काठमाडौं । यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार भने शनिबार मनाइँदै छ ।
त्रयोदशी तिथिको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने चलन छ । कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने विश्वास गरिन्छ ।
पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ ।
कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।
यसैगरी लक्ष्मीस्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार बेलुकी नै मनाइँदै छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।