रुपन्देही । गायिका कल्पना कुसुमको ‘कुर्ता सुरवाल’ बोलको तिज गीत सार्वजनिक भएको छ । बुटवल निवासी कुसुमले शिव सुवेदीको युट्युव च्यानलबाट गीत सार्वजनिक गर्नुभएको हो ।
शिव सुवेदीको शब्द र कुमार रानाको सम्पादन रहेको गीतमा गायिका कुसुमको स्वर रहेको छ भने अर्जुन पोखरेलले संगीत भर्नुभएको छ । केशव बडुको एरेन्ज र काजीस श्रेष्ठको निर्देशनमा तयार पारिएको गीतको म्युजिक भिडियोमा नायिका वर्षा राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
पछिल्लो समय हरेक वर्ष तिजको अवसरमा नयाँ भाकाहरु पस्कीदै आएकी गायिका कुसुमले यसवर्ष भने पुरानो गीतलाई परिमार्जन गरी नयाँ भिडियोका साथ दर्शकसामु प्रस्तुत गरेकोे बताउनुभयो ।
आधुनिक गीत ‘मख्खै पर्यो’ भमराबाट सांगितिक क्षेत्रमा प्रवेश गर्नुभएकी कुसुमले ‘रानी चरी’, ‘हाम्रा बाबाले किन्दिएको पछ्यौरी’, ‘शिवजीको दर्शन’ लगायतका झण्डै एक दर्जन गीत बजारमा ल्याउनुभएको छ ।
यसवर्ष सार्वजनिक भएको ‘कुर्ता सुरुवाल’ गीतमा शिवजीले आफ्नो पुकार नसुनेका कारण ब्रह्माजीलाई विन्ती विसाएको कथावस्तु समेटिएको गायिका कुसुमले बताउनुभयो ।