काठमाडौं। तिहारको मुखमा प्रहरीले पक्राउ गरेर केही दिनपछि छाडेको र्यापर गायक भिटेन (समीर घिसिङ) गायनमा फर्किएका छन् । उनी तारिखमा छुटेका हुन् ।
उनले नयाँ चलचित्र सरौंतोका लागि शीर्ष गीत गाएका छन् । यो गीतको भिडियो शुक्रबार बेलुका रिलिज गरिएको छ । भिटेनले १३ मंसिरमा रिलिज हुने लागेको चलचित्र ‘सरौतो’को प्रमोशनल गीत गाएका छन् । यो शीर्ष गीतमा भिटेनकै शब्द तथा संगीत पनि छ ।
गीतलाई निर्माण पक्षले सार्वजनिक गरेको हो । गीतलाई ‘सरौंतो’ टाइटलमै रिलिज गरिएको हो । यो गीतको भिडियोमा भिटेन र नायिका सुमी मोक्तानले अभिनय गरेका छन् । नेपाली चलचित्रका लागि आफ्नो यो पहिलो गीत भएको उनले बताएका छन् ।
भिटेनले अन्याय सहन नहुने भाव यो गीतमा व्यक्त गर्दै अन्यायप्रति आक्रोश पोखेका छन् । भिटेन हिरासतमुक्त भएपछि गीतलाई तिहारको छेकोमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।
गीतलाई फिल्मकै निर्देशक हरि हुमागाईंले आफ्नो निर्देशनमा तयार गरेका हुन् । यसको भिडियोलाई समीर गुरुङले सम्पादन गरेका हुन् । यो चलचित्रमा सुमीसँगै लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवांगम शाह, लियो ट्यांक , विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनीषा पुन मगर, प्रतीक दुलाल, राजेश रोय, मनोज तामाङलगायतको अभिनय छ ।