहरु, यात्रा एक तरङग, र कुण्ठा देशको कविता संग्रह प्रकाशन गरेका छन् । त्यसैबाट उनले आफ्नो पहिचान बनाएका छन् ।
मैले उनलाई कालिका मन्दिर व्यवस्थापन समिति तुम्कोट वाङला अर्घाखाँचीले प्रकाशन गरेको पुस्तकमा पहिलोपटक पढेको हुँ । त्यसै पुस्तकबाट परोक्ष चिनजान भएको थियो । पछिल्ला दिनहरुमा हामीहरु लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेशमा जोडियौं । अहिले रोहितराज ज्ञवाली लुम्बिनी वाङमय प्रतिष्ठान पाल्पा जिल्ला समितिमा छन् । उनी अन्यविभिन्न साहित्यिक संस्थाहरुमा आबद्ध छन् ।
अहिले मुलुकमा साहित्य, कला, संस्कृति र संगीतको राम्रो उभार आएको छ । अब उत्कृष्ट कृति दिन सफल स्रष्टाहरु ठिङ्ग उभिएर ठाडो शिर लगाई बाँच्न सक्ने भएका छन् । उनीहरुका कृतिहरु बजारमा विक्री हुन थालेका छन् । यसले सिर्जनारत तथा साधनारत साहित्यकारहरुमा नयाँ उत्साह थपेको छ । कला क्षेत्र व्यवसायिक भएको छ । काष्ठकला, प्रस्तरकलाको विकासले फड्को मारेको छ । नृत्य संगीतबाट पनि व्यवसायिक रुपमै आत्म निर्भरता बढेको छ । यो खुसीको कुरा हो । यसै सन्दर्भमा आज मैले कुण्ठा देशको कविता संग्रहको विषयमा सामान्य समीक्षा गर्न चाहन्छु ।
यो पुस्तकको विषयमा भूमिकाकारहरुले धारणा राखेका छन् । डा. रामप्रसाद ज्ञवालीले भूमिकामा लेख्छन्—
यस कृतिमा बहुजन हिताय बहुजन सुखाय भन्ने प्रजातान्त्रिक आदर्श स्थापनाका लागि प्रतिबद्ध भई सक्रिय र समर्पित रहनुको विपरीत नेतृत्व वर्गमा स्वार्थी र अहं प्रवृत्ति मौलाएको कारण यस्तो कुप्रवृत्तिका विरुद्ध अब समष्टिगत रुपमा एकजुट भई सबै नागरिक सजगताका साथ कृयाशील रहनु पर्ने अवस्था आएको छ भन्ने सन्देशमूलक विद्रोहात्मक शंखघोष पनि ध्वन्यात्मक रुपमा प्रस्तुत छ ।
साहित्यकार डा.शंकर गैरेले भन्छन्—व्यवस्थापनको विद्यार्थी, निजामती कर्मचारी ज्ञवालीजीको साहित्यप्रतिको झुकाव अचम्मलाग्दो छ ।विस्तारै उहाँ पाल्पाका साहित्यिक संघ संस्थामा आबद्ध हुँदै जानु भयो । यो उहाँको साहित्यिक सक्रियताका दृष्टिले ज्यादै राम्रो पक्ष हो ।
नारी उन्नयन तथा विकास प्रतिष्ठानका अध्यक्ष लक्षिमा ज्ञवाली लेख्छिन्—हरेक कविताका लाइनहरुलाई केलाएर अध्ययन गर्दा अथाह दुःख पीडा कुण्ठा,वेदनाहरु प्रष्टसँग मुखरित भएका छन् । घामपानी जाडोगर्मी रहेर कवितारुपी फूलहरु प्रकृतिक रुपमै फुलेका छन् । दबेर बसेका कुण्ठा चट्टान फुटालेर उम्रेको छ । हुर्केको छ । फक्रेको छ र सुभाष छरेको छ । यसलाई मलजल उकेरा लगाउनु अर्थात सिंगारपटार गर्न जरुरी छैन ।
प्रकाशकीयको तर्फबाट पुष्कर अथक रेग्मी भन्छन् —लेखक र उपन्यासकारको रुपमा स्थापित भई सक्नु भएका साहित्यकार रोहितप्रसाद ज्ञवालीबाट प्रस्तुत कविता संग्रह कुण्ठा देशको प्रकाशन भएसँगै दस्ताबेजसहित कवि व्यक्तित्वको रुपमा प्रतिष्ठित हुनु भएको छ ।
