रुपन्देही- जितगढी किल्लाको प्रवर्द्धन गर्ने उद्देश्यले बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिव बहादुर रायमाझीले हात पारेका छन। बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्य पश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा सम्पन्न म्याराथनको २१ किलोमिटर दुरी उनले १ घण्टा ११ मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधी हात पारेका हुन।
यसैगरि नारायण दल गण कपिलबस्तुका सुबास कार्कीले १ घण्टा १४ मिनेट ३९ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने बिन्दवासिनी बहिनी चन्द्रौटा कपिलवस्तुका शशस्त्र प्रहरी बलका गौरव भण्डारीले १ घण्टा १४ मिनेट ५१ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे।
यसैगरि महिलातर्फको उपाधि गरुण दल बुटवलकी निर्मला केसीले हात पारिन् । उनले १ घण्टा ३३ मिनेट ३४ सकेण्डमा दुरी पार गरेकी हुन्। शसस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले १ घण्टा ३६ मिनेट ५ सेकेण्डमा पार गर्दै दोस्रो भइन् भने गोरख दल गण पाल्पाकी मिनिसा थापा १ घण्टा ३७ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै तेस्रो भइन्। विजेता प्रथम, द्धितिय र तृतियहरुले क्रमशः नगद रु २५ हजार, २० हजार र १५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरे।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसी, उद्योग, पर्यटन, वन तथा पर्यटनमन्त्री लिला गिरी र नेपाली सेना मध्य पश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सन्जय थापाले जितगढी किल्ला परिसरमा आयोजना गरिएको विशेष कार्यक्रममा विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए।
जितगढीको सान नेपालीको पहिचान’ भन्ने नारासहित आयोजना गरिएको विजय दौडमा मुख्यमन्त्री पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीसहित विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए।
हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुँदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्विनी अस्पताल, पुरानो बसपार्क हुदै जीतगढीमा समाप्त भएको थियो । जितगढी किल्ला को संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले कोरोना महामारीका बिच पनि सर्तकता अपनाएर कार्यक्रम आयोजना गरिएको नेपाली सेना मध्य पश्चिम पृतना मुख्यालयका पृतनापति, उपरथी सञ्जय थापाले बताए। नेपाल र अङ्ग्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो ।