आत्मकथाको सैद्धान्तिक स्वरुप :
स्रष्टाको आत्मकेन्द्रित आख्यानात्मक रचनालाई ‘आत्मकथा’ भनिन्छ । यो आत्म विशेषण पद र कथा नाम पद जोडिएर बनेको आत्मकथा समस्त शब्द हो । यसको अर्थ आफ्नो कथा हो । यसलाई आत्मचरित्र, आत्म कहानी, आत्मजीवनी, आदि नाम पनि दिने गरिन्छ ।
आत्मकथालाई अङ्ग्रेजीमा अटोबायोग्राफी भनिन्छ । अटोबायोग्राफी ग्रिक भाषाको अटो (आफू), बायोस् (जीवन ), र ग्राफियन (लेखन) तीनवटा शब्द मिलेर बनेको हुन्छ । यसको अर्थ आफ्नो जीवनी लेखन भन्ने हुन्छ ।
पाश्चात्य साहित्यका विद्वान रिचार्ड हेलले आत्म कथा भनेको जीवनको कथा हो । यसमा जन्मदेखि स्रष्टाको वर्तमानसम्मको आत्म कहानीलाई समावेश गरिएको हुन्छ भनेका छन् ।
त्यसरी अर्का पाश्चात्य विद्वान रोनाल्ड डाह्लले आत्मकथा मानिसको एउटा किताब हो, जुन उसले आफ्नो जीवनका बारेमा लेखेको हुन्छ भनेका छन् ।
नेपाली भाषाका विद्वान घटराज भट्टराईले आत्मकथा भनेको आफैद्वारा लेखिएको आफ्नो जीवनी वा जीवनीको एक अंश हो । आत्म कथा लेख्ने व्यक्तित्व नै आत्म कथाको नायक हुन्छ भनी चिनाएका छन् ।
नेपाली बृहत् शब्दकोशमा आत्मकथालाई आफ्नो सम्बन्धमा आफैले लेखेको वा भनिएको कथा आत्म वृत्तान्त, जीवन चरित्र वा आत्म चरित्र भनिएको छ ।
आत्मकथाका आफ्नै विशेषता हुन्छन् । यो जीवनीसँग सम्बन्धित हुन्छ । यो निबन्ध निकट विधा पनि हो । तर आख्यान पक्ष बढी हुनाले आख्यान विधा मानिन्छ । यो जीवनमा घटेका कालक्रमिक घटना विन्यास हो । यसमा इमान्दारीपूर्ण कथा विन्यास हुन्छ । यसमा नकारात्मक कुरा लुकाउने अनि व्यक्तित्वको अतिशयोक्तिपूर्ण रुपमा बढाइचढाई गरी आफूलाई रहस्यात्मक पात्र बनाउन मिल्दैन । लेखकमा यो इमान्दारिता हुनुपर्छ । आत्मकथा प्रायः गद्यात्मक हुन्छ । पद्यात्मक भए यसलाई काव्य भनिन्छ । पद्यमा शोक काव्यमा आत्मपरकता देखिन्छ । आत्मपरकतामा घटनाको रोचक तथा कलात्मक प्रस्तुति हुन्छ । हार्दिकता अनुभूति कलात्मक रुपमा आउनु पर्छ । अन्यथा यो शुष्क वर्णन हुन्छ । पाठलाई आल्हादित बनाउन सक्दैन । यस विधामा अनुभूतिको सूक्ष्म रेखाङ्कन हुन्छ । आत्मकथा व्यक्तिको पाण्डित्य प्रदर्शन गर्ने माध्यम बन्नु हुँदैन । यो सरल र सरस हुनु पर्छ । सुललित भाषाशैली, मनोरन्जनात्मक प्रस्तुति र कौतूहलपूर्ण घटना विन्यासले आत्म कथालाई बढी रोचक बनाउँछ । पढ्दै जाँदा स्वतः स्फूर्त रुपमा कुनै उत्प्रेरणा वा शिक्षा ग्रहण गर्नु आत्मकथाको सफलता हो ।
सैद्धान्तिक कसीमा जित्नेको हाँसो :
