बुटवल– विकासको तीब्र गति समातेको जिल्ला हो–रुपन्देही । यो जिल्लामा अहिले ठूला ठूला विकासे आयोजनाहरु सञ्चालन भइरहेका छन् । रुपन्देहीले विकासको एउटा चरण पार गर्न अरु २ वर्ष लाग्छ । सन् २०२० को शुरुवात सम्ममा रुपन्देहीले विकासपछिको नयाँ रुप लिने छ । यहाँ विकासको तीब्र गति लिएको रुपन्देही जिल्लाको विकासे नालीबेली खोतल्ने प्रयास गरिएको छ ।
ऐतिहासिक पृष्ठभूमि
यो बुद्धको जन्मभूमि हो । बुद्धको जन्म यही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको लुम्बिनी बगैचामा भएको थियो । बुद्धको मावली गाउँ देवदह, नरमानव रामापिथेकसको अवशेष रहेको बुटवल, अंगे्रजसँग भएको युद्धमा जित हासिल गरेको उजिरसिंह जितगढी किल्ला तथा राजा मुकुन्दसेनको शीतकालिन दरबारजस्ता ऐतिहासिक महत्वका स्थानहरु पनि रुपन्देहीमा पर्दछन् ।
रुपन्देही जातीय हिसाबले पनि विविधताले भरिएको जिल्ला हो । यहाँ मधेश र पहाडको मिश्रित जनजीवन देख्न पाइन्छ । उत्तरी भागमा पहाडिया समुदायको बाहुल्य र दक्षिणी भेगमा मधेशी समुदायको बाहुल्य छ ।
मुल भाषा नेपाली भएपनि यहाँको सबैभन्दा बढी बोलिने भाषा अवधि हो, जुन ६१ प्रतिशतले बोल्छन् । नेपाली २४ प्रतिशत, थारु ९ प्रतिशत र बाँकी ६ प्रतिशतले अन्य भाषा बोल्छन् ।
भूबनोट
पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा र दक्षिणमा भारतको उत्तर प्रदेश पर्ने यो जिल्ला १३६० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ ।
भौगोलिक हिसाबले समुद्र सतहबाट १०० मिटर देखि १२२९ मिटरको उचाईमा रहेको रुपन्देहीलाई चुरे क्षेत्र, भावर क्षेत्र र तराई/मधेस गरी ३ भागमा बाँडिएको छ । राजनैतिक रुपले यो जिल्लालाई ५ निर्वाचन क्षेत्र, १ उपमहानगरपालिका ५ नगरपालिका र १० गाउँपालिकामा विभाजन गरिएको छ ।
जनसंख्या
२०६८ को जनगणनाअनुसार १ लाख ६३ हजार ९ सय १६ घरधुरी रहेको यस जिल्लाको जनसंख्या ८ लाख ८० हजार १ सय ९६ रहेको छ । जसमध्ये ४ लाख ४८ हजार ३ जना महिला र ४ लाख ३२ हजार १ सय ९३ पुरुष छन् ।
नामाकरण
यो जिल्लाको नामाकरण महामानव गौतम बुद्धसँग जोडिएको छ । बुद्धका बाबु राजा शुद्धोधनको रानी रुपादेवी कोलिय राज्यकी राजकुमारी थिइन् । उनीहरुको विवाहपश्चात् शाक्यहरु र कोलियहरुको आवतजावत गर्दा विश्रामस्थलको रुपमा रहेको बगैचाको नाम यिनै रानीको नामबाट रुपादेवी राखियो । कालान्तरमा अपभ्रम्स हुदै रुम्मिनी देई, रुमिनी देई हुँदै लुम्बिनी र यसैबाट रुपन्देही जिल्लाको नाम रहेको विश्वास छ । यसरी बनेको लुम्बिनी गाँउ आज पनि दक्षिण पश्चिम रुपन्देहीमा अवस्थित छ । जहाँ अहिले मायादेवी मन्दिर, पुष्करिणी कुण्ड र बगैचा रहेको छ ।
विकासमा मुलुककै नमूना जिल्ला बन्दैछ रुपन्देही
भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको निर्माण पूरा भएर लुम्बिनीमा विदेशी पर्यटकको ओइरो लाग्न थालेपछि रुपन्देहीले आर्थिक रुपमा निकै फड्को मार्नेछ ।
सरकारको योजनाअनुसार रुपन्देहीले केही वर्षमै विकासमा मुलुककै नमूना जिल्लाको रुप लिने छ । जसका लागि अहिले रुपन्देहीमा पूर्वाधार विकासका ठूला–ठूला परियोजनाहरु सञ्चालनमा छन् । अधिकांश परियोजनाहरु सन् २०२० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
रुपन्देहीका सडक, विमानस्थल, सम्मेलन केन्द्र, पर्यटन पूर्वाधार र पर्यटन योजनाहरु समेत सन् २०१९ भित्रै पूरा गर्ने लक्ष्य राखेर काम भइरहेको छ ।
बुटवल–भैरहवा ६ लेन सडक निर्माण भइसकेको छ । यसको सुन्दरताको काम बाँकी छ । यस्ता परियोजनाहरुले रुपन्देहीको आर्थिक विकासका साथै पर्यटन विकासका लागि ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
अर्थसम्बन्धी जानकार डा. आरसी आचार्य भन्छन्–‘पर्यटनको विकास मात्रै गर्ने हो भने पनि रुपन्देही प्रदेश नम्बर ५ को मात्रै नभएर मुलुककै अग्रणी जिल्ला बन्नसक्छ ।’
निर्यातजन्य उद्योग स्थापनार्थ भैरहवामा खोलिएको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएर उद्योग सञ्चालन भइसकेका छन् । केही स्थापनाकै क्रममा छन् । सेजमा रहेका उद्योगको उत्पादन निर्यात गर्न थालेपछि यसले मुलुकको अर्थतन्त्रमा समेत टेवा पु¥याउनेछ । त्यसपछि बेलहिया नाका नेपालकै निर्यात गर्ने भन्सार नाकाका रुपमा पनि स्थापित हुनेछ ।
भैरहवामा निर्माण हुदै गरेको गौतमबुद्ध विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधा भार थेग्नेछ । यसो भन्नुको अर्थ हो, आर्थिक कारोबारको हिस्सा पनि काठमाडौंबाट भैरहवामा सर्नेछ । चीन, श्रीलंका, म्यानमार लगायतका बुद्धिष्ट मुलुकहरुबाट लुम्बिनी घुम्न आउने पर्यटकहरु सिधै भैरहवामा झर्नेछन् ।
वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका पश्चिम नेपालका नेपालीहरु भैरहवा हुदै गन्तव्यमा पुग्नेछन् । यसले रुपन्देहीलाई आर्थिक राजधानीको रुपमा विकास गर्नेछ ।
अर्का अर्थसम्बन्धी जानकार डा. बाबुराम ज्ञवाली भन्छन्–‘रुपन्देहीले त्यसपछि काठमाडौंलाई टक्कर दिनेछ, यो मुलुककै बीचभागमा रहेको आर्थिक शहरको रुपमा विकास हुनेछ र देशको अर्थतन्त्रमा प्रमुख हिस्सेदार हुनेछ ।’
त्रिभुवन विमानस्थलको विकल्प– गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
एसियाली विकास बैंकको सहयोगमा भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल २०१९ सम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सन् २०१९ मा सम्पन्न गरि सन् २०२० को देखि सञ्चालनमा ल्याउने सरकारी योजना छ । अन्तरराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीलाई केन्द्रमा राखेर निर्माण गरिने यो विमानस्थल सम्पन्न भएपछि ठूला अन्तरराष्ट्रिय विमानहरु सिधै भैरहवा अवतरण गर्नेछन् ।
विमानस्थलका मुख्य संरचना तयार भएका छन् । प्राविधिक उपकरण जडान र टर्मिनल भवनको अन्तिम चरणको काम चलिरहेको छ । ‘भौतिक पूर्वाधार निर्माण (सिभिल) तर्फका मुख्य संरचना तयार भइसकेका छन्,’ विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘मौसमलले साथ दिएमा आगामी डिसेम्बरसम्ममा विमानस्थल सञ्चालनका लागि योग्य बनाउँछौं ।’

यसो हुँदा वार्षिक १० लाख विदेशी पर्यटक त्यस्ता विमानबाट सिधै लुम्बिनी आएर अन्य बुद्धिष्ट मुलुकको भ्रमणमा निस्किने सम्भावना रहेको सरकारी अधिकारीहरुको विश्लेषण छ । यो विमानस्थल सम्पन्न भएपछि त्रिभुवन विमानस्थलको विकल्पको रुपमा प्रयोग हुनेछ ।
मुहार बदल्न सक्ने लुम्बिनी
इसाईको भ्याटिकन सिटी, मुस्लिमको मक्का मदिना, हिन्दुहरूका लागि चारधाम पवित्रस्थल भएजस्तै बौद्धमार्गीका लागि बुद्ध जन्मस्थल लुम्बिनीप्रति अगाध श्रद्धा र आस्था छ । बौद्धमार्गीका लागि लुम्बिनी पवित्र स्थल भएपनि पूर्वाधार अभावका कारण आउन नसकेका पर्यटक विस्तारै बढ्दै गएका छन् ।
मायादेवी मन्दिरको पुनःनिर्माण हुनुभन्दा लुम्बिनीमा नगन्य पर्यटक आउने लुम्बिनीमा पर्यटकको संख्या बर्षेनी बढिरहेको छ । लुम्बिनीमा वार्षिक १० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाएपछि त्यसको नतिजा देखिन थालेको छ । प्रदेश ५ सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा लुम्बिनी र बुद्धस्थलहरु तिलौराकोट, रामग्राम, देवदह, कुदान, गोटिहवा, निग्लिहवालगायतका स्थलहरुमा पनि पर्यटकको संख्या बढ्दो छ । लुम्बिनी भ्रमण वर्षले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने र लुम्बिनीलाई घुम्नैपर्ने ठाउँका रुपमा स्थापित गर्ने प्रदेश ५ का पर्यटनमन्त्री लिला गिरी बताउँछन् ।
लुम्बिनी विकास गुरुयोजनाको काम सकिदै गर्दा पर्यटकको रोजाईमा लुम्बिनी पर्न थालेको छ । जसले लुम्बिनी विकास कोषलाई गुरुयोजना छिटो सक्न दबाब परेको छ । गुरुयोजना पूरा गर्न ६ अर्ब जति रुपैयाँ लाग्ने अनुमान छ । लुम्बिनी गुरुयोजना छिटै पूरा गर्नका लागि प्रधानमन्त्री केपी ओलीले समेत विशेष चासो देखाएर काम छिटो अघि बढाउन भनेका छन् । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले गुरुयोजना छिटो सक्नका लागि तीब्र गतिमा काम भइरहेको बताए ।

एक वाई ३ माइल क्षेत्रमा फैलिएको लुम्बिनीमा हालसम्म चार अर्ब जति लगानी भइसकेको छ । भैरहवा विमानस्थलमा जेट विमान ओर्लने बेलासम्ममा लुम्बिनी गुरुयोजना सम्पन्न गरेर संसारकै एक पवित्र आकर्षक धार्मिक, पर्यटकीय केन्द्रको रुपमा लुम्बिनीलाई चिनाउन लुम्बिनी विकास कोष लागिपरेको छ ।
सबैतिर विकासले गति समातेपछि रुपन्देहीमा होटल खोल्ने लहरै चलेको छ । लुम्बिनी, सीमा नाका बेलहियादेखि बुटवलसम्म धमाधम होटल खुलिरहेका छन् ।
पर्यटक लक्षित सुविधासम्पन्न होटलका लागि स्थानीय मात्रै हैन, वैदेशिक लगानीसमेत हुन थालेको छ, रुपन्देहीमा । एक करोडसम्मको लगानीमा रुपन्देहीमा डेढ दर्जनभन्दा बढी होटल खुलेका छन् । लुम्बिनीमा रहेका अधिकांश होटललाई स्तर वृद्धि गरिएको छ ।
