बुटवल । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अन्तर्वार्ताले पूर्वीय सभ्यताका बैज्ञानिक उपलब्धीहरु बारे फेरि विमर्श सुरु भएको छ, त्यो पनि नेपालबाटै ।
ओलीले भारतीय ‘जी न्यूज’का प्रधानसम्पादक सुधीर चौधरीसँग दिएको अन्तर्वार्तामा गुरुत्वाकर्षणको सिद्धान्त न्युटनले नभई भास्कराचार्यले पत्ता लगाएको दावी गरेका छन् । उनले सत्रौं सताब्दीका बेलायती सर आइज्याक न्युटनले भन्दा चार शताब्दी अगाडि नै भारत कर्नाटकका भास्कराचार्यले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएको बताएका हुन् । उनले त्यसो भन्दै गर्दा युनिभर्सिटी अफ डिल्लीका ग्राजुएट पत्रकार सुधीर चौधरीले टाउको हल्लाइरहेका थिए ।
उसो भए गुरुत्वाकर्षण बलको सिद्धान्त भास्कराचार्यले पत्ता लगाएका हुन् त ?
प्रधानमन्त्रीको गुरुत्वाकर्षण बलसम्बन्धी ‘ज्ञान’लाई चिरफार गर्नु अघि गुरुत्वाकर्षण भनेको के हो बुझौं ।
हामीमध्ये जो कोहीले पनि ६ कक्षाबाट पढ्दै आएको छौं; न्युटनको परिभाषा अनुसार कुनै दुई पिण्डबीच पैदा हुने आकर्षण नै गुरुत्वाकर्षण बल हो ।
ठूला पिण्ड भएका ग्रह र ताराहरु मात्रै होइन, आँखाले देख्न नसकिने खालका हरेक कणहरुले पनि आफू तिर आकर्षित गर्छन् । यो आकर्षण गुरुत्वाकर्षण हो र यसरी उत्पन्न हुने बललाई गुरुत्वाकर्षण बल भनिन्छ ।
गुरुत्वाकर्षण बलले ब्रह्माण्डलाई अस्तित्वमा राखेको छ । यसकै अर्को रुप गुरुत्व बलले तारा र ग्रहहरुको अस्तित्व निर्माण गरेकाे छ ।
पिण्ड भएका वस्तुलाई मात्रै होइन, गुरुत्वबलले प्रकाशलाई समेत तान्न सक्छ । जुनकुरा भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले बिसौं शताब्दीको सुरुवाततिर पत्ता लगाए ।
गुरुत्वाकर्षण बल प्रकृतिका हरेक गुणमा छ । त्यसो भए यो कुरा सुरुमा कसले पत्ता लगायो होला त ?
ईसा पूर्व ३०० तिर जाउँ ।
अरस्तु (ईपु ३८४–३२२) लाई लाग्थ्यो ‘हरेक वस्तुहरु पृथ्वीतिर खस्छन् किनभने ती वस्तुहरुको गुण सधैं आफ्नो प्राकृतिक स्थान खोज्नु हो ।’ अर्थात्, हरेक वस्तुहरुको आ–आफ्नै प्राकृतिक स्थान हुन्छ र त्यहाँ पुग्न तिनले प्रयास गरिरहेका हुन्छन् । उनलाई गह्रौ वस्तु छिटो र हलुङ्गा वस्तु ढिलो खस्छन् भन्ने लाग्दथ्यो । उनका अनुसार हरेक वस्तुको तौल निश्चित हुन्छ र त्यो परिवर्तन हुदैंन ।
त्यसपछि सोह्रौ शताब्दीसम्म गुरुत्वाकर्षण बलबारे युरोपमा अन्य कसैले ‘ब्रेक थ्रु’ गर्न सकेनन् ।
अब एकछिन युरोप छाडेर पाँचौं शताब्दीतिरको ‘हिमवत्’तिर जाउँ ।