जित्नेको हाँसो आत्म कथा हो । साङ्गीतिक क्षेत्रमा उत्कृष्ट स्वरकी धनी देविका बन्दनाले क्यान्सर रोग विरुद्ध सकारात्मक सोंचका साथ लड्दै भिड्दै आफूलाई निरन्तर क्रियाशील राख्दै आत्मबललाई अलिकति पनि खस्न नदिएर रोगलाई जित्न सफल भएको उत्प्रेरक आत्मकथा हो । यस कृतिले नायिकाको सूक्ष्म अनुभूतिलाई साधारणीकरण गरी मार्मिक रुपमा पस्किएको छ । कथा पढ्दा भावकले आफैलाई देवीका बन्दनाको अनुभूति गर्छ । यही नै साधारणीकरण हो ।
यो गद्यात्मक आख्यान हो । यो आत्मपरक शैलीमा लेखिएको छ । निजात्मक हुनु नै आत्मपरकता हो । यसमा लेखनमा इमान्दारिता देखिन्छ । कहींकतै पनि अतिशयोक्ति छैन । हार्दिकता छ । कोमलता छ । अनुभूतिको सूक्ष्मता छ । लालित्य छ । पाण्डित्यको प्रदर्शन भेटिदैन र सरल र सरश भाषाशैलीमा छ । छोटा छोटा वाक्य, छोटा छोटा पाठ्याँश र कुतूहलपूर्ण लेखनले पाठकलाई अन्तिमसम्म तान्छ । यसबाट पाठकले स्वतःस्फूर्त रुपमा प्रेरणा पाउँछन् । क्यान्सर रोगीको लागि त यो मनोवैज्ञानिक उपचारको राम्रो पाठ्य सामग्री बनेको छ । यसबाट धेरै क्यान्सर रोगीले सकारात्मक शिक्षा पाउँछन् ।
यस कृतिमा माया नै मायाको संसार छ । माया सामाजिक लय विधान हो । जसरी छन्दमा शब्द शब्द जोडेर लय सिर्जना हुन्छ, त्यसरी नै समाजमा मायाले अलग अलग व्यक्तिलाई जोडेर सामाजिक लय निर्माण हुन्छ । त्यसैले प्रेमलाई हामी सामाजिक लय विधान भन्छौं । बन्दनाको आत्माबाट निसृत प्रेमका लहरहरुले सबैलाई भिजाएको छ । उनका अगाडि सबै आनन्द र प्रफुल्लित अवस्थामा आउँछन् । प्रेमिल संसार निर्माणमा यो पुस्तक सफल छ ।
एउटा आश्चर्य के छ भने यो देविका वन्दनाको समाख्याता चिरन बराल हुन् । तर यो कृतिमा चिरन बरालको निजात्मक भावना अलिकति पनि नभेटिनु यस कृतिको विशेषता हो । उनको मनोवेगको एक आंश पनि यस आख्यानमा छैन । उनी निर्वैयक्तिक देखिन्छन् । जसरी अक्सिजन र सल्फरडाइअक्सइड प्लेटिनमसँग रायायनिक प्रतिक्रिया हुँदा सल्फ्युरिस एसिड बन्छ तर सल्फ्युरिस एसिडमा प्लेटिनमको एक अंश पनि भेटिदैन । त्यस्तै लेखक प्लेटिनम भएका छन् । देविका बन्दनाका भावनामा उनको एक अँश पनि छैन । यो विशुद्धता नै निर्वैक्तिकता हो । लेखक देविका वन्दनाको वैयिक्तिक अनुभूतिको सूक्ष र प्रभावकारी बयान निर्वैयक्तिक रुपमा टिप्न सफल छन् । लेखक चिरन बरालले तृतीय यो कृति पुरुषात्मक शैलीमा लेखेका छैनन् । उनले द्वितीय पुरुषात्मक शैलीमा लेखेका छन् । उनी सफल छन् । यो कृतिको सफलता यहींनेर देखिन्छ । सूक्ष्मता भेटिन्छ ।
कृतिको भूमिकामा कस कसले के के भनेका छन् :
