आज म विमल नेपालको ‘पीपला’ उपन्यासको विषयमा चर्चा गर्छु । उपन्यास ‘न्यास’ मूल शब्दमा ‘उप’ उपसर्ग लागेर बनेको हुन्छ । न्यास शब्दको अर्थ स्थापित गर्नु हो । उपन्यास प्राचीन विधा हो । अँग्रेजीमा यसलाई ‘नोबेल’ भनिन्छ । यसको अर्थ नयाँ घटना भन्ने बुझिन्छ ।
पूर्वीय साहित्यमा विश्वनाथले “उपन्यास प्रशादनम्” भनेका छन् । उपन्यासको विषयमा पश्चिमी साहित्यकार हेनरी जेम्सले जीवनको वैयक्तिक र प्रत्यक्ष प्रतिबिम्ब भनेका छन् । हर्बर्ट मुलरले उपन्यास मानव अनुभवको निरुपण हो, चाहे त्यो यथार्थ होस् वा आदर्श होस् भनेका छन् । राल्फ फक्सले उपन्यासलाई मानव जीवनको गद्य भनेका छन् ।
नेपाली साहित्यका उपन्यासकारहरु कृष्णचन्द्र सिंह प्रधानले उपन्यासलाई मानव जीवनको सम्पूर्णताको अभिव्यक्ति भनेका छन् । समालोचक वाशुदेव त्रिपाठीले मानवीय जीवनको अविस्मरणीय घटना भनेका छन् । मोहन हिंमाँशु थापाले मानव जीवनको विस्तृत पक्ष र संबद्ध परिवेशको प्रस्तुति भनेका छन् । मोहनराज शर्माले मानव जीवनको चित्रण गर्ने विशालकाय गद्यरचना भनेका छन् ।
उपन्यास जीवनको सम्पूर्णताको वर्णन हो । यसको आयाम लामो हुन्छ । विविध घटनाहरुको उचित विन्यासबाट यसको संरचना बन्छ । संरचना सबै वस्तु वा विषयमा हुन्छ । उपन्यास हुनको लागि के के तत्व चाहिन्छ ? यो विषमा पनि थोरै चर्चा गरांै । म त्यही सैद्धान्तिक आलोकमा टेकेर पीपला उपन्यासको समीचीन समीक्षा गर्न चाहन्छु । उपन्यास हुनको लागि लामो न लामो कथावस्तु चाहिन्छ । कार्य कारण शृखलाका आधारमा एउटा घटनाले अर्को घटना जन्माउँदै जान्छ । हरेक घटनाहरुलाई चरणबद्ध रुपमा विन्यास गर्दै अन्तिमसम्म पुग्छ । यो उपन्यासमा निकै नयाँ र रोचक खालको कथावस्तु प्रयोग भएको छ । यस कथाले उपन्यासको मौलिकता छ्ट्याएको छ । अर्थात कथावस्तु अरुभन्दा विशिष्ट छ । कथा भित्र पात्रापात्रहरु हुन्छन् । कुनै पात्र गतिशील हुन्छन् कुनै जड हुन्छन् । कुनै नायक हुन्छन् कुनै खलनायक हुन्छन् । भूमिका खेल्दै जाँदा कथामा तिनीहरुको चरित्र झल्कन्छ । उपन्यासमा द्वन्द्व हुन्छ । यहाँ आन्तरिक तथा वाह्य द्वन्द्व भयानक रुपमा छ । समीर र पीपलामा आन्तरिक द्वन्द्व छ । सतहमा वाह्य द्वन्द्व प्रकट भएको हुन्छ । त्यो द्वन्द्व माओवादी र सरकार बिच छ ।
पात्र उभिने ठाउँ वा खेल्ने ठाउँ परिवेश हो । परिवेशभित्र देश काल वातावरण आउँछ । यस उपन्यासमा सिन्धुपाल्चोक, काठमाण्डौं हुँदै दाउन्नेसम्मको परिवेश छ । यसले उपन्यासलाई स्वाभाविक देखाउँछ । उपन्यास किन लेख्ने ? त्यसको उद्देश्य के हो । त्यसले पाठकलाई दिने सन्देश कस्तो हो ? भन्ने विषय उद्देश्य हो । यसमा भाव वा विचार पक्ष आएको हुन्छ । उपन्यासमा दृष्टिविन्दु हुन्छ । प्रथम पुरुषीय दृष्टिविन्दु जसलाई आन्तरिक दृष्टि विन्दु भनिन्छ । यो म हामी प्रधान हुन्छ । उ, त्यो उनी आदि प्रयोग गरिएको हुन्छ भने वाह्य दृष्टि विन्दु भनिन्छ । यो उपन्यासमा आन्तरिक दृष्टिविन्दुको प्रयोग भएको छ । समीर यसको व्याख्याता हो । त्यसरी नै उपन्यासमा संवाद हुन्छ । हरेक पात्रहरु आपसमा कुराकानी गर्छन् । त्यो संवाद हो । उपन्यासमा वर्णनात्मक, विवरणात्मक र संवादात्मक शैलीको प्रयोग हुन्छ । शैलीले उपन्यासको मौलिकतालाई फरक देखाउँछ । यसमा संवादात्मक शैलीको प्रयोग भएको छ ।
उपन्यासमा आदि मध्य र अन्त्य गरी तीन भाग हुन्छ । यो पनि महाकाव्यजस्तो प्रबन्धात्मक रचना हो । यसमा पनि पञ्चसन्धि, अर्थ प्रकृति र कार्यावस्था हुनु पर्छ भन्ने पूर्वीय मान्यता छ । तर यो शास्त्रीय विधान अनुसार लेखिदैन ।
विमल नेपालको ‘पीपला’ उपन्यास घटना प्रधान उपन्यास हो । यो उपन्यासमा प्रयुक्त पात्र पीपला एक विपन्न वर्गकी छात्रा हो । ऊ विद्यालयमा पढ्छे । मानसिक उहापोह, तनाव र किंकर्तव्यविमूढबाट रन्थनिएकी पीपलाको जीन्दगीको कथाव्यथा अत्यन्त कारुणिक छ । विभिन्न प्रतिकूलताका कारणले पीपला जति फस्टाउन र लहरिन पर्ने हो त्यति फस्टाउन लहरिन पाएकी छैन । उसको जीवन अन्याय अभाव र अत्याचारबाट गुज्रेको छ । उसले कहिंकतै न्याय पाएकी छैन । न्याय मरेको समाजमा ज्यूँदै हारेकी छ । न्याय खोज्न बन्दूक बोक्दा पनि न्याय प्राप्त हुन सकेको छैन ।
नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको घात प्रतिघातबाट गुज्रिएकी पीपला यस उपन्यासको केन्द्रीय नायक हो । ऊ अत्यत्न कारुणिक पात्र हो । उसको जीवन दुखान्तमय छ । दुखान्तमा जानु नायकको आन्तरिक कारण हुन्छ । विभिन्न कारण उ दुखान्तमा पुगेकी छे । आफ्नै छिमेकी साहिलौंको यौन अत्याचार सहन नसकी प्रतिशोध साध्नका लागि आफ्नो प्रिय साथी समीरसँग विछोड हुँदै सशस्त्र विद्रोहमा होमिएकी पीपला अनेक सास्तीको सामना गर्दै अगाडि बढेकी छे । विद्यालयमा पढ्दा माओवादीबाट सरकारी सेनाको सुराकी ग¥यो भन्ने निहुँमा शिव सरलाई विभत्स किसिमले मारेको घटनाले पीपलाको कोमल हृदय छियाछिया हुन्छ । सधै त्रास र भयको वातावरणमा रहन विवश हुन्छे । त्यो घटनामा साहिलौंको हात हुन्छ । पीपलामा साहिंलौप्रति घृणा जाग्छ ।
