पाल्पा: एउटा हातको चिम्टाले घोच्दै र अर्को हातको ढुङ्रो फुकिरहेका किशोरले कोइला बालिरहेका छन् । उनकै अगाडि करिब ५५ वर्षका पुरुष सुनको गहना बनाउन व्यस्त छन् ।
काम गरिरहेको कोठाको कतै परम्परागत शैलीका सुनचाँदीका गहना त कतै जिल्लाका रमणीयस्थलका चित्र प्रशस्तै छन् । हातैले कोरिएका निकै आकर्षक ती चित्रले जो कोहीको पनि मन लोभ्याउँछ ।
ती तानसेन–१, गैरागाउँका राजकुमार खड्का अहिले सुनचाँदीको काम छाडेर चित्र कोर्न व्यस्त छन् । सुनचाँदी प्रशस्त आम्दानी हुने व्यवसाय भएकाले यहाँका व्यावसायीलाई अन्य पेशामा रुचि हुँदैन तर उनी भने चित्रकलामै बढी सक्रिय छन् ।
वैदेशिक रोजगारीबाट फर्केपछि खड्काले विसं २०७२ देखि उक्त व्यवसाय गरे पनि चित्रकलामा पनि उत्तिकै चासो भएकाले फुर्सदमा चित्र काेर्थे ।
रङ्गको प्रयोग गरिएका चित्रकलाले उत्साही त बनायो फेरी सामाजिक सञ्जालमा राखेपछि आफूलाई काम गर्न थप हौसला मिलेकोे उनको भनाइ छ ।
अहिले पाल्पाको पर्यटन क्षेत्रको विकासका निम्ति रानमीहल, अमरनारायण र तानसेनको पुरानो तथा नयाँ शहरको चित्र कोरिसकेका खडकाले यसबाट जिल्लाका पर्यटन क्षेत्रको थप प्रचार हुने अपेक्षा गरेका छन् ।
उनी भन्छन्, “जातीय व्यवस्था अन्त्यका लागि सचेत गराउने चित्र बनाउने रुचि छ । शान्तिका प्रतिक गौतम बुद्ध, सामाजिक रुपान्तरणका अभियानकर्मी, साधु र वृद्ध महिला तथा पुरुषको चित्र पनि विशेष रुचिका साथ कोरिरहेको छु ।”
चित्रले प्राय विचार पनि बोकेको हुन्छ । प्रत्येक चित्रका अर्थ फरक फरक हुन्छन् । पहिला प्राकृतिक चित्र धेरै कोरिएकामा अहिले त्यसमा केही नयाँपन थपिएको छ । चित्रलाई थप आकर्षक बनाउन कल्पनिक चित्रसमेत कोरिने चलन बढ्दो छ ।
यहाँ बसेर चित्र कोर्न त्यति सजिलो छैन । यसका लागि रङ्ग, बुरुस, कागज र कपडा चाहिन्छ तर यहाँ ती सामान नपाइने भएकाले बुटवलबाट ल्याउन महँगो पर्छ।
काठमाडौँबाट ल्याउन अलि सस्तो पर्छ । युरोप र चीनबाट ल्याएका सामान गुणस्तरीय हुनाका साथै कोरिएको चित्रको मूल्य पनि उच्च हुने खडकाको भनाइ छ ।
तानसेन–३ वसन्तपुरका राजु रुचाल पनि चित्रकलामा माहिर छन् । छिटृै चित्र कोरिदिन सक्ने उनी पनि कतार र मलेसिया बसाइ पछि स्वदेश फर्किएका हुन् ।
बाबुको ब्यानर बनाउने कामलाई निरन्तरता दिँदा दिँदै चित्रकलालाई नै आफ्नो व्यावसाय बनाएको रुचाल बताउछन् । पाँच वर्षदेखि व्यावसायिकरुपमा चित्र कोर्दै आएका उनी अहिले मासिक रू ५० हजारसम्म आम्दानी गर्दै आएको बताउछन् ।
“चित्रको मूल्य यति नै हो भन्ने छैन, रू एक हजारदेखि रू ४० हजारसम्म पर्छ । विशेष गरी आकिलिन र वाटर कलरको प्रयोग गरी चित्र कोर्ने गरेको छु । सानो चित्रलाई कम मूल्य र ठूलोलाई धेरै भन्ने छैन । मेहनतका आधारमा नै पैसाको निर्धारण हुँदै आएको छ”, रुचाल भन्छन् ।
उनका अनुसार हिमाल र पहाड झल्किने चित्र, तानसेनका ऐतिहासिक सम्पदा र मानिसको चित्र मागका आधारमा कोर्ने गरिन्छ । “जे देखियो त्यही पनि बनाउन सकिन्छ तर त्यसमा विशेष अर्थ झल्किनु पर्छ”, रुचाल भन्छन “विदेशमा कला समीक्षकबाट कलाको समीक्षा हुँदै आएको छ तर नेपालमा अझै समीक्षा गर्ने चलनको विकास हुन सकेको छैन ।”
नेपालमा व्यावसायिक रुपमा कलाको विकासका लागि सरकारले चासो दिएको छैन । विदेशमा चित्रकला सम्बन्धी अध्ययन–अध्यापन हुँदै आए पनि नेपालमा भने तालिमसमेत सञ्चालन हुन नसकेकामा यहाँका चित्रकारको गुनासो छ ।
स्थानीय सरकारले अन्य क्षेत्रको विकासका लागि बजेटको व्यवस्था गरेकामा पर्यटकीय क्षेत्रको विकासका लागि चित्रकलालाई पनि महत्वका साथ योजनामा राखेर कार्यान्वयन गराए आफूहरूको सम्मान हुने उनीहरूको जिकिर छ । रासस