पृष्ठभूमि :
हामी फल्गुण ११ गतेलोकवार्तापरिषदको कार्यक्रम अर्घाखाँची जिल्लामासम्पन्न हुन लागेको हुँदा आयोजकको निमन्त्रणामा सन्धिखर्कतिर लाग्यौं । हाम्रो गाडी तीव्र र त्वरित गतिमाविभिन्न घुम्ती र मोडहरु पार गर्दै सन्धिखर्कतिर हानियो । हामी रुपन्देही जिल्ला हुँदै कपिलवस्तु जिल्लाको गोरुसिंगेबाटचारघण्टामै पत्थरकोट,डोंटे, भेडामारे, अमराई बजार, ठाडा बजार, बुढीचौर, सुपा देउराली, नरपानी, घुम्टै हुँदै अर्घाखाँची जिल्लाको रमाइलो बजार सन्धिखर्कतिर पुग्यौं । हाम्रो टिममा संस्कृतिविद राजेन्द्रकुमार आचार्य, डा.देवी पन्थी, साहित्यकार ओम आचार्य र म थियौं । हामीलाई भण्डारी होटलमा बोलाइएको थियो । हामी उक्त होटलमा पुग्दाबित्तिकै ज्ञानबहादुर क्षेत्री र माधवराज चुँदाली भेट गर्न टुप्लुक्क आई पुग्नु भयो । हामी हार्दिक सम्बन्धले मन मुटु मिलाउँदै र मुस्कुराउँदै आपसमा हात मिलायौं ।
पाण्निि क्याम्पसका पूर्व क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री र प्राध्यापक माधवराज चुँदालीले लोकवार्ताको लागि तयारीका सबै प्रक्रियाहरु व्यवस्थित रुपमा बताउनु भयो ।हाम्रो १२ गतेको तालिका अनुसार बिहानै सन्धिखर्क स्थित नारायण मन्दिरमा अर्घाखाँची खन खन दहको भजन सुन्ने, त्यहाँबाट ऐतिहासिक स्थान अर्घाभगवती मन्दिरमा जाने अनि ठीक१० बजेपछि कार्यपत्र प्रस्तुत तथा टिप्पणी हुने बताउनु भयो । यही बिचमा जनार्दन खनालद्वा लिखित तथा संकलित अर्घाखाँचीका केही फागु गीतहरु पुस्तकको विमोचन हुने कार्यक्रम पनि रहेको सुनियो । कुरा गर्दागर्दै लोकवार्ता परिषदका अभियन्ताहरु आउनु भयो । हामीसहित ११ जानको टिमलाई भण्डारी होटलमा राखियो । अरु साथीहरु ओल्ड एभरेष्ट होटलमा रहनु भयो । हाम्रो करिव ३० जनाको टिम थियो ।
कार्यक्रम गर्न निकै चुनौती हुन्छ । कार्यक्रमको लागि खर्च हुन्छ । त्यो खर्च जुटाउन निकै हम्मेहम्मे पर्छ । यो पटक ज्ञानबहादुर क्षेत्री र माधवराज चुँदालीनिकै खट्नु भयो । हामीले पनि प्रत्यक्ष परोक्ष अभियानको प्रचार, सहयोग समन्वय गरिरहेका थियौं । प्रज्ञा शक्तिले प्रदीप्त भएर गहकिलो पहिचान बनाएकायी दुई जोडीहरुले आपसी सहकार्य र समन्वयको आधारमा अन्ततः यो यो चुनौतीको सामना गरिछोडे । यस अभियानमा जनार्दन खनाल, सहयोगी बिसी, कुशल भुसाल, कमल घिमिरे, जीवनरायण खनाल, अशोक खनाल, हिमबहादुर लेकाली, सरोज भुसाल, जगन्नाथ भुसाल, हिमबहादुर लेकाली, नारायण खनाल निलमकोनाम पनि आउँछ । यसको लागि अर्घाखाँचीका ६ वटै गाउँपालिका तथा नगरपालिका, उद्योग वाणिज्य संघ लगायत विभिन्न महानुभावहरुको सहयोग मिल्यो ।
सन्धिखर्कको मनोरम दृश्य :
वास्तवमातमघास, पाल्पा र सन्धिखर्कका पहाडी बजारहरु आयतन नबढे पनि व्यवस्थित, सफा र स्वच्छ देखिन्छन् । हाम्रा यी बजारहरु दाजिलिङ्ग, सिक्किम जस्ता सहरहरुभन्दा पनि सुन्दर छन् । साना साना बजार भए पनि कुनै कुराको अभाव छैन । बजारमा सडकहरु पक्की छन् । शिक्षा स्वास्थ्यका लागि क्याम्पस अस्पतालहरु छन् । अहिले पहिला भन्दा गुणस्तरीय सेवा पाउन थालिएको छ । सन्धिखर्कमा अहिले वातानुकूलित मौसम छ । जाडो सुस्त सुस्त हट्दै छ । सल्लाका पातहरुको मरमर गाडीहरुको घरघर र बाँगी नदीको कुलकुल आवाजले प्रकृतिलाई चलायमान बनाएको छ । राजनीतिक सहिष्णुता पहिलाभन्दा राम्रो बनिरहको छ । स्थानीय तहहरुले राम्रो सेवा दिइरहेका छन् । यातायात, विद्युत, सन्चारले गाउँ र सहरको विभेद हटेको छ । सबैका दिनहरु यसरी नै खुसीका साथ बितिरहेका छन् । सानोतिनो काम गरिरहेका छन् । वैदेशिक रोजगारले बसाई व्यवस्थापन र सफसुग्घर निकै राम्रो भएको छ । अर्घाखाँचेलीहरु खुसी र सुखी देखिन्छन् ।
अहिले मुलुककै लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको अगममनले अर्घाखाँची धप्प बलेको छ । मनौ अर्घाखाँचीका लाखौ नरनारीहरु जुरुक्क उठेर पुष्पगुच्छाका साथ संस्कृतिविदहरुलाई स्वागत गरिरहेका छन् । एक दशक अघि साहित्यिक, साँस्कृतिक रुपमा सुष्कप्रायः लाग्ने अर्घाखाँची अहिले जुर्मुराएर उठेको छ ।लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँची जिल्ला समितिसाहित्य, कला, संस्कृति र संगीतको उत्थानार्थ लागि पर्नु भएको छ ।पाणिनि क्याम्पस प्रमुख बुद्धि भुसाल, बाबुराम शर्मा, सुरज सारु, मन्जु घिमिरे, विनोद बेल्बासे, लिलामणि बस्याल, लक्ष्मण भट्टराई नारायण खनाल, सिएन बन्जाडे सरहरुको सहयोग, सहभागिता र दौडधूपले कार्यक्रम निकै सफल देखियो । समस्यामा अर्घाखाँची एक भएर उठ्छ ।
सिद्धेश्वर शिव मन्दिरको दर्शन र भजननृत्य प्रस्तुतिः
हामी अर्को दिन बिहानै उठेयौ । साढे छ बजे हाम्रो टिम जनज्याति उच्च माध्यमिक विद्यालयको अगाँडिपट्टि रहेको सिद्धेश्वर शिवालय मन्दिरमा पुग्यौ. । टिकाटाला लगायौं । त्यहाँ खासगरी खन खनदहतिरको भजन गाउने गरिन्छ । हामी अभियान दलका सबै सदस्यहरु पुग्यौं । जाँदा बित्तिकै भजनेहरुका खैजडु मजुरा घन्कन थाले । पन्ध्र मिनट बीचमा भुर्तालो भयो । बाल्यकालदेखिको हाम्रो दिमागमा गडेर रहेको सुर र तालले जुरुक्क उठाएरफन्फनी नाँच्न लगायो । म खुसीले नाँचें । रातभरि भजन गाउनेहरु बिहान पख अझ प्रदीप्त भएर टाठो स्वरमा गाउँछन् । त्यसलाई भुरतालो भनिन्छ । भ्ुकभुको समयलाई भुर भनिन्छ । भुरको ताल भुर्तालो हो ।
असल काम गरेकाहरुको जयगान गाउनु भज्नु हो भने कृतिको प्रशंसा गर्नु कीर्तन हो । हाम्रो परम्परामा यसरी नै भजन कीर्तन हुँदै आएको छ । शक्तिशाली राजा महाराजाहरुको स्वस्ति, स्तुति गर्नु नै भजन हो । यस सम्बन्धमा उत्तरकुमार पराजुलीको भजन संग्रह प्रकाशन भएको छ । यो महत्वपूर्ण साँस्कृतिक दस्ताबेज हो । राजेन्द्रकुमार आचार्य, जनाद्र्धन खनालका भजन खोज अनुसन्धान र गायन प्रबन्धले साँस्कृतिक संरक्षणमा योगदान दिएको छ । रविलाल कँडेलको भजन, घणदाशका भजनहरु अर्घाखाँची गुल्मीमा प्रशस्त गाइन्छन् ।
तर पनि भजनहरु वर्गीय नै छन् । श्रमिकको संस्कृति निर्माण हुन सकेको छैन ।राजा महाराजाहरु र सम्भ्रान्तहरुका गाथाहरु प्रशस्त छन् । श्रमिकहरुका वीर गाथाहरु बनेका छैनन् । दासयुग विरुद्ध लाखाँै भूस्वामीहरुका जमिन कब्जा गरी मुक्ति भएका वीर वीरङ्गनाहरुको पक्षमा भजन कीर्तन बनेका छैनन् । जमिन्दारहरुको अत्याचार विरुद्ध लागेर दमनका कारण ज्यूज्यान दिएकाहरुको भजन गाउनै बाँकी छ । बरु सांस्कृतिक गाथाहरुमातिनीहरुलाई राक्षस उपमा दिएर उपहास गरिएको संस्कृति छ । हामीले संस्कृति जोगाउने मात्र हैन थप्नु पनि हो । हामीले श्रमिक वर्गको संस्कृति पनि बनाउनु पर्छ ।
अर्घा भगवती मन्दिरको दर्शन :
त्यसपछि हामीहरु गाडी चढेर करिब आधा घण्टामा अर्घा भगवती मन्दिरमा पुग्यौं । अर्घा भगवती मन्दिर निकै पुरानो मन्दिर हो । यो मन्दिर मात्र हैन ऐतिहासिक राजप्रसाद पनि हो । यस मन्दिरसँगजय पराजयका सामरिक गाथाहरु गाँसिएका छन् । हाम्रा साँस्कृतिक परम्पराहरुमा विभिन्न टाकुराहरुमा बसेका भुरे राजाहरुको गाथाहरु धेरै छन् । ती गाथाहरु खासगरी दुर्गा भवानीअर्थात महाकाली देवीसँग गाँसिएर आएका छन् ।शरीर मरे पनि उनीहरुको आत्मा मरेको छैन, मरेपछि पनि तिनीहरुले हामीलाई पिर्छन् त्यसैले बलि, धूपध्वजा दिनु पर्छ भन्ने संस्कृतिको विकास भयो । यसैलाई आस्थाको रुपमा विकास गरिएको छ । लडाईमा महाकाली देवीको आरधना गरेर विजयको लागि आशिष लिएर युद्धमा जाने प्रचलन हुन्छ । अर्घा भगवती मन्दिरसँग पनियस्तै भावना गाँसिएको छ ।
अर्घाभगवतीमन्दिर सन्धिखर्क नगरपालिका वडा नम्बर ९ मा पर्छ । यो सन्धिखर्कदेखि नौ किलोमिटर पश्चिममा पर्छ । यो ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो । यहाँ एशियाकै सबैभन्दा ठूलो दुर्गा भवानीको मन्दिर निर्माण गरिएको छ । यहाँ गोसेनथान, नारायन थान, वैरीको चियान, घाँडेको मन्दिर, जेठी आलमलगायतका दर्शनीय स्थान छन् ।त्यहाँ जेठी आलम किन तल लगियोहोला भन्ने प्रश्न पनि उठ्यो । कतै छुवाछुतका कारण यस्तो त भएको हैन भन्ने प्रसङ्गले पनि ध्यान तान्यो ।
यहाँको अर्का महत्वपूर्ण साँस्कृतिक मूल्य सरायँ नाँच हो । सराँय सरसँग सम्बन्धित शब्द हो । सर भनेको विजय हो । हिंसाबलले राज्य कब्जा गरिसकेपछि विजयोउत्सवको रुपमा मनाइएको नाँच सरायं हो । यो पर्वमा खुकुरी, खुँडा उचालेर वाख्खै वाख्खै गर्दै नाँचिन्छ । यो निकै जोसिलो नाँच हो । यो नाँच अर्घाखाँची,गुल्मी, पाल्पा, प्यूठानमा पनि गाइन्छ । गुल्मीमा भने अलि ढिलो ढिलो नाँचिन्छ । गुल्मी र अर्घाखाँचीको ताल र सुरमा पनि अलिकता फरक छ । केही वर्ष यता रुपन्देही जिल्लाको बुटवल १३ जितगढीमा अङग्रेजसँग युद्ध लडेर विजय प्राप्त गरेको प्रसङगसँग जोडिएर सरायं खेल्ने गरिन्छ ।
अहिले सन्धिखर्कदेखि केही माथि पाँचसय मिटर लम्बाई चालीस मिटर चौडाईको रन वे बनिरहेको छ । यो रनवे बनेपछि पर्यटकहरु अलि बढी आउँछन् । सन्धिखर्कबाट केबुलकारको योजना बनाउने हो भने यहाँ प्रशस्त पर्यटकहरु जाने सम्भावना देखिन्छ । यो भविश्यको राम्रो पर्यटकीय स्थल हो । केबुलकारको लगानी निजी क्षेत्रबाट गरिनु पर्छ ।
यसभगवती मन्दिरको विकासको पहलमा मन्त्रीहरु टोपबहादुर रायमाझी, चेतनारायण आचार्यहरु लाग्नु भएको छ । त्यहाँ मेयर कृष्णप्रसाद श्रेष्ठ,उपमेयर मिश्रा आचार्यसँग पनि भेट भयो । यो ठाउँको विकासमा पूर्व मेयर कमल भुसालको पनि ठूलो योगदान छ । अर्घा भगवती मन्दिर सञ्चालक समितिको अध्यक्षमा सरोज भुसाल हुनुहुन्छ । त्यहाँ सम्बन्धित वडाध्यक्ष पदं भुसालसँग भेट भयो । आधाघण्टा त्यहाँ सरायं नाचकोप्रदर्शन पनि भयो । हामी खुँडा खुकुरी लिएर केही क्षण नाँच्यौं । त्यहाँ हाम्रो लिलबहादुर बिक, भोजबहादुर गन्धर्व, सीमा परियारसँग पनि भेट भयो ।
लोकवार्ता परिषदको महत्व :
अब एघार बज्यो । हामीहरु त्यहाँबाट सन्धिखर्कतिर प्रस्थान ग¥यौं । खाना खाएपछि १२ बजेबाट कार्यक्रम शुरु भयो । लोकवार्ता परिषदगैरसरकारी संस्था हो । यो निकै प्रभावकारी, क्रियाशील छ । लोक भनेको जनता हो । जनताको भाषा, भेषभूषा हुन्छ । भाषाभित्र संस्कृति हुन्छ । रहनसहन रीति रिवाज रपरम्परा हुन्छ । तिनीहरुको जगेर्ना र संवद्र्धनको महशुस भएर केही जिम्मेवार देशभक्त संस्कृतिविदहरुबाट यसको शुरुआत भएको हो । वार्ता परिषदको काम संस्कृतिको शोधखोज र अनुसन्धान गरी त्यसको व्यवस्थित अभिलेख तयार गरी पुस्तक प्रकाशनको माध्यमबाट सरल र सहज तरिकाले नयाँ नयाँ पुस्तामा लोकसंस्कृतिको हस्तान्तरण गर्नु हो । यसमा विभिन्न विधाका विज्ञहरुले स्वतन्त्र रुपमा गोष्ठी पत्रका साथ भाग लिन्छन् । त्यही वाद, प्रतिवाद र संवादको मदानी फन्काएर तथ्य पत्ता लगाएर अभिलेखीकरण गरी संग्रह गरिन्छ । वाह्य संस्कृतिको आयातलाई प्रतिस्थापन गरी स्वसंस्कृतिको उत्थानबाट यसको मूल तत्वलाई जोगाउनु यस अभियानको उद्देश्य हो ।
वास्तवमा विकास भनेको यथास्थितिबाट अगाडि बढ्नु हो । यस अभियानले अहिले गतिशीलता प्रदान गरेको छ ।अहिले स्थानीय तहको निर्वाचनपछि साँस्कृतिक अभियान निकै राम्रोसँग चल्न थालेको छ । सबै स्थानीय तहले यसको प्रवद्र्धनमा यो परिषदलाई सहयोग गरिरहेका छन् । यसको आफ्नै श्रोत छैन । सबै श्रोत अनुदान नै हो ।
एकतारे भजनको गायन र नृत्यको प्रदर्शन :
त्यो दिन तुल्सीकृत रामायणको एकतारे भजन गाइयो । म पनि रामभक्तिधाराबाट प्रभावित व्यक्ति हुँ । बाल्यकालमा हाम्रो घरमा बेलुकी सधै रामायणको वाचन हुन्थ्यो । विशेषतः चन्द्रमणि आचार्य, आत्माराम आचार्य र चन्द्रकान्त आचार्य बुबाहरुबाट एकतारे, खैजडु र मजुरा बजाएर यो भजन गाइन्थ्यो । मलाई ती स्वर्गीय बुवाहरुको याद आयो । म भावुक भएं । गला अवरुद्ध भयो । आँखा रसाए । वास्तवमा संस्कृति भनेकै भावना हो । विभिन्न रसशक्तिहरुको माध्यमबाट भावकलाई भावुक बनाउनु संस्कृतिको उद्देश्य हो । म रोएं । मेरो रुवाईबाटतुल्सीकृत भजनकोनृत्य तथा संगीतको उद्देश्य पूरा भयो भन्ने ठाने ।
यो पटक पनि सामन्ती मन्च प्रथा हटाउन सकिएन :
हाम्रा कार्यक्रमहरु अलिकता विषयवस्तुतिर भन्दा व्यक्ति पूजा संस्कृतिमा अल्झेका छन् । आजभोलि अवैतनिक र स्वयंसेवी साथीहरुमा पनि तल माथि बनाउने कामको निन्दा हुन थालेको छ । यस कार्यक्रममा पनि पोर्टफोलियोका विशेषणमूलक पदावलिहरु सम्बोधन गर्दै घण्टा ज्यादा लगाएर व्यक्तिपूजाको औपचारिकता पूरा गरियो । यो चाकडी, स्वस्ती— बिन्दी र जी हजुरीको प्रचलन हो । यसै सभामा भनेपूर्व साँसद शंकरप्रसाद पाण्डेले माला खादा र उच्चासनको निन्दा गर्दै समानताको बोध हुने गरी मन्च व्यवस्थापनको आयोजना गर्नसुझाव दिदै मन्चबाट परिसरमा झरे । यसमा पनि अग्ला अग्ला सग्ला सग्लाहरु खादाका साथ सिधै माथि बसे भने लिलिपुटेहरु खादान सादाका साथ अपमानबोध गर्दै तल बसे ।
नयाँ पुस्ताहरुमा समानताको संस्कृतिको खोज भइरहँदा हाम्रो नेतृत्वतल र माथिको भावना कन्चटमा बोकेर समाजवादी संस्कृतिको भाषण फलाक्दै छ । राजनीतिक दलका नेताहरुले अहं तुष्टिका लागि विकसित तुल्याएको यो सामन्ती मञ्च प्रथा अन्त्य भएको छैन । राजनीतिक दलका नेताहरु राजा फालेर राजाकै शैली अपनाउँदै अहंकार प्रदर्शन गरिरहेका छन् । एउटै जनप्रतिनिधि आफ्नै गाउँपालिकामा दैनिक चार पाँच ठाउँम प्रमुख अतिथि भएर टिका,खादा, मला लाउँदै हिंड्छ । यसको असर निर्वाचनमा देखिदैछ । निमन्त्रणा गरेर आएका साथीहरु बीच माथि र तल राखेर हैसियत देखाई दिने कामले मन कुँडिएको हुन्छ । अझ आयोजक नै लाजै नमानी आफै मञ्चमा आसिन हुन्छन् । तर लोकवार्ता परिषदले भने यसलाई असल संस्कारको थालनीको सुझावको रुपमा ग्रहण गर्ने भन्दै शंकरप्रसाद पाण्डेलाई धन्यवाद दिएका छन् ।
कार्यपत्र प्रस्तुत
यो कार्यक्रममा ११ गते करिव १७ वटा कार्यपत्रहरु प्रस्तुत भए ।अन्य कार्यपत्रहरु पाल्पा, गुल्मी र अर्घाखाँचीमा प्रस्तुत गरिएका थिए । अर्घाखाँचीमा कार्य पत्र प्रस्तुत गर्नेहरुमा डा. शशि थापाको भक्तपुरको सबैभन्दा ठूलो बजा विस्केट यात्रा, डा. लक्ष्मी कोकिला पोखरेलको अर्घाखाँचीमा गाइने भैलो गीतको अध्ययन,डा. रामप्रसाद घिमिरेको गुल्मी र अर्घाखाँचीको लोकगीतको प्रकृति, डिआर घिमिरेको गो संस्कृति र गाईको अर्थतन्त्र,डा. अन्जु केसीको सुपा देउराली,युगल बस्यालको हाम्रा जडीबुटी र तिनको प्रयोग, संस्कृतिविद राजेन्द्रकुमार आचार्यको पाणिनि तपोभूमि पणेना, उत्तरकुमार पराजुलीको विनोदी शिक्षा, चन्द्रकान्त आचार्यको, अर्घाखाँचीको भैरव नाँच माधवराज चुँदालीको अर्घाखाँची जिल्लाका केही घरेलु सामाग्रीहरु,दिलविक्रम आङदम्बेको डोल्पाली मगरले अपनाएका मामाचेली, फुपू चेला विवाह प्रथा,गायत्री पराजुलीको मुस्ताङ जिल्लाका नाँचहरु, डा मुकुन्द शर्माको थारु, मगर र कुमाल जातिमा प्रचलित सोरठी नाँचमा प्रयुक्त पात्रहरुको भूमिकागत तुलना, विष्णु शर्मा राईको बभकतजभतष्अक या तजझगलमजगm बक ब ष्तिभचबचथ धयचप आदि कार्यपत्र रहेका थिए । कार्यपत्र प्रस्तोता डिआर घिमिरे, डा. लक्ष्मी कोकिला पोखरेल, युगल भुसालले प्रस्तुत गर्न आउन सक्नु भएन ।
कार्यक्रममाकेही क्षण प्रश्नोत्तर चल्यो । आफूलाई लागेका संशयहरुको निरुपण गर्ने काम भयो । यो कार्यक्रम बेलुकी पाँच बजे मात्र सम्पन्न भयो । हामीहरु पूर्व निर्धारित आआफ्ना होटलतिर लाग्यौं ।
मालारानीतिर प्रस्थान :
