बुटवल-स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घिमिरेको रचनामा तयार भएको चर्चित गीत 'उनको प्रिती' गीत पुन: रेकर्ड गरेर सार्वजनिक गरिएको छ।
लोकगायक एवम् चलचित्र निर्देशक नारायण रायमाझीले स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घिमिरेको सम्झनामा गीतलाई लाईभ रेकर्ड गरेर सार्वजनिक गरेका हुन्।
२०२४ साल वैशाख १२ गते रचना भएको गीत रायमाझीकै संगीतमा २०६० साल मंसिरमा गायक जगदिश समाल र गायिका सपना श्रीले गाएका थिए।
त्यसबेला क्यासेट सिडीहरुमा बजारमा आएको गीतले राम्रो चर्चा बटुलेको थियो।
अहिले यो गीत रचना रिमाल र प्रविन बेड्वालले गाएका छन्। रिमा इन्टरटेन्मेन्टको युट्युब च्यानलमा राखिएको यो गीतले टिकटकमा एकदमै चर्चा बटुलिरहेको छ। टिकटकमा कैयौंले आफ्ना श्रीमान्, श्रीमती, प्रेमीप्रेमिका र आफ्ना सन्तानहरुको समेत अभिनयमा गीत राखिरहेका छन्।
आइतबारसम्म २ लाखभन्दा बढी टिकटक प्रयोगकर्ताले #unkopreeti मा टिकटक बनाएर पोष्ट गरेका छन्। युट्युबमा आइतबारसम्म यो गीत १४ लाख भन्दा बढीले हेरिसकेका छन्।