सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकालाई हेर्दा त्यस्तै लाग्छ, सिंहदरबार केन्द्रित अधिकार गाउँ पुगेबाट यहाँ विकासको लहर आएको छ ।
सैनामैनावासीका आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएका आयोजनाहरु क्रमबद्ध रुपमा विकासोन्मुख रहेका छन्, जिल्लाको उत्तरी क्षेत्रमा रहेको यो ठूलो नगरभित्रका जो कोही नागरिकले पनि सहजै यस्तै अनुभुत गर्न सक्छन् ।
सैनामैनामा जननिर्वाचित जनप्रतिनिधि आएपछि स्थानीय स्तरमा लामो समयसम्म रहेका नागरिकका अधिकारसँग जोडिएका समस्याहरु समाधान हुन थालेका छन् भने उनीहरुको आर्थिक बढोत्तरीका लागि विकास निर्माणका कामले गति लिन थालेका छन् ।
सैनामैनामा जनप्रतिनिधी आएपछि पनि नगरको प्रशासनिक कार्यालय नहुँदा सेवा प्रवाहमा निकै ठूलो चुनौति भइरहेको थियो । तरपनि जनप्रतिनिधिले भवन भाडामा लिएर भएपनि सेवा प्रवाहलाई रोकेनन् ।
सेवालाई विकेन्द्रिकरण गरी नागरिकको दैलाबाटै प्रवाह गर्न वडा कार्यालयहरुको व्यवस्थापन गर्नै पर्ने बाध्यतालाई पनि नगरपालिकाले पहिलो प्राथमिकता दिएर प्रशासनिक संगठनलाई चुस्त बनायो । केही दिन विते, अहिले नगरपालिकासँग आफ्नै भवन छ । जनप्रतिनिधि र कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता छन्, सोही अनुसार कानूनको लगामभित्रै रहेर सेवा प्रवाह भइरहेको छ ।
तिन वटा गाविस गाभिएर बनेको एउटा ग्रामीण क्षेत्र भएकाले ऐनकानून र गुरु योजना निर्माण बिना यस क्षेत्रको विकास गर्न कठिन थियो । यसर्थ सैनामैनाले अधिकारहरु कानुनसम्मत् प्रयोग गर्न पहिलो बर्षमा नै ३६ वटा कानून बनायो ।
त्यसलगत्तै नगरपालिकाले तत्कालै गर्नुपर्ने कामदेखि, बहुवर्षीय र दिर्घकालीन विकास निर्माणका कामलाई प्राथमिकताका आधारमा अगाडि बढायो । सैनामैना नगरपालिका प्रमुख चित्रबहादुर कार्कीका अनुसार नगरपालिकाले अवधारणाका साथ कामलाई अगाडि बढाउने गरी सुरुमा भू–उपयोग योजना, नगर यातायात गुरुयोजना र नगर पाश्र्वचित्र समेत समेटिएको समग्र नगरपालिकाको गुरुयोजनालाई प्राथमिकता दिइएको थियो ।
कार्की भन्छन्–‘गुरुयोजनामा उठाएका विषयवस्तुलाई यो चार वर्ष सम्ममा प्राथमिकताका साथ काम गरिरहेका छौँ, हामीले पुर्वाधार विकासको क्षेत्रमा, सामाजिक सेवाको क्षेत्रमा र आर्थिक विकासको क्षेत्रलाई ध्यानमा राखेर अगाडि बढेका छौँ ।’
अहिले केही योजना कार्यान्वयन भएका छन् भने केही योजनाहरु कार्यान्वयनको चरणमा रहेका छन् ं । समग्र विकासका लागि आवधिक योजनाहरुको कार्यान्वयन गर्दै दीर्घकालीन महत्वका योजनामा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्ने र थप चरणबद्ध कामको थालनी भइरहेको छ ।
मेरुदण्ड ‘सैनामैना चक्रपथ’ !
