बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट(मेसु) परिवर्तन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयले मुख्यमन्त्रीको कार्यालयसमक्ष सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले प्रादेशिक अस्पतालका ११ औं तहका मेसु राजेन्द्रप्रसाद खनालको ठाउँमा १० औं तहका डा. इन्द्र ढकाललाई प्रस्ताव गर्दै मुख्यमन्त्री कार्यालयमा सिफारिस गरेका हुन् । मेसुमा सिफारिस गरिएका हाडजोर्नी विषेशज्ञ डा. ढकाल बुटवल सुख्खानगरस्थित साझा अस्पतालका सञ्चालक हुन् ।
मुख्यमन्त्री कार्यालयका प्रवक्ता डा. खगेन्द्रप्रसाद सुवेदीले मेसु नियुक्तिका लागि प्रादेशिक मन्त्रिपरिषद्मा प्रस्ताव पठाउनुअघि मन्त्रालयबाट आएको निवेदनबारे अध्ययन भइरहेको बताए ।
उनले भने-"मन्त्रालयबाट निवेदन आएको छ । यहाँ अध्ययन भइरहेको छ । आवश्यकताका आधारमा मात्रै प्रक्रिया अगाडि बढ्छ । निवेदन त अरु पनि आएका छन् ।"
अस्पतालको रेडियोलोजिस्ट विभागमा कार्यरत डा. खनाल २०७६ मंसिर ३ गतेको प्रदेश मन्त्रिपरिषद्बाट प्रमुखमा नियुक्त भएका थिए । मेसु खनालले आफूलाई हटाउन लागिएको कुरा सञ्चारमाध्ययमबाट सुनेको भएपनि आधिकारिक जानकारी भने नआएको बताए ।