अर्को बिहानै ठीक ६ बजे उठेर हामीहरु सिधै मालारानी स्थित नरसिंह स्थानमा पुग्यौं । विष्णु पुराण अनुसार विष्णु भगवानले चौथो अवतारको रुपमा नरसिंह अवतार लिई दैत्यराजा हिरण्यकश्यपको बध गरेका थिए र भक्त प्रल्हादको रक्षा गरेका थिए । यो मन्दिरको व्यस्थापन अति राम्रो छ । प्राकृतिकपनलाई जोगाउँदै मन्दिरको व्यवस्थापन बडो सुन्दर रुपमा गाँसिएको छ । नरसिंहले दैत्यराजलाई बध गरेको त्रासद स्वरुप देखाएर समाजलाई खराब हुनबाट जोगाउनु यस मन्दिरको उद्देश्य हो । परापूर्वकालमा यसो गर्नु ठिकै हो । अहिले भने कर्तव्य र कानुनको त्रासमा हिंड्ने समाज भएको छ । पौराणिक कथासँग यो क्षेत्रको भूभौगोलिक अवस्था मेल खाएको हुँदा यसलाई नृसिंह अवतारको मन्दिरको रुपमा हेर्ने गरिन्छ । यो मन्दिरको विश्वास दिनप्रतिदिन बढिरहेको छ । दैनिक सयौं पर्यटकहरु यहँँ आउन थालेका छन् । यसको शिलान्यासपूर्वप्रमुख बालकृष्ण आचार्यबाट भएको हो । यो मन्दिर निर्माणमा वर्तमान मेयर दलबहादुर भट्टराईको विशेष योगदान रहेको छ ।
मलारानी मन्दिरको दर्शन
त्यसपछि हामी देख्दा आङ्ग जिरिङ्ग लाग्ने पहाडी बाटोबाट साहसका साथ मालारानी मन्दिरमा पुग्यौं । कहीकाँही मोडहरु नपुगेर गाडी लैजान सकिएन । तर आश्चर्य गाउँगाउँमा सिंह दरबार भनेझै उत्तिखेर नै डोजर लगाएर मोड काटियो । हामी हाँस्दै र खुसी हुँदै हिड्यौं । गाउँपालिकाका प्रमुख दलबहादुर भट्टराई तथा दिपा पोखरेल तथा मालारानीको मन्दिरतिर लाग्यौं । मालारानी गाउँपालिकाको नाम यही मन्दिरको नामबाट रहेको हो । यसको सामाजिक तथा साँस्कृतिक किंवदन्तीहरु छन् । मालारानी मन्दिर पनि उक्तिकै भव्य छ । उहिले राजारानीका छोराछोरी भान्जाभान्जीलाई समेतलाई गाउँलेहरुले रानीसाप भन्थे । अर्घाका राजाकी भान्जीले विवाह गर्न नमानेपछि मामासँग विवाद चुलिदादरबार छोडेर त्यहाँ बसेकोहो भन्ने किंवदन्ती छ । तर कुन राजा हुन् भन्ने थाहा छैन । मल्ल वंशका राजा भएको हुनाले मल्ल रानी भन्दाभन्दै मालारानी भएको हुन सक्छ । उता प्यूठानमा पनि मल्लरानी गाउँपालिका छ । उत्तरतिर माछापुछ्र्रे तथा धवालागिरी हिमशृङखला दखिने यो मन्दिरको महत्व पनि दिनानुदिन बढिरहेको छ । यहाँ दैनिक सयौं पर्यटकहरु आउँछन् ।
वस्तवमा किंवदन्ती भनेको के भनिन्छ भनेको हो । समाजमा श्रुति स्मृतिको माध्यमबाट भनिदै आएका भनाइहरुबाट पनि थुप्रो भौतिक संरचनाहरु बनेका हुन्छन् । किंवदन्तीहरु सुनेरवास्तुकलामा निपुण व्यक्तिहरुबाट भौतिक संरचना बनाइएको हुन्छ । किंवदन्तीसँग कलाकार जोडेर साँस्कृतिक वैभव बन्दै जान्छ । साहित्य र किंवदन्तीले कलाको विकास गर्छ । कलाको विकासले संस्कृति बन्दै जान्छ । किंवदन्तीहरुमा केही सत्यता लुकेको हुन्छ ।
त्यसपछि हामी मध्य पहाडी लोकमार्गको बाटो मालारानी गाउँपालिकाको भव्य भवनमा पुग्यौं । दलबहादुर भट्टराई, दिपा पाखरेल, दण्डपानी पोखरेलहरुसँग चिया खायौं । अनि बाई बाई मालारानी भन्दै सन्धिखर्कतिर लाग्यौं । खन दहमा केही क्षण बिसाएर हामी भागाबर्जु स्मृति प्रतिष्ठान, खन गुफा हेर्दै आतेको साँघु, अर्घा राजाको विहार, डिभर्ना कुर, डिहीडाँडाको अर्थ बुझ्दै र हेर्दै अगाडि हिंडयौं । हाम्रो यात्राको नेतृत्व गरिरहेका प्रा.डा. प्रेमकुमार खत्री, प्राडा डिल्लीरमण सुवेदी, प्राडा माधव पोखरेल र प्राडा ध्रवराज भट्टराईले समयाभावका कारण पाणिनि तपोभूमि तथा दुर्भाशेस्वर गुफाको यात्रा गर्न असम्भव भएको सुनाउँदै पुनः अर्कोपटक यात्रा गर्ने गरी छोट्याउनु भयो ।अब हामी सधै दक्षिणतिर हानियौं ।
