काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
चीनको कुनमिङ्गमा साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने सातौँ चीन दक्षिण एसिया प्रदर्शनी तथा २७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव आज चीन प्रस्थान गर्नुभएको हो ।
उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, मन्त्रीहरू सुरक्षा निकायका प्रमुखहरू तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुले बिदाई गर्नुभयो ।
त्यस अवसरमा नेपाली सेनाको टुकडीले उपराष्ट्रपति यादवलाई सम्मान गारद सलामी अर्पण गरेको थियो ।
उपराष्ट्रपति यादवसँग भ्रमण दलमा उहाँकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी लगायत उच्च अधिकारीहरू समेत सहभागी हुनुहुन्छ ।