बुटवल-हरेक चाडबाडका आ-आफ्नै मौलिक गीतहरु रहेको हुन्छन। चाहे तिज गीत हुन् या अन्य चाडपर्व नेपाली गीत संगीतमा पनि आ-आफ्नै किसिमको चाडपर्व, कलासस्कृति झल्काउने गीतहरु छन्।
कोरोना कहरका बीचमा धुमधामसंग दशैं मनाउन नपाएपनि आफ्नै घरमा सुरक्षित भएर मनाइदैछ यसपालिको दशैं। दशैंबारे केही गीतहरु लामो समयदेखि चर्चित छन्। ती गीत नबजुन्जेलसम्म दशैंको रौनक नै शुरु हुँदैन।
वर्ष र दिनको रमाईलो चाड गाउघरमा आईपुग्यो
नेपाली जनको महान पर्ब आगनमा आईपुग्यो हो हो दशैँ आयो ।
यो सदावहार दशैँ गीत नसुनेको नेपालीहरु सायदै होलान्। यो गित नेपाली कथानक चलचित्र "मुग्लान"मा समावेस भएको गीत हो। यो सदाबहार गीत कुनै रेडियो टेलिभिजन र अन्य माध्यममा नबजे सम्म दशैँ आएको आभाष नै हुदैन जो कोहीलाई। यति राम्रो ऐतिहासिक गीत रचना गर्ने गीतकार हुन लोकनाथ सापकोटा। लोकनाथका अन्य गीतहरु पनि चलेका छन जस्तै "मायामा धोका खाए अनि गजलकार भए म" लगायत अन्य गीतहरु चले। तर लोकनाथको दशैँ गीतलाई औधी रुचाए दर्शक श्रोताहरुले। उनले यो गीतको रचना गर्दाको पृष्ठभूमि सुनाए। यो गीत मुग्लान चलचित्रको लागि २०५८ सालमा रेकर्ड भएको थियो।
गायक उदित नारायण झा र दीपा झाको स्वरमा रेकर्ड भयो। त्यसबेला यो गीत मुम्बईमा रेकर्ड भएको थियो।
'गीतमा दशैँको दिन छोरा आउदा बूढी आमा खुशी भएको अन्य मौलिकपनलाई जोडिएको छ। तर यो गीत २०५५ सालतिर पोखराको रेडियो नेपालमा रेकर्ड भएर प्रसारणमा पनि आएको थियो।'-उनी सम्झन्छन-२०५७ सालमा स्व निर्देशक शिव रेग्मीले दशैँको लागि गीत माग्नुभएको थियो चलचित्रमा दशैँका कथा छ भनेर भन्नुभाथ्यो।'
तर अझै पनि गीतकार लोकनाथ सन्तुष्ट छैनन्। चलचित्र मुग्लानमा समाबेश भएको गीत पुरानो गीतलाई काटछाट गरि फेरि रेकर्ड गरिएको थियो। तर पनि दर्शक श्रोताले दिएको माया प्रति उनी खुशी छन्।
नमुछे आमा दहीमा टीका, नछरे जमरा
दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।
जो कोही श्रोतालाई भावुक बनाउछ यो गीतले। दशैँको बेला मात्र होईन अरुबेला पनि उत्तिकै सदाबहार छ यो गीत। अझ परदेशमा बस्नेलाई त् झनै भाबुक बनाउछ यो गीतले। यो गीतका संगीतकार नारायण रायमाझी हुन् भने रचनाकार नारायणकै दाजु लक्ष्मण रायमाझी हुन्। हामीले बर्षौ देखि सुन्दै आईरहेको आवाज हो कृष्णभक्त राईको हो। यो गीतको पहिलो रेकर्ड आवाज गायक नारायण रायमाझीको थियो। त्यो अडियो गीत युट्युब लगायत अन्य माध्यममा उपलब्ध छैन। तर कृष्णभक्त राईको आवाज भने सबै ठाउँमा पुग्यो।
सबैको मन छोयो। लक्ष्मणले यो गीत श्रीलंकाको गृहयुद्धमा खटिएका गोर्खा सैनिकको जीवनमा आधारित भएर लेखेका थिए, उनीहरूको भोगाइ समेटिएको थियो ।
नारायणले गाएपछि ‘लाहुरेको जिन्दगी’ एल्बममा समावेश गरियो । ‘क्यासेटको एउटा भागमा लाहुरेको कहानी राखिएको थियो, अर्को भागमा यो गीतसहित अरू केही गीत थिए।
कारगील एल्बममा पनि यो गीत समाबेस भएको थियो। २०५८मा गायक नारायण रायमाझीको स्वर अचानक बिग्रियो।
त्यहीबेला उनलाई गीत बजारमा पठाउनु पर्ने थियो। कृष्णभक्त राई पनि रिमा रेकडिंङ्ग स्टुडियोमा काम गर्थे।
एकदिन कृष्णले नमुछे आमा गीत हार्मुनियममा रियाज गरिरहेका थिए। त्यहीबेला नारायणले सुने र कृष्णभक्त राईको आवाजमा गीत म्याच गरेको अनुभब नारायणले गरे।
