बाँके-बाँकेको बैजनाथ गाउँपालिकाकोे नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण प्रक्रिया शुरु भएको छ।
औद्योगिक क्षेत्रको वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएसँगै निर्माणको काम शुरु भएको नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिए।
उहाँले औद्योगिक क्षेत्र स्थापना प्रक्रिया चालेको तीन वर्षपछि गत हप्तामात्र वन तथा वातावरण मन्त्रालयले इआइए स्वीकृत गरेको बताए। इआए स्वीकृत नहुँदा काम अगाडि बढ्न सकेको थिएन। करिब ३३८ बिघा क्षेत्रफलमा स्थापना हुने औद्योगिक क्षेत्रमा नेपाल सरकारको योजनाअनुसार प्रत्यक्ष रोजगारको अवस्था सिर्जना हुने करिब २०० बढी ठूला र मझौला उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ। यद्यपि त्यहाँ बसोवास गर्ने सुकुम्वासीलाई जग्गा दिँदा औद्योगिक क्षेत्रको क्षेत्रफल घटेको छ।
पूर्वाधार निर्माणकोे लागि नभइ नहुने काम सम्पन्न भएपछि नौवस्था औद्योगिक क्षेत्र निर्माणको काम शुरु हुने अपेक्षा गरिएको बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताए। उनले औद्योगिक क्षेत्र निर्माणको लागि गाउँपालिकाबाट आवश्यक सहयोग र समन्वय गरिरहेको जानकारी दिए। उनले औद्योगिक क्षेत्र निर्माण गर्ने क्रममा हटाईएका सुकुम्वासीलाई उचित व्यवस्थापनको लागि पनि गाउँपालिकाबाट पहल गरिएको जानकारी दिए।
बाँकेको नौवस्तामा ठूलो क्षमताको औद्योगिक क्षेत्र स्थापना भएपछि नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योग आवश्यकताअनुसार त्यहाँ स्थानान्तरण गर्न सकिन्छ। नौवस्तामा औद्योगिक क्षेत्र स्थापना भयो भने यसले प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइ वस्तु उत्पादनमा मुलुक केही हदसम्म आत्मनिर्भर हुने नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए।
नौवस्ता औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न चाहने यस क्षेत्रका उद्योगीसँग नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयले आशयपत्र माग गरेकोमा २०० बढी आशयपत्र प्राप्त भइसकेको छ।
अहिले नेपालगञ्ज बजारको मध्यभागमा सञ्चालनमा रहेको नेपालगञ्ज औद्योगिक क्षेत्रका कारण प्रतिकूल वातावरणीय प्रभाव परेका कारण पनि शहर बाहिर औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने बाध्यतात्मक परिस्थिति सिर्जना भएको हो।
नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेको उद्योगबाट निस्कने धुवाँ र मेसिनको चर्को आवाजका कारण औद्योगिक क्षेत्र सार्नुपर्ने माग वर्षौंदेखि उठ्दै आएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य श्रेष्ठको भनाइ छ ।
प्रदेश– ५ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले प्रदेश सरकारले रुपन्देही र बाँकेमा गरी चार औद्योगिक क्षेत्र निर्माण तथा स्तरोन्नति गर्ने कार्यमा अग्रसर भएको बताए।
“चालु अवस्थामा रहेका बुटवल औद्योगिक क्षेत्र र नेपालगञ्ज औद्योगिक क्षेत्रको स्तरोन्नति गर्ने र निर्माणाधीन अवस्थामा रहेका बाँकेको नौवस्ता र रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ-उनले भने-केन्द्रीय सरकारको उद्योग मन्त्रालयले प्रदेश सरकारलाई हस्तान्तरण गरिनसकेकाले काममा ढिलाइ भएको छ।”
प्रदेश नं. ५ मा रहेका चारवटै औद्योगिक क्षेत्र प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रस्ताव केन्द्रीय सरकार समक्ष पेश गरिएको उनको भनाइ छ। मन्त्री गिरीले वातावरणमैत्री उद्योगलाई प्राथमिकता दिइने भन्दै यसबाट २० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाउने अनुमान गरिएको बताए।
नेपाल सरकारले २०७२ चैत १ गते बाँकेको नौवस्तामा प्रदेश स्तरको ठूलो औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेको थियो। औद्योगिक क्षेत्र निर्माण गर्न बैजनाथ गाउँपालिकाको नौवस्तामा ३ सय ३८ विघा जग्गा अधिग्रहण गरी सरकारले २०७३ जेठ २७ गते जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराएको थियो।
आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको औद्योगिक क्षेत्रका लागि कूल रु आठ अर्ब सात करोड खर्च हुने अनुमान गरिएको छ। औद्योगिक क्षेत्रभित्र पेन्ट्स, खाद्य, प्लास्टिक, केबल, स्टिल, साबुन, पाइप, काठ, पानी लगायतका उद्योग स्थापना हुनेछ।
औद्योगिक क्षेत्र र मानव बस्तीबीचको करिब ३० मिटर क्षेत्रमा वृक्षरोपण गर्नका लागि बफरजोन छुट्याइएको छ। औद्योगिक क्षेत्रभित्रै एकीकृत भन्सार चेक पोस्टको पनि व्यवस्था गरिने जनाइएको छ। -भेषराज बस्नेत