कविताको लयलाई छन्द भनिन्छ । कविता छन्दबद्ध र छन्दमुक्त गरी दुई प्रकारका हुन्छन् । वार्णिक, मात्रिक, लोकछन्द र बहरलाई बद्धछन्द भनिन्छ । बद्धको अर्थ बाँधिएको हुन्छ । मुक्तको अर्थ स्वतन्त्र र बन्धनरहित हुन्छ ।
वाणिक छन्दहरु गणको साँचोमा ढालिएका हुन्छन् । मात्रिक छन्द मात्राको बन्धनमा बाँधिएको हुन्छ । लोकछन्दहरु आक्षरिक एकरुपतामा बाँधिएका हुन्छन् । बहरहरु रुक्नको अनुशासनमा बाँधिएका हुन्छन् । त्यसैले यी सब बद्धछन्द अन्तरत पर्दछन् । बद्धछन्द सिर्जनाका लागि जटिल मानिन्छ भने मुक्त छन्दलाई तुलनात्मक रुपमा सरल मानिन्छ ।
मुक्त कवितामा लय निर्माण गर्ने आधारहरु शास्त्रीय बद्धछन्दमा जस्तो स्पष्ट हुँदैन । गद्य कविताको लयलाई पहिचान दिने आधार भाषिक विचलन तथा व्यतिक्रम हो । भाषामा रहेको आनुप्रासिक अन्तरगुन्जनलाई पनि लयको आधार मानिन्छ । अभिव्यक्तिमा वक्रता हुनु, तर्कपूर्ण र नवीन दृष्टिकोण हुनु मिथक, बिम्ब प्रतीक अलङ्कारको यथोचित प्रयोग हुनुु लयात्मक सोन्दर्यबोधका आधार हुन् । गद्य कवितामा अन्तरलय फेला पर्छ ।
मुक्त मुच् धातुमा त प्रत्यय लागेर मुक्त बन्दछ । यसको अर्थ स्वतन्त्र उन्मुक्त हो । छन्द शब्दमा मुक्त विशेषण थप्दा मुक्त छन्द भनिएको हो । मुक्त छन्दमा आन्तरिक सांगीतिक नाद हुन्छ ।यसमा आन्तरिक लय हुन्छ । यस कविताको आन्तरिक शक्तिचाहिं कवित्व, भाव र विचार पक्ष हो ।बद्धछन्दमा होस् वा मुक्तछन्दमा होस् आन्तरिक सांगीतिक चेत भरेर कवित्व शक्ति देखिनु नै गद्य कविता हो । कवित्व शक्ति महत्वपूर्ण पक्ष हो । यस बिना कविता लेखिदैैन । लेख्नुहुँदैन ।
आज म गद्य कविताको सामान्य सैद्धान्तिक पक्षको चर्चा गर्दै अर्घाखाँचीमा जन्मी हुर्की लामो सेवा गरेरराष्ट्र बैंकका म्यानेजर पदबाट सेवा निवृत्त भएका साहित्यकार ओम आचार्यको ‘लुकेको हार्दिकता’ कविताको विषयमा केही चर्चा गर्न चाहन्छु ।
ओम आचार्य अर्घाखाँची जिल्लाको हंशपुर छहरामा जन्मेका हुन् । होंचो कद भएका फुर्तीलो लाग्ने छोटाछोटा काटिएका सुन्दर वाक्यहरु बोल्ने, सधै प्रशन्न चित्तमा देखिने यी स्रष्टालाई मैले आलोक पुस्तकालय सन्धिखर्कमा पहिलोपटक देखेको हुँ । उनी त्यो बेला आलोक पुस्तकालयको अध्यक्ष थिए । हामी सन्धिखर्कमा पुग्दा उक्त पुस्तकालयमा केही क्षण रम्थ्यौं । अर्घाखाँचीका विद्वानहरु भेटिने ठाउँ थियो त्यो । ओम आचार्यको पहिलो कविता‘हाम्रो पुरुषार्थ’मा छापिएको हो । जुन कविता उनको जीवनको लागि प्रारम्भिक बीज बिन्दु थियो ।
त्यही दिनदेखि उनको कल्पना शक्तिको अन्तरज्वार प्रवाह प्रस्फुटन हुन खोजेको हो ।लामो समयसम्म अभ्यासकालमै बित्यो । त्यसपछि उनले आलोक, नयाँ सिर्जना, त्रिवेणी, पाणिनि, जस्ता पत्रिकाहरुमा कविताहरु प्रकाशन गरेको देखिन्छ । पछिल्लोपटक उनको कवित्व शक्तिमा गुणात्मक छाल आएको छ । उनलाई त्यो वातावरण भूगोल साहित्य समाज काठमाण्डौले दियो । यो कृति भूगोल साहित्य समाजले नै प्रकाशित गरेको कृति हो । उनी अभ्यासको क्रम नै निकै निखारिएर आएका देखिन्छन् । पहिलो कृतिमै उनको कलात्मक निखारता निकै उच्च देखिन्छ ।
सेवा निवृतपछि साहित्यकार ओम आचार्य काठमाण्डांैतिर लागे । काठमाण्डौमा पुगेपछि उनको साहित्य सिर्जनामा निखार आउनुको साथै तीव्र प्रतिभा ज्वार प्रकट हुन थालेको देखिन्छ । उनले गोरखा पत्रमा, साहित्य पोष्ट, सेतो पाटी, बाह्रखरी, संसारन्यूज, लगायतका अनलाइन सञ्चार माध्यमहरुमा कविता, गजल, मुक्तक प्रकाशित गरेका छन् । नयाँ नयाँ काव्य छेस्का, हाइकू, बाछिटा, साइनो, रम्बासजस्ता उपविधाहरुमा उनको कालापूर्ण छटा पोखिएको देखिन्छ । उनी सिर्जना मात्र हैन, गायन कलामा पनि निपुण छन् ।
कवितामा कल्पना शक्तिको महत्वपूर्ण भूमिका हुन्छ । साहित्यमा नयाँ नयाँ अनौठा अनौठा बिम्बहरु खोजेर कलात्मक रुपमा प्रस्तुत गर्ने क्रियात्मक मानसिक शक्ति कल्पना हो । कल्पनाले सुन्दै नसुनिएका बिल्कुल नयाँ नयाँ बिम्बहरु खोजेर ल्याउँछ । नयाँ नयाँ मात्र हैन, पौराणिक, प्राकृतिक, साँस्कृतिक, सामाजिक बिम्बहरु टिप्दै र नयाँ नयाँ बिम्बहरु थप्दैकलात्मक रुपमा प्रभावकारी र गहिरो सन्देश प्रदान गर्छ ।
कवि ओम आचार्यको कल्पना शक्ति बढी छ । उनको सिर्जन सामथ्र्य देख्दा आश्चर्य लाग्छ । फूलको हार्दिकतामा यो सामथ्र्य देखिन्छ । फूल सौन्दर्यको बिम्ब हो । हार्दिकताको अर्थ हृदयको अतल गहिराईबाट निसृत प्रेमपूर्ण नाद हो । हृदय + इक = हार्दिक हुन्छ । यी दुबै सौन्दर्य भर्ने शब्द हुन् । यसर्थ पनि कृतिको शब्द चयन र समष्टि भावको केन्द्रीय अभिव्यक्ति बीच तादात्म्य छ ।
ओम आचार्यको कविता संग्रहमा ३३ वटा सुन्दर र कलात्मक कविताहरु छन् ।ती कविताहरुमा मेरो पेट, मेरी आमा, समय, मनको खेस्रा, छिमेकको रंग, फूलको हार्दिकता, उगालिएको कथा, आमन्त्रण, आगो, अनाम धोको, सौन्दर्यबधः शीत, फूल अनि चेली, लुकी बसेको सहर, हल्लाले हल्लाउनेको खेल, भन्दै थिए वर पिपल चौतारी, कठै तिम्रो बुद्धि विलास, बाटो, गन्तव्यका रङगहरु, माटोको अनुराग, भाइरस आक्रान्त वर्तमान, छाया, आस्थाको खेती, पशुबलि, अहँ देखिन, कतै मेटिन कतै, रङ्ग, गंगामाया अधिकारी, प्रकाश, कोरोना, नवरात्र दशैं, मन एक कर्म अनेक, जिजीविषा, अनुभूति, परिदृश्य, तीन टुक्रा, बहुलाह भएको म हुन् ।
यी कविता संग्रहको भूमिकामात्रिभुवन विश्व विद्यालय कीर्तिपुर काठमाण्डौंकाप्रा.डा. धर्मराज अधिकारी लेख्छन्—“जीवन जिउन जति सजिलो छ, त्यति नै असजिलो पनि छ । कविले जीवनलाई फूलको हार्दिकतामा, आफ्नी कवितामा, आगोमा, बाटोमा, माटोमा, छायामा, प्रकाशमा, मनमा, हृदयमा, अनुभूतिमा र जिजीविषामा आरोपित गरेका छन् । जीवनलाई हेर्ने, नियाल्ने र भोग्ने उनको दृष्टिकोण सकारात्मक छ ।”त्यसैगरी प्रकाशक विनोद नेपाल भन्छन्—“फूलको हार्दिकता प्रकाशन गर्ने अवसर प्रदान गरेर, आफूसँग हामीलाई पनि नेपाली साहित्यको भण्डारमा अर्को एउटा कृति थप्ने अवसर प्रदान गर्नु भएकोमा उहाँप्रति यस समाजको तर्फबाट हार्दिक आभार व्यक्ति गर्छु ।”
उनका कवितामा केन्द्रीय कविता फूलको हार्दिकता हो । यस कवितामा कविले हृदयको गहिराईदेखि विभिन्न संवेदनशील क्षणहरुमा संवेदित हुँदै भाव व्यक्त गरेका छन्। वास्तवमा सुस्वागतम्, स्याबास,श्रद्धान्जली, बधाई, शुभकामना, धन्यवाद, आशीर्वाद, स्वास्थ्यलाभको कामना, विजयको कामना, मङ्गलमय शुभकामनाजस्ता शब्दहरु मनलाई आल्हादित बनाउने, अग्रगमनमा प्रेरणा दिने, खुसी तुल्याउने र उत्प्रेरित गर्नेमनौषधि हुन् । यसले हाम्रो मानसिक तागत बढाउँछ । फुर्ती पैदा गर्छ र गम्भीर बनाउँछ ।
मन स्नायुतन्तुहरुको सन्ञ्जालको केन्द्रीय भाग हो । मन वाह्य तथा आन्तरिक परिवेशले प्रभावित हुन्छ । मनले मनलाई अठ्याउने हो । मनले मनलाई बाँध्ने हो । मनले मनलाई परिशुद्धीकरण गर्ने हो । मनले मनलाई परिमार्जन गर्ने हो र मनले मनलाई नै गतिशील बनाउने हो । मन निकै गतिशील हुन्छ । मन आफै खेल्छ । अरुले भनेको झट्ट मान्दैन । आफै चलायमान हुन्छ । शक्तिशाली हुन्छ । त्यसैले मनलाई स्थिर बनाउन ध्यान योगको खाँचो छ । मनलाई स्थिर बनाउन नै मन्दिर गइन्छ । हाँस्ने, रुने, मन हो । त्यसैले चेतन मनलाई सन्तुलित रुपमा राखिराख्न यस्ता शब्दहरुले राम्रो कामगर्छन् । चाहे भौतिकवादी हुनुहोस् चाहे आध्यात्मिक हुनुहोस, यी शब्दहरु निकै प्रभावकारी हुन्छन् ।
‘फूलको हार्दिकता’ कवितामा आध्यात्मिकता र भौतिकताकोसमन्वय छ । यस कवितामा वास्तवमा हामीलाई ईश्वरले केही पनि दिंदैनन् । सबैभन्दा ठूलो कर्म हो । कर्म भनेको काम हो । काम गर्नुपर्छ । कामको प्रतिफलले भाग्य बन्छ भन्ने कर्मवादी सन्देश छ। कवि अन्य पात्रको माध्यमबाट हरि शरणम् भन्दै कर्ममा लिन हुन आव्हान गरेका छन् । उनी आफै बोल्दैनन्, उनका कविताहरु आफै बोल्छन् । उनका पात्र आफै बोल्छन् । यो काव्य कृतिको विशेषता हो ।
