राजेन्द्र कुमार आचार्य
तीज संस्कृत शब्द तृतीयाको अपभ्रंश भएको ठानिन्छ ।नेपाली भाषा उच्चारणमा वैदिक प्रभाव रही आएको हुनाले तदनुसार तृतिज्या- त्रिज्या- त्रिज्य भन्दाभन्दै तीज प्रचलित भएको ठानिन्छ । तीजलाई हरितालिका पनि भनिन्छ । आलिको अर्थ सखी हो (आप्टे इ.२००९:१६१) । यसरी पार्वतीकी सखी आलिद्वारा हरितको अर्थमा हरितालिका पनि भन्ने गरिएको बुझिन्छ ।
उदयपुरको कमलाखोजसम्म तीजगीतको प्रचलन छ । त्यसभन्दा पूर्व भने तीजलाई सँगिनी भनेर गाउँछन् । सुर्खेततिर तीजलाई तीजे(तिज्यको अपभ्रंश, यलाई बुडो जे उच्चारण गरिने परम्पराअनुसार) भनिन्छ । तीज शैव संस्कृति हो । त्यसै मुताविक तीज किन महत्त्वपूर्ण संस्कृति बन्न पुग्यो भन्ने विषयमा यसको कथावस्तु वा पौराणिक सन्दर्भ त्यस्तो छ :
मेनका र हिमालयकी छोरी पार्वतीले महादेवलाई मन पराउँथिन् । यसैबीचमा पार्वतीको रूप सौन्दर्यदेखि मोहित भएका विष्णुले उनलाई माग्न भनी नारदलाई लमी बनाएर पठाए । विष्णुले माग्न पठाएपछि पर्वतराज हिमालय र मेनकाले नाइँ भन्ने कुरै रहेन । यो खबर नारदले पार्वतीलाई भनेर सुनाए । उनले सामुन्नेमा हुन्न भन्न सकिनन् तर धेरै चिन्तित भइन् । जया र विजया नामका आलि अथवा सखीहरूले उनको चिन्ता थाहापाई छलफल गरे । त्यस अनुसार पार्वतीलाई उनकी एउटी सखीले भगाइन् । छोरी भागेको वा हरिएको चाल पाएपछि पार्वतीका बाआमालाई रातको निद न दिनको भोक भयो । नारद र विष्णु जिल्ल परे ।
उता पार्वतीले महादेवलाई पतिको रूपमा पाऊँ भनेर कठोर तपस्या गर्न थालिन् । यस कुराको छनक महादेवले पाए । सतीदेवी जलेपछि पत्नीपीडाले छट्पटिएका महादेवलाई त्यति सुन्दरी पार्वतीले विष्णुलाई छाडेर आफूलाई पाउन भनी तपमा लीन हुनु अनौठो संयोग जुट्यो । महादेव वसाहामा चढी डमरु बजाउँदै पार्वतीलाई भेट्न वनमा पुगे । आफूले कल्पना गरेका महादेव आफ्नै अगाडि उपस्थित हुँदा पार्वतीलाई हर्षको सीमा रहेन । पार्वतीले आफ्नो प्रतिज्ञा सुनाइन् । महादेवले खुसी भएर तथास्तु भने । पार्वतीले स्वयम्बर गरिन् । महादेव र पार्वती पर्वतराजकहाँ पुगे । त्यहाँ मेनका र हिमालयले छोरीज्वाइँलाई स्वागत गरे । देवदेवीहरुका अगाडि विवाह सम्पन्न भयो ।
त्यो दिन भाद्र शुक्ल तृतीया थियो । त्यस दिन पार्वतीको तपस्या पूर्ण भएको, महादेव र पार्वतीको स्वयम्बर एवं विवाह कर्म सम्पन्न भएको थियो । त्यसै खुसीयालीमा प्रतिवर्ष पार्वती स्वयंले तीजको व्रतोत्सव गर्न थालिन् । दुनियाका नारीहरुलाई पनि यो व्रत गर्न सिकाइन् । यो व्रतका प्रभावले कन्याले मनले चिताएको पति पाउने र अविवाहित नारीले पतिको दीर्घायु भई सौभाग्यवती भैरहने धारणा बस्यो । त्यसै बेलादेखि यसलाई प्रणय दिवसको रूपमा पनि लिन थालियो । तीज प्रायः वैदिक सनातनीहरूको एउटा मौलिक सांस्कृतिक चाडको रूपमा स्थापित भयो । शिव पार्वतीको पालादेखि चलिआएको चाड भनेर मान्न थालियो ।
