रुपन्देही ।
‘न भित्र खोक्रो, न बाहिर बोक्रो, गुलियो कसार,
पूरबै ढोका खोलेर हेर्दा लागेछ असार
असारमासको चीजको वस्तु पाकेको खुर्सानी,
एक चरन असारे भन्देउ राजै सम्झाउनी विर्साउनी’
पहिलेपहिले यी असारे भाका गाउँदै रोपाहारले रोपाइँ शुरु गर्थे । हली र बाउसेले रोप्नका लागि गह्रा तयार बनाएपछि असारे भाका गाउँदै रोपाहारले रोपाइँ शुरु गर्दा वरपरको माहोल नै अकै हुन्थ्यो ।
‘खोल्सा र खोल्सी बाढी है आयो वर्षाको बेलैमा
कांँधमा हलो हातमा जुवा लागि हुन मेलैमा’
मै पनि जान्थें हल गोरु साउनु बेंसीको खैतैमा
लैबरी भाखा गाएको सुन्थें डाँडा र पाखैमा ।’
गीतबाटै सुख, दःख साटासाट गरी अर्मपर्म गर्दै रोपाइँ गर्ने चलन पुरानो हो । वर्षे झरीमा बिहानभरी खेतमा बिउ काडेर डोकोमा बोकी खेतमा पुगेर दिनभरी रोपाइँ गर्ने र साँझ परेपछि घर फर्किने चलन थियो । खाजाको रुपमा चामलको पिठो पकाएर बनाएको पुवा र अचार दिइन्थ्यो । अहिले यो खाजाको सट्टा अन्य परिकार बनाउने चलन छ ।
‘असारै खाउँला दुधिलो मकै, साउने खाउँला खीर
घरमा छैन शीतलु वचन, मनमा छैन स्थिर ।’
असारे भाकामा प्रेम, वियोग, व्यथा, पीडाका साथै हस्य रस पनि पाउन सकिन्छ । यी गीतका भाकासँगै शुरु हुने असारे रोपाइँ अहिले फेरिएको छ । गोरु र हलि नभई ग्रामिण भेगमा समेत ट्याक्टरले जोत्ने र रोपाइँ गर्ने चलनले पनि रोपाइँको मौलिकता हराएको छ । “पहिलेपहिले रोपाइँमा पुवा खाँदाको मजा बेग्लै हुन्थ्यो, आजभोलीकालाई पुवा भनेको समेत थाहा छैन ।” बुटवल – १३ की सृजना भुसाल भन्नुहुन्छ । अहिलेको पुस्तालाई पनि पुरानो रीति र चालचलनबारे जानकारी हुन आवश्यक रहेको उहाँको भनाइ छ ।
‘छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला,
बनाइ कुलो लगाई पानी आएर गोडौँला ।’
रोपाईंका बेला कृषकहरूलाई कामको भ्याईनभ्याई हुन्छ । तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई विर्सन खोज्छन । जसले थकाइ, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गरेको हुन्छ ।
‘रोप न रोप रोपाहारै नानी म पँज्याइदिउँला बिउ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घिउ ।’
‘असारे मासूको दबदबे हिलो छि मलाई घिन लाग्यो,
पातली नानीलाई फरिया किन्दा छ बीस रिन लाग्यो ।’
पहिले पहिले खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका गुञ्जिँदा आलीभरी हेर्नेको लाइन हुन्थ्यो । असार १५ त झनै उत्सव जस्तै हुने गरेको तिलोत्तमा ७ की शारदा ज्ञवाली ३ को अनुभव छ । असार महिना किसानहरूको ‘मानो खाएर मुरी उब्जाउने समय’ हो । त्यसका लागि उनीहरू रातदिन खटेर रोपाइँ गर्छन् । रोपाइँमा सबै जना खेतमै व्यस्त हुने हुँदा त्यहाँ एक किसिमको रमाइलो हुन्छ । त्यस क्रममा एकापसमा पानी छ्याप्ने, हिलो छ्याप्ने, गराहरूमा बीउ फ्याँक्दा बाउसे, रोपाहारहरूलाई भिजाउने सम्मका काम गर्छन् ।
‘बाटो है माथि बाटो है तल बूढो नि खरायो,
रोपाहार रानी रोप्दै थिए बाउसे नै हरायो ’
संस्कृतिविद राजेन्द्रकुमार आचार्यका अनुसार असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ । असारेलाई पूर्वी भेगमा ’रसिया’ भनिन्छ भनि पश्चिमतिर ’काँठेभाका’ भनिन्छ । लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ । असारे भाकाले थकित वातवारणलाई आनन्ददायी र रोचक बनाइदिन्छ ।
‘सिरी पशुपति सिरी गुजेश्वरी उहीमाथि आर्जेघाट,
बाला जीवनको हातको माला सुक्यो कैले होला भेटघाट
तेन्जिङ शेर्पा– हिमाल चढ्यो भन्छन्, कैले होला भेटघाट ।’
असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसकारुपमा मनाउँदै आएको छ । हरेक वर्षसरकारले धान दिवस मनाउँछ भने आम नागरिकले दही, चिउरा खाँदै हर्षोल्लासका साथ रोपाइँ गर्छन् । प्रदेशका कृषि मन्त्रालयले पनि विभिन्न जिल्लामा खेतमै गएर रोपाइँ उत्सव आयोजना गर्दछ । तर, यस्ता कार्यक्रममा पनि असारे भाका भने सुन्न छोडिएको बुटवल ११ की सुष्मा अर्याल बताउनुहुन्छ । असारे भाकालाई लोप हुनबाट जोगाउन सरकारले गर्ने यस्ता कार्यक्रममा पनि असरारे भाका गुञ्जिने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।