पुर्वाधार विकासको क्षेत्रमा सैनामैनाको मेरुदण्ड मानिएको सैनामैना चक्रपथ निर्माणलाई उच्च प्रथामिकतामा राखेर नगरपालिकाले काम अगाडि बढाएको छ ।
नगरपालिकाले चक्रथलाई नेपालको सबैभन्दा लामो भनेर दावी गरिरहेको छ । ५३ किलोमिटर लामो चक्रपथ चक्रपथको काम अहिलेसम्म करिब ६० प्रतिशत सकिएको छ ।
चक्रपथमा अहिले ७ वटा पुलको ठेक्का लगाउने र बाँकी संरचना तथा सडक कालोपत्रे गर्ने तयारी छ । आगामी असारसम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको यस सडक निर्माणका लागि प्रदेश सरकारसँग २० करोड रुपैयाँ समेत माग गरिएको सैनामैना नगरपालिकाले जनाएको छ ।
११ वटै वडा र बुटवल तथा लुम्बिनीलाई सहायक मार्गबाट पनि जोड्नेगरी बनाइएको चक्रपथ बहुवर्षीय आयोजनाका रुपमा निर्माण हुन लागेको छ । नगर क्षेत्रमा पर्ने मुख्य पुर्व–पश्चिम राजमार्ग खण्ड, सालझण्डी–ढोरपाटन सडक, कलौनी–लुम्बिनी सडक र मुर्गिया–लुम्बिनी सडक चक्रपथमा जोड्ने सम्पर्क सडकहरु हुन् ।
यी सम्पर्क सडकहरु सबै कालोपत्रे भइसकेका छन् । चक्रपथसँग जोडिने तिनाउ–दानव करिडोर, सैनामैना(ताली)- लुम्बिनी–कक्रहवा सडक र सैनामैना मेजर रोड लगायतका सडकहरुको काम भइरहेको छ ।
मेजर रोड अन्र्तगत सैनामैना वडा नं. १, २, ३, ४, ५, ६, ८, ९ र १० लाई जोड्ने १५ किमी लामो मेजर रोडको कालोपत्रे भइरहेको छ । त्यसैगरी आन्तिरक सडकहरु करबला-रामबस्ती-लेडुवा सडक, दुधराक्ष चोक-मलमला सडक, मलमला मन्दिरमा सिंढी निर्माण, खकनपुर झारबैरा सडक लगायतका अन्य सडकको केही काम सकिएको छ ।
राष्ट्रिय गौरवका आयोजना
नगरको अर्को मुख्य योजना मध्ये लामिरह बहुउद्धेश्यीय आयोजना संघीय सरकार, लुम्बिनी प्रदेश सरकार र नगरपालिकाको सहलगानीमा ठेक्काको व्यवस्थापन गर्ने काम अगाडि बढेको नगरपालिकाले जनाएको छ । आयोजना सम्पन्न भएमा लामिरह तालमा बाँध निर्माण गरी खानेपानी आयोजना तथा पर्यटकीय आयोजनाहरु सञ्चालन गर्न सकिने छ ।
नगरको महत्वपूर्ण बहुबर्षीय आयोजनाका रुपमा रहेको नमूना ढल प्रशोद्यन केन्द्र वडा नं.३ र ४ मा निर्माण भइसकेको छ ।
अन्तर-स्थानीय तह फोहोर प्रशोधन तथा व्यवस्थापन केन्द्र, सैनामैना संग्रहालय, सैनामैना वडा नं १ मा कृषि उपज संकलन केन्द्र, वडा नं ७ मा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र सैनामैना औद्योगिक ग्राम, सैनामैना नमुना बस्ती, सैनामैना सांस्कृतिक सहर र वडा नं १ मा निर्माण हुने ज्येष्ठ नागरिक एवम् अपाङ्ग संरक्षण ग्राम लगायतका योजना बहुवर्षीय योजनाहरु हुन् ।
यीमध्ये फोहोर प्रशोधन तथा व्यवस्थापनका लागि सैनामैना, बुटवल उपमहानगरपालिका र कञ्चन गाउँपालिकासमेतको सहकार्यमा रहने छ नगरपालिकाले जनाएको छ ।
त्यस्तै नगरको वडा नं ७ देउवापारमा करिब ११ विगाह क्षेत्रफलमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कम्पाउड वाल लगाउने र पिच निर्माण गर्ने काम भएको छ ।
करिब २२ विगाह क्षेत्रफलमा निर्माण गर्न लागेको औद्योगिक ग्राम क्षेत्रमा पनि कम्पाउण्ड वाल, कटिङ–फिलिङ र ट्याक निर्माणको काम मात्र भएको सम्पन्न भएको छ ।
नगरमा सैनामैना नमुना वस्ती अन्तर्गत १० वटा नमुना घरको निर्माण कार्य पुरा भइसकेको छ । वडा नं.३ मा इन्डोरसहितको कभर्डहल निर्माण भएको छ । यसैगरि वडा नं. ६ मा पनि इन्डोरसहितको अर्को कभर्ड हल निर्माण भइरहेको छ ।
विद्युतीय गाडी उत्पादन गर्न 'एसेम्बल प्लान्ट'
सैनामैना नगरपालिका ८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट निर्माण हुने भएको छ । नगरपालिका र सुन्दर टेर्डस प्रा.लि काठमाडौंबिच कम्पनी सञ्चालन गर्ने सम्झौता भएको छ ।
नगरको भडसी, भडसा र शङ्करपुर गरी तीनवटा टोलको करिब ९ बिघा जग्गामा एसेम्बल प्लान्ट निर्माण गर्न नगरपालिकाले सुन्दर ट्रेडर्स प्रालिलाई २५ वर्षका लागि जग्गा लिजमा दिनेगरी सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
