बुटवल । साहित्यकार स्वर्ण शिखाद्वारा रचित “कोराभित्रका व्यथाहरु” खण्डकाव्यको विमोचन गरिएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान रूपन्देही जिल्ला समितिको आयोजनामा बुटवल १३ जितगढीमा एक कार्यक्रम गरी कृति विमोचन, कृति समीक्षाका साथै कविता वाचन गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कृष्णप्रसाद कोइरालाले बुद्धिराम पौडेलको मृत्युको वेदनाले छटपटीको बिचमा उत्पन्न यो शोककाव्य “कोराभित्रका व्यथाहरु“ शीर्षक विम्ब असाध्यै सुन्दर रहेको चर्चा गर्नुभयो ।
“शीर्षक चयनमा कृतिकारले ख्याल गर्नु भएको छ । यो पितृप्रतिको श्रद्धा पनि हो । कवि कल्पना महत्वपूर्ण हुन्छ । त्यसले सँसार डोहो¥याउँछ । कविता सबैको मनको पिंधमा गढ्छ । त्यसमा पनि सबै विधाहरुमा खण्डकाव्य महत्वपूर्ण हुन्छ”, उहाँले भन्नुभयो ।
वरिष्ठ समालोचक तथा छन्दवादी समाज नेपालका संस्थापक अध्यक्ष कविराज पौडेलले पूर्वीय तथा पाश्चात्य खण्डकाव्यीय मापदण्ड अनुसार रहेको बताउँदै काव्य सौन्दर्यले युक्त खण्डकाव्यको सिर्जनाले नेपाली साहित्य भण्डारमा महत्वपूर्ण कृति थपिएको बताउनुभयो ।
कार्यक्रमा कृतिको टिप्पणी गर्दै वरिष्ठ संस्कृतिविद राजेन्द्रकुमार आचार्यले यो पूर्वीय खण्डकाव्यीय मापदण्डका आधारमा रचिएको कृति “कोराभित्रका व्यथाहरु“ नेपालका केही महत्वपूर्ण कृतिभित्र पर्ने भन्दै यो कृति सङ्ग्रह गर्न र पढ्न आग्रह गर्नुभयो ।
वरिष्ठ साहित्यकार डा.श्याम प्रसाद न्यौपानेले काव्य तत्वले युक्त, काव्य सौन्दर्यले माझिएको स्वर्णशिखाको “कोराभित्रमा व्यथाहरु“ अति उत्कृष्ट कृति रहेकोमा हामी खुसी छौँ भन्नुभयो ।
वरिष्ठ कथाकार गुरुदत्त ज्ञवालीले कृतिको गरिमा महत्वपूर्ण रहेको बताउँदै कृतिहरु सम्प्रेषणयुक्त हुनुपर्ने धारणा राख्नुभयो ।
वरिष्ठ साहित्यकार नारायण ज्ञवाली र समीक्षक कविराज पौडेलले यो कृतिको महत्व उत्कृष्ट रहेकोले सबैले पढ्न सुझाउनुभयो ।
कृतिकार स्वर्णशिखाले यो कृतिको जन्म पिताजीको दुखद निधनबाट उत्पन्न शोकका कारण भएको बताउनुभयो । “मैले पिताजीको दुखद निधनबाट भएको शोकलाई शक्ति बदल्न चाहेको हुँ । कृति पढेर मलाई सुझाव दिनुहोला”, उहाँले भन्नुभयो ।
कार्यक्रममा लक्ष्मण ज्ञवाली, तिलक लामिछाने, सरु ज्ञवाली मिथुन कुँवर, नेत्रप्रसाद गौतम, तिलक भट्टराई अन्जान, ताराप्रसाद अर्याल, यज्ञलाल सुवेदी,पदं कार्कीले रचना सुनाउन भएको थियो ।
समतलीय कार्यक्रममा उपस्थित सबै सहभागीले आआफ्नो स्थानबाट उठेर कृतिको सामुहिक विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार माधव सापकोटा, छन्दविद कविराज पौड्याल, सहित्यकार कृष्ण गाउँले लगायतले कृतिका बारेमा बोल्नुभएको थियो ।