समाजशास्त्रीय दृष्टिकोणले भने तीज यूथ र सगोत्री विवाह प्रथा बन्द भएपछि, पितृसत्ता प्रारम्भ भएदेखि चल्न थालेको बुझिन्छ । विगोत्रीमा विवाह हुन थालेपछि, चेली पोइघर गएर स्थायी रूपमा घरबारे भई प्रायः टाढा बस्न थालेदेखि पउलको बेला चेलीलाई मिठो खुवाउन भनी केही समय घर विदाको रूपमा माइत राख्ने प्रचलन बढ्दै गयो गयो । तीज व्रत, माइतिको असेट, दिदीबहिनी र आमाछोरीको पुनर्मिलन आदिको संयोग जुर्न गयो ।
कालान्तरमा रजस्वलाको अवस्थालाई ब्राह्मण क्षेत्री आदि कतिपय जातिहरुमा अछुत मान्ने चलन चलेपछि, क्रमश: त्यो सामाजिक प्रथा बनेपछि, त्यो बेला छुँदा पाप लाग्छ भन्ने ठानियो । यसै अवस्थामा लाग्ने भनिएको पापको उन्मुक्तिका लागि भनेर ऋषिपञ्चमी व्रत प्रचलनमा ल्याइयो । तदनुसार चौथीको दिनलाई गणेश चौथी भन्दै चन्द्रमालाई गणेशको श्राप परेको ठानी पूजा गर्ने परम्परा चल्यो वा हेर्न हुन्न भन्ने रुढी आयो । त्यो दिन नेवारहरु चथा चाड मनाउँछन् भने तराईतिर चोखेन, चौरचन, वा चिरचन पवनी भन्दै चन्द्रमाको पूरा गर्ने र भोग लगाउने प्रचलन पनि पाइन्छ । कहिलेकाहीँ चौथी टुटेर तीजका अर्का दिनै ऋषिपञ्चमी पर्छ । यसो हुँदा नारीहरुलाई लगातार दुई दिन भोकी बस्नुपर्ने हुन्छ । चौथी नटुटे उपवास बस्नेलाई पारण वा अराम वा विश्राम हुन्छ । अथवा तिजको व्रतोपवासपछि खान पाउँछन् पहाडिया खस-आर्य नारीहरूले ।
पूर्वी पाल्पाको मगर समुदायमा दुतिया(द्वितीया) उपास्ने परम्परा पनि छ । कर्णाली प्रादेशिक ठकुरी समुदायमा गौरा,गमरा वा दोबाटे चाड भनेर तीजपछिको अष्टमीलाई पार्वतीको जन्मोत्सवको रूपमा मान्छन् र अठवाली गीत गाउने नाच्ने गर्छन् । ऋषि पञ्चमीका बिहान दतिवन गरेर मृत्तिका स्नान गरेर जनै लाउने संस्कार जगाएर अरुन्धतीसहित सप्तर्षिहरुको पूजा गर्ने, कथा सुनेर हलो नलागेको अन्न खाने गर्न थालियो । रजस्वला भएको बेला छोएर अगति परी कुकुर्नी बनिन् भनिएकी जयश्री ब्राह्मणी र पत्नीको संगतले गोरु बनेका भनिने उनका पति सुमित्रलाई भोकै बाँधेर श्राद्ध गरेको प्रायश्चित स्वरूप गोरूले जोतेको खेतबारीको अन्न नखाने रूढि चलेको बुझिन्छ । तीजको व्रत कन्याले गर्न सक्ने भए पनि ऋषिपञ्चमीको व्रत पूजा भने विवाहित नारीले मात्र गर्ने परम्परा चल्दै आयो । यो व्रत रज बन्द भएको १२ वर्षपछि, हाल भने प्राय:पाँच वर्षपछि उद्यापन वा साङ्गेता गरेर छाड्ने भनिएकोछ ।
ऋषिपञ्चमीमा विवाहिता नारीहरूको उपनयन संस्कार पनि हुने गरेको छ । त्यसका लागि उनीहरुले सहश्र मूलको पानीले स्नान गर्छन् । उखुका पातको कन्धनी, केराको पातको धरो र कुशको जनै लगाएर संस्कार पुरा गर्छन् । यसबाट के बुझिन्छ भने पहिले नारीहरूको पनि उपनयन संस्कार हुन्थ्यो । त्यसै बेला कन्धनी, धरो र जनै लाइदिएर मन्त्र सुनाइन्थ्यो । तर पछि रजस्वलालाई निन्दा गर्न थालिएपछि महिनैपिच्छे जनै फेर्न झन्झटिलो र खर्चिलो भएपछि वर्षको एक दिन मात्र दस्तुर गर्नेमा सीमित राखियो । सधै दाँत घोट्दैनन् र चाक धुन्नन् भनेर त्यो दिन ३६५ दतिवन चपाउने र त्यतिनै पल्ट चाक धुनैपर्ने दस्तुर बनाइयो । यो स्वास्थ्यप्रति असचेत समुदायलाई सामाजिक दण्ड विधि बनाइएको होला जो कालान्तरमा रूढि बन्न पुग्यो । यसले बरु के देखाउँछ भने नारीको पनि उपनयन गर्नहुन्छ र बिहेसम्म पर्खनु पर्दैन । त्यतिखेर मन्त्र सुन्न सुनाउन हुन्छ ।
नेवार समुदायमा बेल विवाह गर्दा कन्याको शिरदेखि पाउसम्म हजार सरी धागो दान गर्ने र पहेँलो झोली सिलाएर भिक्षा दिने परम्परा छ । कन्या व्रतबन्धका अन्य परम्पराहरु पनि पाइन्छन् । घ्याप्चन भनिने धौलागिरीका खड्काक्षेत्रीले कानमा कुश राखी, जनैको रूपमा सिक्कामा धागो बेरी व्रतबन्ध संस्कार गर्छन् जसलाई 'सिन्काधागो' भनिन्छ(पन्त २०५३: ८) । हुम्लातिर ब्राह्मण कन्यालाई रजोवती नहुँदै ब्या गर्न सकिएन भने वैशाख १ गते बिसु सकरातीमा मन्तरेको धागो हात या तनामा बाँध्छन् र कात्तिक ६ गते विसर्जन गर्छन् । यसलाई 'हदेलो पखाल्ने' भन्छन्(पाण्डे २०५८: ९) ।
दमाईको व्रतबन्ध- जुम्ली दमाईहरु ९-११ वर्षका कुमारलाई पहेँलो झोली भिराएर, टिमुरको लौरो टेकाएर, ढटेलाको थर्रो वा चिम्टा र तामाको जलौटो वा आमखरासहित मण्डपबाट ढोकामा आमा र अन्य नारीहरुसँग अन्नको भिक्षा माग्न पठाउँछन् । बाबुसहित पुरुषहरुले पैसा दिन्छन् । देशान्तरी या द्वारीपाल गीत गाउँछन्(पाण्डे २०५८: ९) ।
तीज पर्वमा दुई दिन उपवास बस्नुपर्ने हुनाले दुइजको दिन रातीसम्म दर खाने खुवाउने प्रचलन रहिआएको छ । यो बेला माइती पक्षबाट आफ्ना चेलीहरु डाकेर मीठो दर खुवाउने व्यापक चलन छ । व्रतोपासना सनातन खस-आर्य नारीहरूले गरे पनि खानपान र नाचगानमा भने प्राय: सबै जातजातिले भाग लिन्छन् । श्रावण १ मा लुतो फालेर अनि साउने सङ्क्रान्ति मनाएर तीजगीत गाउन सुरु गरिन्छ । कृष्णाष्टमी, तीज पंचमी आदि दिनहरुमा तीजका डाँडामा, चौर-चौतारा वा चोकमा जम्मा भई तीज गीत गाउने, नाच्ने, पिङ खेल्ने आदि गरिन्छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको कृष्णको न्वारन तीजका दिन भएकाले यसलाई ठूलो तिज पनि भनिन्छ ।
कतिपय जातिहरुको तीज मनाउने तरिका केही फरक पनि पाइन्छ । थारु र कतिपय तराईका जातिहरुले असोज कृष्ण सोह्र श्राद्ध पक्षमा तीन दिन जितिया पावनि मनाउँछन् । जितियाको अर्थ उपवास हो जो तीज जस्तै हुन्छ । तीजलाई तिजिया वा डत्तख भनेको पाइन्छ । आइतबार दरखाने, सोमबार नदी-तलाउमा गएर स्नान गर्ने र सूर्यलाई प्राय: दूधको अर्घ दिने तथा जितिय उपास्ने गर्छन् । तीजमा झैँ विवाहित नारीले लोग्नेको दीर्घायुकोकामना गर्छन् । कन्याले गतिलो पति पाइयोस् भनी पूजा गर्छन् । तेस्रो दिन मंगलबार नाचगान गर्छन् । संयोगले दरखाने दुज, उपास्ने तीज र नाचगान गर्ने मङ्गल चौथी पनि पर्छ । कुशेऔँसीदेखि नै बिरहानी गीत गाउन आरम्भ गर्छन् । सानो तिज कृष्णजन्माष्टमीलाई कपिलवस्तुदेखि कञ्चनपुरसम्मका थारुहरुले अष्टिम्की भनेर मान्छन् । राजस्थानतिर तीजमाताको रथयात्रा निकाल्ने परम्परा छ ।
हाम्रो सामाजिक सांस्कृतिक जीवनमा तीजको कस्तो प्रभाव छ ?
