तनहुँ: ल्वाङ, सुकमेल, चुरोटसहितको चिठ्ठी पछ्यौरीमा बेरेर मगर समुदायका तरुनीले अर्को गाउँका तन्नेरीलाई निम्तो पठाउँछन् ।
निम्तो स्वीकारेका तन्नेरीहरू कमिज, भांग्रा, कछाड र टोपीमा ठाटिएर आईपुग्छन् । यता युवतीहरू भने मखमलको चोली, छिटको गुन्युँ, कम्मरमा पहेँलो÷निलो रंगको पटुका, गलामा कण्ठी, शिरमा शिरफुल र शिरबन्दीमा सजिएर चिटिक्क परेर बस्थे ।
तन्नेरी र युवतीको भेटपछि खैँजेडीको तालमा स्वर मिलाउँदै कौराहा गाउँछन् । युवतीहरूसँग कम्मर मर्काउदै खुट्टाको ताल मिलाउदै नाच्छन् । साँझपख सुरु भएको कौराहाले रात छर्लङ्ग पार्छ । बिहानपख सुरु भए साँझसम्मै कौराहा तन्किन्छ । छुट्टिने बेलामा निम्तो गर्ने गाउँमा खानपान हुन्छ । खानपानको खर्चलाई आँकलन गर्दै तन्नेरीहरूले पैसा उठाएर दिन्छन् । र आफ्नै गाउँ फर्कन्छन् ।
कौराहाको यो दृश्य अचेल उद्गमस्थल तनहुँको ऋषिङमै देखिन छाडेको छ । अघिल्लो पुस्ताले जेनतेन यहाँसम्म ल्याइपुराए पनि अब कौराहा कसरी जोगिएला भन्ने स्थानीय पौढहरूको चिन्ता छ । उनीहरूले कौराहालाई राज्यको मुलधारसम्मै पुर्याए तर अचेल उद्गमथलोमै नसुनिदा उनीहरू चिन्तित छन् । पछिल्लो समय गाउँघरमा नाचगान विरलै हुन्छ । पहिलापहिला जस्तो दिनरात गाल्ने गरेर कोही पनि नाच्न मान्दैनन् । मुल विषय त गाउँमा युवायुवती पनि छैनन् । गाउँबस्ती रित्तो हुनु पनि संस्कार, संस्कृति र मौलिकता लोपोन्मुख हुनुको एक प्रमुख कारण हो ।
ऋषिङ दुकुडाँडाकाका दानबहादुर आले अहिलेको पुस्तामा कौराहा कसरी नाच्ने, गाउने, ताल मिलाउनेबारे ज्ञान नभएको बताउँछन् । आदीवासी मगरमा प्रचलित रोधी र कौराहा पुस्तकका लेखक आले भन्छन्, ‘युवामा यसको मौलिकता कसरी हस्तानतरण गर्ने भन्ने चिन्ता बढेको छ । गाउँका युवायुवती कोही पढ्न बजार गए, कोही परदेशमा छन् । कसले सिक्ने ? बुढापाका रहिन्जेल मात्रै कौराहा रहला जस्तो छ ।’
उनका अनुसार पहिला गाउँ–गाउँमा रोधी घर थिए । दसैँदेखी सुरुवात गरेर जेठको दसहरासम्म धुमधामले कौराहा नाचगान हुन्थ्यो । वैशाखे पुर्णिमाको बेला त कौराहाको रौनक उधुमै हुन्थ्यो । गाउँगाउँमा कौराहा गुन्जिन्थ्यो । अहिले रोधीघर नै हरायो । अब त विशेष कार्यक्रममा मात्रै कौराहा नाचगान हुने गरेको आलेले बताए ।
के हो कौराहा ?
कौराहा सामुहिक नृत्य र गायन हो । एक्लै गाउन र नाच्न सम्भव छैन् । कौराहा सुरुमा देवीदेवता सम्झिएको अन्तराबाट सुरु हुन्छ ।
यो गाउँको देवीदेउता चण्डी र भुयाँरी
हामरो शिर रक्षे गरन...
यस्तै शब्दलाई लामो भाकामा चारपटकसम्म दोहो¥याईन्छ । दुईपटक बिसाउने र फेरी दुईपटक उठाउने त्यसपछि बल्ल अन्तरा पुरा गरिन्छ ।
घुम्दै फिर्दै आको हामी पर्छौ तिम्रै शरण
हामरो शिर रक्षे गरन...
देवीदेवतालाई सम्झिएपछि विस्तारै गीतबाटै चिनजानका कुरा हुन्छन् । जिस्कने, ख्याल ठट्टा, माया पिरती लाउने कुरा हँुदै जीवनका भोगाई पनि गीतमा समेटिन्छ । अन्तमा बिछोडको गीत गाएर युवायुवती छुट्टिन्छन् ।
हे निष्ठुरी मायालु छोडी गयो नभन
छुट्टनी बेलैमा के दिन्छौँ नानी सम्झना...
कौराहाको एक अन्तरा पुरा गर्न झण्डै आधा घण्टा लाग्छ । कौराहा लामो भाका हालेर गाईन्छ । मेला, महोत्सव, साँस्कृतिक कार्यक्रममा पनि कौराहा गाउने नाच्ने गरिन्छ ।
‘बजारीया कौराहाले मौलिकता धान्दैन’
बजारमा लोकगीत अन्तर्गत रेर्कड गरिएका कौराहा गीत छ्यापछ्याप्ती छन् । ती गीतले कौराहालाई चिनाए पनि मौलिकता भने प्रस्तुत गर्न नसक्ने बताउँछन् ऋषिङ्गे कौराहा गायक पदम थापा मगर । ‘रेर्कड गरिएको कौराहा ५–७ मिनेटमै सकिन्छ । मौलिक कौराहाको एउटै टुक्का गाउन करिब आधा घण्टा लाग्छ । त्यसैले रेर्कड गरिएका कौराहाले मौलिकता धान्दैन’, उनले भने ।
तनहुँसँगै आसपासका जिल्ला कास्की, स्याङजा, लमजुङ, गोरखा, नवलपुर, चितवनमा पनि कौराहा गाउने चलन थियो । ऋषिङको कोटदरबारमा भने करिब अढाई सय बर्ष अगाडी नै कौराह सुरुवात भएको जानकारहरू बताउँछन् ।
कौराहा संरक्षणका लागि मौलिक कौराहा संरक्षण समिति नेपालले तीन बर्षअघि ऋषिङकै माँझकोट र आर्थथोकमा पुगेर डकुमेन्ट्री निर्माण गरेको थियो । समितिले विदेशमा समेत पुगेर डकुमेन्ट्री प्रर्दशन गरेको थियो । समितिका अध्यक्ष हर्क आलेका अनुसार समितिले पाँच बर्षअघि विज्ञहरूको भेला समेत गराएर दमौलीमा राष्ट्रिय कौराहा सम्मेलन गरेको थियो ।
कौराहाको मौलिकता जोगाउन उद्गमथलो ऋषिङ गाउँपालिकाले पनि चासो लिएको उपाध्यक्ष गिनुमाया थापाको दाबी छ । युवा पुस्ताको आकर्षण बढाउन गाउँपालिकाले वडास्तरीय कौराहा प्रतियोगिता समेत आयोजना गरेको उपाध्यक्ष थापाले बताईन् । युवा क्लबसँग पनि सहकार्य गरेको थापाले उल्लेख गरिन् ।