यस कृतिको भूमिकामा कृतिशेष संस्कृतिविद् सत्यमोहन जोसीले यो पुस्तक क्यान्सर रोगसँग कसरी लड्न सकिन्छ भन्ने कुराको बलियो आधार पनि हो । खुराक पनि बन्छ भन्ने मैले ठानेको छु भनेका छन् ।
वरिष्ठ संगीतकार सम्भुजित बास्कोटाले देविका वन्दनाले प्रभावशाली मनोबलका साथ हाँस्दै रमाउँदै संयम ह्ँदै अरु कसैलाई मानसिक पीडा नदिएर एक्लै लड्दै रोगलाई जित्न सफल उनीप्रति अत्यन्त श्रद्धा भावना जागेर आएको छ भनेका छन् ।
वरिष्ठ संगीतकार बसुन्धरा भुषालले क्यान्सलाई जितेर रोगमुक्त भएकी उनको अनुभव र भोगाइृको वृत्तान्त यो किताब अरु विरामीका लागि प्रेरणा र रोगसँग लड्ने क्षमता बढाउन महत्वपूर्ण खुराक बन्ने छ भन्ने मलाई लागेको छ ।
वरिष्ठ गायक उदित नारायण झाँले रोगसँग लड्दै आफूलाई हरपल क्रियाशील राख्दै गीत संगीतमा डटेर लागिरहनु भएको उहाँको त्यो हिम्मत साहस र आत्मबललाई मनैदेखि सलाम गर्न चाहन्छु भनेका छन् ।
माइती नेपालको संस्थापक अध्यक्ष अनुराधा कोइरालाले देविका तिमीले त्यो सम्भव बनाएर देखाइदियौं । क्यान्सर भएको थाहा पाउँदा दुःख त लाग्यो नै, तर त्यो भन्दा बढी तिमीले यस रोगलाई जित्न जुन प्रयत्न ग¥यौ त्यो तिम्रो आत्मबललाई मनैदेखि सलाम ।
कृतिको भाव पक्ष :
कृतिको मूल पक्ष भावना हो । जुन शरुदेखि अन्तिम १६० पृष्ठसम्म फैलिएको छ । जसमा ९० वटा निबन्धहरु राखिएका छन् । यी सबै अलग अलग निबन्धहरुले अलग अलग रुपमा सन्देश दिएका छन् । ती सबै व्यष्टि सन्देशहरु एकै समष्टिको मूलधारमा समाहित भएका छन् । त्यो हो, क्यान्सरजस्तो प्राणघातक रोगबाट उन्मुक्तिको सबालमा देविका वन्दनाको सकारात्मक र आशापूर्ण मनोवेग र उत्साहपूर्ण औ सङघर्षशील जीवनशैली ।
देविका वन्दना कहिलै निराश भइनन् । निराशाको कालो बादल मनमा उत्पन्न हुन र मडारिन दिइनन् । क्यान्सरजस्तो डरलाग्दो रोगलाई दबाएर कसैलाई थाहा नदिएर अन्ततः मुक्ति पाइन् । त्यो समयमा उनले समयको भरपूर उपयोग गरिन् । बुटवल काठमाण्डौ आउने जाने क्रम चलिरहयो । आफन्तहरुसँगको भेट चलिरह्यो । त्यस बिचमा बाँकी सिक्न पर्ने नयाँ नयाँ सीप कौशलहरु सिकिन् । युटूपको माध्यमबाट नयाँ नयाँ परिकारहरु बनाउन् सिकिन् । वाद्यवादनमा थप प्रवीण बनिन् । सामाजिक सम्बन्धलाई अरु प्रगाढ र मैत्रीपूर्ण बनाइन् । सपना साँचेर आशाको तन्तुमा बाँधिएर दीर्घजीवन पार्न सकिने सन्देश दिइन् । गीत संगीतको संसारमा अरु रमाइन् । उनी कसैको दया र करुणकी खानी बन्न चाहिनन् । कसैले विचारा भन्लान् र टीठलाग्दो भएर बाँच्न नपरोस् भनी कसैलाई पनि रोगको विषयमा बताइनन् । उनले केवल सरोकारवालासँग