भारतीय उपमहाद्विपमा मौलाइरहेको गुप्त राज्यमा कोही थियो, जो प्रकृतिका नियमहरु बुझ्ने कोसिस गरिरहेको थियो ।
पाटलिपुत्र अर्थात् अहिलेको पटनामा जन्मिएका सबैभन्दा पुराना भारतीय गणितज्ञ तथा खगोलविद् आर्यभट्ट(ईस्वी सम्बत् ४७६–५५०) ले ब्राह्मण्डका नियमहरुबारे असाधारण ज्ञान हासिल गरे र त्यसलाई फैलाउने काम गरे ।
उनका दुई कृतीहरु आर्यभट्टसिद्धान्त(अहिले हराइसकेको) र आर्यभटियाले एसियामा मात्रै नभई मध्येपूर्वमा गणित र खगोल विज्ञानको विकासमा निकै ठूलो प्रभाव पारे । छैठौं शताब्दीका उज्जैन सहरका वराहमिहिर, सातौं सताब्दीका मराठावाडा(हाल महाराष्ट्र)का भास्कर र भिनमल(हाल राजस्थान)का ब्रह्मगुप्त लगायत पूर्वीय सभ्यताका होनहार मानिएका विद्वानहरुमाथि आर्यभट्टले प्रत्यक्ष प्रभाव छाडे ।
आर्यभट्ट केपी ओलीले भनेका भास्कराचार्यभन्दा ६ शताब्दी पुराना हुन् ।
केपी ओलीले ‘गुरुत्वाकर्षण पत्तालगाएका’ भनेर भास्कराचार्यलाई मानेपनि अहिले भारतमा आर्यभट्टले गुरुत्वाकर्षण पत्ता लगाएको हो भन्ने स्कलर्सहरुको जमात सानो छैन । उनीहरुमध्येकै हुन्, इण्डियन स्पेस रिसर्च अर्गनाइजेसन (आइएसआरओ)का पूर्व अध्यक्ष माधवन नायर । उनले न्युटनभन्दा हजार बर्ष पहिले पाँचौं शताब्दीका आर्यभट्टलाई गुरुत्वाकर्षण बलको बारेमा थाहा थियो भन्दै ‘वैदिक इण्डीयाको पुनस्थापना गर्न अन्तराष्ट्रिय सम्मेलन’मा बोलेको भिडियो ‘युट्युब’मा भेटिन्छ ।
आर्यभट्ट वास्तवमा असाधारण खगोलशास्त्री हुन् । उनका सिद्धान्तहरुले ब्रह्माण्डका बुझाइहरुलाई आधुनिक आधारहरु दिएका छन् । सम्भवतः पहिलो पटक उनले पृथ्वीको परिक्रमाका कारण आकास घुमेको जस्तो मात्रै देखिन्छ, वास्तवमा आकास घुमेकाे हाेइन भनेर किटान गरेका थिए ।
त्यसबेला सुर्यले पृथ्वीलाई घुम्छ भन्ने मान्यता व्याप्त थियो । त्यसैले भारतीय र पश्चिमा भुगोलशास्त्रीहरुले उनकाे मान्यतालाई गलत भने । पछि सोह्रौ शताब्दितिर सुर्यकेन्द्रित सिद्धान्तहरुको उदय हुनथालेपछि उनी सही रहेछन् भन्ने प्रमाणित भयो ।
सोह्रौ शताब्दितिर एकैछिनमा फर्कने छौं ।
असाधारण हुँदाहुँदैं पनि आर्यभट्टले गुरुत्वाकर्षण बलको सिद्धान्त पत्ता लगाएका थिएनन् । ‘आर्यभटिया’मा उनले सबै वस्तुहरु पृथ्वीको सतहमा नै टाँसिएर रहन खोज्छन् भनेपनि आकर्षण शक्ति र वस्तुको पिण्डसँग यसको सम्बन्धको बारेमा केही पनि उल्लेख गरेका छैनन् । त्यसैले गणित र भुगोलशास्त्रमा योगदान गरेपनि उनले गुरुत्वबलकाे सिद्धान्त पत्ता लगाएका हुन् भन्नेकुरा साँचाे हाेइन ।
भारतकै केही अध्ययेताहरुको अर्को दावी यो छ कि सातौं शताब्दीका ब्रह्मगुप्तले गुरुत्वाकर्षण बल पत्ता लगाएका हुन् ।
आर्यभट्ट ‘स्कुल’ कै स्कलर हुन्, ब्रह्मगुप्त । उनी आफ्नो समयका अग्रणी गणितज्ञ थिए । पृथ्वीको केन्द्रमा एउटा आकर्षण बल रहेको भन्ने ब्रह्मगुप्तको मान्यता थियो । उनको सोही मान्यताका आधारमा अहिले भारतका केही स्कलर्सहरुले गुरुत्वबल पत्ता लाग्नुकाे श्रेय यीनलाई नै दिनुपर्छ भनेका हुन् । तर, ब्रह्मगुप्तले वस्तुको पिण्ड र ती पिण्डहरुको बीचको दुरीसँग बलको सम्बन्ध कस्तो हुन्छ भनी पत्ता लगाउन सकेका थिएनन् । न त आफ्नो मान्यतालाई पुष्टि गरी सर्बमान्य सिद्धान्त नै बनाउन सके । उनको मान्यता मान्यतामा मात्रै सिमित रह्यो ।
अब प्रधानमन्त्रीले अन्तर्वार्तामा भनेका गणितज्ञ तथा खगोलशास्त्री भास्कराचार्यतर्फ जाउँ ।
भास्कराचार्य बाह्रौं सताब्दीका भारतीय गणितज्ञ र खगोलशास्त्री थिए । उनले ब्रह्मगुप्तको संख्या प्रणालीलाई परिस्कृत गरे । उनी आफ्नो समयमा गणितका प्रतिमुर्ती नै थिए । संख्या प्रणाली र समीकरणहरुमा उनले हासिल गरेको ज्ञान युरोपका स्कलर्सहरुले केही सताब्दी पछि मात्रै हासिल गरेका थिए ।

खगोल विज्ञानमा पनि उनले राम्रो अध्ययन गरेका थिए । उनी उज्जैनमा रहेको खगोलीय बेधशाला (observatory) को प्रमुख पनि बने । त्यतीबेला गणित र खगोल विज्ञानको केन्द्र थियो, उज्जैन । उनीभन्दा अघि वराहमिहिर र ब्रह्मगुप्त जस्ता अग्रणी स्कलर्सहरुले यहीँ आफ्नो प्राज्ञिक जीवन विताएका थिए ।
भास्कराचार्यका ६ वटा कृतीमध्ये सिद्धान्तसिरोमणीको पहिलो भागमा उनले खगोल विज्ञानको बारेमा लेखेका छन् । उक्त कृतिबाट थाहा हुन्छ की ब्रह्मगुप्तले विकास गरेको खगोल विज्ञानमा आधार रहेर भास्कराचार्यले पृथ्वीले आफूतिर तान्न सक्ने बलको बारेमा अध्ययन गरेका थिए ।
तर, भास्काराचार्यले यी तीन कुराहरु गर्न सकेनन्, जुन चार सताब्दी पछि बेलायतमा सर आइज्याक न्युटनले गर्नेवाला थिएः
१) हेलियोसेन्ट्रिक(सौर्यकेन्द्रीय) मोडेलमा गुरुत्वबलको बर्णन गर्न सकेनन् ।
२) कुनै पनि गणितिय सुत्र या सिद्धान्तहरु प्रतिपादन गर्न सकेनन्
३) कुनै निश्चित सिद्धान्तका आधारमा गुरुत्वाकर्षण बलको प्रक्षेपण गर्न सकेनन् ।
सिद्धान्तले प्रक्षेपण गर्नसक्ने क्षमता राख्नुपर्छ, नत्र त्यो केवल मान्यतामात्रै हुन जान्छ । त्यसैले उनी अरस्तु र ब्रह्मगुप्त जस्तै केवल ‘मान्यताकार’ मात्रै रहे । त्यसैले उनले केपी ओलीले भनेजस्तो ‘गुरुत्वाकर्षण बल पत्तालगाएका’ होइनन् ।
त्यसो भए कसले पत्ता लगायो ?
अब जाउँ सोह्रौं शताब्दीको युरोपतिर ।
यो सताब्दीअघि युरोपमा भुकेन्द्रीय(जियोसेन्ट्रिक) मोडेलका आधारमा खगोलीय पिण्डहरुको अध्ययन गर्ने गरिन्थ्यो । अर्थात्, पृथ्वीलाई केन्द्रमा राखेर सुर्य, ग्रह तथा चन्द्रमाले परिक्रमा गर्छन् भन्ने मान्यता थियो । यो मान्यताका प्रतिपादक थिए–टलेमी ।
इस्वी सम्वत्काे दोस्रोे शताब्दीमा अलेक्जेण्ड्रिया(हाल इजिप्ट)का भुगोल तथा खगोलशास्त्री टलेमीले सुर्य, ग्रह र चन्द्रमा वृत्ताकार कक्षमा पृथ्वी वरीपरी घुम्छन् भनी अनुमान गरे । ती कक्षहरुलाई उनले ‘एपिसाइकल’ नाम दिए ।
पृथ्वी केन्द्रित भएकाले यसलाई पछि बैज्ञानिकहरुले जियोसेन्ट्रिक मोडेलकाे नाम दिए ।
उनले भिन्न खगोलीय पिण्डहरुको भिन्नै गति र कक्षहरु चित्रमा उतारेर उनले एउटा खगोलीय पद्धतीको विकास गरे । टलेमीको यो पद्धती युरोपमा आउने हजार बर्षसम्म स्वीकृत खगोल विज्ञान बनिरह्यो ।
साेह्राै र सत्राैं शताब्दीकाे बैज्ञानिक क्रान्तीकाे सुरुआत तिर याे माेडेललाई आधुनिक बैज्ञानिकहरुले मान्नेवाला थिएनन् । १५०८ देखि १५१४ को बीचतिर पोल्याण्डका निकोलस कोपर्निकसले टलेमीका मान्यताहरुमाथि धावा बोल्दै सौर्यकेन्द्रीत सिद्धान्त (हेलियोसेन्ट्रीक थ्यौरी)को विकास गरे । उनको जीवनकाल भरी प्रकाशित नभएको ‘कमेन्टारिओलस’मा उनले सुर्यलाई केन्द्रमा राखेर ग्रह तथा उपग्रहहरुले परिक्रमा गर्छन् भनी उनले ठोकुवा गरे ।
गुरुत्वाकर्षण बलको सिद्धान्त प्रतिपादनका लागि कोपर्निकसको ‘हेलियोसेन्ट्रीक’ सिद्धान्त महत्वपूर्ण ‘ब्रेक थ्रु’ थियो ।
ग्रहहरुले सुर्यको परिक्रमा गर्छन् भनी कोपर्निकसले सही विश्लेषण गरेपनि ती ग्रहहरु परिक्रमित हुने कक्षहरुलाई भने जर्मनीका योहानस केपलरले परिभाषित गरे । डेनिस प्रायद्विपका सम्पन्नशाली खगोलशास्त्री टाइको ब्राहेको सहयोगमा केपलरले ग्रहले सुर्यको परिक्रमा गर्दा वृत्ताकार कक्षमा नभई अण्डाकार(इलिप्टकल) कक्षमा गर्छन् भनी पत्ता लगाए । त्यतीमात्रै होइन, केपलरले सुर्यदेखि ग्रहसम्मको दुरी र सुर्यलाई परिक्रमा गर्दा लाग्ने समयको सम्बन्ध स्थापित गरे ।

सोह्रौं शताब्दीको अन्त्यतिर इटालियन ग्यालिलियो ग्यालिलीले बैज्ञानिक प्रयोगलाई विमर्शवृत्तमा तान्ने कोशिस गरे । उनले गह्रौं र हलुका दुई गोलाकार वस्तुहरु निश्चित उचाईबाट खसाल्ने हो भने समान गतिमा भुइँमा झर्छन् भनी पत्ता लगाए ।
ग्यालिलीका एक जीवनी लेखकका अनुसार यो कुरा पत्ता लगाउन उनले ती दुई गोलाकार वस्तुहरुलाई ‘टावर अफ पिसा’बाट खसालेका थिए रे ! तर, ‘पेलेले पेनल्टी हान्दा आफ्ना भान्जालाई बलसँगै उडाइदिएका थिए अरे’ भन्ने ‘मिथ’जस्तै ग्यालिलीले ‘टावर अफ पिसा’ बाट गुरुत्वको प्रयोग गरे/गरेनन् भन्ने कुरा अन्य कुनै तरिकाबाट पुष्टि हुन सकेको छैन ।
अनि आए न्युटन !
