भैरहवा–हरेक वर्ष हरितालिका तीजमा पूजापाठ र मादल घन्काउँदै नाचगान हुने भैरहवाको नारायण स्थान मन्दिर यस वर्ष सुनसान रह्यो। बच्चादेखि बुढो उमेर समूहका महिला दिदीबहिनीहरु रातो पहिरन र गरगहनामा सजिएर नाचगानका गर्ने यो मन्दिरको ढोका आज तीजको दिन बन्द रह्यो।
भगवानको आराधनासहित तीजको गीतको भाकामा आफ्ना वर्षभरिका पीडा पोख्ने धार्मिकस्थलमा नाचगान गरेको दृश्य यस वर्ष भने यहाँ देखिएन। नारी स्वतन्त्रताको प्रतीकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाहरु विगतका वर्षमा बिहानैदेखि शिवालय तथा मन्दिरहरुमा देखिन्थे, तर आज मन्दिरहरु सुनसान बने।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष सामूहिक भेला हुन रोक लगाइएको छ। सोही आदेशलाई पालना गर्दै मन्दिरहरु समेत बन्द गरिएका छन्। मन्दिर बन्द भएपनि महिलाले महादेवको विधिपूर्वक पूजाआराधना घरमै गरी तीज मनाएका छन्। घरमै नाचगान गरेर रमाइलो गरेका भिडियोको लाइभ सामाजिक सञ्जालमा देखिए।
कोरोनाबाट बच्न भीडभाड नगरी घरघरमै परिवारका सदस्यबीच तीज मनाउनुपर्ने बाध्यता रहेको बैदिक सनातन धर्म सेवा समितिकी अध्यक्ष विनिता श्रेष्ठले बताइन्।
‘घुमी घुमी दर खान्थ्यौ, खुवाउथ्यौ, पहिला मन्दिरमा भेला भइन्थ्यो, अहिले मन्दिर नै बन्द भएकोले घर घरमै मनाइरहेका छौ, फोनमा कुरा गरेर मोबाइल, सामाजिक सञ्जालबाट शुभकामना सन्देश दिएर यस वर्षको तिज मनाउदै छौ’–अध्यक्ष श्रेष्ठले भनिन्।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा आराधना गरी घर घर मै मनाएका छन्। महिला दिदीबहिनीहरु पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै तीजमा दिनभरि पानी पनि नखाई निर्जल वा निराहार व्रत बस्ने गर्छन्।
‘सधै नियमित पूजा हुन्छ, आज पनि मन्दिरको नियमित पूजा सम्पन्न भइसक्यो, कोरोना भाइरसको महामारीको कारण संक्रमण नफैलियोस् भन्दै बिहानैबाट मुख्य प्रवेशद्वार बन्द छ’–मन्दिरका पूजारी ले भने।
नारायण स्थान मन्दिर समितिका अध्यक्ष भविलाल पौडेलले विगतका वर्षदेखि नियमित मनाउदै आएको तीजको कार्यक्रम यस वर्ष रोकेको बताए।
मन्दिरको कार्य समितिको निर्णयले भैरहवामा पनि समुदायस्तरमा कोरोना संक्रमण देखिएकोले मुख्य गेटमा सूचना नै टास गरी सर्वसाधारणका लागि मन्दिर पूर्ण रुपमा बन्द गरिएको उनले बताए।
मन्दिर स्थापनाकालदेखि अहिलेसम्म कहिले पनि तीजको कार्यक्रम रोकिएको थिएन। ‘यस वर्षको विषम परिस्थितीले रोक्नु परेको हो, भक्तजनहरुमा परेको असुविधाप्रति क्षमा माग्दै हामीले श्रावण २७ गते श्री कृष्ण जन्माष्टमीका दिन पूर्ण रुपमा मन्दिर बन्द गरेका थियौ, आज भाद्र ५ गते हरितालिका तीजका दिन मन्दिर पूर्ण रुपले बन्द गरेका छौ, हाम्रो नियमित मन्दिरको पुजा भने बन्द छैन’–अध्यक्ष पौडेलले लुम्बिनी टाइम्ससँग भने।
सामाजिक दुरी कायम गरी दर्शनार्थीहरुलाई पूजा गर्ने व्यवस्था मन्दिरले व्यवस्थापन गरेको भए उपयुक्त हुने स्थानीय विजय गोविन्द श्रेष्ठको बुझाइ थियो।
१९९२ मा बेथरीबाट मुर्ति ल्याई नारायण मन्दिर स्थापना भएको थियो। २००७ सालदेखि भैरहवामा पहाडी मुलका मानिसहरुको जनघनत्व बढ्दै गएपछि मन्दिरमा चहलपहल बढ्दै गरेको थियो।
‘त्यही समयदेखि नै तीजको अवसरमा महिला दिदी बहिनीहरु जुटेर मन्दिरमा कार्यक्रमहरु हुन्थे’–श्रेष्ठले लुम्बिनी टाइम्ससँग भने।