मात्र बताइन् । यो उनको अन्तस्करणको स्वाभिमान हो । उनले टिकटकको प्रयोग गरिन् । उत्तरआधुनिक प्रविधिको प्रयोगले उनलाई अपडेट बनायो । सयौं गीतहरु गाइन् । नयाँ नयाँ डे«स डिजाइन् गरिन् । कोरोना त उनको लागि पट्यारलाग्दो अभिसाप हैन, उपलब्धिको रुपमा खुसी आयो । गीतका ट्रयाकहरु बनाउने, मिक्सिङ्ग गर्ने, सम्पादन गर्ने, अभिनय गर्ने, संगीत भर्ने, गाउने, भोकल डब गर्ने, क्यामरा खेलाउने निर्देशक बन्ने, विभिन्न संगीत महोत्सवमा सक्रिय भएर भाग लिने काममा समय बिताइन् । उनको सक्रियताले उनलाई क्यान्सरजस्तो प्राणघातक रोग भुलायो । वास्तवमा आकूलता र ब्याकूलताले मन मर्छ । जीवनप्रति वितृष्णाबोध हुन्छ । जीवन विसंगत बन्छ । संगति नष्ट हुन्छ । त्यही बेलामा रोगप्रतिरोध क्षमता घट्छ र जीवन लीला समाप्त पार्छ । यो मनोविज्ञानको विज्ञता उनमा देखिन्छ । उनी गिर्खा हेर्दै रुँदै र छाम्दै थपक्कै बसिनन् ।
शुरुदेखि नै शङकाको किरो मनमा सुटुक्क पसेर गम्भीर बनाए पनि त्यसलाई मानसिक उहापोहभन्दा पनि सन्तुलनमा राखेर रोग दबाउन सक्ने क्षमताको विकास गरिन् । उनले शुरुमै रिमोट कन्ट्रोल आफ्नो हातमा छैन भनी टिबी च्यानलको उदाहरण दिए पनि उनले त्यो रिमोट आफ्नो लागि आफ्नै आत्माबाट चलाइन् । वास्तवमा हाम्रो रिमोट अरुले कन्ट्रोल गर्ने हो भने अरुको भइन्छ । अरुले हिंडाउँछ । त्यसैले आफ्नो रिमोट आफ्नै आत्माले चलाउने हो । परात्माले चलाउन दिनु हुँदैन भन्ने कुरा घुमाउरो रुपमा देखिन्छ । किनकि उनले आफ्ना मनका च्यानल आफै खोलेकी छन् । आफ्नो कर्म आफै गरेकी छन् । आफ्नो भाग्य आफै निर्माण गरेकी छन् । उनी बाँचेकै स्वरिमोटिङ्गबाट हो । मान्छे आफ्नो विधाता आफै हो । किनकि मान्छे आफैमा निपुण छ ।
उनले मानिसलाई प्रेमको भोको हुन्छ भनिन् । वास्तवमै मानिस प्रेमको भोको हुन्छ । यो सार्वजनीन सबाल हो । प्रेम दिने र लिने विषय हो । समाजमा अभिजातहरु प्रेम लिन खोज्छन् दिन जान्दैनन् । त्यसैले त समाजमा आधारभूत वर्गमा अभिजातप्रति सद्भाव उत्पन्न हुन सकेन । वर्गद्वन्द्वमा अभिजात्य स्वभावले उत्प्रेरकको काम गरेको छ । कमजोर वर्गहरु शक्तिशाली वर्गको माया र प्रेमको अभावले विद्रोही बनेका छन् । आत्म सम्मान नपाएर तड्पिएका छन् । यसले उत्पादन र सीप कौशलता प्रवद्र्धनमा हानि पु¥याउँछ । देविका वन्दनाले प्रेम दिन्छिन् । अनि प्रेम फिर्ता पाउँछिन् पनि । उनीसँग सहकार्य गर्न आएका थुप्रै पात्रहरु प्रेममय छन् । रोशनीजस्ता सहयोगी पात्रहरुप्रति उनी प्रेमले भुतुक्क छन् । अझ सबैभन्दा