१. तीजमा माइती पक्षका दाइभाइ चेलीबेटी डाक्न जाने पालो र तिहारमा घरपक्षका चेलीबेटी दाइभाइ डाक्न जाने पैचोको परम्परा रहिआएको छ । चेली अशक्त भए दाजुभाइ तिहारको टीका थाप्न उनैकहाँ पुग्छन् ।
२. टाढा माइती हुनेको, नोकरले झैं घर गरिखानेको वार्षिक छुट्टीको रूपमा हुन्छ यो चाड । यो सामाजिक विदाको अधिकारको विषय पनि हो । यसको सदुपयोग गैर खस-आर्य हिन्दुहरुले पनि गरेका छन् ।
३.भैंसी ब्याउने, तरकारी फल्ने, मकै पाक्ने, काँक्रा फल्ने रसिलो भरिलो चाड हो यो ।
४. तीजको दिन नारीहरुलाई हसिया छुन हुन्न, अघिपछि घाँस नकाटेका पुरुषहरुले पनि घाँस काट्नु पर्छ ।
५. दिदी-बहिनी आमा-छोरी नन्द-भाउजू भेट भएर उन्मुक्त रूपमा नाच्न, गाउन, मनको बह पोख्न र रमाइलो गर्न पाउँछन् ।
६.घरमा भैसी ब्याएका विष्टमानले नहुनेलाई दुध दिने, बालीघरेलाई दुधसहित घ्यू, चामल आदि दिने परम्परा छ ।
७.रूढि नै भएपनि व्रतालु नारीले पञ्चमीका दिन हलो नलागेको अन्न मात्र खान पाइने धारणा रहिआएको छ ।
८.नारीहरूले वार्षिक उपनयन संस्कार दिवसको रूपमा तीज र पंचमी मान्छन् र पुरुषले ऋषितर्पणी पूर्णिमाका दिन तर्पण दिन्छन्, नयाँ जनै फेर्ने गर्छन् ।
९. तीजका लागि सक्नेले घरमा नब्याए पनि लैनो भैसी किनेर ल्याई चेलीबेटीलाई दुध-गोरस ख्वाउनुपर्छ भन्ने धारणा पाइन्छ ।
१०.माइतका, घरका गुनासा गीतमार्फत पोख्न पाइने मेसो पर्छ । गीतमा सामाजिक जीवनको यथार्थ चित्रण हुन्छ ।
११. तीजमा नभ्याउनेले, पालो नपाउनेले सानो तीज भनेर जरष्टमी वा कृष्णाष्टमीका भोलिपल्ट कृष्ण रथयात्राका दिन चेलीबेटी डाकेर दर खुबाउने चलन चलेको छ । अहिले चेली मात्र हैन जमैचेलाहरू पनि पोसिन पाएका छन् ।
१२. माइती नहुने वा धेरै टाढा हुनेलाई छिमेकी वा अन्य आफन्तले दर खुवाउने, तिजको निराश मेटाइदिने गर्छन् ।
१३.अहिले संघसंस्थाहरुले पनि दर खुवाउने चलन बढ्दो छ । मिठो खान माइतै जानुपर्ने अवस्थामा परिवर्तन आएको छ ।
१४.भदौरे तामाको तरकारीले तीजको रौनक थप्छ भन्ने कुरा यस गीतले पनि बोल्छ: "तीजका खाजा मीठा भदौरे तामाले नरौ छोरी लिन आम्ला भन्थिन् आमाले, नरौ भान्जी लिन आम्ला भन्थे मामाले ।"
१५.संस्कृतिको संरक्षण कथ्य र गेय रूपमा हुँदै नारी सचेतीकरण र सशक्तीकरणको सबल माध्यम बनेको छ तीज ।
१६.पुराना भाका र भाषाको संरक्षण: "पानकी लौरी सुन पिया गुरती लालपी लौरीको चाल...।"
१७.पुरुषप्रधान समाजका उत्पीडनहरु नारी कण्ठबाट मुखरित: "दाइजो दिन पर्दैन दुनियालाई देखाउन, सक्छौ भने बाबाले छोरी पढाइ देऊ ।"
"तिम्रा बाबा निठुरेको तिम्लाई माया रैनच, नजाउन गृहेलछ्मी बाबा भेटन ।"
यतिविधि महत्त्वपूर्ण तीजका केही कमजोर पक्ष पनि रहेका छन्, जस्तै:
१. अत्यधिक चिल्लो पदार्थको प्रयोग, बसिखानेलाई अस्वस्थकर भोजनको रूपमा दर ।
२. तीज र ऋषि पञ्चमीमा लगातारजसो उपवास बस्ने कुरा मधुमेह र पेटका रोगीलाई समस्या हुने ।
३. गीतहरु पुराना संस्कृति र जीवनपद्धति झल्काउने खालका नभई उत्ताउला, जस्तै: "पोइल जान पाम् शिव पोइल जान पाम्, चोरी खान पल्केको ढाडे बिरालो,उखरमाउलो बैँस ढाक्ने चिजै भएन... " आदि ।