बुटवल : अंग्रेजसँगको युद्धको इतिहास जोडिएको पाल्पाको नुवाकोट गढी र यस आसपासका ऐतिहासिक, पूरातात्विक र धार्मिक स्थलहरुका बारेमा गरिएको खोजसम्बन्धी पूस्तक 'पाल्पा नुवाकोट, दि लिभिङ हेरिटेज' लोकार्पण गरिएको छ ।
नुवाकोट विकास समितिको आयोजनामा भएको कार्यक्रमा इतिहासका अध्येता निर्मल श्रेष्ठले लेखेको उक्त पुस्तकको नेकपाका महासचिव विष्णु पौडेलले लोकापर्ण गरेका हुन् ।
पुस्तकमा नुवाकोटको ऐतिहासिक एवं पाल्पाको प्राचिन चिनारीलाई समावेश गरिएको छ । लोकापर्ण कार्यक्रममा बोल्दै महासचिव पौडेलले नुवाकोट र जितगढीको धेरै महत्व रहेको बताए ।
रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभाका सांसदसमेत रहेका पौडेलले नुवाकोट गढीले वीरताको, स्वधानिताको गहकिलो पाठ अहिले सिकाएको बताए । उनले नुवाकोट र जितगढीका बारेमा अहिले बाहिर आएका तथ्य कम भएको भन्दै इतिहासको अकाट्य तथ्य बाहिर ल्याउन अझै जरुरी रहेको बताए ।
पुस्तकका लेखक निर्मल श्रेष्ठले वीर पुर्खाले जोगाएको ऐतिहासिक महत्वको बारेमा लेख्नु पाउनु सौभाग्य भएको भन्दै अझै २ वटा ऐतिहासिक पुस्तक प्रकाशनको तयारीमा रहेको बताए । उक्त पुस्तकको प्रा. डा. सूुर्यबहादुर जि.सी र प्रगतिशिल लेखक संघ रूपन्देहीका अध्यक्ष दल बहादुर गुरुङले समीक्षा गरेका थिए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपाल, पत्रकार डीआर घिमिरेलगायतले नुवाकोटको समग्र विकासको थालनी भएको बताए ।