काठमाडौं-२०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ले पाउने भएको छ भने जगदम्बा–श्री पुरस्कार भारतको दार्जीलिङ निवासी गायिका तथा संगीतकार शान्ति ठटाललाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको आइतबारको साधारण सभा बैठकले दुई स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको जनाइएको छ।
‘मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को जगदम्बा–श्री श्री शान्ति ठटालज्यूलाई तथा मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि श्री चन्द्रप्रकाश बानियाँज्यूलाई अर्पण गर्ने निर्णय गरेको छ’, मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्ति निकालेर भनेका छन्।
पुरस्कृत स्रष्टाले चार/चार लाखका दरले नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्। गुठीका अनुसार गतवर्ष प्रकाशितमध्ये १५१ पुस्तकहरू गुठीलाई प्राप्त भएका थिए। त्यसमध्येबाट विमल निभाको जोकरको बन्दूक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्रप्रकाश बानियाँको महारानी, ललित बिष्टको मोहपथ र शारदा शर्माको यात्रामा मदन पुरस्कार–२०७६ का निम्ति छनोटमा परेका थिए।
२०४५ सालमा जगदम्बा रानीको निधनपछि उनको सम्झनास्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो।