बुटवल- रुपन्देहीको सैनामैना नगरपालिकामा बाँकी रहेका गाउँ ब्लक जग्गाको नापजाँच सुरु गरिएको छ। सैनामैना नगरपालिका र नापी कार्यालय रुपन्देहीको सहकार्यमा शुक्रबार नगरको वडा नं. ५ बुद्धनगरदेखि गाउँ ब्लक जग्गाको नापजाँच सुरु गरिएको हो।
जग्गा नापजाँचको शुभारम्भ गर्दै सैनामैनाका नगरप्रमुख चित्र बहादुर कार्कीले साविक दुधराक्ष गाबिस अर्थात हालको वडा नं. ५ देखि ९ का सम्पूर्ण पुराना थारु समुदायका गाउँ बस्तीहरुमा रहेका गाउँ ब्लक (डि–ब्लक ) जग्गाहरुको नापजाँच सुरु गरिएको बताए। ‘यी जग्गाहरु विशेषगरी आवसका लागि योग्य छन्, सबैजसो जग्गामा अहिले पुरानो बस्ती बसिरहेको छ ।’ उनले भने ‘जग्गाहरुको नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने गरि तिव्रताका साथ काम गर्छौं।’
साविक पर्रोहा र साविक सालझण्डीमा रहेका गाउँ ब्लक जग्गाहरुको काम यस अघि नै सम्पन्न भइसकेको बताउँदै कार्कीले साविक दुधराक्ष गाविस प्राविधिक कारणले केही ढिला हुन पुगेको उल्लेख गरे। उनले दुई महिना भित्रमा वडा नं ५, ६, ८ र ९ को पूर्व पश्चिम राजमार्गको उत्तर भेग पर्ने गाउँ ब्लकहरुको जग्गा नापजाँच गर्ने, श्रेस्ता तयार गर्ने र जग्गाधनी प्रमार्ण पूर्जा वितरण गरिने जानकारी दिए।
नगरपालिकाका अनुसार अर्को डेढ दुई महिनामा राजमार्गदेखि दक्षिण तर्फ पर्ने गाउँ ब्लक जग्गाको नापजाँच गरि जग्गाधनी पूर्जा उपलब्ध गराइने छ । जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउनका लागि जनप्रतिनीधि, गाउँ ब्लक जग्गाधनी, राजनीतिक दल, नापी विभाग लगायत सबैको सहकार्य आवश्यक रहने प्रमुख कार्कीको भनाई छ।
नापी कार्यालय रुपन्देही प्रमुख अजित कुवंरले रुपन्देहीमा गतवर्षको १३ सय ५० गाउँ ब्लक जग्गाहरु मध्ये १ सय गाउँ ब्लक जग्गाहरुको काम भइरहेको बताए। उनले विशेषगरि दक्षिण भेगतिर गाउँ ब्लक जग्गाहरुको काम बाँकी रहेको बताउँदै जनशक्तिको अभावका कारण पनि नापजाँच हुन समस्या भइरहेको उल्लेख गरे। कुवंरले सैनामैनामा वितरण गर्न बाँकी रहेको साविक दुधराक्षको ३७ विगाह १२ कठ्ठा ६ दुर जग्गाको पूर्जा वितरणका लागि नगरपालिकाको पहलमा नाँपी विभागले काम सुरु गरेको बताए ।
उनका अनुसार अहिले सैनामैनामा ८ वटा ब्लकहरुको नापजाँच गरिने भएको छ । जसअन्तर्गत करिब ४ सय गाउँ ब्लक जग्गाधनीहरु रहेका छन् । पहिले नापी गर्दा गाउँ वस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ ।