विशाल ब्रह्माण्डमा साना ठूला गरी असंख्य नक्षत्रहरु छन् । राती भीमकाय आकातिर फर्केर हेर्दा केही चम्किला त केही टिलपिल प्रकाशमा देखिन्छन् । ताराहरु अन्तरनिहीत प्रकाश सामथ्र्यले देपीप्य देखिन्छन् । कुनै ताराको आयतन ठूलो हुन्छ भने कुनैको सानो हुन्छ । आयतन ठूलो भए पनि अन्तरनिहीत क्षमता भएनभने देदीप्य देखिदैनन् ।
कवि कलाकारहरुको अन्तरनिहीत सामथ्र्यले तिनीहरुका आयतन निर्धारण गर्छ । सबै देवकोटा, बालकृष्ण र लेखनाथ नबन्न सक्छन् । कसैको आयतन स्थानीय, कसैको क्षेत्रीय, कसैको राष्ट्रिय, कसैको अन्तरराष्ट्रिय पनि बनेको हुन्छ । आयतनले व्यक्तित्व प्रदर्शन गर्छ । यो पनि ताराहरुको आयतनिक दृश्य जस्तै हो ।
रुपन्देहीमा सिर्जनारत एकजना नयाँ साहित्यिक तपस्वी यज्ञलाल सुवेदीले एकाएक साहित्यिक आकासमा आफ्नो आयतन बढाउँदै पहिचान बनाउँदै छन् । साहित्यिक आकासमा उनी पनि आन्तरिक सामथ्र्यले झल्कन थालेका छन् । यो वर्ष उनका ‘नवरत्न’ संयुक्त चारु संग्रह २०७९ ‘नन्दन’ संयुक्त कोपिला संग्रह २०७९, ‘गमुको’ गजल मुक्तक र कोपिला संग्रह २०७९ ‘अनमोल’ रत्न संयुक्त मुक्तक संग्रह २०७९ प्रकाशित गरे । फेरि पनि यही वर्षभित्र नै ‘पर्दाभित्र’ कविता संग्रह २०७९ प्रकाशित हुन थालेको छ । लामो समयसम्म फुटकर कविताहरुमा विभिन्न साहित्यिक कार्यक्रमहरुमा देखिने सुवेदी २०७९ साल आउँदा नआउँदै यसरी एकाएक कृतिमा देखिनु साहित्यिक विकासका दृष्टिले सुखद मान्न सकिन्छ । हामी नव आगन्तुक साहित्यकार सुवेदीलाई प्रवेशद्वारमै फूलमाला लिएर स्वागत गरिरहेका छौं ।
लामो समय अर्थात ३८ वर्ष शिक्षण सेवामा रहेका उनको स्वभाव सरल र तरल छ । उनी समतलीय स्वभावका छन् । उनका चमक दमक आडम्बर केही छैन । माथि र तलको भावना छैन । साथीहरुलाई सुस्त तर चिरस्थायी प्रभाव पार्ने व्यक्ति हुन् । हामी समवयी साथी हौं । हामी र उनमा गहन संगति छ । उनका अरु थप आधा दर्जन कृतिहरु तयारी अवस्थामा छन् । ती कृतिहरु २०८० सालभरमा प्रकाशित हुनेछन् ।
अनुकूलता र प्रतिकूलता जीवन शृङखलामा आउने दुई पाटा हुन् । प्रतिकूलता छदैँछ । त्यसलाई कोशिस गरेर ल्याउनु पर्दैन । त्यसले हामीलाई दुःखमा दौडाउँछ । निराशा र पलायनको बाटोमा हिंडाउँछ । दुःखी र विपन्न बनाउँछ । प्रतिकूलता विसंगत पक्ष हो । त्यसले संगति दिदैन ।
अनुकूलतामा संघर्ष गर्नुपर्छ । प्रतिकूलता गरिबी हो । समृद्धिको लागि अनुकूलता चाहिन्छ । अचेतना प्रतिकूलता हो । संचेतनाको लागि अनुकूलता चाहिन्छ । निरानन्द प्रतिकूलता हो, त्यसलाई हटाएर आनन्द ल्याउन अनुकूलता चाहिन्छ । रोग प्रतिकूलता हो, त्यसलाई हटाएर आरोग्य बन्न बनाउन अनुकूलता चाहिन्छ । तनाव प्रतिकूलता हो । त्यसलाई हटाएर प्रशन्न बन्न बनाउन अनुकूलता चाहिन्छ । त्यसैले अनुकूलताको लागि मानसिक तथा शारीरिक संघर्ष चाहिन्छ । यस मानेमा अल्छीहरु प्रतिकूलताको गर्तमा जान्छन् । उनीहरु पछि पर्छन्, प्रतिकूलता ब्यहोर्छन् । संघर्षशीलहरु अघि जान्छन् र जीवनलाई अनुकूल बनाउँछन् । अनुकूलताको लागि कोशिस मिहिनेत चाहिन्छ । अनुकूलताले मात्र मानिस चम्कन्छ । अगाडि बढ्छ र देदीप्य बन्दछ । व्यक्ति पनि तारा मण्डलको सदस्य जस्तै हो । यस मानेमा यज्ञलाल सुवेदी एकाएक अगाडि आउनुमा लामो समयसम्मको साधनाको प्रभाव हो । साधनाबाट एक एक मात्रा थप्दै निपुण बन्दै गुणात्मक छलाङ मारेर यसरी पहिचान बनाउनुमा अनुकूलता ल्याउन सक्नु हो । यसर्थ कविको सामथ्र्यलाई हार्दिक शुभकामना ।
कविले पर्दाभित्रको कथा संग्रहमा अठ्तीसवटा काव्य पुञ्जहरु संग्रह गरेका छन् । संग्रहित काव्य पुञ्जका रहेका कविताहरु विविध छन्दमा रचिएका छन् । छन्दमा रचना गर्न सक्नु कष्टसाध्य काम हो । पछिल्लोपटक नेपालमा खासगरी ५० को दशकदेखि फेरि शास्त्रीय छन्दमा नयाँ प्रवाह आउन थालेको छ । सुवेदी यो प्रवाहको दोभानमा मिसिएका छन् ।
शास्त्रीय छन्द काव्यको महत्वपूर्ण आधार हो । छन्दको प्रयोगले काव्यमा मिठास आउँछ, प्रभावकारी र स्तरीय बनाउँछ । लयात्मक बनाउँछ । छन्दलाई वृत्त पनि भनिन्छ । अङग्रेजीमा यसलाई mभतभच भनिन्छ । नेपाली बृहद शब्दकोषमा यसलाई गति, यति, लय, वर्ण, मात्रा आदि गणना अनुसार मिलेको विशिष्ट पद्यात्मक वाक्य भनिएको छ । छन्दले कवितालाई श्रुतिमधूर र साँगीतिक बनाई भावकलाई आल्हादित बनाउँछ । यो कविता लेखनको विशिष्ट र प्राचीन शैली हो । यो छद धातुबाट बनेको हो । यसको अर्थ गति यति मिलेको भन्ने हुन्छ । छन्दको उल्लेख ऋग्वेदमा गरिएको छ । गद्यलाई व्याकरणले बाँध्छ भने पद्यलाई छन्दले बाँध्छ । कसै कसैले शास्त्रीय छन्दबाट आधुनिक युगको जटिलतालाई प्रस्तुत गर्न कठिनाई हुन्छ भने पनि नेपालमा शास्त्रीय छन्दमा रचना गर्ने प्रा.डा. देवी नेपाल, प्रा.डा.रामप्रसाद ज्ञवाली, माधव वियोगी, गोविन्दराज विनोदीहरुले यसलाई सहज बनाएका छन् । उनीहरुले शास्त्रीय छन्दको माध्यमबाट आधुनिक जटिलतम प्रगतिशील भावहरु प्रकाशन गरेर छन्द शास्त्रलाई परिवर्तनको वाहक बनाउन सफल भएका छन् । उनीहरुको प्रयाशले बीससालदेखि थला परेको पद्य साहित्य अहिले हर्लकक बढेर मूलधारमा आएको छ ।
अहिले छन्दमा विशिष्ट योगदान दिने व्यक्तित्वहरुमा त्यसै शृङ्खलामा थुप्रै नयाँ स्रष्टाहरुमध्ये यज्ञलाल सुवेदी जोडिन आइपुगेका छन् । उनको यो कृतिमा ३८ वटा काव्य पुञ्जहरु छन् । ती सबै काव्य पुञ्जहरुमा आधुनिक प्रगतिशील चेतना प्रस्तु्ुत भएको छ । यज्ञलाल सुवेदीका कविताहरुमा एकोहोरो विरोधको प्रलाप भन्दा पनि द्वन्द्वात्मकपन प्रस्तुत भएको छ । उनका कवितामा कारण—कार्य शृङखला