रुपन्देही । सहकर्मीबिचको प्रतिस्पर्धाका कारण रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को चुनावी चर्चा उचाइमा छ ।
नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा र निर्वाचनकै समयमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रको निर्वाचन सबैका लागि चासोको विषय बनेको छ ।
एमाले नेता विश्वकर्मा नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित हुनुहुन्छ भने भुसाल माक्सवादी अध्येयता हुनुहुन्छ । यसरी विगतमा एउटै पार्टी र विचार बोकेका पूर्वसहकर्मीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
२०३७ सालमा तत्कालीन नेकपा (माले)बाट राजनीतिक यात्रा सुरू गरेका ६० वर्षीय विश्वकर्मा चौथो पटक संघीय संसदका लागि आफ्नै सहकर्मी भुसालसँग निर्वाचन लड्दै हुनुहुन्छ । “राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका र लामोसमय एउटै दलमा रहेका नेताको प्रतिष्पर्धाले यो क्षेत्रको निर्वाचन रोचक बनेको छ”, स्थानीय अगुवा तिलोत्तमा ११ का वेद गिरी भन्नुहुन्छ ।
विश्वकर्माको राजनीतिक क्षेत्र र भुसालको गृहनगर यो निर्वाचन दुबै उम्मेदवारका लागि प्रतिष्ठाको विषय बनेकाले चुनावी माहोल पनि तातिदै गएको उहाँको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा चुनाव प्रचारमा लाग्नुभएका विश्वकर्मा २०३८÷३९ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू उपसभापति हुनुभएको थियो । विद्यार्थी राजनीतिसँगै जातीय विभेदको आन्दोलनमा सहभागी हुनुभएका विश्वकर्मा २०४५ सालमा स्थापना भएको मालेको भ्रातृ संगठन जातीय उत्थान मञ्चका संस्थापक हुनुहुन्छ ।
२०४७ सालमा भएको मञ्चको पहिलो राष्ट्रिय सम्मेलनबाट उनी उपाध्यक्ष र २०५१ मा महासचिव र २०५५ मा अध्यक्ष बन्नुभएका उहाँ एमालेको छैटौं महाधिवेशनबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनुभएको थियो । उहाँ सातौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य र भारत प्रवासको इन्चार्ज बन्नुभएको थियो ।
दोस्रो जनआन्दोलनपछि विश्वकर्मा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि तथा सहकारी मन्त्री बन्नुभएको थियो ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका विश्वकर्र्मा दोस्रो संविधानसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका अब्दुल रज्जाकसँग झिनो मतले पराजित हुनुभएको थियो । २०७४ मा रज्जाकलाई पराजित गरी विश्वकर्मा प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो ।
यस क्षेत्रको विकास र समृद्धिका लागि योगदान गरेका कारण यो निर्वाचनमा पनि जनताले साथ दिने आशा विश्वकर्माको छ । पूर्वाधार विकासतर्फ उत्तर दक्षिण सडक, सरकारी मेडिकल कलेज र देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयलाई देवदहमा स्थापना, रोहिणी नदीको संरक्षण लगायतका दर्जनौ योजना अघि बढाउने प्रतिबद्धता उहाँको छ ।
स्याङ्जाको पिडीखोलामा जन्मिनुभएका स्वतन्त्र उम्मेदवार ६१ वर्षीय भुसाल २०२१ मा रूपन्देहीको करहिया झर्नुभएको हो । अहिले तिलोत्तमा–९ का स्थायी बासिन्दा भुसाल मणिग्रामको संस्कृत माध्यमिक विद्यालयमा पढ्दा विद्यार्थी राजनीतिमा आबद्ध हुनुभएको थियो ।
भुसाल नेकपा (माले)को विद्यार्थी संगठन अनेरास्ववियु (एकताको पाँचौं) को केन्द्रीय सदस्य र दुई पटक महासचिव हुनुभयो । २०४६ सालको आन्दोलनमा उहाँ महासचिवको रूपमा सक्रिय हुनभएको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर भसाल २०५० मा नेकपा (एमाले)को रूपन्देही जिल्ला कमिटी उपसचिव र २०५१ सालमा सचिव हुनुभएको थियो । २०५३ सालको उपनिर्वाचनमा रूपन्देहीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित उहाँ २०५८ सालदेखि २०६४ सम्म एमालेको केन्द्रीय प्रचार विभाग सदस्य, केन्द्रीय स्कुल विभाग सदस्यको जिम्मेवारीमा रहनुभएको थियो ।
भुसालले यसअघि २०७४ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहोरालाई पराजित गर्नुभएको थियो । त्यसअघि २०६४ र ०७० मा अहिले गृहमन्त्री रहेका बालकृष्ण खाँणसँग पराजित हुनुभएका भुसालले २०५३ मा भएको उपनिर्वाचनमा जित हासिल गर्नुभएको थियो ।
लोकतान्त्रिक –वाम गठबन्धनबाट उम्मेदवार बनेका भूसाललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी एवं बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको समेत समर्थन छ । उहाँले औद्योगिक तथा व्यवसायिक पूर्वाधारका क्षेत्रमा काम गर्ने बाचा गर्दै मतदातासँग मत मागिरहनुभएको छ ।
उम्मेदवारी छनौटका क्रममा एमाले क्षेत्रीय तथा जिल्ला कमिटीले दुवैको नाम सिफारिस गरेर पठाएपनि प्रदेश कमिटीले विश्वकर्माको एकल नाम केन्द्रमा पठाएको थियो । क्षेत्र .नम्बर ३ नम्बरबाट भुसालको नाम सिफारिस भएपनि राप्रपासँगको तालमेलमा एमालेले सो क्षेत्र छाड्नुपरेकाले उम्मेदवारी दर्ताको अघिल्लो दिन पार्टी परित्यागको घोषणा गर्नुभएको थियो ।
रुपन्देही क्षेत्र नं १ मा देवदह नगरपालिकासहित रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, र ६ रहेको छ । रासस