काठमाडौं । टोकियो ओलम्पिक २०२० बाट नेपाली पौडी खेलाडी गौरिका सिंह बाहिरिएकी छन् । टोकयोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको पहिलो चरणको महिला १०० मिटर फ्रिस्टाइलमा तेस्रो आएपछि गौरिका बाहिरिएकी हुन् ।
चार जना प्रतिस्प्रधी रहेको उक्त चरणमा उनले १ मिनेट ००.११ सेकेण्ड समय निकालेकि थिइन्, जुन नयाँ राष्ट्रिय किर्तिमान भएपनि प्रतियोगिताको सेमिफाइनलसम्म पुग्न प्रयाप्त रहेन ।
सुरुको ५० मिटरमा गौरिका अघि रहेपनि पछिल्लो ५० मिटरमा उनले राम्रो प्रदर्शन गर्न सकिनन् । यो चरणमा नाइजेरियाकी अबिओला ओगुनबाङ्गो ५९.७४ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहिन् । यस्तै मोन्टेनेग्रोकी एन्डेला अन्टुनोभिक १ मिनेट ००.०१ सेकेण्डसहित दोस्रो स्थानमा रहिन् ।
यस स्पर्धामा कूल ५१ खेलाडीको सहभागिता छ र उत्कृष्ट समय निकाल्ने १६ खेलाडी मात्र सेमिफाइनलमा प्रवेश गरेका छन् ।