त्यो समय मुलुकभर सशस्त्र विद्रोह चलेको थियो । राज्य र विद्रोही बिचमा ठाउँ ठाउँमा दोहोरो भीडन्त हुन्थ्यो । पीपला त्यही दोहोरो भिडन्तको चापमा परेर संयोगले ज्यान बचाउँदै अघि बढेकी छ । बाबु आमालाई छोरी माओवादी सेनाले लगिदिन्छन् कि भन्ने पिरलो छ । अन्त्यमा त्यस्तै भई दिन्छ । माओवादीहरुले पीपलालाई सशस्त्र सेनामा भर्ना गराउन लैजाँदाको सन्दर्भ अनुराधासँगको सहसम्बन्ध, युद्धको त्रासद अवस्था, एक्लै अग्ला अग्ला पहाड ओह्रालो बाटो खोला खोल्सा छिचोल्दै हिंड्दको पीडा, बाबु आमालाई पनि मारिदिएको दुखद खबर आदिले पीपलाको मन छिया छिया भएको हुन्छ । ऊ त्यही भग्न र रुग्ण मनोरथ लिएर बाँचेकी हुन्छे । उसले बाबु आमाको क्लेष छिमेकी साहिलीको समस्या, सरकारी सेनाको चरम दमन, माओवादीको बिगबिगीको शिकारमा परेर दुःख पाएको पीपला अन्त्यमा काठमाण्डौका रेस्टुरेन्टहरुमा, शीतलपाटीहरुमा मन्दिर परिसरहरुमा दिन बिताउँछे । उसले प्रेमिका समीरसँग पनि जीवन जीउन सकिन । समीर त्यही घटनाहरुको साक्षी हो । उसले नजिकबाट सबै घटना बुभेर उपन्यास तयार हुन्छ ।
समीर पीपला दुबै एक आपमा प्रेम गर्छन् । तर जीवन जीउन सक्दैनन् । उनीहरुलाई परिवेशले अलग अलग बनाउँछ । तर अन्तिममा जीवन दुखान्तमय भएर टुङ्गिन्छ । बहुलाहीजस्तै मन्दिरमा बास गरेकी पीपला वास्तवमा बहुलाही हैन, उसलाई परिवेशले बहुलाहीजस्तो बनाएको छ । स्कुले जीवन सँगै बिताए पनि पछिल्ला घटनाहरुको विषयमा समीरले पीपलाको विषयमा धेरै जान्न, बुझ्न चाहन्छ तर जीवनमा नजिकिन सक्दैन । स्कुले साथी भए पनि मुक्ति सेनामा भाग लिन जाँदाको दिनदेखि दुबै छुट्टिन्छन् । नजिक हुनी अनेक उपाय गर्छन् तर नियतिले उनलार्ई नजिक हुन दिदैन । उनीहरु एक्लाएक्लै जिउँछन् । तर पीपलाको एउटा कौतूहलपूर्ण जीवन कहानी बन्यो ।
यस उपन्यासको खल पात्र साहिलौं हो । ऊ दुष्ट पात्र हो । उसले पीपलालाई जबर्जस्त बलात्कार गर्छ । गाउँमा सुराकी गरेर शिवसरलाई मराउँछ । व्यभिचारी छ । क्रूर छ । पीपला त्यही क्रूर पात्रको बलात्कारमा पर्छे । पीपला उक्त घटनाको पीडा खप्न नसकी त्यही पात्रलाई प्रतिशोध साध्न विद्रोहमा भाग लिन पुग्छे । तर आश्चर्य ! पीपलाले माओवादीभित्र साहिंलौको कमाण्डमा सशस्त्र सेना परिचालित भएर आएको र उसलाई मुट्ठी उठाएर सलाम र स्वागत गर्नु