बुटवल । बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात फूलबारी पार्कमा यतिखेर शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरुको भीड लागेको छ । कार्तिक–मंसिर महिना शैक्षिक भ्रमणको लागि उपयुक्त याम मानिन्छ । विभिन्न ठाउँबाट बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने विद्यार्थी फूलबारी आउँछन् ।
केही उचाइमा रहेको मणिमुकुन्द उद्यानबाट बुटवल शहरसहित केही परको दृष्य अवलोकन गर्न सकिन्छ । उद्यानमा सानो चिडियाघर पनि छ । चिडियाघरले पनि शैक्षिक भ्रमणका विद्यार्थीहरुलाई आकर्षित गर्ने गरेको छ । दाङ, गोरखा, लम्जुङ, धादिङ लगायतका जिल्लाबाट भ्रमणमा आएका विद्यार्थीहरु फूलबारी पसेर निस्कने गरेका छन् ।
मणीमुकुन्द सेन उद्यानमा दैनिक २० देखि २५ वटा शैक्षिक भ्रमणका समुह आउने गरेको उद्यानले जनाएको छ । ‘शनिवारको दिन त अझ धेरै आउँछन् । ३०–३५ वटा भ्रमणको टोली हुन्छन्’–उद्यानका काउन्टर इन्चार्ज होम गुरुङले भने–‘तिहार लगत्तै भ्रमणका लागि विद्यार्थीहरु आउने गर्छन् ।’ मणिमुकुन्द सेन उद्यानमा रमणीय पार्क र चिडियाघरसँगै ऐतिहासिक स्थल पनि हो । यहाँ सेन राजाको शीतकालीन दरबारको भग्नावशेष पनि छ । तर धेरैजसो दरबारको भग्नावशेष नहेरी फर्किन्छन् ।
सुनसान जितगढी
मणिमुकुन्द सेन उद्यानबाट करिब २ सय मिटरको दुरीमा रहेको जितगढी किल्लाको पनि ठूलो ऐतिहासिक महत्व छ । कर्नेल उजिरसिंह थापा नेतृत्वको नेपाली सेनाले अंग्रेज फौजलाई परास्त गरेको जितगढी किल्ला पूर्व पश्चिम राजमार्ग सामुन्ने छ । राजमार्गमा ओहोरदोहोर गर्नेले हेरुन् भनेर अग्लो टावर बनाएर नेपालको झण्डा फहराइएको छ । तर, शैक्षिक भ्रमणमा आएका टोली फूलबारीमा भरिभराउ हुँदा जितगढी भने सुनसान छ ।
किल्लाका चारवटै प्रवेशद्वार प्राय बन्द रहने गर्छन् । अनौठो कुरा, प्रवेशद्वारहरुमा एउटा मोबाइल नम्बर टाँसिएको छ । जुन नम्बर जितगढी किल्लाको रेखदेख गर्ने सुरक्षा गार्डको हो । उनलाई फोन गरेपछि किल्ला प्रवेश गर्ने गेट खोल्ने रहेछन् । ‘छाडा बाख्रा वस्तुभाउ आउने भएकाले गेटहरु बन्द गरेको’–जितगढीको रेखदेख गर्न बसेका कुशराज गुरुङले भने–‘सबै गेटमा नम्बर राखेको छु । कोही पर्यटक आए भने दक्षिण तर्फको गेट खोलिदिन्छु ।’
जिगतढी अवलोकन गर्न आउनेलाई आफूले जानेका ऐतिहासिक कुरा पनि बताउने गरेको उनले बताए । अवलोकनका फाट्ट फुट्ट मानिसहरु आउने गरेको गुरुङले सुनाए । ‘दिनमा १०– १५ जना आउँछन्’–उनले भने । यो सिजनमा गोरखाको एउटा शैक्षिक भ्रमण टोलीबाहेक अरु टोली किल्ला हेर्न नआएको गुरुङले बताए ।
नेपाली फौजले अंग्रेजमाथि विजयी हासिल गरेको सम्झनामा केही वर्षयता वैशाख ७ गते जितगढीमा विजयोत्सव मनाउने थालिएको छ । गत वैशाख ७ गते बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विजयोत्सवमा प्रधानमन्त्री केपी शर्मा ओलीले जितगढी किल्लामा झण्डा फहराउनुको साथै कर्नेल उजिरसिंह थापाको शालिक अनावरण गरेका थिए । त्यसबेला किल्लामा पहिलो पटक भव्य कार्यक्रम भएको थियो । प्रधानमन्त्रीको उपस्थितिमा भएको विजयोत्सवले ओझेलमा रहेको जितगढीको प्रचार प्रसार, प्रर्वद्धन हुने र पर्यटक बढ्ने अपेक्षा गरिएको थियो । तर कार्यक्रमपछि पनि खासै पर्यटक नबढेको जितगढी नजिकका बासिन्दा जीवन अर्यालको भनाइ छ । ‘ठूलो कार्यक्रम भयो । अब घुम्न आउनेहरुको भीड हुन्छ भन्ने लागेको थियो’–उनले भने–‘त्यस्तो केही छैन । पहिले जति मान्छे आउँथे त्यत्ति हो ।’
तर जितगढी किल्लाको स्वरुप भने पहिले भन्दा फेरिएको छ । किल्लाक्षेत्र सरसफाइ, रंगरोगन गरिएको छ । उजिरसिंहको शालिक र अग्लो टावर अनि त्यसमाथि राष्ट्रिय झण्डाले जितगढी परिसरलाई सुन्दर र आकर्षक बनाएको छ ।
शैक्षिक भ्रमण टोलीलाई आकर्षित गरौं
बुटवलको मुख्य बजारबाट तिनाउ पारी राजमार्गको छेउमै छ जितगढी किल्ला । पहिले केही छेकीएको भएपनि त्यहाँ रहेको वडा कार्यालय र कभर्डहल भत्काएपछि अहिले खुल्ला भएको छ । इतिहासका अध्येता निर्मल श्रेष्ठले जितगढीको प्रचार–प्रसार तथा पर्यटकलाई आकर्षित गर्न स्थानिय तह र प्रदेश सरकार लाग्नुपर्ने बताए ।
‘जितगढीको सम्बन्धमा अन्तरक्रियाहरु बढाउनुपर्यो । विद्यालयका पाठ्यपुस्तकहरुमा पनि यी कुराहरु राख्नुपर्छ–उनले भने–पहिले युवा विद्यार्थीहरुलाई जितगढीबारे चिनाउनुपर्छ । सुरुमा जिल्लाभित्रकै विद्यालयका विद्यार्थीलाई ल्याएर अवलोकन गराउने त्यसपछि बाहिरबाट शैक्षिक भ्रमणमा आएकालाई पनि जितगढी लैजाने वातावरण बनाउनु पर्छ ।’
पर्यटन व्यवसायी तथा नेपाल भ्रमण वर्ष २०२० को प्रदेश ५ का सह–संयोजक माधव नेपालले फूलबारी आएका विद्यार्थीलाई अवलोकन गराउन सके जितगढीको राम्रो प्रवद्र्धन हुने बताए ।
‘फूलबारी आएका शैक्षिक भ्रमण टोली मध्ये आधालाई जितगढी ल्याउन सके पनि राम्रो प्रचारप्रसार हुन्थ्यो–उनले भने–त्यसको लागि फूलबारीमा गाइडको व्यवस्था गरेर शैक्षिक भ्रमणमा आएकालाई जितगढी ल्याउन सकिन्छ । अब पहल गर्न आवश्यक छ ।’
इतिहासमा चर्चा भएजस्तो जितगढी देखी फूलबारीसम्म सुरुङमार्ग बनाउन सके यस क्षेत्रको पर्यटकीय प्रचार प्रसार हुने पर्यटन व्यवसायी नेपालले बताए ।
मणिमुकुन्द सेन उद्यानका अध्यक्ष खेम लुइटेलले जितगढी जस्तो ऐतिहासिक स्थानको बढी भन्दा बढी प्रचार हुन आवश्यक रहेको बताए । जितगढीको पनि विकासका लागि सहकार्य गर्न आफूहरु तयार रहेको उल्लेख गरे । ‘एक खालको कार्यक्रम बनाएर शैक्षिक भ्रमणमा आउने विद्यार्थीलाई जितगढीमा आकर्षित गर्न हामी सहयोग गर्न तयार छौ–उनले भने–यसको लागि उपमहानगर लगायत सम्बन्धित सबै पक्ष लाग्नुपर्छ ।’
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जितगढीमा संरचना निर्माणकै क्रममा रहेको बताउँदै भविष्यमा अवलोकनकर्ता वृद्धि हुने दाबी गरे । ‘केही कामहरु भइसकेको छ । अब त्यहाँ आकर्षक गेट बनाउँछौं, फूलबारी सहित व्यवस्थापन गर्दैछौ । प्रमाणित सहिदहरुको अर्धकदको शालिक पनि राख्छौं’–उनले भने–‘त्यसपछि हेर्न लायक हुन्छ, अनि टिकेटिङको प्रक्रियामा लैजान्छौं ।’ तत्कालको लागि अवलोकनकर्ता बढाउने कार्यक्रम पनि ल्याउने सुवेदीले बताए । उनले विद्यार्थीहरुलाई आकर्षित गर्ने कार्यक्रम ल्याउने पनि जानकारी दिए ।
जितगढी २ सय वर्ष अघि अंग्रेजसँगको लडाइमा नेपाली सेनाले विजयी हासिल गरेको ठाउँ हो । कर्णेल उजीरसिंह थापाको नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि वि.सं. १८७२ मा विजयी हासिल गरेको थियो ।
यो पनि