रुपन्देही । सफा र चौडा सडक ! सडकको दायाँबायाँ हरियाली र रंगिचङ्गी फूलहरु । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले जो सुकैको ध्यान तान्छ । रंगरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ ठाउंँमा आकासे पुल, ट्राफिक बत्ति र संकतेहरुले यो सडकको यात्रा गर्दा युरोप पुगेको झल्को दिन्छ । तर यो कुनै युरोपतिरको सडक होइन, तिलोत्तमाको सडक हो ।
बुटवल भैरहवा ब्यापारिक मार्गको सवैभन्दा लामो भाग तिलोत्तमा नगरपालिका क्षेत्र भित्र पर्छ । आफ्नो क्षेत्र भित्र पर्ने ६ लेन सडकको सरसफाइ र सुन्दरतारामा तिलोत्तमा नगरपालिकाले अग्रसरता लिएपछि यो सडक नेपालकै नमुना सडक बनेको छ । मुख्य सडक मात्रै होइन नियमित सरसफाइले तिलोत्तमाको मुहार नै बदलिएको छ ।
नेपालकै धनाड्य ब्यक्ति विनोद चौधरीले दुइ बर्ष अघि यो सडकको यात्रा गर्ने क्रममा ‘आफु बुटवल भैरहवा सडकमा यात्रा गरिरहेको तर युरोप पुगेको अनुभूति भएको’ भन्दै सामाजिक सञ्जालमार्फत भिडियो पोष्ट गरेपछि यो सडकको चर्चा चुलिएको हो । चौधरीले गरेको यो प्रशंसापछि तिलोत्तमा नगरपाालिकाका तत्कालिन नगरप्रमुख बासुदेव घिमिरेले सडकको सरसफाइ र हरियाली प्रबद्र्धनका लागि छुट्टै कार्यक्रम बनाएर लागु गर्नुभएको थियो । सोही कार्यक्रमलाई हालका नगर प्रमुख रामकृष्ण खाणले पनि थप परिस्कृत गर्दै निरन्तरता दिनुभएको छ ।

नगरभित्रका सडकमा सोलार बत्ती विस्थापित गरेर विजुली बत्ति राखिएको छ । लहरै राखिएका झलमल्ल बत्तीले रातीमा उज्यालो देखिन्छ । चोकचोकमा सार्वजनिक शौचालय राखिएको छ । शौचालय सफा छन् । नगर त्यत्तिकै चिटिक्क देखिएको होइन यसका लागि २०७४ सालबाट हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियान निरन्तर सञ्चालनमा छ भन्नुहुन्छ तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरी । “कोरोना महामारिको समयमा १।२ महिना यो अभियान सञ्चालनमा समस्या भने होइन भने निरन्तर सञ्चालनमा छ”, उहाँ भन्नुहुन्छ ।
अभियान अन्तर्गत् हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिको सहभागितामा नगरस्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको उपप्रमुख चौधरी बताउनुहुन्छ । वडा कार्यालय र टोल विकास संस्थाहरू समेतले नियमित सरसफाइ अभियानलाई निरन्तरता दिँदै आएका छन् । तिलोत्तमाका १७ वडामा १ सय ९९ टोल विकास संस्था छन् ।
नगरपालिकाले अघि सारेको हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइ अभियानलाई स्थानीयले पनि साथ दिएका छन् । जसले गर्दा नगरका भित्री सडक पनि सफा छन् । “मेयर उपमेयर नै सरसफाइ गर्दै हिँडेपछि सबैलाई निस्कन कर लाग्दो रैछ । अहिले अरु नगरपालिका भन्दा हाम्रो ठाउँ धेरै सफा भए भएको छ”, ड्राइभरटोलकी लक्ष्मी खनाल भन्नुहुन्छ ।
निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककै पहिलो पूर्ण सरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ ।
नगरपालिका, वडा कार्यालय र टोल विकास संस्थामार्फत् हुने सम्पूर्ण कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन नगरपालिकाले सबै नगरवासीमा आह्वान समेत गरेको छ । सप्ताहव्यापी कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउँदै आफ्नो घरआँगन, सडक, व्यावसायिक प्रतिष्ठान, कार्यालय, चोक, टोल, सार्वजनिक स्थानमा सघन सरसफाई गर्न सम्पूर्ण नगरवासीमा अनुरोध गरिएको छ ।
नगरपालिकाका हरियाली प्रवद्र्धन अधिकृत गोरखनाथ खनालका अनुसार हरियाली प्रवद्र्धन एवं नियमित सरसफाइका लागि हरेक वर्ष रु दुई करोड बजेट विनियोजन हने गरेको छ । नगरको नियमित सरसफाइका लागि ४४ जना सफाइकर्मी परिचालन गरिएको छ । प्रत्येक वडामा २।२ जनाका दरले कर्मचारी खटाइएको खनाल बताउनुहुन्छ ।
नगर सफाइमा ख्याती कमाएको तिलोत्तमाले त्यसलाई दीगो राख्न र नगरबासीको सोच परिवर्तन गराउन विभिन्न अभियान चलाउँदै आएको छ । २०७६ सालमा अभियानकै रूपमा शून्य खुला पोलिथिन अभियान चलाइएको थियो । यसले पनि नगरलाई चिटिक्क राख्न बल मिलेको स्थानीय अगुवा लोकनाथ ज्ञवाली बताउनुहुन्छ ।
नगर सफा र स्वच्छ राख्न नगरपालिकाले गतवर्षको चैतदेखि गुट्खाजन्य पदार्थको बिक्रीवितरणमा समेत प्रतिबन्ध लगाएको छ । यसको सेवनले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै नगरबासीको स्वास्थ्य, सहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखेर बिक्री वितरणमा प्रतिबन्ध लगाइएको पालिकाले जनाएको छ ।
नगरलाई अझै सफा र चिटिक्क बनाउन नगरपालिकाले ‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’को अभियान पनि चलाएको छ । विद्यालय स्तरमा समेत यो कार्यक्रम कार्यान्वयन गरिएको छ ।
फोहोर जथाभावी फाल्नु हुँदैन भन्ने कुरा विद्यालयमै सिकाइएको हो । तिलोत्तमा नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा ‘मेरो खल्तीः मेरो पहिलो डस्टबिन’ अर्थात् ‘माई पकेटः माई फर्स्ट डस्टबिन’ समावेश गरिएको छ । जसले गर्दा विद्यार्थीले पनि यत्रतत्र फोहर फाल्दैनन् । फाल्नै परे आफ्नै खल्तीम राख्ने र डस्विन भएको ठाउँमा फाल्ने बानीले विद्यालय तथा सार्वजनिक स्थान पनि सफा र चिटिक्क छन् ।
७५३ स्थानीय तहमध्ये तिलोत्तमा मुलककै पहिलो पूर्ण सरसफाईउन्मुख नगरपालिका हो । २०७६ चैत ३० गते तिलोत्तमालाई मुलुकको पहिलो पूर्ण सरसफाईउन्मुख र शून्य खुला पोलिथिन नगरपालिका घोषणा गरिएसँगै त्यसलाई दीगो बनाउन स्थानीय पाठ्यक्रममा ‘माई पकेटः माई फस्ट डस्टबिन’ समावेश गरिएको हो ।