कविता कृतिको शीर्षक कुण्ठा देशको हो । कुण्ठा शब्दको विपरीतार्थक शब्द बैकुण्ठ हो । कविता कुण्ठा प्रकाशनको सशक्त माध्यम हो । मनको पिंधमा गुडुल्किएर रहेका अवचेतन मनका भावनाहरु बिम्ब, प्रतीक र अलङकारको माध्यमबाट कलात्मक रुपमा बाहिर प्रकट हुने साहित्य हो । काव्यमा हुने सौन्दर्य पक्ष यही हो । त्यसैले काव्यबाट मानिसहरुलाई बैकुण्ठको आभास दिनु पर्छ ।
कुण्ठा बिनाको संसार नै बैकुण्ठ हो । ईष्र्या, प्रतिशोध, डाह र वेचैनीका संवेदनाहरुलाई कलात्मक रुपमा प्रकाशन गरेर मन शान्त बनाउनु पनि काव्य रचनाको धर्म हो । धर्म, अर्थ, काम मोक्षमध्ये यो मोक्षमा पर्दछ ।
मानिस समाजमा त्रासैत्रासमा बसेको छ । वर्गीय समाजमा विपन्न मानिसले अपमान र हिंसाका चोट र खतहरु सहेर ती सबै चोट र खतहरु मनको पिंधमा राखेर बस्छ । यी कुण्ठाहरु हुन् । ती कुण्ठाहरु प्रकाशन हुन नपाई मानिसको मृत्युसँगै डढेर समाप्त हुन्छन् । त्यसैलाई मृत्युपछिको बैकुण्ठ भन्छन् क्यार ।जे होस् यो कविताले मानिसका कुण्ठाहरु प्रकाशन गरेर बैकुण्ठको बाटो खोलेको छ । कविलाई साधुवाद ।
यस कुण्ठा देशको कविता संग्रहमा ५० वटा काव्य कृति पुन्जहरु छन् । कृतिकारले पहिलो कवितामा नै नेपालको अद्वितीय झण्डाको महिमा गान गाएका छन् । यसलाई उनले सबै धार्मिक समुदायको साझा सम्पत्ति भनेका छन् ।
कवि लेख्छन्—
हिन्दु, बौद्ध, इसाई, इस्लामका
बहुपक्षीय समता भाव जगाउने ।
अब शपथ नखाऊ कवितामा कविले नक्कली शपथधारीहरुलाई तीक्ष्ण व्यङग्य गरेका छन् । कवि लेख्छन् —
भो अब शपथ नखाऊ
किनभने शपथ खानेहरु नै
व्यभिचारी, दुराचारी, भ्रष्टाचारी
अनि साह्रै राष्ट्रघाती बनिरहेका छन्
दाँत किट्दाकिट्दै अलि अलि गरेर
मुलुकको पूरै शाख गिराई रहेका छन् ।
नभन त्यसो मलाई कवितामा कविले गोरु, गधा नभन भन्दै गोरु र गधा भएको भए हामी मिहिनती र इमान्दार हुन्थ्यौं भन्दै व्यङ्ग गर्छन्—
नभन त्यसो मलाई
कस्तो गधाजस्तो रहेछ भनेर
यति मान्छे गधा हुन्थ्यो भने
सबै मेहनतीको उदाहरण बन्थे ।
नभन त्यसो मलाई
कस्तो गोरु रहेछ भनेर
कृषिको धनी मुलुकमा
चामल बेसाई खान पर्थेन ।
आमा शीर्षक कवितामा आमाको मृत्युले थिल्थिलो भएका अभागीहरुको आत्मानाद प्रकट भएको छ । आमा कवितामा कवि अलि भावुक भएका छन् । उनी दैवको लेखा भन्दै परमधामको चर्चा गरेका छन् । वास्तवमा हामीले इहलीला नै सुधार्नु पर्छ । हाम्रो संस्कृतिमा लेखाजोखा भन्ने प्रचलन छ । यो वाणिज्य क्षेत्रमा प्रयोग हुने शब्द हो । जौख्दै लेख्दै राम्रोसँग हिसाब किताब गरेको भए भाग्य(भाग) बिग्रदैन भन्ने आशय हो । भावीले लेखेको दिनमा मर्नैपर्छ भन्ने आम प्रचलन छ । त्यो दिन काल लिन आउँछ भन्ने विश्वास छ । हामीले अहिले योगा, सन्तुलित आहार विहार र औषध उपचारबाट हाम्रो उमेर बढाउन सक्छौं ।विगत पचासको दशक अघि हाम्रो सरदर उमेर ४६ वर्षकोथियो । त्यसलाई हामीले ७० वर्षमा पु¥याउन सकेका छौं । मृत्युलाई परपर धकेल्न सकिन्छ । भाग्यलाई सपार्न सकिन्छ । उपचारबाट धेरै बाँच्न सकिन्छ । यही नै प्रगतिशील चिन्तन हो ।
कवि भन्छन् —
दैवको लेखा को टारी सक्छ
यो मनुष्य चोलामा
एक दिन जन्म अर्को दिन मृत्यु
हो...हो.. परमधाममा ।
नेपाली भाषा अपर्याप्त छैन, शीर्षकमा कविले भाषिक विचलनको विरुद्धमा साहित्यकारहरुलाई सजग बनाएका छन् । नेपाली भाषा समृद्ध भाषा हो । संस्कृत तत्सम र त्यसबाट बनेका तद्भव अनि झर्रा शब्दबाट बनेको छ । नेपालकै अन्यभाषाबाट आएका शब्दहरु पनि नेपाली नै हुन् । यसबाहेक हामीलाई अरु मुलुकका भाषाबाट शब्दकोे सापटी लिन आवश्यक छैन भन्दै नेपाली शुद्ध भाषा बोल्न र लेख्न सल्लाह दिएका छन् । यो पनि भाषिक राष्ट्रवाद हो ।
कवि लेख्छन्—
नेपाली भाषा अपर्याप्त छैन
जहाँ तिमीले अंग्रेजी घुसाउन परोस्
जहाँ तिमीले हिन्दी छिराउन परोस् ।
कुण्ठा देशको कवितामा कुण्ठा यति धेरै छन् कि नपोख कुण्ठा भन्दै अनुरोध गरेका छन् । कुण्ठाको विषयमा माथि नै चर्चा गरिएको छ । जहाँ बोल्न लेख्न स्वतन्त्रता छ, त्यहाँ बैकुण्ठ हुन्छ । त्यसैले लोकतन्त्र आफैमा बैकुण्ठ हो । कवि लेख्छन्—
जेठा सन्तान धूर्त छन्
बाँकी शिकार नियतिको
नबोल अब मनको
बढ्दैछ झन कुण्ठा देशको ।
सादगीपन कवितामा कविले हाम्रो नेतृत्वलाई सादगी बन्न सन्देश दिएका छन् । अहिले सिद्धान्त र कामको तादात्म्य भएको छैन । त्यसैले सिद्धान्तलाई क्रियामा अर्थात व्यवहारमा जोडिनु पर्छ भनेका छन् । यो कविता समसामयिक कविता हो । यसमा कवि भन्छन् —
कति निर्मल हुन्थ्यो होला बरै त्यो साधगीपन
अनि कति निष्कलङ्क र पूजनीय बन्थ्यो जीवन
त्यसैले त कर्म र क्रियामा जोडिनु पर्छ त्यो मन
अनि लोक माझ आफै बन्दछ लोकप्रिय जीवन ।
कविताको अन्त्यमा कविले ९,१०,११ त्रिपदीय टुक्रे कविताको केही नमुना दिएका छन् । नेपालमा नव नव प्रयोगमा आएका कविता विधा उपविधाहरुको प्रयोग बढ्दो छ । यो पनि सिर्जनाको एउटाशैली हो ।
उनी भन्छन्—
हत्य हिंसा दण्डले रोक
पीडितलाई न्याय त गर
अवत गर मतको कदर ।
अन्त्यमा रोहित प्रसाद ज्ञवाली कल्लुका केही कविताहरु निकै मार्मिक छन् । कविताहरु यथार्थवादमा आधारित छन् । मनोविज्ञान पक्ष पनि प्रकट भएको छ । भाषा परिस्कृत छ । अशुद्धि कम छ । कैयौं कवितामा व्यङग्यचेत भेटिन्छ । सरल भाषाशैलीमा विचारहरु कलात्मक बनेर आएका छन् । कतै पनि भाषिक आडम्बर छैन । कविताहरु तिनाउ नदीझै सलल्ल बहेका छन् । कवितामा राष्ट्रवादी भावना मुखर भएको छ । भ्रष्टाचारीहरु विरुद्ध शंखनाद गरिएको छ । सदाचारी बन्नका लागि आव्हान गरिएको छ । आमा बुवाप्रतिको आत्मीय भावना प्रकट भएको छ । दुख पीडा, वेदनाका कुण्ठाहरु पोखिएको छ । वीर र शान्त रस प्रयोग गरिएको छ । कृतिको आवरण भाव अनुसार सुन्दर छ । कला पक्षमा अझै निखारताको आशा गर्न सकिन्छ । उनलाई काव्य साधनाको माध्यमबाट समुद्रको पिंधमा पुगेर कलाको माणिक्य पकड्न सफलता मिलोस् । अझै कलात्मक कृतिहरु आउन् । हामी उहाँबाट धेरै प्रेरणा लिन सक्छौं । शुभकामना !!