करिव ६ महिना पहिलादेखि आदरणीय प्राकृतिक चिकित्सा योग विज्ञानका विज्ञ कृष्णमुरारि ज्ञवालीज्यूले नेपाली मनोवैज्ञानिक साहित्यकार विराट पुरुष नेपालको पहिलो प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको प्रतिमूर्ति राख्ने निर्णय गर्नु भएको थियो । हामीले साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको मूर्ति राख्न उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकाल्यौं । मूर्ति बनाउने सिलसिलामा उहाँ गोरखपुरतिर लाग्नु भयो । कम मूल्यमा गुणस्तरीय मूर्ति आउँछ भन्ने लागेको थियो तर मूर्तिकारले विपिको यथार्थ प्रतिबिम्ब निकाल्न सकेनन् । फेरि नेपालमा आएर प्राज्ञ गोविन्द चौधरीलाई बनाउन लगाउनुभयो । उहाँले राम्रो मूर्ति तयार गरिदिनुभयो । मूर्ति चम्कियो ।
मूर्ति जेष्ठ २१ गते आइतबारको दिन राख्ने निधो भयो । कपिलधामका कार्यसमितिका सबै सदस्यहरु आउनु भएको थियो । आसपासबाट थुप्रै साथीहरु आउनु भयो । आधारस्तम्भ बनेको थियो । त्यसको लागि कपिलवस्तु जिल्लाकै माननीय महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्य आउने निधो भयो । उहाँँ बिहानै ७ बजे नै आउनु भएको रहेछ । साथमा थुप्रै राजनीतिक कार्यकर्ताहरु आएका थिए । कार्यक्रम दुर्गाबहादुर केसीको अध्यक्षतामा भएको थियो । अतहर कमाल, सुधाकर पाण्डेय अब्दुल कलाम, केशवकुमार श्रेष्ठ, बलिउदिन मुसलमान शंकरप्रसाद आचार्य संस्कृतिविद राजेन्द्रकुमार आचार्य, मंगलप्रसाद थारु आइसक्नु भएको थियो । हामी पनि ठीक सातबजे नै पुग्यौं । प्रमुख अतिथिले माला लगाएर मूर्ति अनावरण गर्नु भयो । ताली बज्यो । धेरैपछि लोकनाथ पोख्रेल सरलाई पनि भेट्ने अवसर मिल्यौं ।
त्यसपछि हामी योग साधना केन्द्रतिर लाग्यौं । कार्यक्रम शुरु भयो । कृष्णमुरारिले सबैलाई स्वागत गर्नु भयो । मूर्ति बनाउँदा लाग्ने रुपैयाँ प्रदान गर्ने मनकारी दाताहरुलाई सम्मान गरियो । प्रमुख अतिथि विशिष्ट अतिथिहरुलाई पनि सम्मान गरियो तथापि कार्यक्रम छोटो थियो । माला खादाका प्रथाहरु अलिअलि घट्दै छन् । कोटको अबीर टक्कटकाउँदै अघि पछि लाग्ने सेवकहरु कम देखिदै छन् । समाज फेरिदैछ । तथापि कङग्रेसले धेरै सुधार्न बाँकी छ ।
साहित्य तीर्थमा राखिएका प्रतिमूर्तिहरु
यस साहित्य तीर्थको शुरुआत २०७२ साल बैशाख ८ गतेबाट भएको हो । साहित्यकार कपिलवस्तु तौलिहवा निबासी हरिराज शर्मा र पार्वती शर्माले आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरेदेखि औपचारिक रुपमा शुरु भएको हो । त्यसपछि बाणगंगा साहित्यिक प्रतिष्ठानले कवि शिरोमणि लेखनाथ पौडेलको प्रतिमूर्ति स्थापना गरेको पाइन्छ । करिब आधा दर्जन कृतिका स्रष्टा संस्कृत भाषाका प्रकाण्ड विद्वान रेश्मीराज अर्यालको प्रतिमूर्ति स्थापना भयो । त्यसको अनावरण गर्न अझै बाँकी छ ।
यस साहित्य तीर्थमा २०७४ साल चैत्र ११ गतेको दिन धर्मराज सावित्री प्रतिष्ठानको तर्फबाट जनकविकेसरी धर्मराज थापाको प्रतिमूर्ति राखियो । त्यसैगरी २०७५ मंसिर २२ गते लिलाध्वज थापा साहित्य प्रतिष्ठानबाट २०७२ मंसिर २२ गतेको दिन लिलाध्वज थापाको प्रतिमूर्ति स्थापना गरियो । २०७४ असारमा पूर्णप्रसाद ब्राह्मणको शालिक स्थापना गरियो । २०७५ चैत्र २५ गतेको दिन कवि शिरोमणि राजीवलोचन जोसीको प्रतिमूर्ति स्थापना गरियो । २०७५ फाल्गुण २६ गते रुद्रराज पाण्डेय साहित्य सेवा समितिले सरदार रुद्रराज पाण्डेको शालिक स्थापना गरियो । २०७६ बैशाख २४ गते मंगलबारको दिन लोकप्रियादेवी जोसीको शालिक स्थापना गरियो ।
