हरिलाई बाबाले सोध्नुभयो, “भन त बाबु तिमीलाई राम्रा कुरा कस्ले सिकाउँछ ?”
हरिले भने, “मिसले ।”
बाबाले फेरि सोध्नुभयो, “मिसले के बाट पढाउनु हुन्छ ?”
हरि बोलिहाले, “किताब हेरेर ।”
बाबाले भन्नुभयो, “हो तिमीलाई राम्रा राम्रा कुरा सिकाउन भनेर पुस्तक लेखिएको हुन्छ । तिमीले पढने पुस्तकमा पनि धेरै राम्रा ज्ञानगुनका कुराहरु छन् ।”
हामीले पुस्तकलाई माया गरेर सफा राख्नु पर्छ । पुस्तकमा भनिएका राम्रा कुरा पढेर राम्रो बानी बनाउनु पर्छ । अनि त्यो राम्रो बानीलाई सबैले सिकेर ज्ञानी विद्यार्थी भइन्छ ।
बाबाले फेरि सोध्नुभयो, “पुस्तकका आँखा देखेका छौ ?”
हरिले किताब ल्याएर देखाउँदै बताए, “किताबको आँखा नै हुदैनन् ।”
बाबाले भन्नुभयो, “हो पुस्तकको आँखा हुदैनन् तर यसले हाम्रो आँखा खोलिदिन्छ ।”
हरिले आँखा ठूला बनाएर सोधे, “बाबा मेरो आँखा पनि पुस्तकले खोलेको हो ?”
बाबाले काखमा राखेर फकाउँदै बोल्नुभयो हैन “तेश्रो नेत्र हो । त्यसलाई ज्ञानको आँखा भनिन्छ ।”
बाबाले थप्नुभयो, “हामीले पुस्तक च्यात्ने, अनावश्यक केरमेट गर्ने गर्नु हुदैन ।”
हरिले बाबालाई भने, “हो बाबा पुस्तकलाई कसैले पनि खुट्टाले छुनुहुदैन ।”
हरिले बाबाको दारी तान्दै भने, “यदि कसैले पुस्तक कुल्चेमा यसरी दारी तान्दिनुपर्छ ।”
अनि बावाको खुट्टामा ढोग गर्दै भने “अनि पुस्तकलाई यसरी ढोग गर्नु पर्छ ।”
बाबाले हरिको पिठ्युमा प्याट्ट हान्दै भन्नुभयो, “हामीले ज्ञानको भण्डार पुस्तक पढेनौ भने यसैगरी आफ्नो पुर्पुरोमा पिट्दै पछुताउनुपर्छ ।” बाबाको कुरा नसकिदै धाराबाट पानी ल्याएर बाबाका गालामा लगाउदै हरि बोले, “अनि यसैगरी आँसुका धारा बगाउनुपर्छ ।”
बाऊ छोराका कुरा सुनेर हरिकी आमा आउनुभयो । घरको झ्यालबाट बाहिर बताउँदै घर मर्मत काम गरिरहेका श्रमिक देखाउनुभयो ।
अनि उहाँले भन्नुभयो, “पुस्तक नपढेपछि बौद्धिक काम नगरेर त्यस्तै श्रमको काम गनुपर्छ । दिनभरि श्रमको काम गर्दा धेरै पसिना बगाउनु पर्छ । राम्रा नानामा पनि नराम्रो धुलो लाग्छ ।”
बाल कथा (करीब ११ वर्ष सम्मको उमेर समुह अर्थात कक्षा पाँच सम्म पढ्ने बालबालिकालाई समेटेर २५० देखि ३२५ शब्दहरुमा तयार पारिएका बाल कथाको संगालोबाट)