वास्तवमा भूगोलसँग संस्कृतिको राम्रो सम्बन्ध हुन्छ । संस्कृतिविद राजेन्द्रकुमार आचार्यले त्यहाँका किंवदन्तीहरु, ऐतिहासिक साँस्कृतिक स्थलहरुको बारेमा बताउँदै जानु भयो । हामी सुन्दै हिड्यौं । सहभागी डिल विक्रम आङम्बेले निकै अभिरुचिका साथ तुलनात्मक अध्ययन गर्दै सोध्दै हिंड्नु भएको थियो । प्राडा मुकुन्दराज शर्मा अर्घाखाँचीको साँस्कृतिक वैभव देखेर आश्चर्य मान्दै यसको अभिलेखीकरणमा छिट्टै लाग्नु पर्छ भन्दै भन्नुहुन्थ्यो । डा. मनोहरलाल लामिछाने गम्भीर मूढमा देखिनु हुन्थ्यो । प्राडा कपिल लामिछाने गाउँखाने कथा हाल्दै हाँसो गर्दै हसाँउदै हिंड्नुहुन्थ्यो । डा. रामप्रसाद घिमिरेका आँखाका रिलहरु घुमाउँदै विभिन्न ठाउँको विषयमा प्रश्न, शंशयका साथ प्रस्तुत भइरहनु हुन्थ्यो । डा. वीरबहादुर महतो मधेस हिमाल पहाडको साँस्कृतिक तन्तु जोड्दै राष्ट्रिय एकतामा ध्यान दिने कुरा राख्नु हुन्थ्यो । जितबहादुर रायमाझी सुस्त सुस्त हिड्दै अध्ययन गर्दै हुनुहुन्थ्यो । प्रवीणकुमार राईका चलाक आँखा र अनुसन्धानमूलक दिमाग समस्यामा घोरिइरहन्थे । डा.नर्मदेश्वरी सत्याल डा. शशि थापा, डा गायत्री पराजुलीको अनुसन्धानमूलक माथापच्चीले हामीलाई लाभान्वित तुल्यायो । माधवप्रसाद गौतम, धनेश्वर नेपालका गह्रौ धारणाहरु सुन्दै हिंड्यौं ।
होटल नरपानीमा केही क्षण विश्राम
हाम्रो यात्रा दल नरपानी होटलमा पुग्यो । हामी नरपानीको होटलको प्रकृतिको दिव्य छटा देखेर आश्चर्य मान्यौ । त्यहाँ फर्सबहादुर जिसीसँग भेट भयो । अर्घाखाँची जिल्लाका जल्दाबल्दा युवा सरोज भुसालपनि त्यही आई पुग्नुु भएको थियो । हाम्रो नयाँ पुस्ता राजनीतिक लडाई भ्याएर आर्थिक विकास संस्कृतिक संरक्षणतिर लागि रहेको छ । पुराना किंवदन्तीहरुको संकलन, उत्थानको भौतिक संरचना निर्माण गरी पर्यटकहरुको स्वागतको लागि लालयित देखिन्छन् । यो खुसीको कुरा हो । लोकवार्ता परिषद नेपालले यो विषयमा निकै महत्वपूर्ण काम गरेको छ ।
हिंड्दा संस्कृतिविद राजेन्द्रकुमार आचार्यले धेरै कुरा बताउनु भयो । उहाँको स्मरण क्षमतालाई धन्य मान्नु पर्छ । नारपानीबाट नरपानी भएको कुरा बताउनु भयो । नार भनेको शुद्ध हो । शुद्ध पानी भएको ठाउँ नरपानी हो । त्यहाँबाट खाँची दरबार पनि औल्याउँदै अर्घा र खाँचीको राजाको सन्धिस्थल सन्धिखर्क भएको कुरा बताउनु भयो । मैले सन्धिखर्कमा दुबै राजाहरुले सन्धिको काजगमा हस्ताक्षर गरिरहेको संरचना बनाएर यो तथ्यको संरक्षण गरी नयाँ नयाँ पुस्तामा इतिहासलाई जिवित राख्न सकिन्छ भन्दै प्रस्ताव गरें । त्यसको लागि सन्धिखर्क नगरपालिकाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ तथा उपमेयर मिश्रा आचार्यसँग छलफल चलाउनु पर्छजस्तो लाग्यो । हामीले खाना खायांै । होटल निकै सफा थियो । लगानी अनुसार खाना सस्तो पनि थियो ।
सुपा देउरालीको दर्शन :
