भैरहवा–भैरहवाका व्यस्त चोकहरुमा २४ घण्टा नै मास्क सहित बर्दीमा ट्राफिक प्रहरी देख्न सकिन्छ। हातमा सूचनामुलक सन्देश सहित खटिएका प्रहरी वास्तविक ट्राफिक प्रहरी नभई प्रहरी जस्तै देखिने कृत्रिम ‘डमी’ प्रहरी हुन्।
झट्ट हेर्दा प्रहरी झै देखिने सो डमी जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले भैरहवाको मुख्य व्यस्त चोकहरुमा राखेको छ।
दुर्घटना न्यूनीकरण तथा ट्राफिक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ट्राफिक व्यवस्थापन, नियम सम्बन्धी जानकारी दिई सवारी चालकहरुलाई सचेत बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले डमी ट्राफिक प्रहरी राखेको हो।
‘विभिन्न संघसस्थाहरुको सहकार्यमा भैरहवाको मिलनचोक, देवकोटा चोक र बम्रेली टोलमा ३ वटा ट्राफिक प्रहरीजस्तै देखिने ‘डमी’ बनाएर राखेका छौं, टाढाबाट हेर्दा ट्राफिक प्रहरी जस्तै देखिने भएकाले चालकहरुको मानसिकता परिवर्तन भई ट्राफिक नियमको पालना गर्ने भएकाले केही हदसम्म दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने देखिएकोले डमी प्रहरीको अवधारणा ल्याएका हौं’–जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिवश बहादुर जीसीले भने।
राजधानीमा केही महिना अघि सुरुवात गरिएको यो अवधारणा लुम्बिनी प्रदेशमा पहिलो पटक भैरहवाबाट सुरवात भएको छ।
अहिले ५ वटा डमी तयार भएपनि ३ वटा स्थापना गरेको २ वटा आवश्यकता अनुसार प्रतिस्थापन गर्ने उनले बताए। डमी’ को हातमा ट्राफिक नियम सम्बन्धि सचेतनामूलक सन्देश सहितको बोर्ड पनि राखिएको छ।
जसले चालकहरुमा ट्राफिक प्रहरीले सेवा दिइरहेको अनुभूति भई हुन सक्ने लापरवाहीलाई सुधार गरी चालकमा मनोवैज्ञानिक प्रभाव पर्ने र ट्राफिक सचेतना अभिवृद्धिमा सहयोग पुग्ने विश्वास प्रहरीको छ। यसको प्रभाव हेरेर सोही अनुरुप सुधार गर्दै अगाडि बढाउने योजना रहेको प्रमुख प्रहरी निरिक्षक जीसीले बताए।
ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन र सांकेतिक रुपमा ट्राफिक छ भन्ने जनाउन ट्राफिक कार्यालयले डमीको अवधारणा ल्याएको हो ।
यातायात व्यवसायी, रोटरी, लायन्स जेसिस लगायतका संघसस्था तथा क्लबको सहयोगमा स्थापना गरिएको डमीको लागत करिब १६ हजार छ ।
ट्राफिक प्रहरी कार्यालय, लुम्बिनी प्रदेशका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनाराण पाण्डेका अनुसार जनशक्ति अभावले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका लागि ‘डमी’ प्रहरीको अवधारणा ल्याइएको हो।
यो अभियानको प्रभावसँगै लुम्बिनी प्रदेशका सबै जिल्लाका बढी दुर्घटना हुने क्षेत्र र सवारी चाप भएको ठाउँमा स्थापना गर्ने योजना रहेको उनले बताए।
कार्यालयका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लाका लागि विगत ४ वर्ष देखि ४ सय ९० जना मात्र जनशक्ति छ। दिनानुदिन बढ्दो सवारी चापले यो जनशक्तिले व्यवस्थापन गर्न हम्मे हम्मे छ ।
ट्राफिक प्रहरीले सवारी नियमको पालना, यातायात व्यवस्थापन, सुरक्षित यात्राका लागि निगरानी, सवारी दुर्घटनालाई न्यूनिकरण, पार्किङ व्यवस्थापन, विशेष व्यक्तिको सवारी रुटको व्यवस्थापन, सवारी चेकजाँच, ओभरलोड, ट्राफिक नियमको नियमन लगायतको काम गर्दै आएको छ।