केपलर र ग्यालिलीका सिद्धान्त तथा प्रयोगहरुलाई नजिकैबाट नियालिरहेका थिए, बेलायतका आइज्याक न्युटनले । मुख्यतः केपलरका नियमहरुबाट न्युटन प्रभावित भएका थिए । त्यसैले केपलरका ग्रहहरुको गतिसम्बन्धी नियममा टेकेर न्यूटनले गतिका नियमहरु प्रतिपादन गरे, जुन नियम ग्रहहरुमा मात्रै सिमित थिएनन् । प्रसिद्ध न्युटनको गतिका तीन नियम यिनै हुन् ।
ग्रहहरुले किन निश्चित कक्ष र निश्चित गतिमा सुर्यको गरिक्रमा गर्छन् भनी घोत्लिंदा न्युटनलाई हरेक वस्तुले गतिकाे निश्चित नियम पालना गर्छन् भन्ने आभास भयो । चाहे त्यो चन्द्रमाको गति होस्, या त पृथ्वीको अथवा रुखबाट भुइँतिर खस्दै गरेको स्याउ नै किन नहोस्, यी सबैले गतिका आधारभूत नियमहरु पालना गरेका हुन्छन् । न्युटनले गतिका यी नियमहरुलाई ‘म्याथमेटिकल प्रिन्सिपल अफ नेचुरल फिलोसोफी’मा लेखेका छन् ।

‘प्रिन्सिपल’का पानाहरुमा न्युटनले गतिका नियमहरुको ‘केस स्टडी’का रुपमा गुरुत्वाकर्षणको नियमलाई प्रस्तुत गरे । सबै पदार्थहरुसँग आफ्नै बल हुन्छ जसले हरेक अन्य पदार्थलाई आफ्नो केन्द्रतिर तान्ने प्रयास गरिरहेको हुन्छ, जसलाई उनले गुरुत्व(ग्राभिटी) भनि परिभाषा दिए ।
उनका अनुसार कुनै वस्तुको गुरुत्व सोही वस्तुको पिण्डमा भर पर्छ । उदाहरणका लागि, सुर्यको गुरुत्व पृथ्वीको भन्दा धेरै छ किनभने सुर्यको पिण्ड पृथ्वीको भन्दा धेरै छ । त्यसैगरी रुखबाट खसिरहेको स्याउको गुरुत्व पृथ्वीको भन्दा निकै थोरै हुन्छ । त्यसैले स्याउले पृथ्वीलाई तानेकाे हाम्राे आँखाले देख्दैन । जतीसुकै थाेरै बलले किन नहाेस्, दुई वस्तुहरुले एक अर्कालाई आफूतिर तान्ने कोसिस गर्छन् ।
न्युटनका अनुसार कुनै दुई वस्तुको पिण्डको गुणालाई उनीहरु बीच रहेको दुरीको बर्गले भाग गरेपछि ती दुई वस्तु बीच उत्पन्न हुने बल निकाल्न सकिन्छ । अर्थात्, न्युटनले एउटा बलियो सुत्र प्रतिपादन गरे जसले अनुमानका भरमा नभई तथ्याङ्कका आधारमा जुनसुकै दुई वस्तुबीचको गुरुत्वाकर्षण बल प्रक्षेपण गर्न सकिन्थ्यो ।
यहाँनिर के बुझ्नु पर्छ भने कुनै पनि बैज्ञानिक सिद्धान्त कुनै एक व्यक्तिको देन होइन । न त यो एक दिनमै प्रतिपादित हुने कुरा हो । पूर्वस्वीकृत मान्यताहरु बेगर नयाँ खोज हुन सक्दैन । आजको ‘सत्य’ पनि मानव जातीको सामूहिक चेतनाको ‘हिट एण्ड ट्रायल’ बाट जन्मिएको हो ।
यो कुरा स्वयम् न्युटनले पनि स्वीकारेका छन् । बैज्ञानिक रोबर्ट हुकलाई न्युटनले लेखेको एक प्रसिद्ध चिठीमा उनले उल्लेख गरेका छन्–‘यदी मैले अगाडि देखिरहेको छु भने दिग्गजहरुको कुममा उभिएकाले हो ।’
त्यसैले केपी ओलीले भनेजस्तो ‘गुरुत्वाकर्षण पत्ता लगाउने व्यक्ति’को तक्मा कुनै एक व्यक्तिलाई जाँदैंन । गएपनि त्यो उनले भनेजस्तो भारतीय भास्काराचार्यलाई त झन् जाँदै–जाँदैन । किनभने सोह्रौं शताब्दीका युरोपका गणितज्ञ तथा खगोलशास्त्रीहरुको सामूहिक बैज्ञानिक चेतनाले गुरुत्वाकर्षणको सिद्धान्त जन्मिएको हो । बरु न्युटनले ‘टेकेका दिग्गजको कुमहरु’मध्येको एक भास्काराचार्यको पनि हुन सक्ला !