रुपन्देही–प्रदेश नं ५ मा यो वर्ष ४७ दशमलब ०५ प्रतिशत रोपाइँ गरिएको छ । कृषि विकास निर्देशनालयकाअनुसार समयमै वर्षा भएका कारण यो वर्ष प्रदेशका सबै जिल्लामा धमाधम रोपाइँ भइरहेको छ ।
यो वर्ष सबैभन्दा धेरै नवलपरासीमा ८४ दशमलब ०६ प्रतिशत र सबैभन्दा कम गुल्मीमा १९ दशमलब ६१ प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनलायका सहायक सूचना अधिकृत अनिलकुमार कानु बनियाले जानकारी दिए ।
असार १५ सम्म रुपन्देहीमा ५६ दशमलब २९ प्रतिशत, पाल्पामा २१ दशमलब ९ प्रतिशत, अर्घाखाँचीमा २७ दशमलब ९२ प्रतिशत, कपिलवस्तुमा ४० प्रतिशत, दाङमा २६ दल ७६ प्रतिशत रोपाइँ भएको छ ।
यसैगरी बाँकेमा ३७ दशमलब ९६ प्रतिशत, बर्दियामा ५४ दशमलब ८२ प्रतिशत, रुकुम (पूर्व)मा ७३ दशमलब ०५ प्रतिशत, प्युठानमा ९६ दशमलब १३ प्रतिशत र रोल्पा ५८ दशमलब ६३ प्रतिशत रोपाइँ सकिएको सहायक सूचना अधिकृत बनियाले बताए ।
प्रदेशमा गतवर्ष तीन लाख एक हजार दुई सय ८० हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा १२ लाख ५३ हजार ८९ मेट्रिक टन उत्पादन भएको थियो ।
प्रदेश सरकारले धान उत्पादन वृद्धि गर्न विभिन्न जिल्लालाई धान सुपर जोनका रुपमा घोषणा घोषणा गरी कार्यक्रम लागू गरेको छ ।
तिलोत्तमामा रोपाइँ महोत्सव
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आज १७ औं राष्ट्रिय धान दिवस एवम रोपाइँ महोत्सव मनाएको छ ।
वडा नं. ६ स्थित नगरपालिकाको नवनिर्मित भवन परिसरको खेतमा धान दिवस मनाइएको हो । दिवसको अवसरमा नगरपालिकाको आफ्नै झण्डै चार विगाहा खेतमा धान रोपाइँ गरिएको संयोजक एवं वडा नं. ६ का वडाध्यक्ष सुखदेव न्यौपानेले जानकारी दिए ।
रोपाइँ महोत्सवमा नगर प्रमुख वासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरीलगायतका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, अगुवा किसान लगायतको सहभागिता थियो ।
रोपाइँको लागि वडागत रुपमा प्लट विभाजन गरिएकोमा जनप्रतिनिधिहरु बिहानैं खेतमा जुटेर उत्साहित रुपमा धान रोपाइँमा सहभागी भएका थिए ।
‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्यदिन तिलोत्तमाका जनप्रतिनिधिहरु धान रोपाइँमा जुटेका हुन् । नगरपालिकाले धानको सम्पूर्ण व्यवस्थापन आफै गर्नेगरी रोपाइँ गरेको हो । यसअघि सो खेतमा मकैं तथा गहुँ खेती गरिएको थियो । कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई बढी प्राथमिकता दिएको उल्लेख गर्दै कृषिमा व्यवसायिकता हुनुपर्नेमा जोड दिए ।
निर्वाहमुखी कृषिले किसानको जीवनस्तर उठ्न नसक्ने चर्चा गर्दै उनले तिलोत्तमाले किसानलाई प्रोत्साहन गर्न विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको बताए । वडाध्यक्ष सुखदेव न्यौपानेले रोपाइँमा सहयोग पुर्याउने क्लव, कुलापानी समितिलगायत सबैप्रति आभार व्यक्त गरे ।
यसैबीच तिलोत्तमामा कयौं वर्षदेखि बाँझो रहेका जमिनमा यस वर्ष धान रोपाइँ भएको छ । नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेपछि बाँझो रहने जग्गामा रोपाइँ भएको हो ।
कुल खेतीयोग्य जमिन ८ हजार ४४९ हेक्टरमध्ये ८४५ हेक्टर जग्गा बाँझो रहने गरेकोमा अहिले त्यसको झण्डै ६० प्रतिशतमा रोपाइँ भएको कृषि शाखाको तथ्यांक छ । यस वर्ष जेठ दोस्रो साताबाटैं तिलोत्तमामा रोपाइँ सुरु भएकोमा असार दोस्रो सातासम्म झण्डै ९० प्रतिशत खेतमा रोपाइँ सकिएको छ ।
लकडाउनको कारण नगरबासीहरु फुर्सदिला रहँदा धान रोपाइँ विगतका वर्षमा भन्दा यो वर्ष छिटो सकिने कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए । नगरपालिकाले कोरोना महामारीले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावसँग जुध्न खेतीयोग्य जमिन बाँझो नराख्ने निर्णय गरेको हो ।