मणिग्राममा पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा छ । १६ विघा क्षेत्रफलमा फैलिएको रिसोर्ट रुपन्देहीको पहिलो पाँचतारे हो । पवनकुमार हलुवाईले लुम्बिनी रोडमा पाँचतारे पवन प्यालेस होटेल बनाएका छन् । भैरहवाको बेलहियामा अर्को पाँचतारे होटेल निर्माण भइरहेको छ । लुम्बिनी र भैरहवा क्षेत्रमा टाइगर प्यालेस, होटेल कसाई, बुद्धमाया गार्डेन, होक्के, बोधी रेडसन, निर्भाणा, यती, ड्रिमल्यान्ड, जाम्बला, नान्स सञ्चालनमा छन् ।
यस्तै, बुटवलमा डार्सिज, आम्रपाली, वृन्दावन, एसियन, डेनोभो, अतिथि, सिद्धार्थ, न्यु ईरा, सिन्दूरलगायत होटेल सञ्चालनमा छन् । यो क्षेत्रमा स्वदेशी तथा विदेशी बहुराष्ट्रिय होटेल ब्रान्डहरू पनि प्रवेश गर्दै छन् ।
पछिल्लो समय भैरहवा क्षेत्र उद्योगीको पनि आकर्षक क्षेत्र बनेको छ । लुम्बिनी औद्योगिक करिडोरमा एक दर्जन सिमेन्ट उद्योग छन् । सिद्धार्थ, जगदम्बा, अर्घाखाँची, रिलायन्स, विशाल, गोयन्का, अग्नि, ब्रिज, अम्बुजा, सुप्रिम, पाठक सिमेन्ट उद्योग सञ्चालनमा छन् । भैरहवा–परासी करिडोरमा ठूल्ठूला उद्योग खुलिरहेका छन् । स्टिल, छड, प्लास्टिक, जुत्ता–चप्पल, दाल, मैदा, बियर, साबुन, खाद्यान्न, छाला, चाउचाउ, बिस्कुट, कृषिजन्य उद्योगहरू भैरहवामा सञ्चालन भइरहेका छन् । बुटवलमा औद्योगिक क्षेत्र नै छ।
बुटवलको ४ लेन सडक
बुटवलको चार लेन सडकले ऐतिहासिक नगरी बुटवललाई निकै सुन्दर बनाएको छ । यसले बुटवलको ट्राफिक व्यवस्थापनलाई निकै सहज बनाएको छ । सडक डिभिजनका अनुसार यो सडक ४ लेनको भएपनि यसको मापदण्ड अन्तरराष्ट्रिय ६ लेन सडकहरुको भन्दा कम छैन । बुटवल र भैरहवाका बीचबीचमा रहेका आकाशे पुलले शहरलाई अरु व्यवस्थित बनाएको छ । तर सडकको मर्मत सम्भार नगर्दा बुटवलभित्रको सडकको अवस्था भने राम्रो छैन । बीचबीचमा खाल्डाखुल्डी परेका छन् । जसले सवारी आवागमनलाई अफ्ठेरो पारेको छ ।
भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण भएपछि लुम्बिनी आउने पर्यटकहरु तेस्रो मुलुकबाट सिधै भैरहवा आइपुग्नेछन् ।
उनीहरुलाई भैरहवाबाट लुम्बिनीसम्म पु¥याउन लुम्बिनी विकास कोषले छिट्टै प्रदूषणरहित विद्युतीय सवारी सञ्चालनको तयारी गरेको छ । एडीबी र कोइकाको सहयोगमा सञ्चालन हुने विद्युतीय बस तथा मिनिबसका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरु नरहेको, भैरहवा–लुम्बिनी–तिलौराकोट सडक सांघुरो रहेको भन्दै पटक पटक कुरा उठेपछि सो सडक पनि विस्तार भइरहेको छ । भैरहवाको बुद्धचोकदेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडक फराकिलो बन्दैछ । बुद्ध चोकदेखि एयरपोर्टसम्म ६ लेन, एयरपोर्टदेखि लुम्बिनीसम्म ४ लेन र लुम्बिनीदेखि तौलिहवासम्म २ लेनको सडक बनाउन लागिएको हो । यो परियोजना सन् २०२० जनवरीसम्म निर्माण सम्पन्न हुनेछ ।

बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल
बुटवलमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम जारी छ । सम्मेलन केन्द्रमा एक हजार जना अट्न सक्ने एउटा ठूलो हल र दुईओटा साना हलसमेत हुनेछन् । सानामध्ये एउटा हलमा ४ सय र अर्कोमा २ सय ५० जना अट्न सक्ने छन् ।
लुम्बिनीमा पर्यटन प्रबद्र्धनसँगै ग्रेटर लुम्बिनी क्षेत्रको पूर्वाधार विकास जरुरी रहेको भन्दै काठमाडौंको वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको विकल्पमा बुटवलमा सम्मेलन केन्द्र निर्माण गर्न थालिएको हो । बुटवलको बुटवल मण्डपमा १६ बिगाहा (११ हेक्टर) क्षेत्रफलमा रहने सम्मेलन केन्द्र निर्माणका लागि रु १ अर्ब १७ करोड खर्च लाग्ने छ ।
रामनगरस्थित बुटवल मण्डपको ६.४ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बन्दैछ । एक अर्ब २ करोड रुपैयाँ लागतमा बन्ने प्रदर्शनी केन्द्र काठमाडौंको भृकुटीमण्डपपछि सरकारीस्तरबाट बन्ने पहिलो हुनेछ । प्रदर्शनी केन्द्रमा आठ सय वटा स्टलहरु रहनेछन् । हरेक स्टल एकसय ४४ फुटको हुनेछन् । बाहिरबाट हेर्दा तीनवटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकताअनुसार अलग-अलग गर्न मिल्ने गरी बनाइने छ । एक पटकमा १० हजार जनाले अवलोकन गर्ने सक्ने ठाउँ राखेर ८ सय वटा स्टल बनाइनेछन् ।
एक लाख १० हजार वर्गफिट क्षेत्रफलको बाल उद्यान, चार सय वटा चारपांग्रे र चार सय वटा मोटरसाइकल राख्न मिल्ने एक लाख २० हजार वर्गफिट क्षेत्रफलको पार्किङ क्षेत्र बनाइने छ । प्रदर्शनी केन्द्रमा चार सय ५० जना क्षमता र तीन सय जना क्षमताका दुईवटा सेमिनार हल, दुई हजार जना क्षमताको फुड कोर्ट (चमेनागृह/भोजनालय) र एउटा प्रशासनिक भवन बन्ने छन् ।
प्रदर्शनी केन्द्रमै मेशिनरी उपकरण भण्डारण, मर्मतका लागि तीन वटा वायर हाउससमेत बन्नेछन् । प्रदर्शनी केन्द्र परिसरमै गणतन्त्र स्मारक पनि बनाइनेछ ।

बृहत पर्यटन विकास योजना
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र लुम्बिनी गुरुयोजना सँगसँगै यहाँ वार्षिक १० लाखका दरले पर्यटकहरु ओइरिने अनुमान सरकारको छ । त्यति धेरै पर्यटक लुम्बिनी आउँदा उनीहरुका लागि आवश्यक भौतिक पूर्वाधार, घुम्ने, बस्ने, खाने र रमाउने ठाउँहरुको व्यवस्था गर्नुपर्ने ठानेर सरकारले त्यसको तयारी शुरु गरिसकेको छ ।
लुम्बिनी क्षेत्रमा विभिन्न सचेतनामूलक कार्यक्रम, आयआर्जनका उपाय, पर्यटकहरुको स्वागत, सत्कार र पर्यटन व्यवसायबाट लिन सकिने आम्दानीका श्रोतहरुको पहिचान गरि स्थानीय वासिन्दालाई तालिम दिन थालिने छ । यसो हुँदा यहाँका स्थानीय वासिन्दा लाखौं पर्यटकहरुको स्वागतका लागि तयार हुनेछन् ।
पर्यटकका लागि आवश्यक भौतिक पूर्वाधार र संरचनाहरुको निर्माणका साथै बुटवल नजिकै तिनाउमा बञ्जिजम्प, माउन्टेन साइकल राइडिङ्, अन्तरराष्ट्रिय क्रिकेट मैदानको समेत व्यवस्था गर्ने योजना सरकारको छ ।