पहिलो चरणमा सैनामैनामा करिब तीन अर्ब ६० करोडको लगानीमा कम्पनी संचालनमा आउने छ । प्रालिले नगरमा विद्युतीय बस, मोटरसाइकल, जिप तथा कार निर्माण गर्नेछ । प्लान्टले पहिलो वर्ष ३ सय सवारी साधन एसेम्बल गर्ने लक्ष्य लिएको छ ।
एसेम्बल प्लान्ट निर्माणपछि यहाँका स्थानीयले रोजगारी पाउने, आन्तरिक मात्रै नभई अन्तराष्ट्रिय बजारमा पहुँच पुग्ने, राजश्व वृद्धि हुने आशा नगरपालिकाको रहेको छ ।
खुल्न लागेको एसेम्बल प्लाण्ट वातावरण मैत्री हुने र यसले आर्थिक-सामाजिक रुपान्तरण ल्याउने अधिकृत पन्थीको भनाइ छ । त्यस्तै यातायात सेवालाई व्यवस्थित गर्न वडा नं. १० सालझण्डीमा वसपार्क निर्माण गरी सञ्चालनमा ल्याइएको छ, भने सैनामैना ९ पिपलडाँडामा प्रदेश स्तरीय रिफ्रेस सेन्टरको निर्माण कार्य पनि चलिरहेको छ ।
उकासिंदै शैक्षिक गुणस्तर
त्यसैगरी नगरपालिकाले सामाजिक क्षेत्रको शिक्षा क्षेत्रलाई पनि महत्वका साथ अगाडि बढाएको जनाएको छ । सुरुवातको समयमा नगरको शिक्षा क्षेत्रको विद्यालयको सिकाई उपलब्धि स्तर मापन गरिएको थियो ।
त्यतिबेलाको समयमा सामुदायिक विद्यालयको सिकाई स्तर ३० देखि ४० प्रतिशत र संस्थागत विद्यालयको ५० देखि ६० प्रतिशत सम्म मापन गरिएको थियो ।
करिब ४ वर्षपछि हाल भने सामुदायिक विद्यालयको न्युनतम सिकाई स्तर ६० प्रतिशत र संस्थागत विद्यालयहरुको करिब ७० प्रतिशत मापन गरिएको छ ।
यद्यपि, नगरपालिकाको सिकाई उपलब्धि लक्ष्य भने ९० प्रतिशत रहेको छ । नगरपालिकाले यस वर्षदेखि पुर्वाधार, जनशक्ति, विद्यार्थीको नैतिक शिक्षा लगायत सबै कुरामा तीनै तहको माध्यमबाट सहयोग जुटाएर सिकाई उपलब्धि ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
सुरुको अवस्थामा नगरमा २७ वटा सामुदायिक विद्यालय थिए । पछि नगरपालिकाले सञ्चालनामा कठिनाई भएका र कम विद्यार्थी भएका १० वटा विद्यालयलाई समायोजन गरेको थियो । हाल नगरमा रहेका २७ सामुदायिक विद्यालय मध्ये १७ वटा विद्यालयमा अध्यापन हुने गर्दछ ।
नगरप्रमुख कार्की भन्छन् –‘ हिजोको दिनमा सरकारी स्कुलमा अभिभावकको वितृष्णा थियो, तर हाल भने अभिभावक र विद्यार्थीको पनि सामुदायिक विद्यालय पहिलो रोजाइमा पर्न सक्ने स्थिति सिर्जना भएको छ ; यसको मुख्य कारण भने विद्यालयको व्यवस्थापकीय पक्ष, कुशल प्रशासन र गुणस्तरीय शिक्षा हो ।'
प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षालाई कार्यान्वयन गर्न सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई आई.सि.टि सम्बन्धि आधारभूत तालिम र नैतिक शिक्षा तालिम पनि प्रदान गरिएको छ । । विद्यालयमा सूचना प्रविधिको प्रयोग गरि प्रोजेक्टरको माध्यमवाट शिक्षण सिकाइ गराउने कार्यको थालनी गरिएको छ । नगरपालिकाले यस वर्षदेखि एक शिक्षक एक ल्यापटप योजना समेत अघि सारेको छ ।
विद्यालयको भौतिक संरचना, छात्राहरुका लागि स्यानिटरी प्याड, दिवाँ खाजा लगायत आधारभूत विद्यालयमा आवश्यक पर्ने सुविधाहरु उपलब्ध गराउँदै आएको छ । संस्थागत विद्यालयको हकमा भने आधारभूत सुविधाहरु प्रदान गर्न विद्यालयलाई निर्देशन गरिएको छ ।
त्यस्तै पालिकाले प्रोत्साहन स्वरुप उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक र उत्कृष्ट विद्यार्थीलाई समेत पुरस्कृत गर्दै आएको छ । प्रत्येक सामुदायिक विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराउनका लागि उच्च स्तरको फिल्टर नगरपालिकाले उपलब्ध गराएको छ ।
त्यसैगरी बिहानी समयमा सञ्चालन भइरहेकोे कक्षा ११ र १२ लाई दिवाकालिन समयमा सञ्चालनमा ल्याएको छ । नगरभित्रका बेरोजगार युवा वर्गलाई स्वरोजागर गराउन कोरिया नेपाल इष्टिच्युट अफ टेक्नोलोजिमा मेकानिकल, इलेक्ट्रिक र अटो मोबाइल इन्जिनियरिङ्ग तर्फ १८ महिने रोजागारमूलक तालिम सञ्चालन भइरहेको छ । जसमा हाल सम्म २ सय ५० जनाले तालिम लिएका छन् ।
नगरपालिकाका अनुसार सैनामैनामा महिला लक्षित विद्यालय पनि संचालनमा ल्याउने तयारी छ । जसबाट बिचमै पढाई छोडेका महिलाहरुको अध्ययन गर्ने चाहना पुरा हुने विश्वास लिइएको छ ।
सुधारिदै स्वास्थ्य क्षेत्र
यता स्वास्थ्य क्षेत्रको हकमा नगरमा सुरुवातको अवस्थामा अत्यन्तै कमजोर रहेको नगर प्रमुख कार्की बताउँछन् । उनी भन्छन् – हिजोको तुलनामा आज धेरै सुधारउन्मुख छ,स्वास्थ्य चौकीहरुमा उपचार गराउने सेवाग्राहीको आकर्षण पनि बढेको छ, तर अझै पनि चेतनास्तर बढाउन भने जरुरी छ ।
नगर स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले दिएको जानकारी अनुसार पछिल्लो समय नगरको स्वास्थ्य चौकीमा उपचार गराउने बिरामीको संख्यामा बृद्धि हुँदै गएको छ । नगरमा आर्थिक वर्ष २०७४/०७५मा २९ हजार ९ सय ६ थियो । त्यस्तै आर्थिक वर्ष ०७५/०७६ मा भने एक वर्षको अन्तरमा ३९ हजार ४ सय ५९ जनाले उपचार सेवा लिएका थिए ।
जुन अघिल्लो वर्षको तुलनामा करिब १० हजारले बढी हो । आर्थिक वर्ष ०७६ /७७ मा भने ४६ हजार २ सय ५८ जनाले उपचार सेवा लिए । वर्ष ०७७ /७८ पनि सामुदायिक स्वास्थ्य चौकीहरुमा सेवा लिनेको संख्या बृद्धि हुँदै गएर ५० हजार १ सय ५९ पुगेको प्रमुख पन्थीको भनाई छ ।
नगरमा हाल सैनामैना १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालय सञ्चालनमा छ । यहाँ प्राकृतिक चिकित्सा पद्धतिबाट उपचार हुन्छ । जहाँ नगरपालिकाले कोभिड १९ अस्थायी अस्पताल पनि सञ्चालनमा ल्याएको छ ।
त्यस्तै संघीय सरकारको योजना अनुरुप सैनामैनाको वडा नं ४ स्थित कृषि तथा पशु विकास कार्यालय नजिकै निमार्ण हुने १५ शैयाको अस्पताल बनाउनका लागि नगरपालिका र ठेकेदार कम्पनी श्याम सुन्दर /एन बि जे भि बुटवलबिच निर्माण कार्यका लागि सम्झौता भइसकेको छ ।
जसको लागत ११ करोड ३६ लाख रहेको छ । अस्पतालमा बहिरङ्ग विभाग( ओपीडी) अन्तरङ्ग विभाग (आपिडी, अपरेशन थियटर, इमरजेन्सी, प्रसुति सेवा लगायतका इकाई रहनेछन् । अस्पताल २ वर्षभित्र सञ्चालनमा ल्याउने नगरको योजना छ ।
त्यसैगरी नगरपालिकाले हाल सैनामैना १० सालझण्डीमा सर्पदंश प्राथमिक उपचार केन्द सञ्चालनमा ल्याएको छ भने, ११ वटै वडामा आधारभूत स्वास्थ्य चौकी पनि स्थापना भएको छ ।
नगरमा २४ सै घण्टा बर्थिङ सेन्टर,१० वटा गाउँ घर क्लिनक र १० वटा नै खोप केन्द्रहरुबाट नियमित रुपमा सेवा प्रवाह भइरहेको नगरपालिकाले जनाएको छ ।
हाल सम्म आमा सुरक्षा कार्यक्रम अन्तर्गत करिब ६ सय जनाले सेवा लिएका छन् । कलौनी स्थित दुधराक्ष स्वास्थ्य चौकी रहेको स्थानमा नेपाल सरकार मार्फत स्वास्थ्य केन्द्र भवन र लुम्बिनी रण अम्बिका आँखा अस्पतालको सहयोगमा आँखा उपचार केन्द्र स्थापनाको लागि पूर्वाधार निर्माणको काम पनि सुरु भएको छ । भने मुर्गियामा रहेको पर्रोहा स्वास्थ्य चौकीमा पनि आँखा उपचार केन्द्र सञ्चालनमा रहेको छ ।
कोभिड –१९ को महामारीले ठूलो पाठ सिकाएको उल्लेख गर्दै नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको छ । प्राकृतिक चिकित्सालयलाई लुम्बिनी प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने नगरको योजना छ । खानेपानी तथा सरसफाईका कार्यक्रमलाई पनि पालिकाले निरन्तरता दिएको छ ।
हाल महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अस्थायी कोरोना अस्पताल निर्माण गरि उपचार सेवा, एम्बुलेन्स सेवा, सामुदायिक स्तरमा एन्टिजेन परिक्षण, कोरोना पोजेटिभ,आइसोलेसनका रहेका बिरामीका लागि परामर्श लगायतका क्रियाकलापलाई जोड दिइरहेको नगरपालिकाले जनाएको छ ।
हाल अस्थायी अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेका छन् । अहिले अस्पतालमा दुईजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् । त्यस्तै नगरमा कूल ४३ जना स्वास्थ्यकर्मी रहेका छन् भने पर्रोहा स्वास्थ्य चौकीमा ल्याब सुविधा रहेको छ ।
दक्ष बन्दै कृषकहरु
आर्थिक विकास तर्फ नगरपालिकाकले कृषि र पशुपालन गर्ने किसानहरुलाई प्रोत्साहन गरिरहेको छ । कृषि तर्फ विशेष गरि नगरपालिकामा कृषकहरुका लागि ११ वटै वडामा टनेल निर्माण गर्नका लागि अनुदान उपलब्ध गराइएको छ । टनेल निर्माणले यहाँका कृषकहरुलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न सहज भएको छ ।
त्यसैगरी कृषि शाखा अधिकृत सिर्जना सुबेदीका अनुसार नगरपालिका भित्र करिब ३ हेक्टर जग्गामा ड्राइगन खेती सुरु गरिएको छ । ड्राइगन खेती गर्ने किसानहरुलाई शाखाले अनुदान उपलब्ध गराउँदै आएको छ ।
जसबाट नगरपालिका भित्रका कृषकहरुको आयआर्जनमा बृद्धि हुने विश्वास गरिएको छ । रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न नगरको सबै वडामा गड्यौली मल बनाउने विधि र अनुदान कृषकहरुलाई प्रदान गरिएको छ , भने कमपोस्ट मल बनाउन समेत किसानहरुलाई प्रोत्साहन गर्दै आएको छ ।
नगरमा मागमा आधारित अनुदान,सिचाई पूर्वाधार निर्माण, प्रत्येक वडामा कृषि पाठशाला, आइपिएम प्रविधिबाट तालिम, किसानहरुलाई कृषि सहजकर्ताको रुपमा नै तयार गर्ने, आधुनिक कृषि उत्पादनको प्रविधि हस्तान्तरण गर्ने कामलाई मुख्य प्रथामिकतामा राखिएको छ । सैनामैनाको ११ वटै वटामा कृषक पाठशाला संचालन गरी करिब २०० जना दक्षता हासिल गरेका तालिम प्रर्याप्त कृषकहरु तयार भएका छन् ।
नगरमा दुध मासु र अण्डामा आत्मनिर्भर गराउँदै अरु कृषि उपजमा पनि आत्मनिर्भर बनाउने गरी योजनाबद्ध काम हुदै आएका छन् । ११ वटै वडाहरुमा गोठ, खोर सुधार कार्यक्रम जारी छ । यो कार्यक्रमले पशुपंछीपालन कृषकहरुको व्यवस्थित गोठ, खोर निर्माण गर्दा स्वच्छ, दूध, अण्डा, मासु उत्पादन हुँदै आएको छ ।
साामुहिक खेती, एकीकृत कृषि प्रणलीलाई प्रथामिकता दिदैँ चकलाबन्दी गर्ने लगायतका कामलाई प्रोत्साहन गर्ने काम भएको छ । नगरमा हाल सम्म करिब १ सय १० वटा कृषक समूह छन् ।
एकीकृत वैज्ञानिक कृषि प्रणाली लागु गर्दै कृषिलाई समृद्धिको बलियो आधार बनाउने नगरको योजना छ । त्यस्तै मुर्गिया, कलौनी, सालझण्डीमा रहेका अव्यवस्थित साप्ताहिक हाटबजारलाई पायक पर्ने उपयुक्त स्थानमा स्थानान्तरण गर्ने काम भएको छ ।
सैनामैना नगरपालिका र युएनडिपीको साझेदारीमा कोभिड १९ प्रभावित, विदेशमा रोजगारी गुमाएका नेपाली र स्वदेशमा रोजगारी गुमाएका १६ विपन्न घरपरिवार छनोट गरी सैनामैना ७ को करिब १५ विघा जग्गा उपलब्ध गराई उनीहरुलाई आवश्यक बीउ, मल र प्रविधि उपलब्ध गराई बहुतल्ले कृषि तथा फलफूल उत्पादन कृषक फर्म सञ्चालन भइरहेको छ । जसबाट उनीहरुले उत्पादित भएका तरकारीहरु बिक्री वितरण गर्दै जीविकोपार्जन गरिरहेका छन् ।
निर्माण भए ७३ वटा कानून
सैनामैना नगरपालिकामा हालसम्म ७३ वटा कानून निर्माण भएका छन् । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीका अनुसार स्थानीय सरकार सञ्चालनका लागि संविधानमा व्यवस्था भएको अधिकारलाई आधार मानेर नगरमा ऐन तथा नियमावली गरि कूल ७३ वटा कानून निर्माण भएका हुन् ।
यता सैनामैना नगरपालिका उपप्रमुख एवम् न्यायिक समिति संयोजक विना रानाले हालसम्म १९३ वटा मुद्दाहरु न्यायिक समितिमा दर्ता भएको जानकारी दिईन् ।
उनका अनुसार सामान्य प्रकृतिका र नियमपूर्वक दर्ता भएका मुद्दाहरु मध्ये ४८ वटा मिलापत्र भएका छन् । बाँकी निवेदन भने प्रक्रियामा छन् । न्यायिक निरुपणलाई सहजिकरण गर्न तथा उत्पन्न विवादहरुलाई मेलमिलापको माध्यमबाट समाधान गर्न वडा स्तरीय र नगरस्तरीय मेलमिलाप कर्ता छनौट गरी तालिम दिएर मेलमिलाप कार्यमा खटाईएको छ ।
नगरपालिकामा इजलास निर्माण गरी इजलासबाटै न्यायिक निरुपणका कार्य अगाडि बढिरहेको छ । साथै सैनामैना न्यायिक (कार्यविधि सम्बन्धी) ऐन, २०७५ अनुसार हाल नगरपालिकामा कूल १०५ जना मेलमिलापकर्ताहरु सूचिकृत भएका छन् ।
त्यस्तै विपद् न्युनीकरणका लागि आवश्यक पर्ने उद्धार सामाग्रीहरु खरिद गरी इलाका प्रहरी कार्यालय मुर्गिया र सालझण्डीलाई हस्तान्तरण गरिएको छ । आगलागी नियन्त्रण गर्न सैनामैना नगरपालिका, गैडहवा गाउपालिका र कञ्चन गाउपालिकाको सहकार्यमा अन्तर स्थानीय तह वारुणयन्त्र सञ्चालनमा छ ।
भूमि समस्या समाधान हुँदै
सैनामैना नगरपालिकाका सतप्रतिशत नागरिकको पुस्ता पुस्ता बितिसक्यो । तर, अहिले सम्म आफुले कमाएको जग्गाको जग्गा धनि प्रमाण पत्र भने पाउन सकिरहेको अवस्था छैन् ।
निर्वाचनको समयमा जनप्रतिनिधीले सैनामैनावासीलाई जग्गाधनि लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । जति खर्च लाागेपनि जग्गाधनि लालपुर्जा प्राप्त गर्ने काममा नगरपालिकाकले काम गरोस् भन्ने सबै नागरिकको माग र इच्छा रहेको प्रमुख कार्कीको भनाइ छ ।
उनले सोही माग बमोजिम अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने, भूमिहिनलाई जग्गाधनी प्रमाणपत्र पूर्जा दिने कामका लागि अघि बढिरहेको बताए ।
नगरभित्र नापी भईसकेका साविक पर्रोहा र सालझण्डीको गाउँब्लक जग्गाहरुको फिल्ड र श्रेस्ता जाँच गरी जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ । जसमा ४ वर्षको अवधिमा करिब ८ सय जनाले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन्, भने बाँकी नागरिक भने लालपुर्जा पाउने आशमै छन् ।
त्यस्तै साविक दुधराक्ष अन्तर्गतका गाउँब्लक जग्गाको नापजाँच सम्पन्न गरी जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गर्ने चरणमा रहेको छ । अव्यवस्थित तथा सुकुम्वासीहरुलाई पूर्जा उपलब्ध गराउनका निम्ति भूमि सम्वन्धि समस्या आयोग सहकार्यमा नगर भित्रको ११ वटै वडामा लागत संकलन गरिसकिएको छ ।
लागत संकलन पश्चात जग्गा नापजाँचका लागि आवश्यक सबै वडामा करिब १ सय ३० वटा कन्ट्रोल पोइन्ट स्थापना गरिएको छ । अब छिट्टै नगरभित्र जग्गा नाप्ने काम सुरु गरिने सैनामैना नगर प्रमुख कार्कीले बताए ।
घरमै सामाजिक सुरक्षा भत्ता
सैनामैना नगरपालिकले नगर भित्र रहेका ज्येष्ठ नागरिकहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ । ८० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता बैँक मार्फत सेवा उपलब्ध गराएको छ ।
हरेक वर्ष पालिकाले जेष्ठ नागरिकलाई लठ्ठीसहित दोसल्ला ओढाई सम्मान समेत गर्दै आएको छ । नगरपालिकाले महिला ,बालबालिका तथा अपांङ्गताका क्षेत्रमा पनि नगरपालिकाले विभिन्न कार्यक्रमहरु गरिरहेको छ ।
जस अनुसार विपन्न वर्गका महिलाहरुलाई सीप सिकाउने र आत्मनिर्भर बनाउने उद्देश्य अनुरुप महिला सँग उपप्रमुख कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ ।
बालबालिकाको क्षेत्रमा नगरभित्र १ सय १० वटा बाल क्लव गरी उनीहरु मार्फत बालबालिका सम्वन्धि कार्यक्रमहरु भइरहेका छन् । जसका लागि नगरले बजेट उपलब्ध गराएको छ । अपांङ्गताका भएका व्यक्तिलाई लक्षित गरि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ भने परिचय पत्र पनि वितरण भइरहेको छ ।
त्यसैगरी सैनामैनामा विद्युतको लो–भोल्टेजलाई दीर्घकालीन रुपमा समाधानका लागि नगरमै विद्युतको सव–स्टेशन निर्माण गर्ने योजना अघि बढेको छ । संघीय सरकारको सहकार्यमा सैनामैना–९ पिपलडाँडामा रहेको उपयुक्त जग्गामा करिब १९ करोड बराबरको लागतमा दुई चरणमा सव–स्टेशन निर्माणको काम सुरु भएको नगरपालिकाले जनाएको छ ।
पर्यटकीय हब बन्दै सैनामैना
नेपाल सरकारबाट नेपालको सयौं पर्यटकीय गन्तव्य मध्ये सैनामैना नगरपालिका पनि पर्यटन गन्तव्यको रुपमा घोषणा भएको पालिका हो । नगरलाई ऐतिहासिक बुद्धकालिनको शहर भनेर समेत चिनाउन सकिन्छ । यहाँ बुद्ध सँग सम्बन्धित मुर्ति र भग्नावशेषहरु फेला परेका छन् ।
नगरमा पर्यटनको क्षेत्रमा धेरै सम्भावना बोकेको दोस्रो पशुपतिनाथ भनेर चिनिने श्री पर्रोहा परमेशवर ज्योर्तिलिङ्ग बोलबम धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक एवम् ऐतिहासिक पर्यटकीय स्थल बनाउने लक्ष्य सहित पालिकाले गुरुयोजना बनाएको छ ।
धाममा मूल मन्दिर सहितका संरचनाहरु निर्माण गर्न १४ करोड बढी लागत लाग्ने छ । पहिलो चरणमा धाममा प्यागोडा शैलीमा तामाको छानोसहित दुईतल्ले मूल मन्दिर बनाउन ६ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ ।
हिन्दू धर्मावलम्बीहरुको मुख्य गन्तव्यको रुपमा विकास गर्न गुरुयोजना बनाएर काम थालिएको मन्दिरमा संघीय सरकारको सशर्त अनुदानमा ३० प्रतिशत लागत भने नगरपालिका आफैंले व्यवस्थापन गर्नुपर्नेछ ।
त्यसैगरी धार्मिक पर्यटकीय स्थलकै रुपमा विकास गर्न सैनामैना–३ मुर्गियामा रहेको दुर्गा मन्दिरमा नेपालमै पहिलो पटक शैलपुत्री शक्तिपीठ मन्दिरको निर्माण गरिने भएको छ । जसका लागि नगरपालिकाले २३ करोड ५० लाखको लागतमा सो परियोजनाको डिपिआर प्रस्तुत गरिसकेको छ ।
नव दुर्गा मन्दिरलाई बृहत रुपमा धार्मिक पार्कको रुपमा विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । त्यस्तै नगरलाई सौन्दर्यकरण गर्न वडा नं.१ स्थित समावेशी पार्क, वडा नं. ६ स्थित मलमला पर्यटकीय क्षेत्र, वडा नं.९ स्थित बालउद्यान, वडा नं. १० स्थित फूलवारी पार्क र वडा नं. ११ स्थित राजापानीको जलाधार संरक्षण क्षेत्रको डीपीआर तयार भैसकेका छन् । सैनामैना नगरपालिका ऐतिहासिक बुद्धकालिन सहर भएकोले बुद्धकालिन सभ्यतालाई संरक्षण गर्नका लागि संग्रहालय निर्माण गर्ने योजना अघि बढको छ ।
नगरमा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक मूल्यहरुको पहिचान, संरक्षण र विकास गर्ने कामलाई तीव्रता दिइएको छ । थारु समुदायको संस्कृतिको संरक्षण गरी पर्यटन प्रवद्र्धनको लागि वडा नं.२ उछ्टिहवामा थारु होमस्टे सभाहल निर्माण कार्य सम्पन्न भएको छ ।
पाहुना घर निर्माण गर्नका लागि प्रोत्साहन स्वरुप अनुदान समेत दिइएको छ । त्यस्तै भड्सामा थारु डिवार सामुदायिक भवन समेत निर्माण भएको छ ।
खेलकूद क्षेत्रको संरक्षणमा तत्परता
सैनामैना नगरपालिका भित्र नगर खेलकूद विकास समिति गठन गरि खेलकूदका गतिविधिहर अगाडि बढाउँदै आएको छ । नगर खेल क्षेत्रमा समेत अब्बल रहेकाले यहाँ विभिन्न अन्तरराष्ट्रिय स्तरदेखि स्थानीय स्तर सम्मका खेल मैदानहरु निर्माण हुँदै आएका छन् ।
१ वडा १ खेल मैदानलाई आत्मसात गरी प्रत्येक वडामा कम्तिमा पनि एक खेल मैदान निर्माण भएका छन् । यहाँ खेल क्षेत्र तर्फ मेयरकप, नगरस्तरीय खेल सप्ताह, सैनामैना प्रिमियर लिग, राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता, फूटबल, भलिबल, आर्चरी लगायतका खेल प्रतियोगिताहरु सञ्चालन हुँदै आएका छन् ।
आर्चरी खेल प्रतियोगिता भने लोपन्मुख साँस्कृतिक प्रतियोगिता हो । जसमा तिर हान्ने प्रतियोगिता आयोजना गरिन्छ । त्यसैगरी वडा नं ४ मुर्गियामा फूटबल रंगाशाल निर्माणका लागि काम भइरहेको छ । त्यस्तै वडा नं. ४ अन्तर्गत नै गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट एकेडेमी सञ्चालनमा आएको छ ।
जनतासँगका प्रतिबद्धता अन्तिम चरणमा : प्रमुख चित्र बहादुर कार्की
सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले जनता सँग गरेका प्रतिबद्धताहरु पुरा गर्ने अन्तिम चरणमा रहेको दाबी गरे । उनले यस वर्ष पारित गरेको बजेट कार्यान्वयन हुँदा सम्म निर्माण भइरहेका योजनाहरु पुरा हुने विश्वास गरे ।
प्रमुख कार्कीले नयाँ शासन प्रणालीमा विधि समेत आफै निर्माण गरेर विधिसवंत ढंगले चलाउने र लामो समय सम्म कर्मचारीको हातबाट चलेको शासन व्यवस्थामा सबैलाई एकैचोटी विधि र शुसासनमा ल्याई विकास प्रक्रियामा अगाडि बढाउने कार्य चार वर्ष आफ्ना सामु ठूलो चुनौतिका रुपमा रहेकोे अनुभव सुनाउँछन् ।
कार्की भन्छन् –“ ४ वर्ष अघि संविधान, अधिकार र स्रोत साधन त उपलब्ध थिए , तर शासन प्रणाली कर्मचारी, जनप्रतिनिधी र जनताका लागि भने नयाँ थियो ।” तर काकीले हाल भने पहिलेको तुलनामा धेरै परिवर्तन र रुपान्तरण भइसकेको उल्लेख गर्छन् । उनले अहिले संस्थागत संरचना, लोकतान्त्रिक पद्धति, पारदर्शी र निष्पक्ष एवम काम गर्ने प्रक्रियागत शैलिका कारण नगपालिका सफलता तर्फ उन्मुख भएको धारणा राख्छन् ।
