बुटवल । ‘मानवताका लागि संगीत यात्रा’ लिएर चर्चित नेपथ्य ब्याण्ड शनिबार साँझ बुटवल आउने भएको छ ।
मानव सेवा भवन आश्रमको भवन निर्माण र अक्षयकोष स्थापनाका लागि बुटवलमा सांगितीक कार्यक्रमको आयोजना गरिएको हो ।
नेपथ्य ब्याण्डसँगको सहकार्यमा यही पुस ९ गते शनिबार साँझ ४ बजे बुटवल–१२ रामनगरमा सांगितीक कार्यक्रमको आयोजना गरिएको मानव सेवा आश्रमले आज बुटवलमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।
आश्रमका रुपन्देही संयोजक टिकामाया थापाले चर्र्चित गायक अमृत गुरुङ र नेपालयका किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरि ७० जनाको टोली बुटवलमा कार्यक्रमका लागि आउने जानकारी दिनुभयो ।
सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो । कन्सर्टमा गायक गुरुङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतसँगै आफ्ना चर्चित गीत प्रस्तुत गर्नुहुने छ ।
बुटवलमा हुने कन्सर्टका लागि ६ हजार टिकट बिक्री गरिने आयोजकले जनाएको छ । टिकट शुल्क एक हजार राखिएको छ । टिकट खरिदका लागि मोवाइल एप ई–सेवा, खल्ती, थुप्रै डटकम लगायतबाट अनलाइन बुकिङ गर्न सकिने छ ।
आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर मानवहरुको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, लालनपालन, संरक्षण, मानवोचित व्यवस्थापन गर्दै आइरहेको छ ।
मङ्सिर १६ देखि विराटनगरबाट सुरु भएको यात्रा पुस १६ मा काठमाडौँमा पुगेर समापन गरिने छ ।