यो क्रम निरन्तर अगाडि बढिरहेको छ । त्यसपछिका दिनहरुमा २०७६ मंसिर २५ गते भवानी भिक्षुको शालिक अनावरण भएको छ । वासुशशि स्मृति परिषदबाट नाट्य विधाका प्रसिद्ध नाटककार वाशुशशिको २०७६ फाल्गुण २५ गते प्रतिमूर्ति स्थपना गरियो । २०७६ मंसिर ६ गतेको दिन चर्चित गायक मास्टर मित्र सेनको शालिक स्थापना गरियो । २०७६ मार्ग २६ गते संस्कृतिविद डा. टिकाराम पन्थी, महाकवि भीमकान्त पन्थी र दधिराम मरासिनीको शालिक अनावरण गरियो । त्यसपछि लगत्तै २०७६ फाल्गुण कुमारबहादुर जोशीको शालिक स्थापना गरियो । २०७७ माघ ४ गते हर्षबहादुर बुढामगरको शालिक स्थापना गरियो । २०७९ बैशाख ३ गते यादवनाथ कोइराला र मंगलकुमार उपाध्यायको शालिक अनावरण भयो । जनमत वाङमय प्रतिष्ठानबाट कृष्णप्रसाद दुवालको शालिक राखिएको छ । २०७९ श्रावण ११ गतेको दिन लेखनाथ ज्ञवालीको शालिक स्थापना गरियो । अनि भीमनिधि तिवारीको मूर्ति स्थापना भएको छ तर कोभिडपछि उहाँको परिवारसँग भेटघाट हुन सकेको छैन ।
पछिल्ला दिनहरुमा युवाकवि मोतीराम भट्ट, सिद्धिचरण श्रेष्ठ, विश्वेश्वरप्रसाद कोइराला, फत्तेमान राज भण्डारी, डा. रामान तृसित, प्राडा विष्णुराज आत्रेय, हिमलाल ज्ञवालीको प्रतिमूर्ति स्थापनाको लागि प्रस्तावहरु आएका छन । यी प्रतिमूर्तिहरु स्थापना गर्नको लागि निवेदनरु आएका छन् । साहित्य तीर्थ व्यवस्थापन समितिले सिफारिसको लागि सिफारिस समितिमा पठाएपछि उसले मापदण्डको आधारमा सिफारिस गरिसकेपछि निर्माण समितिले कार्यान्वयन गर्ने योजना रहेको छ । अब छन्दवादी समाजका संस्थापक कविराज पौडेलले माधव घिमिरेको प्रतिमूर्तिको लागि तयारी गरिरहेको बताउनुभएको छ ।
यी बाँकी सबै मूर्तिहरु आउलान् । आज विश्वेश्वरप्रसाद कोइरालाको प्रतिमूर्ति राखियो । यसले हाम्रो कपिलधामको गरिमा बढाएको छ । विश्वेश्वरप्रसाद कोइराला राजनीतिमा प्रजातान्त्रिक समाजवादी हुन् । साहित्यमा पश्चिमी दार्शनिक सिग्मड फ्रायडको यौंन मनोविज्ञानलाई नेपालीय साहित्यमा प्रयोग गरे । उनी मनोवैज्ञाकि धाराका प्रथम प्रयोक्ता हुन् । तत्कालीन समयमा कालजयी रचना गरी नेपाली साहित्यलाई नवीन चिन्तन, आयाम, परम्परा अनि शैली भित्र्याउनुलाई अत्यन्त महत्वका साथ हेरिन्छ । उनी राजनीतिमा बहुलवादी थिए । साहित्यिक रुपमा मनोविश्लेषणवादी थिए । उनका कथा तथा उपन्यासमा राजनीतिको प्रभाव कम छ । यही विशुद्धताबाट उनी चिनिएका छन् ।
उनले म राजनीतिमा समाजवादी हुँ । तर साहित्यमा अराजकवादी हुँ भन्थे । साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ भन्ने गर्थे । उनका तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाई, मोदी आइन, हिटलर र यहुदी, बाबु आमा छोरा उपन्यास छन् । यी सबै उपन्यासहरु नेपाली साहित्यका अक्षय भण्डार हुन् । उनका दोषी चश्मा, स्वेत भैरवी कथा संग्रह प्रकाशित छन् । आफ्नो कथा र जेल जर्नल जीवनीमा आधारित कृति छन् ।
तीन घुम्तीमा नारीको तीन रुप पत्नी, प्रमिका र आमाको रुपमा चित्रण गरिएको छ । सुम्निमा दुई भिन्न संस्कृतिको समन्वय र सम्मीश्रणको गाथा हो । नरेन्द्र दाई एक मनोवैज्ञानिक उपन्यास हो । मोदिआइनमा युद्धमा लाखौ नारीहरु विधवा भएको कथा छ । हिटलर र यहुदीमा द्वन्द्वको विषयवस्तु छ । आमा बाबु र छोरा उपन्यासमा आफ्नै छोराकी प्रमिकालाई बाबुले प्रेम गरेको प्रसङ्ग छ । यसलाई हाम्रो समाजले त्यति सहज रुपमा लिन सक्दैन ।
