काठमाडौँ -सरकारले बाढीपहिरोका कारण अवरुद्ध पुल सञ्चालनमा ल्याउने तयारी गरेको छ। सडक विभागले पुरिएका सडक र पुलमा रहेका अवरोध हटाउने तथा पुल नै बगाएका स्थानमा बेलिब्रिज राखेर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ।
असार र साउन महिनाको नियमित वर्षाका कारण देशभरका चार रणनीतिक सडकमा पुल अवरुद्ध भएका थिए। वर्षाका कारण बेनी–जोमसोम–कोरोला सडकको एउटा पुल बग्दा त्यहाँ बेलिब्रिज राख्ने काम भइरहेको छ। पुल बग्दा सो सडक लामो समयसम्म अवरुद्ध रहेको थियो। सडकमा रहेको अवरोध हटाउँदा पनि पुल नबन्दा सडक पूर्णरुपमा सञ्चालनमा आउन नसकेको हो।
असार २५ देखि अवरुद्ध रहेको अरनिको राजमार्गको एउटा सडक पुलमा रहेको अवरोध हटाउने काम भइरहेको विभागका पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताए। अरनिको राजमार्गको झ्यालेको पुल बगाएको र खग्दोल खोलामा पहिरो आएर क्षति भएको डिभिजन सडक कार्यालय चरिकोटले जनाएको छ। उनले भने-'हामीले सकेसम्म चाँडो पुलमा रहेको अवरोध हटाएर सुचारु गरिरहेका छौँ।'
पृथ्वी राजमार्गअन्तर्गत मौवा खोलामा माथिबाट आएको पहिरोका कारण सडक झण्डै एक सातासम्म अवरुद्ध थियो। अहिले त्यहाँस्थित डिभिजन सडक कार्यालयले पुल सञ्चालनमा ल्याइसकेको छ। त्यस्तै, साँफेबगर–मार्तडी सडक पनि पहिरोका कारण अवरुद्ध रहेकामा उपकरण लगेर हटाइरहेको उनले बताए। पहिरो हटाएको स्थानमा वर्षा रोकिनासाथ एकातर्फी रुपमा सडक खुलाइएको सडक सम्भार महाशाखा प्रमुख भीमार्जुन अधिकारीले बताए। उनले भने-'सडककै कारण आवतजावत रोकिएका स्थानमा हामीले पहिले एकातर्फी खुलाएर विस्तारै अर्कोतर्फ खुलाएका पनि छौँ।'