यस अवधिमा नगरका सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी, यहाँका सम्पूर्ण राजनीतिक दलको एकता, सामाजिक संघ संस्था, उद्योगी, व्यापारी, नागरिक समाजको एकता, बुद्धिजिवी लगायत हरेक स्थानीयको साथ र सहयोगले नै सैनामैना नगरपालिका एउटा सुव्यवस्थित, समुन्नत र सुस्कृत नगरको रुपमा विकास हुन पुगेको नगरपालिकाले जनाएको छ ।
ग्रामीण परिवेशबाट शहरीकरण र बजारीकरण हुँदै अघि बढेको पालिकामा ऐतिहासिक, धार्मिक पर्यटकीय सँगै बहुवर्षीय र राष्ट्रिय गौरवका योजनाहरु निर्माणपछि कार्यान्वयमा आउन सके मात्र समृद्ध सैनामैना, खुसी सैनामैनाबासीको आधारशिला तयार हुनेछ । सैनामैनालाई व्यवस्थित र आधुनिक सहरका रुपमा विकास गर्न जनप्रतिनिधी , कर्मचारी सँगै सैनामैनावासीको साझा संकल्प र सहकार्य आवश्यक देखिन्छ ।
सेवाग्राहीको फाइल ५ मिनेट बढी रोक्दिन : अधिकृत पन्थी टेकराज पन्थी
सरकारी कार्यालयमा सेवा प्रवाहमा हुने ढिलासुस्ती, आलटाल, अनेक बहानामा फेरी आउनुहोला भन्ने प्रचलन अझै हट्न सकेको छैन । त्यसैगरी सरकारी कामकाजमा जाँदा सेवाग्राहीले सास्ती भोग्नुका साथै एकै दिनमा आफ्नो काम सम्पन्न हुने सेवाग्राही कमै मात्र हुन्छन् ।
तर रुपन्देहीको सैनामैना नगरपालिकामा भने सेवा लिन आउने सेवाग्राहीको फाइल ५ मिनेट भन्दा बढी नरोकेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी बताउँछन् ।
उनी भन्छन् –“ टेबलमा आएका कुनै पनि सेवाग्राहीको फाइल ५ मिनेट भन्दा बढी रोक्दिन, यो मेरो सुरुवातकै प्रण थियो, कुनै बहानामा ढिलासुस्ती नगरी सकेसम्म छिटो छरितो काम सम्पन्न गर्ने तर्फ लाग्छु ।” पन्थीले कुनै पनि सेवाग्राहीलाई अलमल नहोस् भनेर नै हेल्प डेस्क समेत स्थापना गरिएको बताए ।
नगरपालिकाले शुसासन प्रबन्ध गर्ने विषयमा जोड दिएको बताउँदै पन्थीले गत वर्ष साढे ३ करोड रकम बेरुजु फर्छौट गर्न सफल भएको उल्लेख गरे । त्यसैगरी कोभिड नियन्त्रणमा जनप्रतिनिधीको महत्वपूर्ण भूमिका रहेको बताए ।
शब्दचित्रमा नगरपालिका
साविको तीन गाविस मिलेर बनेको सैनामैना नगरपालिका लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको उत्तर पश्चिममा पर्दछ । यस नगरपालिकालाई पर्यावरणीय हिसाबले एक सुन्दर र ऐतिहासिक पुरातात्विक नगरपालिका भनेर समेत चिनिन्छ ।
जहाँ विश्व शान्तिका अग्रदुत तथा महामानव गौतम बुद्धको जन्मस्थल लुम्विनी देखि करिब १५ कि.मी. उत्तर मनोरम चुरे पहाडको काखमा पनि अवस्थित छ ।
साबिकको पर्रोहा र दुधराक्ष गा.बि.स. एक आपसमा गाभिन गई २०७१ साल बैशाख २५ गते सैनामैना नगरपालिका बनेको हो । वि.सं. २०७३ साल फागुन २७ गते राज्यको पृर्न:संरचना पश्चात साबिकको सालझन्डी गा.बि.स. गाभिन गई वृहत सैनामैना नगरपालिका बन्न सफल भएको हो ।
यो नगरपालिका १६२.१८ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । नगरपालिकामा वि.सं. २०६८ सालको राष्ट्रिय जनगणना अनुसार जनसंख्या ५५ हजार ८२२ रहेको छ । जसमा २९ हजार ५७२ महिला र २६ हजार २५० पुरुष छन् भने जनघनत्व ३४४.२ प्रति बर्ग कि.मि. छ । यद्यपि, हालको अनुमानित जनसंख्या भने करीव ८० हजार छ ।
नगरपालिकामा ११ वटा वडा छन् । यस नगरपालिकाको पूर्वमा बुटवल उप–महानगरपालिका, पश्चिममा कपिलवस्तुको बाणगंगा नगरपालिका,उत्तरमा अर्घाखाँचीको शितगंगा नगरपालिका, पाल्पाको रैनादेवी छहरा र तिनाउ गाउँपालिका पर्दछन्, भने दक्षिणमा शुद्दोधन, कंचन र गैडहवा गाउँपालिका रहेका छन् ।
नेपाल सरकारबाट नेपालको सयौं पर्यटकीय गन्तव्य मध्ये सैनामैना नगरपालिका पनि २०७५ साल कात्तिक १५ गते पर्यटन गन्तव्यको रुपमा घोषणा भएको छ । यहाँ सबै जातजाती, भाषा–भाषी संस्कृति एवम् परम्पराको समिश्रण रहेको छ ।