त्यसपछि हामी सुपा देउरालीतिर प्रस्थान ग¥यौं । सुपा देउराली समुद्र सतहबाट ४५ सय फिट उचाइमा पर्छ । यो मन्दिर मनकमना पूरा गरिदिने देवीको रुपमा चिनिन्छ । नरपानी र फलामे पहाडको बीचको भन्ज्याङमा पर्ने यो मन्दिरको चित्ताकर्षक प्राकृतिक छटाले धर्मात्माहरुको मनलाई लोभ्याउँछ । यहाँ नेपालबाट मात्र हैन भारतबाटसम्म धर्मात्माहरु आउँछन् । तराईतिरको हावा सुपादेउराली हुँदै नरपानीको गल्छेडोबाट बगिरहने हुँदा यहाँ सदावहार शीतल हुन्छ । अनि यहाँ अर्को किंवदन्ती पछि छ । सुपाको पहरामा एउटा लाहुरेको तस्बीर देखिन्छ । उक्त लाहुरेले भारतीय सेनामा भर्ना हुन वरदान मागेको र पूरा भए बलि चढाउँछु भनी भाकल गरेको तर मनोकाङ्क्षा पूरा हुँदा उसले पाठो नचढाई हिंडेकोमा देवी रिसाई उक्त व्यक्तिलाई पहरामा टाँसिदिएको किंवदन्ती छ । त्यो हेर्न पनि भीड लाग्छ । त्यहाँबाट हामी कर्नेलको पाटा, बुढीचौर हुँदै डमरु दहतिर लाग्यौं । डमरु दह हनुमानले टेक्दा बनेको दह भनिएको कुरा डा. देवी पन्थीले बताउनु भयो ।
कपिलधाममा आधाघण्टा विश्राम :
हाम्रो आत्रा अविरल चल्यो । हामी पत्थरकोट गोरुसिंगै हुँदै अगाडि बढ्ने समयमा मैले प्राडा ध्रुव भट्टराईसँग कपिलधाम पस्न अनुरोध गरें । समयाभावको कारण पन्ध्र मिनटको समयमा हेरिसक्ने गरी योजना बन्यो । कपिलधाम निकै अकार्षक धाम हो । यो हेर्ने लायकको धाम छ । त्यहाँ लुम्बिनी वाङमय प्रतिष्ठानको मुख्यालय पनि छ । त्यहाँ अध्यक्ष शंकर आचार्य, सचिव दुर्गा पौडेलसँग भेट भयो । हामीले त्यहाँ राम्रोसँग हे¥यौं । विशेषतः राष्ट्रिय महत्वका लब्ध प्रतिष्ठित साहित्य, कला, संस्कृति र संगीत क्षेत्रका १०८ जना स्वर्गीय विभूतिहरुको प्रतिमूर्ति राख्ने योजना छ । त्यसको नाम साहित्य तीर्थ हो । अहिले बाइसौं बनिरहेको छ । त्यहाँ आउने सबै संस्कृतिविदले त्यस परियोजनाको हार्दिक प्रंशंसा गर्नु भयो ।
भ्रमण अब समापनतिर लाग्यो :
हामी त्यहाँबाट हिंड्यौं । मेरो घर बुटवल १३ हो । बस आफ्नै रफ्तारमा हुँइकीरह्यो । उपमहानगरको सीमाभित्र पसेपछि विछोडको कारण मेरो मन अलि अमिलो हुन थाल्यो । हाम्रो विद्वान विदुषीको टिमसँग छुट्टिने बेला भयो । दुई दिनको जिन्दगी हो भन्छन् । मैले दुई दिननै उहाँहरुसँग सत्सङ्ख गर्न पाएकोमा म औधी भाग्यमानी सम्झेको छु । संस्कृतिविदहरुका धारणहरु स्थिर हुँदैनन् नत जड । उनीहरु समालोचकीय हुन्छन् । उनीहरुका दिमागहरुले कारण कार्य शृङखलाका आधारका कसरी? किन ?के कारण ?आदि सोधिरहन्छन् । उनीहरुले ईश्वरमाथि पनि प्रश्न गर्छन् । शोधखोजको प्रकृति नै यस्तै हुन्छ । वास्तवमा यो अध्ययन भ्रमणले हाम्रो ध्यान तान्यौं । हामी संस्कृतिविदहरुप्रति कृतज्ञ बन्यौं । यो भ्रमणको अवसर पाएर धन्य बन्यौं ।
बस ठीक पाँच बजे जितगढी आयो । म लुम्बिनी प्रवेशद्वार नजिकै भारी मन लगाएर बाइबाई गर्दै निस्कें । बस सरर बग्दै पूर्वतिर लाग्यो । एकछिन् उभिएर हेरिरहें । मेरो बिम्बमा यस अभियानका नायक प्रेमकु्मार खत्रीको विशाल तस्बीर मेरो अगाडि ठडिएको अनुभूति भयो । अनि प्रवेशद्वारबाट भित्र पस्दै गर्दा नातिनी एकता आचार्यको फोन आयो । वात्सल्यले द्रवीभूत भएं । तर पनि सुमित्राको होटलमा ताराप्रसाद नेपाल रामनाथ गौतम, तोयनाय पौडेलसँग केही क्षण गफिदै घरतिर लागें ।