असनमा रहेको अन्नपूर्णा मठमा उहिले एक जना मछुवारलाई माछो चढाउने हुटुहुटी जागेछ । त्यसका लागि उसले बागमती नदीमा जाल हान्यो । जाल तानेर हेर्दा त एउटा ठुलै जातको माछो अल्झिएको ?
चाँदी झैं पेट टल्काएको माछो मसार्दै उसले कल्पना गर्यो—“अन्नपूर्णा माईं राम्रो माछो पाएर कति खुसी होलिन् है ? भूईंबाट ता जसले पनि चढाएका छन् । मैले अनौठो काइदाले चढाउनु पर्यो । अथवा आकाशमार्गबाट चढाउँदा माईं बढी खुसी होलिन् ।”
जुन ठाउँबाट आकाशतिर फाल्दा अन्नपूर्णा माईको मठभित्र खस्नसक्छ, त्यो ठाउँको अनुमान गरी मछुवारले चिनो लगायो । घरबुढी र छोरासित त्यो अनुमान सही हुन सक्ने वा नसक्ने सल्लाह लियो । घरबुढीले तर्कवितर्क नगरी आफ्नो पोइको अनुमानलाई नै सही थापी ।
मछुवारको छोरो पढेलेखेको थियो । उसले बाबुको अन्दाजमाथि तर्क गर्न थाल्यो । त्यसको पुष्ट्याइँका लागि नापजाँच र हिसाब किताब गर्यो । आफ्ना बाबुको भन्दा फरक बिन्दुमा अडकल लगायो ।
उसले बाबुलाई यसो भन्यो—“बा, तपैंले अड्कल काटेको थलाबाट माछो सुइँकाएर माथि फ्याँक्दा मठभन्दा टाढा गएर खस्ने छ । त्यसकारण तपैंले लगाएको चिनोबाट नफाल्नुस् । मैले लगाएको चिनोबाट फ्याँक्ने हो भने मठको ठ्याक्कै ढोकामा खस्ने छ ।”
बाबु होरट्टे थियो आफ्नै जिद्दी गर्ने । उसले छोराको अड्कललाई सही मानेन । घरबुढीले पनि यसो भनेर उक्साई— “हो, यो दुधे बाल्खले के जान्दो हो बिचरा ! तिम्रै अड्कल ठिक होला नि बुढामाउ !”
छोराले कति नै तर्क गरे पनि बुढाबुढीले उसको कुरो टिपेर फाले । मछुवारले माछो हातमा लियो । तन्त्रमन्त्र गुनगुनाउँदै सुइँकाएर माथि फ्याँक्यो । ‘ला, माछो त मठको ढोकाभन्दा टाढै पो गएर खस्न पुग्यो ! हिस्स बुढा खिस्स !’ छोराले ओंठ लेप्य्रायो ।
टाढै खसे पनि अन्नपूर्ण माईंलाई आकाशमार्गबाट चढाएको त्यो माछो सार्न हुन्नथ्यो । उसले आरी ल्याएर सुस्तरी माछालाई आसन बसाईवरी फुलले ढाकिदियो । उनीहरू घर गए । मछुवारको मनमा छोराले भनेको नमानेकोमा पछुतो परिरह्यो ।
कालान्तरमा त्यो माछो राखेको थलोमा माछाकै आकारको शिला देखा परेछ । त्यसलाई अन्नपूर्णा माईंको माछो भन्दै स्याहार–सम्भार गर्न थालिएछ । कुल्चियो भनेर नगरवासीले त्यसको वरिपरि बारबन्देज गरेछन् । अन्नपूर्णाको दर्शन गर्न आउने भक्तजनले माछालाई पनि ढोग्न थालेछन् ।
बुद्धिमान छोराछोरीका कुरा सुन्नुपर्छ ।