देखिन्छ । के कारणले के भयो ? भनेर कारण बुझ्ने र कलात्मक रुपमा प्रस्तुत गर्ने दृष्टिकोण तुलनात्मक रुपमा ज्यादा छ । गुमनाम, विभेद, अपमान, शोषण, पराधीन, परतन्त्रका कारणहरुबाट समाजमा असंगति पैदा भएको छ । समानता स्वतन्त्रता, सहअस्तित्व र बन्धुत्वको रसायनले समाजलाई संस्कार गर्न बाँकी छ । समाजमा द्वन्द्वका कारण यिनै हुन् भन्ने कुरामा उनी प्रष्ट छन् ।
हरेक नागरिकहरु अपमानित हैन, सम्मानित हुनु पर्छ । गुमनाम हैन पहिचानित हुनु पर्छ । पराधीन हैन, स्वाधीन हुनु पर्छ । परतन्त्र हैन स्वतन्त्र हुनु पर्छ । शोषित हैन, पोषित हुनु पर्छ । यही नै अहिलेको साहित्यको सैद्धान्तिक मियो हो । यज्ञलाल सुवेदी यही चिन्तन लिकमा टेकेर गतिशील रुपमा दौडिएका यात्री हुन्् । उनमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको निष्ठा र समर्पण छ । उनले प्रणालीलाई दोष हैन, व्यक्ति चरित्रलाई दोषी देखेका छन् ।
कविमा सबैभन्दा ज्यादा देशभक्ति भाव पाइन्छ । उनको पहिलो कविता बिर्सेर बिर्सिन्छ र ? भन्ने कविता प्रस्तुत भएको छ । यो देशभक्ति कविता हो । उनलाई देश प्यारो छ । कवि शुरु मै लेख्छन् —
मेरा यी नसमा बहन्छ सहजै नेपालको रक्त नै
मैले फेर्दछु श्वास यो हरघडी नेपालको श्वास नै
टेक्ने भूमि यही भए अनि कतै खोजेर भेटिन्छ र ?
यो नेपाल सधै रहन्छ मनमा बिर्सेर बिर्सिन्छ र ?
उनको दोस्रो कविता जिम्मेवारी हो । हरेक व्यक्तिहरु जवाफदेही र जिम्मेवार हुनु पर्ने सन्देश दिएका छन् । उनको यो कवितामा सकारात्मक सन्देश छ । कवि लेख्छन्—
नेपाली हौं सकल जन हो गर्व गर्छौं यसैमा
लोभी छैनांै सरल मनका चित्त थाम्छांै त्यसैमा
ज्ञानी दानी परिचय बन्यो शान्तिकामी स्वभाव
पेख्दैनौ खै दुःखपिर कुनै ढुक्क थेग्छौं अभाव ।
कवि प्रकृति प्रेमी हुन् । ऋतुको राजा वसन्त ऋतुको वर्णन गर्दै भन्छन् —
पारे अलङ्कृत सबै नव पालुवाले
तान्यो उतै प्रकृतिको रस वासनाले
निम्तो दिंदैछ मनले ऋतुराज आज
जाऔं सबै जनहरु रमणीय वाग ।
कवि छन्दको साधनामा तल्लीन छन् । उनले छन्द शास्त्रमा काव्य रचना गर्न थालिसकेका छन् । छन्द कवितालाई गरिमा गरिदिएका छन् । यो कृति छन्द शास्त्रमा आधारित छ । कवितामा कवि लेख्छन् —
बग्दो त्यो झरना कि होस् हिमनदी बाढी बगोस् बेगले
हावा यो बहँदो छ मन्द गतिले चाहे बहोस् जोडले
नाँच्छन् पातहरु हरेक रुखमा आफ्नै कला बन्दछ
सक्छौं बुझ्न भने स्वयं गहनले मीठो त्यहीँ छन्द छ ।
उनी गणतन्त्रवादी हुन् । वीर योद्धाहरुप्रतिको समर्पणलाई कवितामा कविले यसरी पोख्छन् —
असंख्य मारिए यहाँ अलेख रक्त पोखियो
र मात्र नयाँ चित्र पवित्र चित्र कोरियो
सगर्व त्यागका कथा व्यथा सुनाउँदै छु म
परे अवश्य ढुक्क भई तयार युद्ध लड्न म ।
