भैरहवाः कृषि विकास बैंक लिमिटेड शाखा भैरहवाले किसानहरुका लागि क्रेडिट कार्ड-एप्स तथा एमपीओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रमकाबीच ४६ जना किसानहरु लाई कार्ड वितरण गरेको हो ।
बैंकले जिल्लाको मायादेवी गाउपालिका वार्ड नं. ६, स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपीओस वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले एउटै क्रेडिट कार्डमार्फत किसानहरु लाई विभिन्न विषयमा जानकारी पाउन सकिने बताए । उनले किसानलाई सहयोग गर्नु बैंकको दायित्व भएको बताउदै बाली बीमा, पशु बीमामा ८० प्रतिशत अनुदान दिइने बताए ।
कृषि विकास बैंक लिमिटेडका उपमहाप्रबन्धक प्रताप सुवेदीले विद्युतीय भुक्तानीमार्फत कृषि सामग्री खरीद गर्न सकिने बताए । उनले कार्डको पिन-पासवर्ड सुरक्षित राख्न किसानहरु लाई सुझाव दिए । उनले एप्समार्फत विभिन्न सूचना प्राप्त गर्न सकिनुका साथै राज्यबाट प्राप्त सेवासुविधा उपभोग गर्नुपर्ने बताए ।
बैंकका लुम्बिनी प्रदेश निर्देशक राजेश कुमार श्रीवास्तवले किसान कार्डले नगदरहित कारोबार गर्न सहयोग पुग्ने र केही हदसम्म एमपीओसले बैंकको काम गर्ने बताए ।
बैंक अन्तर्गत आइफ्याड परियोजनाका डिजिटल अफिसर सरोज नेपालले बैंकको सेवा लिन र कारोबारलाई अगाडी बढाउन आग्रह गरे । उनले कार्डको प्रयोगमार्फत किसानले उत्पादन गरेका सामग्रीले उचित मूल्य पाउने र बिचौलियाको चलखेलबाट पनि बच्न सकिने बताए ।
के हो किसान क्रेडिट कार्ड
विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्न सकिने बैंकले जारी गरेको कार्डनै किसान कार्ड हो । यो कार्डको उपयोग किसान, कृषि तथा वन व्यवसायी, कृषि मचेन्ट, कृषि सहकारी, फर्म, कम्पनीहरुले गर्ने आइफ्याड परियोजनाका रितु खनालले बताइन् ।
आवश्यक कृषि सामग्री कृषि मचेन्टबाट खरिद गर्न सकिने तथा कर्जा ग्राहकले वा खाता ग्राहीले तोकिएको सीमासम्म कार्ड मार्फत कोरोबार गर्न सकिने बैंकले उनले बताइन्।
त्यस्तै आफूले उत्पादन गरेको कृषि उपज विक्री गर्न सकिने तथा कृषि कार्यको लागि क्यास पोईन्टबाट नगद जम्मा तथा भुक्तानी गर्न सकिने छ ।