राम्रो संस्कार त घरकी सहयोगी फुली शेर्पाप्रतिको मायालाई लिन सकिन्छ । उनमा रहेको मानवताको संस्कार यहीनिर भेटिन्छ । केटी भन्ने तँँ भन्ने आँखा तरेर हेर्ने बाँच्न विवश बनाउने सहरी समाजमा उनले फुलीलाई छोरीजस्तै बनाएर माया गरेकी छन् । फुली पनि मायालु बनेकी छन् । सहयोगी बनेकी छन् । देविका बन्दनाको वर्गीय प्रेम ओंठमा हैन, व्यवहारमा देखिन्छ । पतिप्रतिको प्रेम, छोराछोरीप्रतिको वात्सल्य र परिवारप्रतिको उत्तरदायित्व, छिमेकीप्रतिको बन्धुत्व र आफन्तप्रतिको सद्भावले उनलाई महान बनाएको छ । क्यान्सर लागेको जानकारी, क्यामोपोर्ट जडान, किमो थेरापीको समयमा उनमा देखिएका धैर्यता, साहस र आशा उदाहरणीय छ । उनी चिकित्सकहरुप्रति कृतज्ञ छन् । संगीतकारहरु कलाकारहरुप्रति उच्च सम्मान गर्छिन् । यसले उनलाई आत्म स्वाभिमान बनाएको छ । दैनिक योगा, ध्यान, प्रणायम, जुम्बा डान्स गरिरहिन् । यो आख्यानात्मक कृतिको भाव पक्ष यही हो । उनबाट हामीले धेरै सिक्न सक्छौं । उनी पे्ररणाकी खानी भइन् । आशाकी केन्द्र बनिन् । उनको जीनको उत्कर्ष नेश्नल एवार्डहरुबाट उत्तरोत्तर हुँदै वल्र्डबुक अफ रेकर्डसम्म पुग्यो । वल्र्डबुक अफ रेकर्ड लन्डनले उनलाई सामाजिक काममा अवार्डको लागि छनोट ग¥यो । यो निकै महत्वपूर्ण उपलब्धि थियो । हामी नेपालीको गर्व पनि हो । यही उत्कर्षमा उनको उच्च व्यक्तित्व झल्कन्छ ।
अन्त्यमा
धर्तीमा आएपछि आफू बाँच्नु बचाउनु र सभ्यताको लागि केही थप योगदान दिनु महत्वपूर्ण काम हो । कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भनेझै सबै मानिसमा केही न केही प्रतिभा हुन्छ । सबै मानिसहरु विशेष हुन्छन् । सबै सम्मानित हुन्छन् । संगीत क्षेत्रमा नारी गायनकी शिखर प्रतिभा देविका बन्दनाको योगदान राष्ट्रको लागि गौरवलाग्दो छ ।
यो कृति कलात्मक छ । कृति सरल र सरस छ । भाषा शुद्ध छ । साजसज्जा राम्रो छ । करुण शान्त रसको प्रयोग भएको छ । नव नव आविस्कृत चिकित्सा र सञ्चार क्षेत्रका क्षेत्रका उपकरणहरुको नाम अङ्ग्रेजीमा आएको छ । नेपाली भाषा गतिशील भाषा हो । यसमा ग्रहण क्षमता छ । यी शब्दलाई आगन्तुक शब्दको रुपमा बुझेर भाषालाई समृद्ध बनाउनु पर्छ । तत्सम, तद्भव र झर्रा शब्दको प्रयोग पनि छ । अनुभूतिको खानीबाट सूक्ष्मभावनाहरु केलाएर सरल भाषामा पठनीय पुस्तक तयार गर्ने आदरणीय नाट्य कलाकार चिरन बरालप्रति हार्दिक बधाई शुभकामना । बन्दनाप्रति लाख लाख बन्दना ।
ऋषि आजाद
अध्यक्ष
लुम्बिनी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश नेपाल