गीत कृष्णलाई गाउन अनुरोध गरे। कृष्ण एकदम खुशी भए। र गीत पनि सुपर हिट भयो। २०५८ सालमा कृष्णभक्त राई र लक्ष्मी न्यौपानेको स्वरमा रेकर्ड भयो।
अहिले सोही गीतलाई रिरेकर्ड गरी बजारमा आएको छ। अहिलेको नयाँ गीतमा पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल र नारायण रायमाझीको स्वर रहेको छ।
यसपाली त यस्तै भो आमा
अर्को साल आउनेछु दशैमा
गायक जीवन शर्माको यो गीत नसुन्ने श्रोता दर्शक पनि सायदै होलान। यो गीत अझै पनि सदाबहार दशैँ गीतको रुपमा रहेको छ।
लोक गायक जीवन शर्मा जनबादी गायकको रुपमा चिनिन्छन। लामो समय रक्तिम सास्कृतिक मंचमा बिताएका जीवन केही बर्ष अघिमात्र सस्थाबाट बाहिरिएका थिए।
उनका "सिमली छाया "लगायत अन्य गीत जति सदाबहार छन् त्यो भन्दा अझ बढी यसपालि त यस्तै भो आमा गीत जनजिब्रोमा अझै झुन्डिने गरेको छ।
यो गीतको शब्द सङ्गीत गायक जीवन शर्माले गरेका हुन। यो गीतको रचना गर्ने बेलाको अनुभब पनि जीवनको अलिक दु:खद प्रसंग रहेको उनले बताए। उनले यो गीतको रचना उनी पहिलोपल्ट दुबईमा कार्यक्रम गर्न जाँदा बनाएका थिए। उनी सम्झन्छन-'त्यतिबेला दशैको नजिकै दुबई गएको थिएँ। त्यहा कार्यरत केही नेपालीहरु बिदामा घर आएको तर त्यहा रहेका नेपालीहरु घर जान चाहेको तर कम्पनीबाट बिदा नपाउदा दशैँ जस्तो चाडमा परदेशमा बिताउनु पर्दा उनीहरु निकै पिडामा थिए। कतिपय भक्कानिएर रोए। तिनीहरुको कथा व्यथामा गीत बनाएको हुँ।'
जीवनले ५० को दशकमा गीत तयार पारे र बजारमा आईसकेपछि धेरै राम्रो प्रतिक्रिया आयो। यो गीत अझै पनि लोकप्रिय छ।
हे बाध्य भैयो परदेशमा छिर्न आमा
मैले पढ्दा लाएको ऋण तिर्न, आमा बिदा पाउदिन
अहिलेको सालपनि आमा, घरमा आउदिन
लोक दोहोरी क्षेत्रका चर्चित ३ हस्ती गायक राजु परियार, भगवान भण्डारी, र बद्री पंगेनीको सहकार्यमा तयार भएको यो दशैँ गीत पनि सदाबहार दशैँ गीतको रुपमा लिने गरिन्छ। यो गीतले लोक गायक बद्री पंगेनीलाई "लाउ चेली सिन्दुर लाउ" पछि थप उचाई प्राप्त भयो। बद्रीको सफल गीतमध्य यो गीतले पनि ईटा थप्ने काम गर्यो।
उसो त बद्री पंगेनी, भगवान भण्डारी र राजु परियार सुरुवात कालदेखि नै पुकार दोहोरी साझ देखिका सहकर्मी साथीहरु हुन्।
उनीहरु ३ जना नेपाली लोक दोहोरी क्षेत्रमा राम्रो योगदान दिने कलाकारहरु हुन्। राजु र बद्री नेपालमै भएपनि लोक गायक भगवान भण्डारी भने परिवार सहित अमेरिकामा बस्छन्।
गायक बद्री पंगेनीले देश तथा विदेशमा हुने कार्यक्रममा यहि गित गाएर प्राय सुरुवात गरेर थुप्रै आमा बुवाहरुलाई रुवाउने गर्छन्। बद्री पनि यो गीत आफ्ना लागि एकदम महत्वपूर्ण भएको बताउँछन।
लुम्बिनी टाइम्सले अमेरिकामा रहेका भगवान भण्डारीलाई यो गीत कसरी तयार भयो त भन्नेबारे बुझ्न सम्पर्क गरेको थियो। सोही क्रममा गायक भण्डारीले यस्तो प्रतिक्रिया दिए-"प्राय बद्री पंगेनी र मैले पहिल्यैदेखि समसामयिक तथ्यहरूलाई आधार बनाएर गीत लेख्ने गर्थ्यौ । यो “बिदा पाउॅंदिन” पनि त्यसरी नै जन्मिएको गीत हो। एउटा परदेशमा भएको छोराले दशैंमा बाटो हेरेर बसेकी आमालाई सम्बोधन गर्दै, म दशैंमा आउन पाईन भनेर मनको भाव ब्यक्त गरेको गीत हो यो। बद्री र मेरो सहकार्यमा जनमिएको शब्द हो यो।'