‘फूलको हार्दिकता’ कवितामा हार्दिकता पोखिएको छ । हृदयको अन्तस्थदेखि कसैको आगमनमा सुस्वागतम् भन्दै, कसैको प्रस्थानमा शुभयात्रा भन्दै,कसैको विजयमा हार्दिक बधाई भन्दै, कसैको मृत्युमा हार्दिक श्रद्धासुमन भन्दै हार्दिकता प्रकट गरिएको छ । जीवन विछोड र संयोग हो । दुबै प्रकृतिमा मानिसले त्यसै अनुसारकोभावभङ्गीमा प्रकट गरेर हार्दिकता देखाउँछ । फूलको हार्दिकता कवितामा भनिएको छ —
कसैको आगमनमा ऊ
सुस्वागतम् भन्दै टक्रिन्छ
दुबै हात जोडेर
मुस्कुराउँदै शिर झुकाउँदै
नजिक पुगेर
बटो कुरिरहेको थिएंनि भन्दै
+ + + + + + +
कसैको प्रस्थानमा ऊ
शुभयात्रा भन्दै उभिन्छ
दुबै हात जोडेर
मलिन मुख लाउँदै नजिकै पुगेर
न्यास्रो लाग्छ छिट्टै फर्कनु ल भन्दै ।
+ + + + + + + +
कसैको विजयमा
ऊ हार्दिक बधाई भन्दै आउँछ
दुबै हात खोलेर
प्रफुल्लित मुद्रामा
काँधमा धाप मार्दै
स्यावास !सधै यस्तै कृतिमान कायम गर्नु ल भन्दै ।
+ + + + + + +
कसैको मृत्यमा ऊ
हार्दिक श्रद्धासुमन भन्दै लाम लाग्छ
दुबै हात जोडेर
अश्रुधारा चुहाउँदै
शिर निहुराएर
छातीमा चुम्छ, ढुकढुकी खोज्दै
जीन्दगीको अभीष्ट सिद्धि
जाऊ ल, भन्दै ।
यो कविको केन्द्रीय कविता हो । हुन त यो कविता भन्दा अन्य कविताहरु कला र भावका दृष्टिले कमजोर छैनन् । तर पनि समीक्षाको क्रममा शीर्षकीय कवितातिर मेरो ध्यान एकोरियो । कवितामा प्रयुक्त दुबै हात जोडेर, मुस्कुराउँदै, शिर झुकाउँदै, मलिन मुख लगाउँदै, दुबै हात खोलेर, प्रफुल्लित मुद्रामा, काँधमा धाप मार्दै, लाम लाग्छ, अश्रुधारा चुहाउँदै, जस्ता क्रियात्मक बिम्बहरुले कवितालाई चित्रात्मक बनाई दिएका छन् । कविता सरल र बोधगम्य बनेको छ ।
यस कविताको लयलाई पहिचान दिने आधार भाषिक विचलन तथा व्यतिक्रम पनि छ । भाषामा आनुप्रासिक अन्तरगुन्जनले कवितालाई लयात्मक बनाएको देखिन्छ । अभिव्यक्तिमा तर्कपूर्ण र नवीन दृष्टिकोण छ । बिम्बको यथोचित प्रयोग भएको छ । यस गद्य कवितामा अन्तरलय छ । आरोह अवरोह, सुरताल र आघातले कवितालाई लयात्मक बनाई दिएको छ ।
अन्त्यमाकवितामा कविताहरु सबै उत्कृष्ट छन् । कविताहरु व्यन्जना शक्तिको तहमा पुगेका छन् । कविताहरु मार्मिक छन,् कलात्मक छन् सौन्दर्यका दृष्टिले उच्च छन् । कविका कविताहरु पठनीय छन् । कविलाई हार्दिक धन्यवाद । फेरि पनि यस्तै कृति पढेर आस्वादन लिन पाउँ ।