बुटवल : लेखक नयनराज पाण्डेको नयाँ किताव ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी रहेको भए पनि कोरोना महामारीका कारण रोकिएको थियो ।
पाठकलाई नयाँ फ्लेबर दिन फाइनप्रिन्टले पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा ल्याएको जनाएको छ । निषेधाज्ञाका कारण कुनै सार्वजनिक कार्यक्रम नगरी पुस्तक बजार पठाइएको हो । यस सङ्ग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ ओटा लामा कथा समावेश छन् ।
‘जियरा’मा संग्रहित कथा पढ्दा पाठक एकसाथ यथार्थ र स्वप्नमय संसारमा पुग्ने उनको भनाइ छ । मधेसको पृष्ठभूमिमा लेखिएका कथाहरूको सङ्ग्र्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक र प्रयोगमूलक शैली अपनाएका छन् ।
जादुयी यथार्थवादी कथाहरूको मानक बनेर आएको पाण्डेको सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए । पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ ।