काठमाडौं, २७ पुस । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा 'त्यही सच्चा नेपाली' बोलको देशभक्तिपूर्ण गीत सार्वजनिक भएको छ। म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गीतमा ३० भन्दा बढी र अग्रज/लोकप्रिय/चर्चित अनुहारहरुको अभिनय रहेको छ। गीतमा गायिका देविका बन्दना तथा गायक राजन ईशानको स्वर रहेको छ।
अभिनेत्री एव म्युजिक भिडियोकी निर्देशक रोशनी केसीका अनुसार गीतमा ३० जना जनाभन्दा बढी लोकप्रिय कलाकारहरुले अभिनय गरेका छन्।म्युजिक भिडियो निर्माता चीजकुमार श्रेष्ठले एउटै भिडियोमा यति धेरै लोकप्रिय अनुहारहरुले अभिनय गरेको पहिलोपटक भएको बताए । चार दिन लगाएर छायांकन सम्पन्न गरिएको भिडियोहरु विभिन्न स्थानका दृश्य समेटिएको छ ।
आनन्द अधिकारीको शब्द तथा राजन ईशानको संगीत निर्देशनको ‘त्यही सच्चा नेपाली …’ गीतमा वरिष्ठ अभिनेता नीर शाहदेखि संस्कृतिविद् सत्यमोहन जोशीसम्मले अभिनय गरेका छन्। रामशरण उप्रेतीद्वारा छायांकन गरिएको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका छन् भने रेनिश फागोले यसमा कलर करेक्सन गरेका छन्।
भिडियोमा सत्यमोहन जोशी, नीर शाहका साथै गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दिलिप रायमाझी, देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल आदि कलाकारहरुले अभिनय गरेका छन् ।
विक्रम स्वाँरको कोरियोग्राफी र चिज कुमार श्रेष्ठको प्रस्तुतिमा यो भिडियो तयार भएको हो । 'राष्ट्रियता संकटमा परेको बेला देशभक्तिपूर्ण गीतमा काम गर्न मन लाग्यो । एउटा उत्कृष्ट गीत र भिडियो बनेको छ ।' निर्माता श्रेष्ठले भने, 'देशले मलाई के दियो भनेर सोध्नेहरुको भिडमा मैले देशलाई के दिएँ भनेर सोच्नु र तदनुरुप काम गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु।'