प्रकृति र मान्छे कवितामा कवि लेख्छन्—
सरलता जटिलता खुसी व्यथा
तब बुझिन्छ सुख दुखका कथा
बगरमा लडिरहेछ पत्थर
थकित छैन कति खान्छ ठक्कर ।
राजनीतिमा सत्यता छैन । अहिले पनि शीर्ष नेतृत्व ट्रिक र ट्याक्टिसका आधारमा चलेको छ । मूल्य मान्यता स्थापित हुन सकेको छैन । राजनीतिमा खेलिरहने यस्तो चेसगेमले हामीलाई कहाँ पु¥याउला ? चाकडी र चप्लुसी जीहजुरीको गन्धेझारले राजनीति कहिलेसम्म चल्ला भन्दै सत्यको राजनीति शीर्षकमा कविले सुधारको लागि आशावाद जगाउँदै लेख्छन् —
चाकरी र चाप्लुसी दुष्टकर्म फाल्नु छ
जाग जाग भक्त हो देशको निम्ति जाग्नु छ
भित्रभित्र स्रोत छन् झिक्न सक्नु पर्दछ
स्वर्ग हुन्छ भूमि यो टिक्न सक्नु पर्दछ ।
बहस गर कवितामा राजनीतिज्ञहरुलाई वाद, प्रतिवाद र संवादको ढोका खोलेर उदात्तपूर्वक सबै दलहरुका कुरा सुनेर सहकार्यको राजनीतको लागि संवाद थाल भनेका छन् । कवि सल्लाह दिन्छन््
बहस गर अलमल नपर
शुभ छ पल झलमल नगर
सहमति नजिक अब त पुग
शुरु हुनछ सघन नव युग ।
उनका कविताहरुमा आशावाद छ । आशावाद प्रगतिशील कविहरुको विशेषता हो । निराशा, पलायन रोकेर आशा देखाउँदै निर्दिष्ट दिशामा हिंडाउने प्रगतिशील कवि हुन् । कवितामा सौन्दर्यको जलप लगाउन रस, छन्द, अलंकार, अनुप्रास, बिम्ब, प्रतीकहरु चाहिन्छन् । यी साधनले कवितालाई दुलही जस्तै सिंगार्छन् । स्रष्टाका धेरै कविताहरु सुन्दर बान्कीका छन् । गेयात्मक छन् । अनुप्रासमय छन् । कलात्मक छन् । तत्सम शब्दयुक्त भएकाले शब्दालङकार बढी पाइन्छ । जो जो आयो त्यही—त्यही टिप्दै जाँदा जति सुन्दर भयो भयो । यो कविको विशेषता हो । कविका कविताहरु छन्दको नियममा बाँधिए पनि वैचारिक दृष्टिले स्वच्छन्द गतिमा बहेका छन् । शास्त्रीय छन्दको कठघरामा सुन्दर बान्कीका कविताहरु लेख्न सकिदैन भन्ने कुरा यहाँ पाइँदैन । कवि कतै रोकिएका छैनन् । अड पनि छैन । जड पनि छैन ।
स्रष्टा यज्ञलाल सुवेदीले यसको प्रकाशकीय भूमिका लुम्बिनी वाङ्मय प्रतिष्ठान लुम्बिनी प्रदेशलाई सुम्पिए । अर्थाभावका कारण हाम्रो प्रकाशनगृह छैन । सिर्जनशील प्रकाशनले अलि व्यवसायिक मात्र भयो । त्यसले कीर्ति प्रशासनको जोखिम मोल्न सकेन । अब भविश्यमा लुम्बिनी प्रदेशका स्रष्टाहरुलाई सम्बोधन गरेर जोखिम मोल्न तयार हुनु पर्छ । हामी केबल प्रकाशकीयको पगरी मात्र गुथेका छौं । यसको लागि संस्थालाई माया गरेर पुस्तक प्रकाशनको लागि प्रकाशकीय रचना माग्नु भई हामीलाई भरोसा गरेकोमा हामी यज्ञलाल सुवेदीप्रति खुसी भएका छौं । यो पुस्तक गुणात्मक दृष्टिले राम्रो छ । हामी हाम्रो संस्थाको तर्फबाट कविको भविश्य उज्वल होस् भन्ने कामना गर्दछौं ।
अध्यक्ष
लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल
लुम्बिनी प्रदेश कपिलधाम कपिलवस्तु