बुटवल-यतिबेला कोरोना भाईरसका कारण हरेक क्षेत्रमा असर परेको छ। अझ मनोरञ्जन क्षेत्रलाई त यसले झनै असर पारेको छ।
चलचित्र क्षेत्र र दोहोरी साँझलाई अझै पनि सरकारले जोखिम क्षेत्रको रुपमा राख्दा श्रम जीबी दोहोरी कलाकार, चलचित्र कलाकार प्राबिधिक सबैलाई असर पारेको छ। सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै फिल्म हल र दोहोरी साँझ सञ्चालनको अनुमति दिएको छैन।
दोहोरी साँझ सञ्चालकमात्रै हैन, त्यहाँ काम गर्ने कलाकारदेखि प्राविधिकहरु कामबिहिन भएका छन्।
बुटवलमा ३ वटा दोहोरी साँझहरु हिमचुली दोहोरी साँझ, गोधुली रोदीघर र देउराली रोदीघर छन्। तर ती दोहोरी साँझ पनि चैत्र ८ गतेबाट बन्द भएको दोहोरी साँझ बन्द भएपछि त्यहाँ काम गर्ने कलाकार र कामदारको बिचल्ली त भयो नै संगै लामो समयदेखि आफुले गर्दै आईरहेको दोहोरी व्यवसाय बन्द हुदा सञ्चालकहरुलाई पनि नराम्रोसँग पिडाले गालेको छ।
बुटवलको पुरानो दोहोरी साँझको रुपमा रहेको हिमचुली दोहोरी साझका सँचालक रेशम फ़ौजा मगरले कोरोना महामारीका कारण व्यवसाय प्रभावित भएको बताए।
उनले भने-'अहिले कलाकारहरुलाई मोबाइलमा रिचार्ज हाल्ने पैसा छैन । सबै कलाकारहरु पिडामा छन। सबै कलाकारहरु समस्या पर्यो भन्दै फोन गर्नुहुन्छ। लौन दोहोरी खोल्नु पर्यो भन्ने कुरा गर्नुहुन्छ। उहाँहरुले भन्दैमा दोहोरी खोल्ने अवस्था पनि छैन। सबै क्षेत्र खुल्दा आज दोहोरी साँझ रेस्टुरेन्ट व्यवसाय खोल्न अझै सरकारले अनुमति दिएको छैन।'
यदि प्रशासनले सुरक्षित रुपमा दोहोरी सञ्चालनको अनुमति दिएमा आफूहरु कलाकारहरुलाई व्यवस्थापन गर्दै व्यवसाय चलाउन तयार भएको उनी बताउँछन्।
५ वर्षदेखि बुटवलको मिलनचोकमा सञ्चालनमा रहेको गोधुली रोदीघर पनि यतिबेला कोरोनाका कारण लामो समय देखि बन्द छ। गोधुली रोदीघरले बुटवलमा रहेर धेरै चर्चित कलाकारहरु उत्पादन गरेको छ। यसका सञ्चालक राम न्यौपाने झन्डै ८ महिना देखि दोहोरी साँझ बन्द हुदा आफु र दोहोरी साँझमा कार्यरत कलाकार र कर्मचारीहरु तनाबमा परेको बताउँछन्।
सञ्चालक न्यौपाने भन्छन्-'कलाकारहरु बिजोग भयो भन्दै रुदै फोन गर्नुहुन्छ, दोहोरीको साउण्ड सिस्टम पनि लामो समय देखि प्रयोगविहिन हुँदा बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेको छ। फर्निचरहरु पनि बिग्रिसकेका छन्। दोहोरीको भाडा पनि यो ८ महिनाको समयमा चलिरहदा ४ लाख पुगिसकेको छ, कसरी तिर्ने होला भन्ने चिन्ता छ।'
स्टाफहरुले कि दोहोरी खोल्नुहोस् कि अन्य बैकल्पिक काम खोज्दिनुस भन्दै फोन गर्ने गरेको उनले बताए।
देउराली रोदीघरका सञ्चालक ईन्द्रध्वज मल्लको पीडा पनि उस्तै छ। करिब ३० जना कलाकार र अन्य कामदार रहेको बुटवल रामनगर स्थित देउराली रोदीघरका सञ्चालक मल्लले पनि दोहोरी खोल्न आतुर रहेको बताए।
'चैत ८ गते देखि अहिले सम्म दोहोरी साँझ बन्द छ, हामीलाई नसोचेको विपत्ति आयो।'-उनले भने।
अहिलेको यो समयमा पनि कलाकारहरु दुखमा पर्दा धेर थोर सहयोग गर्ने गरेको उनले बताए। सुरक्षित उपाय अपनाएर दोहोरी व्यवसाय सञ्चालन गर्न तयार भएको मल्लले बताए।
उनले केही दिन अघि बुटवलका केही होटल लाईभ ब्याण्डका होटल सञ्चालन भएको थाहा पाएपछि दुई दिन जति सञ्चालनमा ल्याएका थिए।
तर प्रशासनबाट तत्काल दोहोरी चलाउने माहोल नभएको र नचलाउन आदेश आएपछि उनले फेरि बन्द गराएका छन्।
यसरीनै दोहोरी बन्द भइराख्ने हो भने श्रमजीबी कलाकारहरु पलायन हुने निश्चित रहेको उनी बताउँछन्।
यसैगरी काठमाडौँमा लामो समयदेखि दोहोरी साँझ सञ्चालन गर्दै आएका र लकडाउनको समयमा पनि कलाकार तथा प्राबिधिकहरुलाई निरन्तर रुपमा राहत वितरण गरेका दोहोरी सञचालक बिनोद श्रेष्ठले पर्यटन मन्त्रालय र संस्कृति मन्त्रालयमा ज्ञापनपत्र बुझाईएको अब अनुमति नदिए आफ्नो हिसाबले दोहोरी चलाउन बाध्य हुने बताए।