साउन । कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय युवा परिषदले रुपन्देहीको सैनामैना नगरपालिकामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । परिषदले आइतबार एक कार्यक्रमको आयोजना गरि नगरको वडा नं.१ पद्यमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा सञ्चालित कोभिड –१९ अस्थायी अस्पताललाई ५० लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले सैनामैना नगरपालिका नगर प्रमुख चित्र बहादुर कार्कीलाई उक्त सामाग्री प्रदान गरे ।
सामाग्री हस्तान्तरण गर्दै राष्ट्रिय युवा परिषद नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले नगरमा कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणमा थप सहयोग होस् भन्ने उद्देश्यले ५० लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको जानकारी दिए ।
प्रमुख अतिथि ढुंगेलले विश्वभर महामारीको रुपमा फैलिएको कोभिडको न्यूनीकरणका लागि कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरि सञ्चालनमा ल्याइएको बताए । सोही बमोजिम राष्ट्रिय युवा परिषद्ले सैनामैनालाई आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको ढुंगेलको भनाई छ । उनले विपद्को बेलामा स्थानीय सरकारलाई जे सकिन्छ त्यही उपलब्ध गराउनु राष्ट्रिय युवा परिषदको दायित्व रहेको धारणा राखे ।
हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री अन्तर्गत सेमी फोल्डिङ बेड ४० थान, आइभि स्टेन्ड ४० थान, स्यानिटाइजर १० थान, फेश शिल्ड ५ सय थान, मास्क १ सय थान,पिपिई १ सय थान, गोगल्स ५ सय थान, पल्स ओक्सिमिटर ५० थान र इग्जामिनेसन ग्लब्स १ सय थान रहेका छन् ।
नगरमा कोभिडको उपचारका लागि प्रर्याप्त मात्रामा उपकरण नभएको अवस्थामा परिषदले ठूलो रकम बराबरको स्वास्थ्य सामाग्री वितरण गर्नु आफैमा प्रंशसनीय कार्य रहेको नगरप्रमुख चित्रबहादुर कार्कीको भनाई छ । उनले स्थानीय सरकारलाई परेको कठिन परिस्थितिमा परिषदको सहयोग महत्वपूर्ण रहेको बताउँदै धन्यवाद ज्ञापन गरे ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपसचिव देवीप्रसाद अधिकारी, प्राकृतिक चिकित्सालयका अध्यक्ष रामप्रसाद भट्टराई, राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तिलोत्तमा पौडेल, बाबुराम बञ्जाडे, सन्दिप सापकोटा, नेकपा एमाले जिल्ला कमिटि सदस्य खुसीराम चौधरी, राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति रुपन्देहीका अध्यक्ष सरोज पोखरेल, पुर्व अध्यक्ष बसन्त ढकाल, राष्ट्रिय युवा परिषदका अधिकृत श्यामकाजी खत्री लगायत नगरका जनप्रतिनिधी, राजनैतिक दल, समाजसेवी, कर्मचारीको सहभागिता थियो ।
कार्यक्रम नगर उपप्रमुख बिना रानाको स्वागत तथा नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।