वास्तवमा उनको ध्यान मनोविज्ञानको भित्री संसार केलाउनु हो । मनका पिधमा रहेका कुण्ठा, आवेग, उत्तेजना, यौन छटपटी, बेचैनी सबै आएका छन् । उच्च अहं, निम्न अहंका कुराहरु आएका छन् । हीनता बोध उच्चताबोधले खडा गरेको मनोरचना आएको छ । विपिको साहित्य अजरअमर छ । उनी नेपालीय साहित्यका महत्वपूर्ण स्रष्टा हुन् । उनको सिर्जना नवीनतामा आधारित छ । उनले भित्री संसारको ढोका खोलेका छन् । उनी लोकतान्त्रिक आन्दोलनका प्रेरक पनि हुन् । उनको नेपाली समाजमा गहिरो छाप छ । किसान मजदुरका साथी हुन् । उनको आन्दोलन अहिले केही मुर्झाएको छ । अहिले पार्टीमा लोकतान्त्रिक आचारण हुनेहरुको वर्चश्व छैन ।

थोरै प्रसङ्ग बदल्छु :
त्यो दिन तौलीहवामा साहित्यिक कार्यक्रम थियो । पशुपतिमणि त्रिपाठी र हरिराज शर्माले बोलाउनु भएको थियो । कपिलवस्तु साहित्य समाजले गर्ने कार्यक्रममा पनि जानु थियो । म अहिले धेरै बिरामी छु । कमजोर अवस्थामा छु । कार्यक्रममा जाँदा हातहरु लगलग काँपिरहेका थिए । चिया खादा गिलास हल्लिएका थियो । आगन्तुक पुस्तिकमा सिङगेनर गर्दा मिलेको थिएन । मेरो हालत हेरिहेका संस्कृतिविद राजेन्द्र कुमार आचार्यले नजिकबाट हेरि रहनु भएको थियो । उहाँले स्वास्थ्यको ख्याल गर्न बारम्बार आग्रह गर्नु भयो । असाध्य जाने मन थियो । मेरो कहालीलाग्दो अवस्था देखेर छोराले अश्रु निवेदन गरे । भो बुबा नजानुस । साथमा शोभाखर पौडेल सरले पनि भो सर स्वास्थ्यको ख्याल गर्नुस भन्नु भयो ।
तैलिहवातिर जाने मन थियो । ऋषि भारद्वाज गुरुलाई चार नम्बरमा बस्न भनेको थिएं । उताबाट लुम्बिनी वाङमय लुम्बिनी प्रदेशका संस्थापक अभिभावक हरिराज शर्माले आधा घण्टा भए पनि आउनु पर्छ भदै कर्तव्य बताउनु भएको थियो । पशुपतिमणि त्रिपाटी सरको अनुहार सम्झिरहें । मैले कतै गल्ती गरिरहेको त छैन । मनमा हुँडलो मच्चिरह्यो । गाडी भने आफ्नै रफ्तारमा दौडिरह्यो । म पश्चात्ताप गर्दागर्दै घर आईपुगें । उपचार गरिरहेको छु तर कमजोरीले मलाई धकेलिरहेको छ । मैले पनि बाँच्ने कोशिसमा छु । मृत्यन्जयी हुन्छ । फर्कदा ऋषि भारद्वाज सरलाई सम्झिरहें । मैले धोका दिएं कि जस्तो लाग्यो । अविश्वासको अवस्था सिर्जना भयो । मैले दक्षिणपश्चिमतिर फर्किएर तौलिहवाका साहित्यकारहरुलाई क्षमा मागिरहेको छ । क्षमा दिनुस् है ।
आजको कार्यक्रम निकै महत्वपूर्ण रह्यो । मुख्य अतिथिले यहाँको विकासका लागि आफूले योगदान दिने बताएका थिए । कपिलधाम महत्वपूर्ण राष्ट्रियधाम बनिरहेको छ । त्यति धेरै मूर्ति बनिरहेको अवस्थामा त्यसको यथोचित सुरक्षा हुन सकेको छैन । कार्यक्रम अध्यक्षले त्यसको सौन्दर्यीकरणको लागि केही गर्नुपर्छ बारम्बर भनिरहनु भयो । प्रमुख अतिथिले केही सोंच्नु भएको छ । आजसम्म नेपाल सरकारबाट पाउने सहयोग आएको छैन । यो पटक पूर्व लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले भने कुनै हालतमा पनि यसलाई सुरक्षाको प्रबन्ध गर्छु भन्नुभएको छ । यसलाई महत्वपूर्ण स्थानको रुपमा विकास गर्नको लागि स्थानीय सभासद तथा नगरपालिका प्रम्खहरु लाग्नु पर्छ । चक्र अर्याल पनि गम्भीर हुनु भएको छ । आशा छ केही त अवश्य हुन्छ । यसो गर्न सकियो भने हामीहरुले यो ठाउँलाई साहित्यिक पर्यटनका दृष्टिले महत्वपूर्ण ठाउँ बनाउन सक्छौं ।