एकादेशमा सरस्वती आधारभुत विद्यालय थियो । त्यहाँ सुनिता मिसले कक्षा दुईमा गणित पढाउनुहुन्थ्यो । आज मिस आउनुभएको थिएन । मिसको विषय पढाउन प्रिन्सिपल सर आउनुभयो ।
सबै विद्यार्थीहरुले एकै स्वरमा सर सुनिता मिस खै भनेर साधे ? सरले भन्नुभयो, “नानी बाबुहरु आज सुनिता मिस बिरामी भएकोले आउनुभएको छैन ।” सबै विद्यार्थीले फेरि सोधे, “सर मिसलाई के भयो ?” सरले भन्नुभयो, “मिसलाई ज्वरो आएको छ ।”
सर साँझ हामी मिसलाई भेट्न जान्छौं । हजुरले हामीलाई मिसको घर देखाउनु पर्छ । आज मिसलाई ज्वरो आएकोले हामीलाई पनि सिकाउनुस्, ज्वरो आएमा के गर्नुपर्छ भनेर सुदीपले अनुरोध गरे ।
पर कुनाबाट श्यामले रुन्चे स्वरमा भने, “सर हामीलाई मिसले धेरै मायाँ गरेर पढाउनु हुन्थ्यो । म अस्ती खेल खेल्दा लडेको, मिसले माया गरेर काखमा राखेर औषधि लगाईदिनुभयो । म त घर गएपछि बाबालाई लिएर मिसलाइ भेट्न जाने हो ।”
सुविनले भने, “हामीले त मिसले पढाएपछि छिट्टै बुझ्छौं सर । हामीले मिस आएपछि पढछौं, आज नपढाएर खेल खेलाउनुस् । हामीलाई त मिसले पढाएको कत्ति धेरै मन पर्छ । उहाँले कहिल्यै पिट्नु हुँदैन र गाली पनि गर्नुहँुदैन, धेरै माया गर्नुहुन्छ । हजुरले पनि माया गरेर पढाउनुस् है । हजुरले पिटेमा मैले सुनिता मिससित भन्दिन्छु ।”
सुविनका कुरा सुनिरहेका सन्दिपले भने, “मिसलाई भनिदिएपनि मिसले सरलाई पिट्नु हँुदैन । किनकि मिसले कसैलाई पनि पिट्नु हुँदैन भनेर हामीलाई पढाउनु भएको छ खुच्चिङ् सुविन ।” सबै विद्यार्थी गलल्ल हाँसे । मिसले त हामीलाई टिफिन खोलिदिने गर्नुहुन्थ्यो । आज सरले मेरो टिफिन खोल्दिनुहुन्छ ? मलाई त मिस नआएको दिन स्कुल आउनै मन लाग्दैन भनेर हितेशले भने ।
सदीक्षाले भनिन्, “मैले त मेरो बर्थ डे मा सधै मिसलाई बोलाउने गरेको छु । मलाई त मिस पनि मम्मी जस्तै मनपर्छ । हजुरले पनि हामीलाई माया गरेर पढाउनुस् है सर ।”
सरले सबैलाई मायालु स्वरमा भन्नुभयो, “मिसले खेलाउँदै पढाउँदै गर्नु भन्नुभएको छ । मैले सबैलाई एउटा खेल खेलाउँछु । त्यसपछि सुदीपले सोधेको प्रश्नको जवाफ दिन्छु । अनि हामीलाई थाहा हुन्छ ज्वरो आउँदा के गर्ने । त्यसपिछ हामी सबै मिलेर पढ्ने ।” सबैले एउटै स्वरमा भने “हुन्छ सर ।”