परेको घटना देख्छे । फेरि पनि पीपलाको आत्मा मुर्झाउँछ । उ विचलित हुन्छे । उसलाई त्यहाँ कमरेडहरु बीच मसिनो चामलको भात मासु र मोटो चामलको भात तरकारी बीचको विभेद पनि देख्छे । त्यहाँ पनि उच्च पदस्थ र निम्न पदस्थ बिच दरारहरु भेट्छे । उसलाई घृणा लाग्छ । उसले क्रान्तिकारी सेनाहरुभित्र पनि न्याय देख्दिन । अन्त्यमा पछि उही खलपात्र साहिलौं क्रान्तिकारी सरकारको बालबालिका तथा समाज कल्याण मन्त्री बन्छ । उसलाई जनार्दन अधिकारीको नामबाट चिनिन्छ । संयोग पनि अचम्मको हुन्छ । उही खल पात्रको सवार गाडीबाट सिंह दरबारको दक्षिण गेट अघि दुर्घटनामा परेर पीपलाको दुखद मृत्यु हुन्छ । समीरले अन्त्यमा दुई थोपाको आँशु त्यही चढाउँछ । र उपन्यास उपसंहारमा पुग्छ ।
जनयुद्धको मैदानबाट भागेर काठमाण्डौ आएपछि पीपलालाई समाजमा पुनः स्थापना हुन गाह्रो भएको छ । ऊ अलि स्वच्छन्द किसिमकी केटी हो । उसलाई कडा नियन्त्रण र दमन मन पर्दैन । होटलहरुको मालिकको दमन सहन सक्दिन । उसले नोकरी नै छोड्छे । स्वाभिमान छोड्दिन । उपन्यासले जनयुद्धको कारण कार्यको विषयमा धेरै बोल्न सकेको छैन । यसले दुबैको अत्याचारबाट जनता पिल्सनु परेको मात्र बताएको छ । विभेद, शोषण, थिचोमिचो अत्याचारका पाटा पखेराहरु सूक्ष्म रुपमा खोलेर के कारणले जनयुद्ध भयो भन्ने ठम्याउन सकेको छैन ।
नेपालमा चलेको जनयुद्धको विशेषता केबल वर्गयुद्ध मात्र हैन, वर्गीय त एउटा अँश मात्र हो । यहाँ पितृसत्ताको जाँतोमा पिल्सिएका महिला, अपमान र विभेदमा परेका दलित, पहिचान र सम्मान गुमाएका जनजाति, मधेस, थारु, मुस्लिम, अल्पसंख्यक समुदायहरु, उपेक्षा र उपहासको शिकारमा परेका अपाङगता, एकल महिला, अल्पसंख्यक यौनिक समुदाय आदिको सामुहिक आक्रोशको मूलप्रवाह हो जनयुद्ध । यसको शल्यक्रिया गर्न बाँकी छ ।
यस उपन्यास २७ खण्डमा संरचित छ । यसमा १२९ पृष्ट छ । कृतिमा कुतूहलता प्रचूर मात्रामा सिर्जना भएको छ । उपन्यास पढ्न बसेपछि अन्त्यसम्म छोड्न सकिदैन । विभिन्न प्रकारका चरित्रहरु देखा परेका छन् । कामुक, थोकेबाज, प्रेममा समर्पित, सोझा सहयोगी, सबैप्रकारका पात्र पात्रहरु छन् । उपन्यासको उद्देश्य पूरा भएको छ । यस कथाले पाठकलाई उद्देश्यमा पुराएको छ । यसमा भाषा सरल शुद्ध छ । यो उपन्यास पनि ती प्रभावकारी उपन्यासहरुमध्ये एक हो । द्वन्द्वको विषयवस्तुलाई उठाएर लेखिएको यो उपन्यास उत्कृष्ट छ । लेखक विमल नेपाललाई साधुवाद ।