रुपन्देही । रुपन्देहीमा घरेलु तथा साना उद्योग खुल्ने क्रम बढ्दो छ । कोरोना महामारि सकिएपछि अर्थतन्त्र पुनः लयमा फर्किन लागेका कारण धमाधम घरेलु तथा साना उद्योग खुल्ने क्रम बढको हो । उद्योग दर्ता गर्नेहरु बढेपनि नवीकरण गर्नेको सङ्ख्या भने कम छ ।
घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको तथ्याङ अनुसार रुपन्देहीमा अहिलेसम्म १६ हजार आठ सय ३२ उद्योग दर्ता भएका छन् । दर्ता भएकामध्ये दुई सय ९५ उद्योग मात्रै नवीकरण भएका छन् ।
पछिल्लो तीनबर्षमा रुपन्देहीमा घरेलु तथा साना उद्योग क्रम निरन्तर बढ्दो क्रममा रहेपनि नवीकरण गर्नेको संख्या भने निकै कम देखिएकोे कार्यालयका उद्योग अधिकृत तथा सुचना अधिकारी नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयको पछिल्लो ५ वर्षको तथ्यांक अनुसार ०७४। ७५ मा एक हजार २८ उद्योग दर्ता भएका छन् । त्यस्तै ०७५।७६ मा एक हजार तीन सय ९१ उद्योग दर्ता भएका छन् । ०७६÷०७७ मा एक हजार १ सय ४१ उद्योग दर्ता भएका छन् । जसमध्ये घरेलु उद्योगतर्फ ३ वटा उद्योग दर्ता भएका छन् भने साना उद्योगतर्फ १ हजार १ सय ३८ उद्योग दर्ता भएका छन् ।
त्यसैगरी ०७६÷०७७ भन्दा ०७७÷०७८ मा उद्योग खुल्ने क्रम बढ्दो छ । आर्थिक बर्ष ०७७÷०७८ मा एक हजार ४६० उद्योग दर्ता भएका छन् । यो सङ्ख्या ०७६÷७७ भन्दा ३ सय १९ ले बढी हो । एक हजार ४५९ साना उद्योग दर्ता हँुदा एउटा मात्र घरेलु उद्योग खुलेको छ ।
०७८÷०७९ मा एक हजार ६२८ उद्योग खुलेका छन् । यो सङ्ख्या ०७७÷०७८ भन्दा एक सय ६८ ले बढी हो ।
कार्यालयले आठ वर्गीकरणमा घरेलु तथा साना उद्योग दर्ता गर्ने गरेको छ । जसमा उत्पादन मुलक, सेवा मुलक, पर्यटन, उर्जा मुलक, कृषि तथा बनजन्य, सुचना प्रसारण तथा संचार प्रविधि, खनिज, पुर्वाधारहरु रहेका छन् । यसमध्ये सबैभन्दा बढी उत्पादक मुलक उद्योग दर्ता भएको कार्यालयका उद्योग अधिकृत तथा सुचना अधिकारी भुसालले बताउनुभयो ।
घरेलु कार्यालय रुपन्देहीमा हालसम्म दर्ता भएका सात हजार एक सय ५२ वटा उत्पादनमूलक उद्योगमध्ये एक सय ८० उद्योग नवीकरण भएका छन् ।
त्यसैगरी चार हजार दुई सय ९५सेवा मुलक उद्योग दर्ता भएकामा ५८ उद्योग नवीकरण भएका छन् ।
दुई हजार चार सय २२ पर्यटन उद्योग दर्ता भएकामा ३६ उद्योगले मात्रै नवीकरण गराएका छन् । कृषि तथा वनजन्य उद्योग दुई हजार नौ सय ६२ दर्ता हुँदा २१ मात्रै नवीकरण भएका छन् ।
सुचना प्रसारण तथा सञ्चार प्रविधि सम्बन्धी एउटा मात्रै उद्योग दर्ता भएको छ भने पूर्वाधार सम्बन्धी एउटा पनि उद्योग दर्ता भएको छैन । “कार्यालयले समयमा नवीकरणका लागि विभिन्न सञ्चार संस्थाबाट सूचना प्रवाह गर्दै आएका छौँ । बैंकबाट ऋण लगानी गरेका उद्योगीले समयमै गर्नुहुन्छ, नवीकरण नगरेको खण्डमा जरिवानाको समेत व्यवस्था छ”,सुचना अधिकारी भुसाल चन्नुहुन्छ ।
समयमा नवीकरण नगरेका उद्योगीलाई प्रत्येक नवीकरणका लागि लाग्ने अवधिको तेब्बर दस्तुर, प्रत्येक वर्ष २० लाख सम्मको उद्योगलाई रु२५ सय जरिवाना र त्यहाँभन्दा माथि रु ५ हजार सम्म जरिवानाको व्यवस्था छ ।
कार्यालयमा रु पाँच लाखदेखि १५ करोडसम्मका उद्योग दर्ता हुँदै आएका छन् । पछिल्लो समय कोरोना महामारिको प्रभाव हराएपछि उद्योग खुल्नेक्रम बढेको बताउनुहुन्छ प्रमुख उद्योग अधिकृत रामप्रसाद ज्ञवाली ।
सानो पुँजी तथा कम जनश्रक्तिबाट पनि उद्योग सञ्चालन गर्न सकिने भएकाले साना तथा घरेलु उद्योगहरुमा आकर्षण बढेको उहाँको भनाइ छ । “उद्योग दर्ता हुने क्रम बढेको छ तर, अहिले दर्तापछि सञ्चालनमा समस्या भएको केही उद्योगीबाट गुनासो आउने गरेको छ”, उहाँ भन्नुहुन्छ ।
सरकारले घरेलु तथा साना उद्योगहरु सञ्चालनका लागि बेला बेलामा आवश्यक सहयोग समेत प्रदान गर्दै आएकाले साना उद्योगहरुमा लगानी आर्कर्षित बन्दै गएको उहाँको भनाइ छ ।
सरकारले उद्योगमा दिएको छुट र अनुदानका कारण पनि उद्योगमा लगानी गर्नेको आकर्षण बढेको हो । तर, कोरोना महामारिपछि उद्योगमा आर्थिक मन्दी छाएको उद्योगीका संघ संस्ताहरु बताउँछन् ।
“कोरोना महामारिपछि बजारमा आर्थिक चलायमान कमजोर छ । जसले गर्दा उद्योग नै बन्द भएका कारण पनि नवीकरण भएका छ्रैनन्”, रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल भन्नुुहुन्छ । आर्थिक मन्दिका कारण पनि पछिल्लो समय उद्योग नवीकरण हुन नसकेको उहाँको भनाइ छ ।